निर्णय नं. ६२ - लेनदेन

निर्णय नं. ६२ ने.का.प. २०१६
डिभिजन बेञ्च
का.मु. प्रधान न्यायाधीश श्री भगतवीप्रसाद सिंह
न्यायाधीश श्री रंगनाथ उप्रती
अपीलाट : चक्रबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी : मोहरि लाल माडवारी
मुद्दा : लेनदेन
(१) अ.ब. ९८ नम्बर प्रतिवादी र विषय छुट्टा–छुट्टै भएमा २ जवान साहुले २ जवान आसामी उपर एउटै फिरादपत्र दिएमा अ.बं. ९८ नं. ले दुवै जनाको हकमा इन्साफ दिन नहुने ।
वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त ऐनको मर्यादा नरहने भएको हुँदा वादी रामकुमारले प्र. हरिबहादुर उपर दावी गरेकोमा दावी बमोजिम भराई दिने ठहराएको शुरुको मनासिवै र वादी मोहरिलालले प्र. चक्रबहादुर उपर दाबी गरेका हकमा एउटै फिरादपत्रबाट इन्साफ दिन सोही अ.बं. ९८ नं. का ऐनले नहुने हुँदा खारेज हुन्छ ।
(प्रकरण नं. ११)
वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा, एडभोकेट योगेन्द्र प्रकास मल्ल
प्रतिवादी तर्फबाट : प्लीडर हेरम्बप्रसाद उपाध्याय, प्लीडर पुरेन्द्रकुमार मैनाली
फैसला
१. यसमा म मोहरिलाललाई काम विशेषले भारत तर्फ सितामाडी गई रहेको अवस्थामा प्र. चक्रबहादुरलाई कं.रु. १०००१ दसहजार एक रुपैयाँ दिई ०१०।६।२२ मा कपाली तमसुक गराई लिएको प्र. हरिबहादुर हाम्रा जनकपुर घरमा आई कं.रु. १००१ एक हजार एक रुपैयाँ लिई सगोलका छोरा रामकुमारका नाउँमा कपाली तमसुरक गरी ०१०।१०।१४ मा दिएको भाखाभित्र माग्दा आजभोली गर्दै टारवार गरी नदिने नियत गरेकोले नालिस गर्न आएका छौं । बिदेशमा लेनदेन गरे तापनि सरदको धानबाट तिर्ने गरी नेपाली भाखामा तमसुख लेखिएको हुँदा दुबै लिखतको लिखत भएको मिति देखिको व्याज र सावाँ समेत दिलाई पाउँ भन्ने समेत रामकुमार मोहरिलाल माडवारीको एउटै फिराद ।
२. वादी दावी बमोजिम मैले एक पैसा पनि लिएको छैन वादी र म समेतले चुरोट र करकट पाताको काम साझामा गरी आएको हुँदा मैलै लिनु पर्ने रुपैयाँमा सवै हरिहसाब गरी देउ भनी वादी मोहरिलाललाई बराबर भन्दा हरहसाब नगरी आलटाल गरेबाट भनाभन भएकोले मैले लिनु पर्ने रुपैयाँमा नालिस देला भनी म उपर झुट्टा नालिस दिएका हुन । तमसुक देख्न पाएमा नाम राख्ने छु । लिखत पनि सीतामाडीमा भएको देखिएको र वादी जनकपुरमा व्यापार गरे बसे तापनि खास बिदेशी मानिस हुनाले र लिखतमा सरदमा तिरुँला भन्ने भएको नदेखिनाले साहु आसामीका ३६।३७ नं. ले नालिस लाग्नै नसक्ने हुँदा वादी दावी झुट्टा हो भन्ने समेत चक्रबहादुरको प्रतिवादी ।
