निर्णय नं. ६८३२ - सटृापटृा लिखत वदर

निर्णय नं. ६८३२ ने.का.प. २०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
संवत २०५२ सालको दे.पु.नं. .. २८३०
फैसला मितिः २०५६।७।१५।२
मुद्दाः सटृापटृा लिखत वदर ।
पुनरावेदक
प्रतिवादीःजिल्ला वाग्लुङ गा.वि.स. वडा नं. १ सुलडांडा वस्ने कौशीलाको मुद्दा सकार गर्ने ऐ. को छोरा ऐ. ऐ. वस्ने तिलकप्रसाद रिजाल समेत
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. सुलडांडा वस्ने पार्वती रिजाल
§ अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कानूनी व्यवस्था अनुसार कौशीलाले लिखत गर्दा वादीको मंजुरी लिएको वा निजलाई साक्षी राखेको समेत देखिन आउंदैन । सटृापटृाको लिखत गर्दा घरका मुख्य मालिकलाई राजि गराई साक्षी राखी सटृापटृाको लिखत गरेको भन्ने प्रतिवादी जिकिरको हकमा लेनदेन व्यवहारको १० नं.ले गरेको लिखत पक्का गराउन सगोलको अंशियारको मंजुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अमान्य हुन सक्ने गरी सटृापटृाको लिखत गर्न लेनदेनको ३६ नं. ले कानूनी व्यवस्था गरेको देखिदैन । तसर्थ दावी वमोजिम निज वादीको हक सम्मको ४ भागको १ भाग सटृापटृाको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. विपक्षी कौशिला मेरी सौतेनी वहिनी हुन । हाम्रो लोग्नेको दुई परिवार मध्ये जेठी म फिरादी कान्छी विपक्षी कौशिला भएकोमा म तर्फ एक छोरी जायजन्म भै विवाह भैसकेको विपक्षी कौशिला तर्फ १ छोरा र ४ छोरीहरु भएको हामीहरु हालसम्म एकासगोलमा रही वसी आएका छौ हाम्रो सम्पत्ति सवै आर्जनबाट विपक्षी कौशिलाका नाउंमा राजिनामा भएको विहुंकोट गा.वि.स. वडा नं. १ कि.नं. ९६९, ९७१, ९६७, ९७३, ८०५, ९५३, ९५२, ९७५ का जग्गा मेरा छोरा छैनन भनी हेपी मलाई निर अंशि वनाउने अंशमा नोक्सान पार्ने नियतले विपक्षीको दाइजो पेवा नभएको उक्त जग्गालाई मिति २०४६।१२।२३ मा विपक्षी शशिधर संग रु.१४,५५०। लिई कि.नं. ३७७ को जग्गा संग उपयुक्त ८ कित्ता जग्गा सटृा पटृा जनाई हक छोडी दिनु भएको रहेछ । मिति २०४७।१।१९ मा विपक्षी शशिधरको जग्गमा प्रवेश गरेको देखि के नाताले प्रवेश गर्नु भएको हो भनी सोध्दा १ कित्ता जग्गा र नगद रुपैया दिई कुनैको सटृा पटृा कुनैको थैली वुझाई लिएको हुं भन्ने जवाफ दिएकाले ऐ. २० गते नक्कल कागज सार्न लगाउंदा जानकारी हुन आयो । सो सटृा पटृा गरिएको जग्गा सगोलको होइन विपक्षी कौशिलाको मात्र हक को हो भन्ने प्रमाणित नभै उक्त जग्गाहरुमा लेनदेन भएको कुरा लेनदेन व्यवहारको ४० नं. प्रतिकूल देखिएको छ । अतः उक्त राजिनामा सटृा पटृा भएको िजग मेरो अंश हक लाग्ने ४ खण्डको १ खण्ड जग्गाहरु वदर गरी मलाई फिर्ता दिलाई मेरो नाउंमा दर्ता गराई पाउं भन्ने समेत व्यहोराको फिराद माग दावी ।
३. प्रतिवादी म कौशिलाको व्यहोरा के छ भने माइतीबाट पाएको नगद चाडपर्वमा माइती मावलीबाट दिएका नगद समेतबाट वढे वढाएको रकमबाट रमाकान्त रिजालबाट कि.नं. ९४९, समेतबाट जग्गा राजिनामा गरि लिएको हुंदान आफू खुस गर्न पाउने भै सह प्रतिवादी शशिधरबाट कि.नं. ३७७ को जग्गा माथि रु.४५००। थप लिई सटृा पटृा पारीत गरी लिए दिएको हो । प्र. मध्ये शशिधरको व्यहोरा के छ भने प्र. कौशिलाका नाउंमा नापी भएका ८ कित्ता जग्गा प्र. शौशिलाको दाइजो पेवा जिनी आर्जनका हुन । उक्त ८ कित्ता जग्गा सटृा पटृा पारित गरि लिए दिएका हौ वादीलाई निरअंशी पार्ने नियतले गरेको होइन । प्रस्तुत फिराद लेनदेन व्यवहारका ३६ नं. का साथै १० नं. ले र स्त्री अंश धनको ५ नं. ले समेत खारेज हुने हुंदा खारेज गरी पाउं भन्ने समेत व्यहोराको कौशिला रिजाल र शशिधर कंडेलको संयुक्त प्रतिउत्तर जिकिर ।
