निर्णय नं. ५५ - अंश

निर्णय नं. ५५ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
दे.ठा.नं. ६
निवेदक : युवकुमारी समेत
विरुद्ध
विपक्षी : डम्बरकुमारी
मुद्दा : अंश
१. वादी अंशियार होइन भन्न र अंश दिईसकेको छु भन्न प्रतिवादीले सबुद दिनुपर्ने ।
वादी अंशियार होइन भन्न प्रतिवादीले नसकेको । अंश वापत मो.रु.१७०० दिने १ छापे भएको भनेमा पनि दिइसकेको भन्न लेख्न सबुद दिन प्रतिवादीले नसकेको ।
(प्रकरण नं. ७)
२. अंशबण्डाको ४९ नं.–रीतपूर्वकको बण्डापत्र बेगर अंशियारको अंशमा दावी नपुग्ने भन्न नहुने–अंश छुट्याइ दिनुपर्ने ।
अंशबण्डाको ४९ नं. ले रीतपूर्वकको बण्डापत्र बेगर अंशियार वादीको अंशमा दावी नपुग्ने भन्न मनासिव नहुँदा मानो छुट्टिएको मिति ९७ साल माघ १ गतेको कायम गरी वादी प्रतिवादी दुवैथरबाट ऐनबमोजिम तायदाती लिई बण्डापत्र खडा गरी अंश छुट्याई दिनु ।
(प्रकरण नं. ७)
३. हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन निवेदन दिई इन्साफ मनासिव भएमा सयकडा १० ले थप दण्ड हुने ।
इन्साफ ०१३।२।१९ को डिभिजन बेञ्चको मनासिव छ । निवेदन दिई दोहराई पाउँ भन्ने वापत दण्ड वापत लिने गरेको कोर्ट फी मो.रु.१० को हा.क.११ नं. ले सयकडा १० ले निज निवेदक प्रतिवादी युवकुमारी राणा ब.हा.रत्नविक्रम राणा के मोरु.१।– थप दण्ड हुन्छ ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : प्लीडर पुरेन्द्रकुमार
विपक्षी तर्फबाट : प्लीडर कुलराज
फैसला
१. यसमा लोग्ने तेजविक्रम राणाका २ रानीमा जेठी युवकुमारी कान्छी म भएकी । जेठी प्र. युवकुमारी पट्टी ५ छोरा ६ छोरी मतर्फ ५ छोरा २ छोरी भएको । लोग्ने ९७ सालमा दैलेखमा परलोक भई सो ठाउँ बडाहाकिममा सौताको छोरा रत्नविक्रम सरुवा भई आए पछि मलाई र छोरा छोरी समेत नेपाल पठाएको । नेपाल आउँदा सौताले २ पट्टीको बालबच्चा मिल्न सक्दैन भनेकि हुँदा ९७ साल माघ १ गते देखि मानो छुट्टी बसेकीले श्री ३ जुद्धशम्शेरमा खान लाउन समेत नपाएको कुरा बिन्ति चढाउँदा मुख्तियारले बुझी छुट्याई दिनु भन्ने भएकोमा क.प.रत्नविक्रम नेपाल आएपछि अंशबण्डा गराई दिउँला भनेकोमा आजसम्म गरी नदिएका र सौता युवकुमारीले मेरा नाउँबाट खरिद गरेको घर पछि थपी बनाएकीले मेरो मात्र एकलौटी हक हो भनी जवाफ गरेकीले एकलौटी भनेको बदर गरी मसँग केही नभई जो भएको जेठी बाठी भएकै निज सौताले घरैमा ताला कुंजी लिई बसेकी हुँदा निजहरूबाट तायदाती लिई छोरा छोरीहरूको विवाह ब्रतबन्ध समेत पर सारी आधी आधी अंशबण्डा गरी दिलाई भराई पाउँ भन्ने समेत ०९।१।२२ को डम्बरकुमारीको निवेदन बयान ।
