शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८ - कागज सच्यायो

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६८       ने.का.प. २०१६

डिभिजन बेञ्च

प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह

न्यायाधीश श्री तिकल शम्शेर थापा

सा.नं. ५२२

वादी : टीकालाल उप्रेती

विरुद्ध

प्रतिवादी : डि. धर्ममान समेत

मुद्दा : कागज सच्यायो

(१)   झगडीयाबाट अड्डामा पेश दाखिल हुने सक्कल कागजमाकैफियत भएमा सो जनाई लिनु पर्नेसो कैफियत नजनाइएमा असावधानीसँग काम गरेको ठहरिने ।

     झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए नभएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिम नक्कल र सक्कल लिनु परेकोमा पनि सो बमोजिम कैफियत खुलाई लिनु पर्नेमा मिसिलमा रहेको सक्कल कागजमा मसी फुले समेतको केही कैफियत जनाएको नदेखिएकोले काभ्रेपलाञ्चोक अदालतले ऐन छाडी असावधानीसँग काम गरेको देखिएको ।

(प्रकरण नं. ७)

फैसला

      १.     तिर्थराज उप्रेतीसँगको घर जग्गा निखनी चलन चलाई पाउँ भन्ने मुद्दामा मैले पेश गरेको ७१ साल जेष्ठ ३० गतेको सक्कल दातव्यपत्र अड्डामा दाखिल भईसकेपछि प्रतिवादीहरू मिली बालकृष्णका खुसामत मोलाहीजाले सो दातव्यको ७१ सालको अंकमा र कारणीको सहीछापमा समेत मसी माथि मसी थपी कागजको रंग समेत बेगल गराई दिएमा डि. धर्ममानलाई र लेखिए बमोजिम गराएमा बालकृष्ण तिर्थराजलाई सजाय गरी पाउँ भन्ने टिकालालको वादी ।

      २.    किर्ते गरे भनेका लिखतबाट मेरो हक हुने भनी बादीले झगडा लगाएको जग्गा रुद्रदेवी उप्रेतीसँग ७१।२।२२ गते सु. गंगाधर खरेलले रु. ५०१। मा फार्छे गरी लिएको रहेछ । निज गंगाधरले मेरा बाबा विष्णु उप्रेतीसँग रु. १८६।५० बुझी सक्कल फार्छे समेत सौंपुवा गरी ७३ साल ज्येष्ठ २२ गते फाछ्र्र्या लेखी दिएकोले बाबाका शेषपछि म समेतले भोग चलन गरेकी । वादीले सो जग्गा माग्दा नदिएको रिस इवीले चोरी मुद्दा र खसी चोरी मुद्दा लगाएमा टिकालालको उजुर झुट्टा ठहरी फैसला भएको बन्धक दिएको भनी दावी गरेको यो जग्गाको दोहरीको सबुद दिन नसकेको बिक्री गरेको हदम्याद नघाई नालेस गरेको समेतबाट वादीबाट पेश भएको कागज किर्ते गर्नु गराउनु पर्ने कारण नहुँदा साल मिति सच्याउन लगाई मैले किर्ते गरे गराएको हैन भन्ने तिर्थराजको प्रतिवादी ।

      ३.    वादी टिकालाल मेरो भानिज नाता पर्ने हो तापनि बेनामीबाट समेत धेरै मुद्दा लगाएको । ६ महिना देखि पालेकोले मुद्दा नगर भन्ने स्वाभाविक कुरा भनेको । आफ्ना जिम्माको कागज मिसिल सच्याए बिगारे आफै जवाफदेही हुनुपर्ने कुरामा मेरो भनाई मानी सच्याए बिगारे होला भन्ने ठहर्न नआउने । सो कागज सच्याउन लगाउनु पर्ने मलाइ सरोकार नपरेकाले वादी झुट्टा हो भन्ने सुब्बा बालकृष्णको प्रतिवादी ।

