शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८३३ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२

निर्णय नं. ६८३३     ने.का.प. २०५६ अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

संवत् २०५५ सालको साधक नं. .. ३६३

फैसला मिति : २०५६।५।२१।२

   

मुद्दा : कर्तव्य ज्यान ।

 

वादीः सानुराज दाहालको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः जि. मोरङ मधुमल्ला गा.वि.स. वार्ड नं. २ वस्ने गोपाल प्रसाद गौतम

     

§  आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्रमणि दाहाल र वस्तुस्थिति मुचुल्काका नरेन्द्र प्रसाद भण्डारी समेतले समर्थन गरेको पाईन्छ । किटानी जाहेरी दरखास्त र प्रतिवादीको स्वीकारोक्तीको समर्थनमा जुटेका अन्य प्रमाण समेतका आधारमा मृतक दधिराम को मृत्यु प्रतिवादी गोपाल प्रसादकै कर्तव्यबाट भएको भन्ने कुरा स्थापित भएको छ । प्रतिवादीले आफ्नो वयानमा दधिराम  र आफू नजिकै सुतेको र निज दधिराम ले संधै गाली गलौज गर्ने कारणबाट रिस उठी प्रहाचर गरेको भनेतापनी दधिरामले संधै गाली गलौज गर्ने गरेबाट मृतकसंग रिसइवी रहेको र उक्त दिन पनि मृतक निदाएपछि काठको पिराले हिकाई मारेको भनी भनेको स्थितिमा निदाई रहेको अवस्थाको व्यक्तिलाई प्रहार गर्ने प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको भनी आदेश प्रेरित हत्याको सुविधा पाउने अवस्था नहुने ।

(प्र.नं. १८)

वादी तर्फकाटः

प्रतिवादी तर्फबाट :

अवलम्वित नजीर :

 

फैसला

      न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) अनुसार साधकको रोहबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।

      २. मेरो घर भत्काई नयां घर बनाउन लागेको हुंदा मोरंग मधुमल्ला २ वस्ने लक्ष्मी प्रसाद पोखरेलको घरमा म र मेरो परिवार सुतेको र मेरो मावली भाई दधिराम  उपाध्याय भटृराई मेरो भानिज गोपाल प्रसाद गौतम समेत दुईजना लक्ष्मी प्रसादको घर टाँडमुनी खटियामा ०५० १२ १७ गते वेग्लावैग्ले सुतेको थिएं । हामी निदाउन लागेको रहेछौं । उक्त राती अन्दाजी ११.३० वजेको समयमा चन्द्रमणि दाहाल समेतले हल्ला गर्दा के हो भनी उठेर सोधनी गरी गरेको तल्ला मुनी झर्दा मानिसहरु हो हल्ला गरिरहेका रहेछन, मैले लाईट लगाई दधिराम सुतेको ठाउंमा हेर्दा भानिज गोपाल प्रसाद उभिएको देखें । धेरै हो हल्ला भएपछि निज गोपाल भागेछन्, गाउंका मानिसले निज उपर शंका गरी खोज तलासी गर्दा निजलाई फेला पारी सोधपुछ गर्दा पिराले प्रहार गरी दधिराम लाई घटनास्थलको मृत्यु पारेको हुं भनेको हुंदा निजलाई कर्तव्य ज्यानमा कारवाही संजाय गरी पाउं भन्ने सानुराजा दाहालले जाहेरी दरखास्त ।

      ३. मोरंग मधुमल्ला गा.वि.स. वडा नं. २ लक्ष्मी प्रसाद पोखरेलको तिनको छानो  भएको दुई तल्ले घरको तलामुनी पलंगमा दधिराम  भटृराईको लास  रहेको । मृतकको टाउको र अनुहार खुनले भिजेको विछ्याएको तन्नामा समेत खुन लागेको नाक मुख निधारमा किचिएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का ।

      ४. दधिराम  भटृराई र म बेग्लाबेग्लै खटियामा सुतेको वखत ०५०।१२।१७ गते राती ९:३० वजेमा मैले निज उठेको मौकामा ओछ्यानमा नै मारी दिने नियत राखी काठको पिराले टाउको निधार मुखमा समेत प्रहार गरी निज दधिराम  भटृराईलाई मारेको हो, निजले मलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी मारेको हुं भन्ने समेत व्यहोराको प्र. गोपाल प्रसाद गौतमले प्रहरी समक्ष्ँ गरेको वयान ।

