निर्णय नं. ६८२८ - लुटपिट

निर्णय नं. ६८२८ ने.का.प.२०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
संवत २०५४ सालको दु.फौ.पु.नं. ..१४८१
फैसला मितिः २०५६।९।१३।३
मुद्दाः लुटपिट ।
पुनरावेदक
वादीः रुद्रप्रसाद पाठकको श्रीमती का.प.जि.वालुवा गा.वि.स. वडा नं. ८ वस्ने वर्ष ४५ की हरिमाया पाठक
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः टिका प्रसादको छोरा का.प.जि. कासीदेखा गाउं विकास समिति वडा नं. ७ वस्ने वर्ष २९ को शिवकृष्ण पन्त
§ मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८ गतेसम्ममा नालेश दिनु पर्ने हुन आउंछ । तर वादीले १ एक दिन ढीलो गरी अर्थात २०४९।३।२९।२ मा मात्र फिराद पत्र दायर गरेको देखिंदा त्यस्तो फिरादलाई हदम्याद भित्र परेको भनी मान्न कानूनसंगत देखिन नआउने ।
पुनरावेदक वादीः तर्फबाटः
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।२९ मा भएको फैसला दोहोर्याई पाउं भन्ने निवेदन परी यस अदालतबाट निस्सा प्रदान भइ पुनरावेदनको रुपमा दर्ता भइ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।
२. पिताको नामको जग्गा विपक्षी शिवकृष्णका नाममा नामसारी गराइ शिवकष्णबाट मेरो आमाले २०४३।७।२ मा अंश वुझेको भरपाइ रजिष्ट्रेशन गराइ आमाका नाममा कौशिदेखा गा.वि.स. वडा नं. ८ कि.नं. १२४२ जग्गा कित्ता १ कि.नं. २१६ को कित्ता १ र उक्त कि.नं. २१६ मा वनेको ९१३ को कच्चि २ तल्ले घर समेत आमा हरिमायाले अंश पाइ उक्त जग्गा मलाई मिति २०४६।८।४ मा हालैको वकसपत्र गरी दिएकोबाट मेरो हक हुन आउको आमा २०४७ सालमा परलोक हुनु भयो । उक्त मेरो हक भएको घर विपक्षीहरु २ जना र नचिनेको ५०, ६० जना भइ घर भत्काइ उक्त घरमा भएको काठपात समेत जवरजस्ती लुटी लगेकोले जम्मा विगो रु.२४,१००। विपक्षीहरुबाट वष्रावरका दरले भराई लुटपिटको ६ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. मिति २०४६।४।१ मा हा.व बाट प्राप्त गरेको मितिदेखि जग्गामा भोग चलन गर्न आउनु भएको छैन । जहांसम्म घरको सवाल छ । पुरानो अति जिर्ण अवस्थामा रहेको पिताका पालामा वस्तुभाउ राख्नको लागि वनाएको ७ सात हात लम्वाई १३ हात चौडाइ कच्चि गारो फुसको छानो भएको गोठमा विपक्षीको आमा वसी आउनु भएको थियो । छिडीमा वस्तुभाउ वाध्ने हुंदा फडिम जामुन आदि काठको थाम भएकोमा वस्तुभाउको मलमुत्रले कुहिन गएको थियो । फुसको छाना मर्मत संभारको अभावमा कुहिन गई विग्री सेकोमा हिउदको सजनमा विपक्षीको आमाले छाउन नसकि जिर्ण अवस्थामा रहेको उक्त गोठ २०४६ सालको वर्षादले भत्कन गयो । त्यसपछि विपक्षीको आमा हाम्रो गोठमा वस्नु भएका थियो । उक्त गोठ विपक्षीको आमाले २०४६ साल कार्तिक महिनामा मोल रु.२५००। मा विक्री गरी प्राप्त रकम निजको आमा जिम्मा लगाई दिएको हो । हामीले लुटपिट गरेका होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिवेदन पत्र ।
४. वादीका साक्षीहरुले वादी दावी मिलान र प्रतिवादीका साक्षीले प्रतिउत्तर जिकिर मिलान हुने गरी गरेका छुटृा छुट्टै वकपत्र मिसिल संलग्न रहेको ।
५. सवुदको अभावमा वादी दावी साचो मान्न मिलेन । अतः वादी दावी वमोजिम लुटपिट गरेको भन्न मिल्ने सवुदको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०५१।१।२७ गतेको फैसला ।
६. शुरु काभ्रेपलान्चोक जिल्ला अदालतले सवुदको अभावमा वादी दावी पुग्न नसक्ने ठहर गरी भएको फैसला न्यायसंगत नभएकाले चित्त नवुझी यी पुनरावेदन गर्न आएको छु । तसर्थ शुरुको फैसला वदर गरी मेरो फिराद दावी एवं यो पुनरावेदन जिकिर वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
७. यसमा विवादीत कि.नं. २१६ मा रहेको घर भत्की रु.२५००। काठपात विक्री गरी वादीको आमालाई रुपैंया जिम्मा दिएको भन्ने प्रतिउत्तर जिरिक रहेकोमा सवुद प्रमाणको अभावमा शुरुको फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