३. लिखतको सहीछाप र मेरो सहीछाप मिल्न आए तापनि ०१० साल भाद्र महिनामा नेपाल जान भनी विष्णुपुरबाट हिंडी सीतामाडी आई पुगेपछि मदनबहादुरसँग राजिनामा गरेको लिखत पास गर्न भाद्र महिनामा नालिस दिनु पर्ने कुरा सम्झी नालिस दिना निमित्त वारेस नामा लेख्ने लिफा गिर्जापास मानको हातमा दिनु भनी वादी मोहरिलाललाई लिफा सौपी म नेपालमा गएकोमा आफ्ना मेलका मानिस साछि राखी सो लिफामा कं.रु. १०००१ को कपाली तमसुक खडा गरी जालसाज गरेको हुन भन्ने समेत प्र. चक्रबहादुरको बयान ।
४. मैले दाखिल गरेको कं.रु. १०००१ को तमसुक जालसाजी हैन सद्दे साँचो हो प्रतिवादीले साधा कागजमा सहीछाप गरी मलाई दिएको छैन भन्ने समेत वादीको बयान ।
५. बुझिएसम्मका प्रमाणबाट रामकुमारले हरिबहादुर उपर दावा गरेको कं. रु. १००१ को सावाँ व्याजको हकमा कुनै कुराको इन्कारी नलिई प्र. हरिबहादुर सावित भई बसेकाले वादी रामकुमारले प्र. हरिबहादुरबाट दावी बमोजिम सावाँ र व्याज समेत भरी पाउने र वादी मोहरिलालले बयान गर्दा मेरो जन्म भारतमा हैन भन्ने र यति परिबन्दबाट नेपालको नागरिक हुँ भन्न नसकेको प्र. चक्रबहादुरका लेखाई बमोजिम वादीको जन्म भारतमा भएको हरेछ भन्ने देखिएको हुँदा सरदियाको प्रमाण पुर्याई दावा गरेमा ऐन बमोजिम हुने हुँदा साहु आसामीका ३६।३७ नं. ले खारेज हुने ठहराई ०१३।२।२५ मा जलेश्वर अमिनिबाट फैसला ।
६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत वादी मोहरिलालको अपील ।
७. नेपाल सरकारको कानून बमोजिमको रीतपूर्वकको तमसुक भएको देखिएका लिफामा भरेको भए पुछारमा परेको सहीछाप माथि तमसुकको अक्षर हुनुपर्नेमा नभई तमसुक लेखिसकेपछि सहीछाप गरेको तमसुकमा भएका लेखात्मक रेखात्मक सहीछापबाट जालसाजी भन्न नहुने तमसुकको व्यहोरा लेखेको मसी र रीनिले सही गरेको मसी एकै मिलानको भएबाट लिफामा भरेको भन्न नहुने हुँदा जालसाजबाट खडा गरेको भन्ने प्र. चक्रबहादुरको जिकीर पुग्न सक्दैन वादी दावी बमोजिमको सावाँ र व्याज समेत प्र. चत्रबहादुरबाट वादी मोहरिलालालाई भराई दिने ठहराई महोत्तरी अपीलबाट ०१३।८।१४ मा फैसला ।
८. सो फैसला उपर चित्त बुझेन भन्ने समेत प्र. चक्रबहादुरको अपील ।
९. यो मुद्दा १० हजार देखि बढीको देखिएकोले सिंगलबेञ्चको लगत काटी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश बमोजिम पेश हुन आएको यो मुद्दामा साहु आसामीका ३६।३७ दफा अन्तर्गत छलफलमा वादीलाई झिकाई आए पछि पेश गर्नु भन्ने ०१५।१०।१२।१ को डिभिजन बेञ्चको आदेश ।
१०. वादी नेपालराजको नागरिक भन्ने सबुद प्रमाण के छ वादी र माल गोश्वारा समेत बुझी आएपछि पेश गर्नु भन्ने ०१५।११।१९।२ को डिभिजन बेञ्चको आदेश ।