      ५. मृतक दधिराम  र प्र. गोपाल प्रसाद मेरो घरको टांडमुनी नजिकै सुतेको थिए, सो रात १०:३० वजे होमनाथ निरौला समेतले हल्ला गरेको सुनी उठी हेर्दा दधिराम  भटृराई ओछ्यानमा रगताम्य भैरहेको नजिकमा सुतेका गोपाल पसाद गौतम समेत त्यहा नभएकोले खोजी पक्राउ गरेको गोपाल प्रसादले के कुन इवीले दधिरामलाई मारेका हुन थाहा छैन भन्ने समेत व्यहोराको लक्ष्मी प्रसाद पोखरेलको मौकाको ठाडो कागज ।

      ६. छिमेकी लक्ष्मी प्रसाद पोखरेलको घरमा ठ्याक ठ्याक आवाज आएको सुनी म समेत निजको घरमा आउंदा गोपाल प्रसाद गौतम भाग्न लागेको दधिराम रगताम्य भै ओछ्यानमा थिए। त्यसपछि नै निजको मृत्यु भयो । त्यहां एउटा काठको पिरा पनि थियो, गोपाल प्रसादले काठको पिरा प्रहार गरी दधिराम भटृराईलाई मारेको हो भन्ने समेत होमनाथ निरौलाले गरी दिएको मौकाको कागज ।

      ७. उक्त मिति समयमा वारदात स्थलमा जांदा गोपाल प्रसाद गौतम उभी बसेको ओछ्यानमा दधिराम रगताम्य भएको देखि गाउंमा हो हल्ला गरी आउंदा निज गोपाल भागि सकेकोले पछि पक्राउ गरेको हो के कुन इवीले निजको दधिरामलाई मारेको हो थाहा भएन, भन्ने इन्द्रमणि दाहालले मौकामा गरेको कागज ।

      ८. प्र.गोपाल प्रसाद गौतमले मार्ने उद्देश्यले नै काठको पिराले टाउकोमा हिकाई कर्तव्य गरी मृतकलाई मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको नरेन्द्र प्रसाद भण्डारी समेतको वस्तुस्थिति मुचुल्का ।

      ९. शरीरको विभिन्न भागमा चोट परी बढी रगत बगेको कारणले मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।

      १०. प्र. गोपाल प्रसाद गौतमले मार्ने इवीलिई सुतेको अवस्थामा काठको पिराले निधार समेतमा प्रहार गरी दधिराम भटृराई सोही चोटको बेदनाबाट मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकाले निज प्र. गोपाल प्रसाद गौतमलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद गरी पाउं भन्ने समेत व्यहोराको अभियोग पत्र ।

      ११. ०५०।१२।१७ गते राती म र मेरो मामा दधिराम उपाध्याय बेग्लाबेग्लै खाटमा सुतेको वखत निजले म संग सुतेको वेला किचकिच गरी चल्न थाले, मलाई रिस उठीरहेको थियो, उनी निदाएपछि नजिकै रहेको काठको पिराले टाउकोमा हिकाई सोही पिरबाट निजको मृत्यु भएको हो र म संग दधिराम सुत्ने वेलामा किचकिच गर्थे, सोही रिले हिकाई मारेको हुं भन्ने समेत प्र. गोपाल प्रसाद गौतमले जिल्ला अदालतमा गरेको वयान ।

      १२. प्र. गोपाल प्रसाद गौतम र मृतक विच ज्यान लिनु पर्ने सम्मको पुर्व रिसइवी नभई सुतेको अवस्थामा मृतक दधिराम भटृराईले किचकिच गरी रहने भएको कारण जरियाबाट तत्काल उठेको रिस थाम्न नसकी काठको पिराले प्रहार गरी सोही चोटबाट मृत्यु भएको देखिएकोले प्र. गोपाल प्रसाद गौतमलाई मुलुकी ऐन ज्यान सम्वन्धीक महलको १४ नं. वमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने शुरु मोरंग जिल्ला अदालतको ०५१।१०।१८ को फैसला ।

      १३. प्रतिवादीले मृतकसंग पुर्व रिसइवी राखी निदाएपछि पिराले प्रहार गरी मारेको पुष्टि भैराखेकोमा तत्काल उठेको रिसबाट कुटपिट गरी मारेको भनी ज्यान सम्वन्धीको १४ नं. लगाई भएको फैसलामा चित्त वुझेन, उक्त फैसला वदर गरी प्रतिवादीलाई शुरु माग दावी वमोजिम कैद संजाय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको तर्फबाट परेको पुन्रावेदन पत्र ।

      १४. तत्काल उठेको रिसको आवेशमा मारेको नभई मृतक सुति निदाई सकेपछि सनेत विचारको समय पाई पिराले हिकाई मारेको स्थितिमा घटी संजाय गर्ने गरेको शुरु फैसला विचारणिय हुंदा छलफल निमित प्रत्यर्थीलाई कारागार शाखा मार्फत सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको ०५३।१०।१४ को आदेश ।