८. फौजदारी मुद्दामा दावी यकिन गरी प्रमाणित गर्ने भार वादीको हुनेमा वादी दावी पुष्टि हुने यकिन सवुद प्रमाणको अभाव देखाई वादी दावी नपुग्ने ठहर्याएको शुरु फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।
९. पुनरावेदन अदालत पाटनबाट भएको उपरोक्त फैसलामा चित्त वुझेन २०४६ साल मार्ग महिनामा घर समेत वकसपत्र पाएकोमा सो घर अघिल्लै महिनामा भत्किएको भन्ने प्रतिवादी जिकिरलाई प्रमाणमा लिइ प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत हुने गरी काभ्रेपलन्चोक जिल्ला अदालत र पुनरावेदन अदालत पाटन दुवैले हराउने गरी भएको फैसलामा मेरो प्रष्ट दावी र सो वमोजिम मेरो साक्षीले पुष्टि हुने गरी गरेको वकपत्र विपरीत हुने गरी भएको उक्त पैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार उक्त मुद्दा दोहोर्याई हेरी न्याय पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र।
१०. वादी हरिमाया पाठकले पाएको वकसपत्र कि.नं. २१६ मा मा ९(१३ हाते दुई तले घर भएको भन्ने देखिन्छ । यही २ तल्ले घर लुटपिट गरे भनी वादीले प्रतिवादी उपर फिराद गरेको देखिन्छ भने प्रतिउत्तर जिकिरमा पनि गोठ थियो भन्ने कुरा प्रतिवादीले स्वीकारै गरेको अवस्थामा त्यहा जे जस्तो भएपनि घरलाई प्रतिवादीले भत्काइ दिएको भन्ने स्पष्ट छ । वादीले २०४६ सालमै वकस पाइ हक भइसकेको अवस्थामा यी प्रतिवादीहरुले विक्री गरी दिनु पनि लुटपिटको व्याख्यासंग मिल्न आउने र २०४६ कार्तिकमा घर भत्काइ आमालाई वुझाएको भन्ने प्रतिउत्तर जिकिर पुष्टि नहुने स अवस्थामा शुरु काभ्रे जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को कानूनी त्रुटी भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) वमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतबाट भएको आदेश ।
११. नियम वमोजिमम आज निर्णय सुनाउन भनी पेशी सूचीमा चढी इजलालास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादीको पुनरावेदन जिकिर यस अदालतबाट निस्सा दिंदा लिइएको आधार वुंदा तथा शुरु र रेकर्ड मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको र पुनरावेदन जिकिर वमोजिम हुनु पर्ने हो होइन भन्ने सम्वन्धमा नै निर्णय गर्नुपर्ने हुन आयो ।
१२. यसमा का.प.जि. कौसीदेखा गा.वि.स. वडा नं. ७ कि.नं. २१६ को जग्गामा वनेको आमाबाट मैले वकस पाएको कच्चि २ तल्ले घर मिति २०४८।१२।२९ गतेका दिन विपक्षीहरुले लुटी लगेकोले विगो भराइ विपक्षीहरुलाई लुटपिटमा सजाय समेत गरी पाउं भन्ने फिराद दावी र दावीको गोठ २०४६ सालको वर्षातले भत्केकोले वादीको आमा हाम्रो गोठा वस्नू भएको र दावीको गोठ २०४६ सालको कार्तिकमा विक्री गरी प्राप्त रकम वादीलाई जिम्ममा लगाइ दिएका हौ, लुटपिट गरेको होइन भन्ने प्रतिउत्तर जिकिर भएकोमा काभ्रेपलान्चोक जिल्ला अदालतबाट वादी दावी पुगन नसक्ने ठहर भइ वादीको पुनरावेदनन पर्दा शुरुको इन्साफ सदर भएको देखिन्छ । सो उपर वादीको यस अदालतमा मुद्दा दोहोर्याइ पाउं भनने निवेदन परी निस्सा समेत प्रापत भइ इजलास समक्ष पेश हुन आएको देखिन्छ । वादीले फिराद पत्र दिंदा २०४८।१२।२९ गते लुटपिटको वारदात देखाइ मिति २०४९।३।२९ गते फिराद दर्ता गरेको शुरु मिसिल संलग्न फिराद पत्रबाट देखिन आउंछ । मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८ गतेसम्ममा नालेश दिनु पर्ने हुन आउंछ । तर वादीले १ एक दिन ढीलो गरी अर्थात २०४९।३।२९।२ मा मात्र फिराद पत्र दायर गरेको देखिंदा त्यस्तो फिरादलाई हदम्याद भित्र परेको भनी मान्न कानूनसंगत देखिन आएन । तसर्थ प्रस्तुत फिराद हदम्याद नाघि परेको हुंदा फिराद खारेज गर्नुपर्नेमा इन्साफ गरेको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला गल्ती ठहर्छ । प्रस्तुत मुद्दाको फिराद अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति संवत २०५६ साल पौष १३ गते रोज ३ शुभम् .............. ।