२. निज खसम तेजविक्रम ६७ साल देखी जागिर खाई प्रदेश जिल्लामा हुनु भएको । निज डम्बरकुमारी कान्छी सौताले मेरा छोरा छोरी म समेतलाई नसही खसम समेतले हेला गरी बस्न खान नसकेकाले ८६ साल पौषमा दैलेखबाट नेपाल आई बसेको । आफ्नु घरमा सुरेन्द्रध्वजलाई बस्नु भनी बहालमा दिई जिल्लातर्फ गएको हुँदा दाइजो पेवा समेत गरी मो.रु.६८०१ मा रोपनी ७।।। को सल्यान भन्ने पाखो बारी इन्द्रबहादुर साहीसँग ८६।१२।५ मा राजिनामा लिई दाइजो पेवाको घरमा बसेकी । ९० सालमा भूकम्पले भत्की धरमबहादुर चेत शम्शेरसँग रु.११००० कर्जा लिई नयाँ सृजनाबाट बनाएकी र कम्पुकोत पछाडीको ६ रोपनी जग्गा श्री ३ जुद्ध शम्शेरमा बिन्ति चढाई ९० सालमा बनेको अघिको साझा घर ऋण लागि खसम, बुबा तेजविक्रमका चिठ्ठी मञ्जूरीबमोजिम मोरु ४०१ मा ९३ सालमा सुरेन्द्रध्वजलाई सुक्री बिक्री पास भईसकेको बुबा खसम दैलेख गौंडाको बडाहाकिम भई सौता डम्बरकुमारी साथैमा ९७ सालमा परलोक हुनु भएको र बुबाको साथमा रु.४५०० निस्क्यो भन्ने वादीको छोरा सुरथविक्रमले चिठ्ठी लेख्दा स्वर्गीय भएको हामीले थाहा पाएको हुँदा जो भएको कान्छी सौता मुमा डम्बरकुमारीकै साथमा भएको हुँदा वादीबाटै तायदाती लिई हामीले अंश पाउनु पर्नेमा निज सौता कान्छी मुमा डम्बरकुमारीले श्री ३ जुद्ध शम्शेरमा उजुर गरी ९८ साल आश्विन २७ गते अंश वापत मोरु.१७००। दिलाई दिनु भन्ने हुकुम बक्सकेकोले भनी श्री चीफ पद्मशम्शेरबाट एकछापे भई मैले पाउनु पर्नेमा उल्टो दिनुपर्ने हुँदा मर्का पर्यो भनी कराउँदा सुरथविक्रम बुझी वा उसैले दिनुपर्ने ठहरी दिनु पर्दैन भन्ने भई, दिन नपरेको हुँदा हामीबाट अंश पाउँ भन्ने वादी झुट्टा हो भन्ने समेत प्र. युवकुमारी ब.हा.रत्नविक्रम समेतको बयान ।
३. प्रतिवादीले पेश गरेको यिनै वादीका उजुरीबाट अंश वापत मोरु.१७००। सत्रसय दिनु भन्ने ९८।६।२७ मा हुकुमको युक्ती परेको १ छापेबमोजिम रु.१७००। नदिएको भए दावा गरी नालिस उजुर गरेमा ठहरेबमोजिम हुने । सो १ छापे बदर गरेको भन्ने वादी लेख नहुनाले सो बहाल रहेसम्म अंशमा इन्साफ गरी रहननपर्ने भन्ने समेत ०९।८।२८ को रा.का. दे.पै.को फैसला ।
४. सो रु.१७००। दिनु भन्ने थाहा नपाएको । हालै प्र.बाट पेश हुँदा थाहा भयो । सो.रु.१७०० दिनु भन्ने भएको अंशमा कटाई बाँकी अंश दिलाई दिनुपर्नेमा सो रु.१७०० मा समेत अर्को नालिस गर्नुपर्ने गराई अन्याय बेहिसाव गरेकाले चित्त बुझेन भन्ने समेत वादी डम्बरकुमारीको अपील ।
५. वादी उजुरी खारेज गर्ने गरेको इन्साफ शुरु रा.का. दे.पै.को मनासिव छ भन्ने समेत ०१०।१०।१९ को अपील तेश्राको फैसला ।
६. सो अपीलको इन्साफमा समेत चित्त बुझेन भन्ने वादी डम्बरकुमारीको अपीलपत्र ।
७. वादी अंशियार होइन भन्न प्रतिवादीले नसकेको । अंश वापत मोरु १७०० दिने १ छापे भएको भनेमा पनि दिईसकेको भन्न लेख्न सबुद दिन प्रतिवादीले नसकेको । अंशबण्डाको ४९ नं. ले रीतपूर्वकको बण्डापत्र बेगर अंशियार वादीको अंशमा दावी नपुग्ने भन्न मनासिव नहुँदा मानो छुट्टिएको मिति ९७ साल माघ १ गतेको कायम गरी वादी प्रतिवादी दुवै थरबाट ऐनबमोजिम तायदाती लिई बण्डापत्र खडा गरी ऐनबमोजिम अंश छुट्याई दिनु भनी मिसिल देवानी पहिलामा पठाई दिनु भन्ने समेत ०१३।२।१९ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
८. एकपटक अंशमा उजुर परी हुकुमबाट बुझ्न लगाई १ छापेबाट किनारा लागिसकेकेमा अ.बं.११०।१११।४५ नं. ले समेत फेरी उसै कुरामा वादीको उजुरी लाग्न नसक्ने । ऐन कानून विरुद्ध अन्यायसँग फैसला गरेकाले चित्त बुझेन । सो डिभिजन बेञ्चले छिनेको इन्साफ दोहराई जाँची हक इन्साफ पाउँ भन्ने समेत ब.हा. रत्नविक्रमको बिन्तिपत्रमा एकचोटी फुल बेञ्चबाट दोहराई जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजको हुकुम प्रमांगी ।
९. उक्त हुकुम प्रमांगी र ०१४।७।२७ का आदेशबमोजिम ७ दिने म्याद दिई झिकाई आएका वादी डम्बरकुमारीको वा. पूर्णविक्रम, निवेदक प्रतिवादीको वा. ध्रुवविक्रम समेतलाई रोहबरमा राखी पेश हुन आएको वादी तर्फबाट रहेका विद्वान वकिल प्लीडर कुलराज र प्रतिवादी निवेदक तर्फबाट रहेका विद्वान वकिल प्लीडर पुरेन्द्रकुमार समेतको बहस समेत सुनी यो मुद्दा बुझ्दा, इन्साफ ०१३।२।१९ को डिभिजन बेञ्चको मनासिव छ । निवेदन दिई दोहराई पाउँ भन्ने वापत दण्ड वापत लिने गरेको कोर्ट फी मोरु.१० हा.का. ११ नं. सयकडा १० ले निज निवेदक प्रतिवादी युवकुमारी राणा व.हा.रत्नविक्रमराणाके मो.रु.१.थप दण्ड हुन्छ । ब.हा.रत्नविक्रम के ।५० र युवकुमारी स्वास्नी मानिस हुँदा दं.स.२ नं. ले आधी रु. ।२५ लाग्ने हुँदा असुल गर्न वारेस हुनाले तहसीलमा लगत दिनु अघिल्लो डिभिजन बेञ्चको फैसलामा वादीलेजितेकोमा जिते वापत वादी डम्बर कुमारिसँग जिताउरी लिनु पर्ने छुटाएको देखिँदा अंशबण्डाको ५७ नं. बमोजिम वादी डम्बरकुमारीके प्रतिवादीलाई भएको सुरु दण्ड मोरु.१०। को चौथाई मोरु २।५० जिताउरी लाग्छ । असुल गर्न वारेस हुँदा लगत दिने र निज वादी तर्फबाट वकिल विद्वान प्लीडर कुलराजलाई राखी बहस भई जितेकाले सर्वोच्च अदालत नियमावली २४ दफा अनुसार निज वकिल राख्दाको फी खर्च मोरु.१५। प्रतिवादीको ऐनबमोजिमको जेथा देखाई ऐनको म्याद ५ बर्ष भित्र भराई पाउँ भनी वादीको दर्खास्त परेमा दसौं विसौं केही नलिई ऐनबमोजिम गरी प्रतिवादीबाट वादीलाई भराई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिनु । तायदाती लिनेतर्फ अपील परी सिंगलबेञ्चबाट ०१४।८।२० मा यो दोहर्याईपाउँ भन्ने फुल बेञ्चबाट किनारा भएपछि जगाई पेश गर्नु भने आदेश भई मुल्तबी रहेको देखिँदा सो आदेश ऐन सवालबमोजिम गर्नु ।
इति सम्वत् २०१४ साल पौष २४ गते रोज ३ शुभम् ।