४. अदालतका आदेशानुसार दुवै पक्षको साक्षीहरुको वकपत्र भई मिसिल सामेल रहेको।
५. समष्टि रुपमा प्रमाणहरुको मुल्यांकन गर्दा प्रतिवादी कौशीला देवीले विक्री गरेको जग्गा भन्दा धेरै नै वढी ने वढी जग्गा वांकी रहेको समेतका कारणबाट उक्त लिखत वदर हुने अवस्था नदेखिंदा वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु वाग्लुङ जिल्ला अदालतको फैसला ।
६. उक्त फैसलामा चित्त वुझेन वाग्लुङ जिल्ला अदालतको फैसला वदर गरी मेरो पुनरावेदन जिकिर एवं वादी दावी वमोजिम समेत गरी न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन ।
७. यस्मा वादी दावीको सटृापटृा लिखतमा विपक्षी कौशिलाले सटृा पटृा गरी शशिधर कडेललाई दिएको जग्गाहरु निजी आर्जन दाइजो पेवाका हुन भन्ने कुरा लिखत व्यहोराबाट समेत देखिन नआएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(क) ले सो सम्पत्ति पनि वण्डा लाग्ने अवस्थाको देखिनेमा वादी दावी पुग्न नसक्ने भनी लिखत वदर नहुने ठहर्याएको शुरु फैसला त्रुटि रहित देखिन नआएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको आदेश ।
८. प्रतिवादी कौशिला रिजालले प्रतिवादी शशिधर कंडेलसंग गरेको मिति २०४६।१२।२३।५ को पारित सटृा पटृाको लिखतमा उल्लेखित शशिधर तथा कौशिलाका नामका जग्गाहरु मध्ये ४ खण्डको १ खण्ड वादी दावी वमोजिमको निजको हक सम्मको लिखत वदर गर्नुपर्नेमा सो नगरेको शुरु वाग्लुङ जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको फैसला ।
९. घरको मुख्य डिल्ली प्रसादलाई मन्जुरी गराई किनारमा साक्षी राखी गरिएको सटृापटृा लेखतमा अरुको मन्जुरी नलिएको हुंदा गलत भन्न मिल्दैन किनकी घरको मुख्यलाई मन्जुर गराएको भएपछि अरुलाई मन्जुर गराउनु पर्ने वाध्यता लेनदेन व्यवहारको ३६ नं. मा गरिएको छैन सटृा पटृा गर्दा विपक्षको मन्जुरी लिनु पर्ने व्यवस्था नभएकोमा मन्जुरी नलिएको भनी ४ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसलामा लेनदेन व्यवहारको ३६ नं. तथा ने.का.प. २०४५, अंक ४, नि.नं.. ३४४२, पृष्ठ ४१३ मा प्रकाशित कानूनी सिद्धान्तको सख्त उलंघन भएको हुंदा सो फैसला उल्टाई जिल्ला अदालत वाग्लुङको फैसला सदर गरि पाउं भन्ने समेत व्यहोराको पुनरावेदन ।
१०. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा कौशिलाले शशीधर कंडेललाई मिति २०४६।१२।२३ मा लिखत गरी दिएको र लगाउको अंश मुद्दाबाट वादी प्रतिवादी सगोल मै रहेको अवस्था देखिन्छ । अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कानूनी व्यवस्था अनुसार कौशीलाले लिखत गर्दा वादीको मंजुरी लिएको वा निजलाई साक्षी राखेको समेत देखिन आउंदैन । सटृापटृाको लिखत गर्दा घरका मुख्य मालिकलाई राजि गराई साक्षी राखी सटृापटृाको लिखत गरेको भन्ने प्रतिवादी जिकिरको हकमा लेनदेन व्यवहारको १० नं.ले गरेको लिखत पक्का गराउन सगोलको अंशियारको मंजुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अमान्य हुन सक्ने गरी सटृापटृाको लिखत गर्न लेनदेनको ३६ नं. ले कानूनी व्यवस्था गरेको देखिदैन । तसर्थ दावी वमोजिम निज वादीको हक सम्मको ४ भागको १ भाग सटृापटृाको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावदन जिकिर पुग्न सक्दैन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ
इति सम्वत २०५६ साल कार्तिक १५ गते रोज २ शुभम ................ ।