      १५. मौकामा उठेको रिस थाम्न नसकी प्रतिवादीले मृतकलाई मारेको नभई मृतक निदाई रहेको अवस्थामा काठको पिराले हिकाई कर्तव्य गरी मारेको हुनाले प्रतिवादीलाई ज्यान सम्वन्धीको महलको १४ नं. वमोजिम १० वर्ष कैद गर्ने गरी शुरु मोरङ जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भै नमिलेकाले केही उल्टी हुन्छ । प्रहरी प्रतिवेदन माग दावी वमोजिम प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरबाट मिति २०५४।२।२८ मा भएको फैसला ।

      १६. पुनरावेदन अदालत विराटनगरको मिति २०५५।११।३ च.नं. ४३३४ को पत्रसाथ उक्त अदालतको मिति २०५४।२।२८ को फैसला साधक जांचका लागि यस अदालतमा प्राप्त हुन आएको।

      १७. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संपूर्ण मिसिल अध्ययन गरी हेर्दा शुरु मोरङ जिल्ला अदालतको फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालत विराटनगरले शुरु फैसला केही उल्टी गरी प्रतिवादी गोपाल प्रसादलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्‍याएको फैसला उपर प्रतिवादीको पुनरावेदन नपरेको र साधकको रोहबाट यस इजलास समक्ष पेश हुन आएको देखिंदा पुनरावेदन अदालत विराटनगरबाट मिति २०५४।२।२८ मा भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्वन्धमा विचार गरी निर्णय दिनु पर्ने हुन भएको छ ।

      १८. निर्णयतर्फ विचार गर्दा मृतक दधिराम भटृराईको टाउको र अनुहार रगतले भिजेको विच्छयाएको तन्नामा समेत रगत लागेको नाक, मुख र निधारमा किचिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का र शरीरको विभिन्न भागमा चोट परी वढी रक्तश्राव भएको कारणले मृत्यु भएको भन्ने पोष्टमार्टम रिर्पोट समेतबाट मृतक दधिराम भटृराईको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा विवाद देखिंदैन । अव कसको कर्तव्यबाट निजको मृत्यु भएको भन्ने सम्वन्धमा विचार गर्दा लक्ष्मी प्रसादको घरको टांडमुनी खटियामा दधिराम उपाध्याय भटृराई र गोपाल प्रसाद बेग्लाबेग्लै सुतेका र राती हल्ला खल्ला सुनी हेर्दा निज दधिरामको अनुहारमा पूर्ण घा चोट भै ओच्छयानमै लडी रहेको अवस्थामा देखि लाइट वाली हेर्दा गोपाल प्रसाद नजिकै उभिएको देखें होहल्ला भएपछि निज गोपाल प्रसाद भागेछन, निजैलाई गाउंलेहरुले फेला पारी सोधपुछ गर्दा पिराले प्रहार गरी दधिरामलाई मारेको हुं भनि भनेको भन्ने समेत व्यहोराको किटानी जाहेरी दरखास्त रहेको पाईन्छ। आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्रमणि दाहाल र वस्तुस्थिति मुचुल्काका नरेन्द्र प्रसाद भण्डारी समेतले समर्थन गरेको पाईन्छ । किटँनी जाहेरी दरखास्त र प्रतिवादीको स्वीकारोक्तीको समर्थनमा जुटेका अन्य प्रमाण समेतका आधारमा मृतक दधिराम को मृत्यु प्रतिवादी गोपाल प्रसादकै कर्तव्यबाट भएको भन्ने कुरा स्थापित भएको छ । प्रतिवादीले आफ्नो वयानमा दधिराम  र आफू नजिकै सुतेको र निज दधिराम ले संधै गाली गलौज गर्ने कारणबाट रिस उठी प्रहार गरेको भनेतापनी दधिरामले संधै गाली गलौज गर्ने गरेबाट मृतकसंग रिसइवी रहेको र उक्त दिन पनि मृतक निदाएपछि काठको पिराले हिकाई मारेको भनी भनेको स्थितिमा निदाई रहेको अवस्थाको व्यक्तिलाई प्रहार गर्ने प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको भनी आदेश प्रेरित हत्याको सुविधा पाउने अवस्था हुंदैन । अतः मृतक निदाई सकेपछिट मृतक संगको पुर्व रिसइवी साध्न मार्ने नियतले नै प्रहार गरेको भन्ने तथ्य स्थापित भैरहेको हुंदा प्रतिवादी गोपाल प्रसादलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिंदा साधक सदर हुने ठहर्छ । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. राजेन्द्रराज नांख्वा

 

इति संवत् २०५६ साल भाद्र २१ गते रोज २ शुभम् ............................... ।

                             

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु