निर्णय नं. ५२ - जग्गा जालसाजी

निर्णय नं. ५२ ने.का.प. २०१६
डिभिजन बेञ्च
प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट
डि.फौ.अ.नं. १३
अपीलाट : नारायणदत्त पाण्डे
विरुद्ध
रेस्पोण्डेण्ट : शुकदेव पाध्या
मुद्दा : जग्गा जालसाजी
(१) वादीले कसैलाई बिदेशी भनेमा–बिदेशी हो भन्ने सबुद वादीले नै गुजार्नु पर्ने ।
बहस सुनी बुझ्दा बिदेशी भन्ने सबुद प्रमाण वादीले गुजार्न नसकेकोले वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ बुटवल अमिनीको मनासिव छ ।
(प्रकरण नं. ५)
(२) हा.क.नं. १०–इन्साफ पारी छिन्ने हाकिम उपर अपील हुँदा–सोही इन्साफ सदर भएमा अपील दिनेलाई दण्ड हुने ।
इन्साफ पारी छिन्ने हाकिम ऊपर अपील गरेमा जी.बुटवल तप्पे धनौरा मौजे लौसा बस्ने नारायणदत्त पाण्डे के शुरु दण्ड भा.रु.१०००।–को हा.क.नं. १० को ऐनले पहिला अपील हुँदा सयकडा १० ले भा.रु.१००।– दण्ड हुन्छ ।
(प्रकरण नं. ५)
वादी तर्फबाट : वकील हेरम्वप्रसाद उपाध्याय
प्रतिवादी तर्फ : सि.एडभोकेट देवनाथप्रसाद वर्मा
फैसला
१. यसमा बाजे रामधनको छोरा काली चरण, देवी चरण, पदारथ समेत ३ दाज्यू भाई भएको र देवी चरणको सन्तान कोही नभएको । काली चरणको छोरा राजाराम, सीताराम, राजितराम, रामनारायण समेत ४ जना दाजुभाइ भएको र पदारथका छोरा नेपालदत्त, नारायणदत्त भगवानदत्त, विष्णुदत्त समेत ४ दाजुभाई सराकतमा बसी आएको र पछि हामी भिन्न भई यही ०१४ पौष महिनामा भतिजा सुकै पाण्डे बिरामी भई निजको सेवा सम्हार गर्न स्वास्नी छोरा छोरी कोही नभई सो बिरामीको खबर मैले पाई पौष २० गते दिन निजको घरमा आई सुकैको हेरचाहा गरी पछि ऐजन पौष २२ गते परलोक हुँदा दागबत्ति कृया मैले गरेको । ०१३ साल चैत्र १ गतेका दिनको मिति राखी प्रतिवादीहरू मिली मेरो हक मार्नाका लागि शुकदेवका नाउँमा केही लिनु दिनु नगरी शुकैका नाउँको घर जग्गा जमिन समेत जालसाजीबाट राजिनामा गरेको साक्षीहरूबाट बुझिएकोले नालिस गर्न आएको छु । जालसाजी गर्नेहरूलाई सजाय गरी घर जग्गा दिलाई सजाय गरी पाउँ भन्ने समेत ०१४।१०।१४ को नारायणदत्तको फिराद ।
२. लिनु दिनु भई शुकैले आफ्नु घर जग्गा शुकदेवलाई रु.८००१ मा ०१३।१२।१ मा राजिनामा रजिष्ट्रेशन पास गरी लिए दिएका हुन । जालसाजीबाट लिनु दिनु नगरी लिए दिएको छैन भन्ने समेत व्यहोराका ०१४।११।२७ को शुकदेव समेतको प्रतिवादी परेकोमा ।
३. शुकदेव उसपारको मानिसलाई मेरो हक मार्नाका लागि जालसाज लेनदेन केही नगरी लिखत गराए भन्ने वादीका मुख्य जिकिर भएको र यसपारकै हो भनी प्रतिवादीहरूले सवूद दिन नसकेको र प्रतिवादीका बकेका साक्षीहरूबाट पनि जन्म थाहा छैन । सानैमा लौसामा देखेको भन्ने १ जना र बाबाका नोकर भई बसेको भन्ने १ जना अरु साक्षीले पनि जन्म यही हो भन्न नसकेको र वादीले दाखिल गरेको उसपारको रासौती जम्मा बन्दीबाट समेत उसपारकै जम्मावाला देखिएको भई त्यस्तो जग्गा जमिन भएकाले यसपार लौसामा केही जग्गा जमिन घर जग्गा समेत नभएकाले यसपारको जन्म होला भन्न पनि नहुने र वादीले दाखिल गरेको कागजबाट उसपार घर जग्गा देखिएकोमा यसपारमा छ भनी देखाउन नसकेकोले लौसाको बासिन्दा भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने । अरु लिनु दिनु भए नभएकोतर्फलाई त्यस्तो उसपारकालाई सरहदीया बनाउने प्रतिवादीहरूले वादीका हक मार्नका लागि उसपारका शुकदेवलाई सरहदीया कायम गरी केही लिनु दिनु नगरी वादीका हक मार्नका लागि जालसाजीबाट राजिनमा लिखत खडा गरे गराएको र लेखक साक्षी समेत जानीजानी साक्षी बसेको समेत ठहराई ०१५।२।२९ मा तौलिहवा अमिनीले फैसला गरेकोमा ।
४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत शुकदेव समेतको अपील परेपछि वादीले बिन्तिपत्र साथ पेश गरेको बिदेशतर्फको ग्राम पञ्चायत समेतको कागज हेर्दा शुकदेवका नाउँमा बिदेश खरगवार मौजामा जग्गा जमिदारी घर समेत दर्ता भएको देखिन आएको भरले बिदेशी भन्न नहुने गाउँको । पटवारी प्र. राम सखालालले आफ्ना हस्ताक्षरले बिक्री नामालेख्दा र जमी.रुद्रनारायण समेतका मानिसले यी लिने दिनेका नाउँ थर वतन जन्म समेत ठीक छ भनी र राम सखालाल समेत ४ जनाले लेनदेन गरको र धनी सरहदीया हो भनी सनाखत गरी दिन नपर्ने । वादीले नालिस दिंदा प्रतिवादी शुकदेवको वतन लौसामा भनी लेखिएकोमा समन जारी हुँदा लौसा मौजामा नै तामिल भई आएकोले समेत प्रतिवादी बिदेशी भन्न नभएको । रुपैयाँ दिई लिखत गराउन नसक्ने कुरा पनि नदेिखएको र वादीकै साक्षी कसैले पनि प्रतिवादी शुकदेव बिदेशी हो । यस ठाउँमा जन्मेको हो भन्न नसकी १ जना शत्रुघन पाण्डेले बिदेशमा जन्मेको हो भन्ने बकेका । अडकली कुरा बक्ने १ जनाको भरले बिदेशी भन्न नहुने । प्रतिवादी शुकदेव बिदेशमा जन्मेको सबुद पछि दाखिल गर्ने छु भन्ने बिन्तिपत्रमा लेखेको । सो सबुद आजसम्म दाखिल गर्न नसकेको र प्रतिवादीका सब साक्षीहरूले बिदेशी होइन । लेनदेन गरी लिखत भएको जालसाजी होइन भन्ने समेत बकेको । साक्षी उपर उजुर नपरेकोले समेत वादीले झुठ्ठा उजुर गरेको र अमिनीले गल्ती इन्साफ गरेको ठहराई ०१५।५।२७ मा बुटवल अपीलले छिनेपछि ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने समेत नारायणदत्तको अपील परी सिंगलबेञ्चमा पेश हुँदा प्रतिवादीका साक्षीले पनि शुकदेव कहाँ जन्मेका हुन ? थाहा छैन भनी र वादीका साक्षीले बिदेशमा पैदा भएको भनी बकेका । सरहदमा जग्गा जमिन केही छ भन्न र आमा बाबु सरहदीया हुन भनी प्रतिवादी तथा अमिनी उपरको अपीलमा समेत लेख्न सबुद दिन नसकेको । जर्ता विषयका निवेदन दरखास्त पनि हाल झगडा परेको जमिन लिए पछि मात्र दिएको र बिदेशमा जग्गा जमिनहरू छैन भन्न नसकेको समेत हुँदा प्रतिवादीलाई छलफलको १५ दिने म्याद र तमसुकमा सनाखत गर्ने जी.रुद्रनारायण श्रीराम गडरिया बुझेको नदेखिंदा निजहरूलाई ७ दिने म्याद पठाई आए पछि डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१५।९।२८ मा सिंगलबेञ्चका आदेश अनुसार झिकाई आएको जी.रुद्रनारायण र श्रीरामहरूले सो लिखत जालसाजी होइन । सच्चा व्यवहारबाट भएको हो भन्ने समेत ०१५।१०।२४ मा बयान गरेको र वादीको वारिस पारसनाथ दुवै र प्रतिवादी शुकदेवको वारिस कौलेश्वर समेत दुवैथरी झगडीया राखी प्रतिवादीतर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद, वादीतर्फका विद्वान वकिल हेरम्बप्रसाद समेतको बहस सुनी बुझ्दा बिदेशी भन्ने सबुद प्रमाण वादीले गुजार्न नसकेकोले वादीको उजुर झुट्टा ठहराएको इन्साफ बुटवल अपीलको मनासिव छ । इन्साफ पारी छिन्ने हाकिमहरू उपर अपील गरेमा जी.बुटवल तप्पे धनौरा मौजे लौसा बस्ने नारायणदत्त पाण्डेके शुरु दण्ड भारु.१०००।– को हाकिमका नाउँमा कराउनेका १० नं. ले पहिला अपील हुँदा सयकडा १० ले भारु.१००।– दण्ड हुन्छ । वारिस हुँदा ऐनबमोजिम गरी असुल गर्न लगत दिई मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१६ साल जेष्ठ १४ गते रोज ५ शुभम् ।