११. प्र. चक्रबहादुरको धरौटी अपील परी पेश हुन आएको प्रस्तुत मुद्दामा आदेश बमोजिम झिकाई तारिखमा रहेको वादी मोहरिलाललाई राखी वादी तर्फको वकील श्री विद्वान सिनिएर एडभोकेट देवनाथप्रसाद बर्मा एडभोकेट योगेन्द्र प्रकाश मल्लको र प्रतिवादी तर्फको वकील श्री विद्वान प्लीडर हेरम्बप्रसाद उपाध्याय प्लीडर पुरेन्द्रकुमार मैनाली समेतको बहस समेत सुनी बुझ्दा वादी मोहरिलाल रामकुमारले प्रतिवादी चत्रबहादुर हरिबहादुर उपर दावी गरी एउटै फिरादपत्र दिई मुद्दा दायर गराएकोमा भिन्ना–भिन्नै वादी प्रतिवादी देखिएकोले अ.बं. ९८ नं. का ऐन बमोजिम भिन्ना–भिन्नै नालिस दिई दावी गर्नु पर्नेमा सो बमोजिम नगरी २ जवान साहुले २ जावान आसामी उपर एउटै नालेस दिएको देखिएको वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त ऐनको मर्यादा नरहने भएको हुँदा वादी रामकुमारले प्र. हरिबहादुर उपर दावी गरेकोमा दावी बमोजिम भराई दिने ठहराईएको शुरुको मनासिवै र वादी मोहरिलालले प्र. चक्रबहादुर उपर दावी गरेका हकमा एउटै फिरादपत्रबाट इन्साफ दिन सोही अ.बं. ९८ नं. का ऐनले नहुने हुँदा खारेज हुन्छ । ऐन बमोजिम छुट्टै अर्को नालिस दिएमा ठहरे बमोजिम हुनेछ भनी तारिखमा रहेको वादी मोहरिलाललाई सुनाई दिनु शुरुले खारेज गरेको र अपीलले वादी दावी बमोजिम भराई दिने गरेको समेत गल्ती ठहर्छ । तपसील बमोजिमको लगत तहसिलमा दिई मुद्दा छिनिएको जनाउ अपीलाट चक्रबहादुरलाई पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
अपीलाट प्र. चक्रबहादुर श्रेष्ठके महोत्तरी अपीलाका ०१३।८।१४।५ का फैसलाले गर्ने गरेको दण्ड भा.रु. १२५७।।ऽ माथि इन्साफ खण्डमा लेखिए बमोजिम मुद्दा खारेज भई नलाग्ने भएकाले असुल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी लजेश्वर अमिनी तहसिललाई पुर्जी गर्ने भारु. बाह्र सय सन्ताउन्न रुपैयाँ दस आनाको कलम ..................१
ऐजन ऐजन के निजले यस अड्डामा अपील गर्दा तारिखमा बस्न नपर्ने गरी ने.रु. १६१।१४ साल ०१४।१।३०।१ मा जलेश्वर अमिनी तहसिलमा धरौट राखी अपील गरेको देखिएको हाल सो धरौटी लिनु नपर्ने भएको हुँदा ऐन सवालको रीत पर्याई निज चक्रबहादुरलाई फिर्ता दिनु भनी ऐजनमा पुर्जी गर्ने नेरु. एक सय एकसठ्ठी रुपैयाँ चौध पैसाको कलम .................२
वादी मोहरिलाल माडवारीलाई प्र. चक्रबहादुर श्रेष्ठबाट अपलि का ऐनज मितिका फैसलाले भराई दिने गरेको बिगो भा.रु. १३१४८ माथि इन्साफ खण्डमा लेखिए बमोजिम मुद्दा खारेज भएकोले भरी भराई गर्नु पर्दैन लगत काटी दिनु भनी ऐजनमा पुर्जी गर्न अ.त. बिगो फाँटा लगत दिने भा.रु. तेह्र हजार एक सय अठचालीस रुपैयाँ बाह्र आनाको कलम ................३
गल्ती गर्ने देहायकमा अड्डाका देहायका मानिसको नाउँ उल्टि पटके किताबमा लेखी राख्नु भनी सर्वोच्च अदालत रजिष्ट्रार अफिसमा लेखी पठाईदिनु ................. ४
जलेश्वर अमीनीका हा.ना. सु. शेरबहादुर थापा क्षेत्री १, महोत्तरी अपीलका हा.सु. ईश्वरी जंगबहादुर सिंह १, ऐजनका वि. कुलानन्द झा १
इति सम्वत् २०१६ साल आश्विन ११ गते रोज १ शुभम् ।