निर्णय नं. ३८ - गुठी

निर्णय नं. ३८ ने.का.प. २०१६
डिभिजन बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री भगवतीप्रसाद सिंह
सा.नं. ६९१
वादी : सुभद्राकुमारी बस्नेत क्षेत्रीनी समेत
विरूद्ध
प्रतिवादी : दण्डी केशर थापा क्षेत्री
मुद्दा : गुठी
(१) दान दातव्यको ३ नं.–आफ्नो नातेदारलाई दान दातव्यपत्र पनि लेखी दिन नहुने लेखेको भए ऐनले सदर नहुने । बदर हुने ठहर्छ ।
दान दातव्यको ३ नम्बरको ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखि दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्यपत्र भनी लेखी दिएकीले नयनकुमारीले वादीहरूलाई गरी दिएको दातव्यपत्र ऐनले सदर नहुने भई बदर हुने ।
(प्रकरण नं. ८)
(२) अपुतालीका ३ नं.–३ पुस्ताका हकवाला कोही नभएमा विवाहिता छोरीहरूले अपुतालीमा आधी पाउने । आधी नजिकवाला अर्को हकदारले पाउने ।
नजिकको हकदार एकबहादुर देखिन आएकोले अपुतालीका ३ नं. का ऐनबमोजिम नयनकुमारीको गुठी पालो मध्ये वादी सुभद्राकुमारी र वादी भुवनकुमारीले आधी र एकबहादुर थापा क्षेत्री ल.पु.इ.जाउलाखेलले आधी पाउने ठहर्छ ।
(प्रकरण नं. ८)
फैसला
१. यसमा पुर्खा रिपुमर्दनले शंखमुल घाटमा स्थापना गरेको श्री पञ्च बल्लभेश्वर समेतको नित्य पुजा समेतको काम प्र. दण्डी केशर र हाम्रो आमा नयनकुमारी समेतले ३।३ बर्षको पालौसँग गरी आएकोमा मिलापत्रबमोजिम देवल भत्केको नबनाई धर्मलोप गर्यो भन्ने मुद्दा पर्दा हाम्रो आमाले धर्मलोप गरेको ठहरी फैसला भए तापनि २००१।९।६ मा हामीलाई आमाले शेषपछिको बकसपत्र गरी दिएको र ०३।९।१२ गते आमा परलोक भएकीले आमाले बनाउनु पर्ने देवल म वादी भुवनकुमारीले ठेकदार मार्फत बनाएकोमा केही बनाउन बाँकी राखी दिएबाट ०३।११।७ गते ज्यामी डकर्मीहरू लिई बनाउन जाँदा मेरो एकलौटी भएको छ । बनाउन पाउँदैनौ भनी हटक खिचोला गरेकोले खिचोला मेटाई आमाले गरी आएबमोजिम ६ साल देखी ३ बर्षको पालो हाम्रो कायम गरी पाउँ भन्ने सुभद्रा भुवनकुमारीको फिरादपत्र रहेछ ।
२. पुर्खाले स्थापना गरेको वादी दावीको गुठीको काम अरूले नदिई जेठा बाजे वीरबहादुर र मेरा बाजे औहान सिंहले मात्र लिई काम गरी आएकोमा वादीका बाबु योगबहादुर जेठा बाजे वीरबहादुरको धर्म पुत्र बसी काम चलाएकोमा मुद्दा पर्दा वादीका बाबुले ३ बर्ष, मैले ३ बर्ष चलाउने गरी मिलापत्र भएकोमा वादीका आमा नयनकुमारीले धर्मलोप गरेको ठहरी फैसला भएको कुरामा वादीहरू सावितै छ । मुद्दा परी रहेको टायममा मुद्दा परेको कुरा दवाई हक टुट्नेले गरी दिएको बकसपत्रको नाताबाट वादीहरूको उजुरी लाग्न नसक्ने । वादीहरूले गुठी चलाएको पनि छैन । बनाउनु पर्ने बनाएको पनि छैन । वादीको आमाले धर्मलोप गरेको ठहरी फैसला भएको र गुठीका ४ नम्बरका ऐनले नजिकका हकदारले पाउनेमा हकदारमा जेठो म भई मैले नै पाउने हुँदा गुठीको काम र भत्के बिग्रेको समेत मैले नै बनाएको छु । वादी झुठ्ठा हो भन्ने दण्डीकेशरको प्रतिवादी रहेछ ।
३. धर्मलोप गर्ने नयनकुमारीले धर्मलोप ठहरेको चीज दिएको सदर नहुने हुँदा वादीहरूले झुट्टा उजुर गरेको ठहर्छ भनी ०४।१२।२५ गते राजधानी काठमाडौं दिवानी पहिला फाँटबाट फैसला गरेको रहेछ ।
४. घर गुठीमा गुठीको ४ नं. को २ दफाले धर्मलोप गर्नेले पनि शेष बाँकी खान पाउनेमा सो शेष बाँकी खान पाउने नयनकुमारीले वादीहरूलाई बकसपत्र गरी दिएको हुँदा वादीहरूले शेष बाँकी खान पाउने ठहर्छ । वादीको आमानयनकुमारीको र यही प्र. दण्डीकेशरको अघि धर्मलोप मुद्दा पर्दा वादीको आमाले धर्मलोप गरेको ठहराई गुठीको ४ नं. को १ दफा लगाई दिवानी पहिला फाँटबाट र प्रधान न्यायालय लगायतबाट फैसला भएको प्रमाणको मिसिलबाट देखिएको र हाल गुठीका ४ नं. को २ दफा लाग्ने ठहरेकोले जाहेर गरेको छौं भन्ने ०७।३।१६ गतेको अपील तेस्रा फाँटबाट जाहेरी फैसला गरेको रहेछ ।
५. इन्साफ अपील तेस्रा फाँटको मनासिव छ भनी प्रधान न्यायालय पहिला फाँटबाट २००७।११।२४ गते जाहेरी फैसला गरेको रहेछ ।
६. चित्रध्वजको छोरा म एकबहादुर हकदार हुँदा किर्ते बनौटी हकदार खडा भएमा प्र. दण्डीकेशरलाई सजाय गरी योगबहादुरको स्वास्नी नयनकुमारीको गुठी पालो मेरो हक सदर गरी पाउँ भन्ने एकबहादुरको बिन्तिपत्र रहेछ ।
७. एकै बाबुका छोरा मध्ये ठाहिंला भाई म चित्रध्वज हकदार हुँदा दाज्यू योगबहादुरको गुठी पालो मलाई दिलाई पाउँ भन्ने चित्रध्वजको बिन्तिपत्र रहेछ ।
८. प्रधान न्यायालय पहिलाफाँटबाट जाहेरी फैसला गरेको यो मुद्दाको मिसिल वादी प्रतिवादी र बिन्तिपत्रबाट हाजिर हुन आएको एकबहादुर जितध्वज समेतलाई राखी विचार गर्दा, नयनकुमारीको नाउँमा गुठी धर्मलोप मुद्दाको उजुरी परी सकेपछि निज नयनकुमारीले वादीहरूलाई दातव्यपत्र गरी दिएको देखिनाले र दान दातव्यको ३ नम्बरका ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखी दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्य पत्र भनी लेखीदिएकीले नयनकुमारीले वादीहरूलाई गरि दिएको दातव्यपत्र ऐनले सदर नहुने भई बदर हुने भएबाट नयनकुमारीको अपुताली पर्न आएको यो झगडा परेको गुठी कसको हक पुग्ने रहेछ भनी विचार गर्दा, वादीहरू विवाह भईसकेकी नयनकुमारीकी छोरी भएकी र कीर्तिध्वजको छोराहरूमध्ये वादीहरूको बाबु नयनकुमारीको लोग्ने योगबहादुर र बिन्तिपत्रवाला एकबहादुरको बाबु चित्रध्वज एकै आमाको छोरा हो भनी एकबहादुरले छलफलमा जिकीर लिएको सो कुरा हो, होइन भनी वादी र प्र. दण्डीकेशर जितध्वज समेतलाई सोधनी गर्दा हो भनी छलफल रोहवरमा सावित भएकोबाट नजिकको हकदार निज एकबहादुर देखिन आएकोले अपुतालीका ३ नम्बरका ऐनबमोजिम नयनकुमारीको गुठी पालोमध्ये वादी सुभद्राकुमारी र वादी भुवनकुमारीले आधी र एकबहादुर थापा क्षेत्री ल.