निर्णय नं. ६८३४ - लेनदेन

निर्णय नं. ६८३४ ने.का.प. २०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
संवत २०५२ सालको दे.पु.नं. ... २९९६
फैसला मितिः २०५६।७।८।२
मुद्दाः लेनदेन ।
पुनरावेदक
प्रतिवादीः महोत्तरी मटिहानी ७ वस्ने लक्ष्मी साह सुडी मरी मु.स. गर्ने निजको श्रीमती धनादेवी सुडिन
विरुद्ध
विपक्षी
वादीः महोत्तरी मटिहानी ७ वस्ने मचकौरी साहु सुडी
§ प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा वादी दावि वमोजिमको सांवा व्याज प्रतिवादीबाट भराइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव नै हुंदा सदर हुने ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाटः
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. प्रतिवादीले म बाट रु.५१०१। वुझी लिई सैकडा १०। का दरले व्याज वुझाउने गरी २०३९ साल मार्ग १२ गते कपाली तपसुक गरी दिएकोमा माखा भित्र सांवा व्याज नवुझाएकोले नालेस गरेको छु । सांवा व्याज रु.५९०३।१० प्र. बाट दिलाई भराई पाउं भन्ने वादीको फिराद पत्र।
३. विपक्षी फिरादी दावि वमोजिमको रु.५१०१। कर्जा लिएको छैन । निज सरजुग साहसंग सम्पत्ति वण्डा गर्न वांकि नहुंदा स्व.आमा चिनिया देवी नाउंका जग्गा समेतको नाउंसारी वण्डा सम्वन्धमा फिरादी र सराजुग साह समेतले गडमेल गरी मेरो र कान्छो भाई नथुनी साहुको हुने अंश पचाउने वेइमानी चिताई नाउंसारी वण्डा गर्नमा विरोध वाधा उत्पन्न गरेकोमा पंचायती निर्णय निमित्त रु.५१०१। को तपसुक गराइयो । सो तमसुक मध्येका कोइनमा फिरादी धनीको कोइमा सरजुग साह कोइमा म पनि धनी भै लिखत भयो । फिरादी समेतले स्वं आमाको नाउंको जग्गा एकलौटी नाउंसारी गराउनको लागि पंचायतबाट सिफारिश गराएको कुरा थाहा पाई नथुनिले विरोध गरेको कारणबाट मटिहानी गुठीद्वारा नाउंसारी गराउने काम स्थगित भई रोकिएको छ । मैले फिरादी समेत उपर वे.नं. ५९२ को अंश मुद्दाको कारवाही चलाएपछिद्ध फिरादिले यो मुद्दा दायर गरेका हुन । फिरादी संग मैले कर्जा लिएको होइन छैन । फिराद दावा झुठ्ठा हो भन्ने प्रतिवादी ।
४. वादी दावी अनुसारको रुपैया लिनु दिनु गरी तमसुक भएको हुंदा सांवा व्याज भरी पाउने ठहर्छ भन्ने म.जि.अ. को मिति २०४१।११।११ गतेको फैसला ।
५. दावा परिपंच फरेव र झुठ्ठा भएको कुरा वादीकै साक्षीले समर्थन गरेको हुंदा सांवा व्याज भराउने गरी मिति २०४१।११।११ गतेमा गरेको फैसला त्रुटिपूर्ण हुंदा वदर वातिल गरी इन्साफ पाउं भन्ने प्र.लक्ष्मी साहुको जु.गे.अ. जनकपुरमा परेको पुनरावेदन पत्र ।
६. यसमा यसै लगाउको अंश मुद्दामा शुरुले गरको निर्णय वदर भै कारवाइ किनाराको लागि शुरुमा पठाउने निर्णय अनुसार यस मुद्दामा समेत असर पर्न सक्ने हुंदा साथै निर्णय गर्नु पर्ने देखिंदा यो मुद्दामा भएको शुरु निर्णय वदर हुने ठहर्छ भन्ने मिति २०४३।८।१८।४ को जनकपुर अंचल अदालतको फैसला ।
७. यसै लगाउको दे.नं. ७८३ को अंश मुद्दामा वुंदा प्रमाणहरुबाट विवादित लिखत जालसाजी ठहर्छ भन्ने शुरु भ.जि.अ. बाट मिति २०४९।४।२०।३ मा भएको फैसला ।
८. यसै लगाउको दे.न.७८३ को अंश मुद्दामा प्रमाणहरुबाट विवादित लिखत जालसाजी ठहर्छ भन्ने भ.जि.अ. बाट भएको फैसला त्रुटिपूर्ण हुंदा वदर गरि दावि वमोजिमको सांवा व्याज समेत समेत दिलाई भराई जालसाजीमा समेत सजाय गरि पाउं भन्ने पुनरावेदन वाकिो पु.वे.अ. जनकपुरमा परेको पुनरावेदन पत्र ।
९. यसमा रु.५१०१। को लिखत गरि दिएमा प्रतिवादीले स्वीकार गरेको अवस्थामा जालसाजी ठहराएको इन्साफ नमिलेको हुंदा छलफलका निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने मिति २०५०।५।२९।३ को पुनरावेदन अदालत जनकपुरको आदेश ।
१०. लिखत भएको कुरालाई स्वयं प्रतिवादीले सावित भएको अवस्थामा मात्र साक्षीहरुको वकपत्रलाई आधार मानि जालसाजीको संज्ञा दिन मिलेन । अतएव शुरुले जालसाजी ठहर गरेको फैसला उल्टी हुने ठहर्छ । वादी दावि मोजिम सांवा व्याज भरी पाउने ठहर्छ । भन्ने समेतको पुनरावेदन अदालत जनकपुरको मिति २०५१।९।३ को फैसला ।
११. महोत्तरी जिल्ला अदालतले जालसाजी ठहर गरेको तपसुकलाई मात्र सहिछाप भएको आधारमा नै सद्दे ठहर गर्दै सांवा व्याज भरी पाउने फैसला गरिएको छ । जसबाट म गरिव प्रति ठुलो अन्याय हुन पुगेको छ । उक्त तमसुक के कस्तो अवस्थामा कसरी भएको छ । त्यसतर्फ न्यायकर्ताज्युबाट कुनै विचार भएको छैन । साथै साक्षी प्रमाणको कुनै मुल्यांकन नगरी गरिएको पुनरावेदन अदालतको २०५१।९।३ को फैसला त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेतको प्रतिवादकिो यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१२. नियम वमोजिम आजको दैनिक मुद्दा मेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागज प्रमाण अध्ययन गरियो । यसमा पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखिएको छ। निर्णय तर्फ विचार गर्दा प्रतिवादीले आफूबाट २०३९ मार्ग १२ गते रु.५१०१। वुझी लिई सयकडा १० का दरले याज वुझाउने गरी कपाली तमसुक गरि दिएकोमा भाखा भित्र सांवा व्याज नवुझाएकोले सांवा व्याज भराई पाउं भन्ने वादी दावी भएकोमा प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा वादी दावि वमोजिमको सांवा व्याज प्रतिवादीबाट भराइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव नै हुंदा सदर हुने ठहछै । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीबाट मुद्दाको लगत कटृा गरि मिसिल नियमानुसार गरि वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.राजेन्द्रराज नाख्वा
इति संवत २०५६ साल कार्तिक ८ गते रोज २ शुभम ............ ।