पु.इ.जावालाखेलले आधी पाउने ठहर्छ त्यसको हक नपुग्ने गुठी पालो मेरो भनी जिकीर गर्ने प्र. दण्डी केशरले वादीहरूले देवल बनाउन जाँदा खिचोला गरेनन् होला भन्न नहुने हुँदा वादीहरूलाई देवल बनाउन नदिई प्रतिवादी दण्डीकेशरले खिचोला गरेको समेत ठहर्छ । शुरू अपील न्यायालयको केही उल्टि हुँदा तपसीलका मानिसहरूलाई तपसीलमा लेखिएबमोजिम गरी मिसिल, मिसिल फाँटमा बुझाई दिनु ।
तपसील
वादी प्रतिवादीहरू के कोर्टफी लागेको मुद्दा हुँदा दण्ड जरिवाना जितावरी केही गर्नु नपर्ने ...............१
वादीहरूले नालिस गर्दा राखेको कोर्ट फी प्र. दण्डी केशरबाट वादीहरूलाई भराई दिने भनी अपील तेस्रा फाँटबाट फैसला भईसकेको हुँदा केही गर्नु नपर्ने ........................२
देहायका अड्डाका देहायका मानिसके इन्साफ केही उल्टिमा देहायबमोजिम गर्नु ..............३
देवानी पहिला फाँटका सु.हेरम्बराज १ डि.प्रेम लाल १ वि.शाम्बप्रसाद १ समेतके अपील तेस्रा फाँटबाट जरिवाना गरिसकेको हुँदा केही गर्नु नपर्ने १, अपील तेस्रो फाँटका सु.देवप्रसाद १ ख.दोजराज १ वि.प्रेमबहादुर १ समेतके केही गर्नु पर्दैन २, प्रधान न्यायालय पहिला फाँटका मे.क.बल्लभ शम्शेर १ सु.सौन्दर्य केशरी १ वि.दिव्यनाथ १ समेतके केही गर्नु पर्दैन ३
इति सम्वत् २०११ साल श्रावण ११ गते रोज २ शुभम् ।
(सुभद्राकुमारी समेत विरूद्ध दण्डीकेशरको यो मुद्दा शाही आदेशबमोजिम दोहरिन आई पेश हुँदा माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट र माननीय न्यायाधीश श्री मीनबहादुर थापाको डिभिजन बेञ्चले २०१५ साल असार ११ गते प्रधान न्यायालयको उक्त इन्साफलाई मनासिव ठहरायो । फैसलाको अन्तिम प्रकरण उद्धृत गरिएको छ ।)
“प्रधान न्यायालय डिभिजन बेञ्चको इन्साफमा चित्त बुझेन भन्ने निवेदन परी शाही आदेशबमोजिम दोहरिन आएको यसमा अघि यिनै दण्डी केशरको धर्मलोपमा उजुर पर्दा नजिक हकदारले पाउने भन्ने ठहरी छिनीएको म्यादै भित्र छोरीहरूको उजुरले मुद्दा चली प्रधान न्यायालयमा दन्डीकेशर भन्दा नजिकको हकदारको निवेदन परेबाट कारवाई चलेको र अ.बं.१११ नं. ले थाहा पाएका म्याद भित्र उजुर लाग्ने भई दण्डीकेशर भन्दा नजिक हकदार अरू नै देखिन आएकोबाट समेत यी निवेदक दन्डी केशरले नयनकुमारीको गुठी पालो नपाउने गरी ०११।४।११।२ मा डिभिजन बेञ्चबाट फैसला भएको इन्साफ मुनसिव छ । मुद्दा दोहर्याएमा प्र. दण्डीकेशरलाई केही गर्न पर्दैन । मिसिल बुझाई दिनु ।”