      ४.    तिर्थराज उपर यो वादी टिकालालले मेरो आमाले बकस पाएको जग्गा निखनाई चलन चलाई पाउँ भन्ने मुद्दा दायर गराएकोमा वादीको आमालाई बकसपत्र गरी दिने भनेको सु. गंगाधरले नै महालक्ष्मी रुद्रदेवीहरूसँग ७१।२।२२ गते गराइ लिएको फार्छे समेत सौपुवा गरी फार्छे गरी दिएकोले निखन्न दिनु पर्ने हैन भन्ने लेखेकोले वादीको बकसपत्र र प्रतिवादी फार्छे समेत खिची सद्दे किर्तेमा सुनाउँदा वादीले जालसाजी र प्रतिवादीले किर्ते भनी लेखेको । सु. गंगाधर मरी सकेकोले सुब्बा बालकृष्ण बुझ्न मिसिल देवानीमा पठाए भन्ने रिस इवीले झुट्टा दावी गरेको हो । सक्कल कागज लिई कैफियत जनाई भर्पाई दिने काम हाकिमको नभई फाँटवाला विचारी कारिन्दाको काम हुँदा ७० लाई ७१ गरायो भनेकालाई फाँटवाला वि. मदनकृष्णले हेरी जाँची बुझी देखिएसम्मको कैफियत खुलाई दाखेल गर्नेको सहीछाप गराई सकेपछि दाखेल गर्नेलाई दिने भर्पाई लेखी ल्याउँदा सक्कल सँग भिडाई हेर्दा कारणीको सहीछाप भ्रान्ति कागज पातलोमा राती मोटो दली राखे जस्तो देखिएको । मिति लेखेमा सालमा ७० को सुन्यलाई गाँसेको धर्काकामा मसी नमिलेको भन्ने कैफियत जनाएको भर्पाईमा मैले समेत दस्तखत गरी दिएको सो भर्पाई दवाई देखाउन नसकेबाट वादीको कुरा गल्ती देखिएकै छ । कैफियत लेखी सक्कलको बायाँ गास गर्ने कागजमा हाकिमको दस्तखत नहुने हुँदा वि. मदनकृष्ण नौ. देवीबहादुर मिली पछि फेरि अर्कै कागज गाँसेको हो वा भुलबाट लेखेको भए म के जान्नु ? सु. बालकृष्णको अरोट मानी गर्नुपर्ने कारण नभएको । फाँटवाला जिम्मा रहने मिसिल हाकीमले लिई कैफियत गरेको भए फाँटवालाले उजुर गर्नुपर्ने नगरेकोले मौकैमा कैफियत बनाई ल्याएको देखिने । फाँटवाला विचारी नौसिन्दा उपर उजुर गर्न नसकी आफैले कैफियत गरी दाखिल गरेको । कसूर छिपाउन झुट्टा उजुुर गरेको हो भन्ने डि. धर्ममानको प्रतिवादी । जग्गा निखनाई पाउँ भन्ने तर्फ यो कैफियत गरे भनेको लिखत किर्ते ठहरी आजै फैसला भएको । फाँटवाला कारिन्दाले कैफियत गरे भन्ने तर्फ दावी नभएको । फाँटवाला कारिन्दा समेतका जिम्माको मिसिल १ जना हाकिम डी. धर्ममानले मात्र कैफियत गर्न असम्भव । वादीलाई बालक अवस्थादेखि आफ्ना घरमै ल्याई पालन पोषण गरी रक्षा गर्ने मामा भएका सुब्बा बालकृष्णले कोशिश मिलाई वादीको लिखतमा कैफियत गरे गर्न लगाए होलान भन्न सम्झनै नहुने हुँदा कैफियत गरे भन्ने वादीको उजुर झुट्टा ठहर्छ भनी ६।४।२८ गते अपील दोश्रा फाँटले फैसला गरेको ।

      ५.    टिकालालको अपील पर्दा प्रधान न्यायालय दोश्रा फाँटबाट बुझ्दा कैफियत लेखी सक्कलमा गाँसेको कागजको हस्ताक्षर मेरो हो । सो दातव्य कागज प्रमाणलाई भनी दाखेल गर्न ल्याएको । सो कागज मैले डि. धर्ममानलाई दिई डीट्ठाले हेरी सो सक्कल कागजको कैफियत हेरी जनाई झगडीयाको सहीछाप गराई लेउ भनी वि.मदन कृष्णलाई दिई विचारीले कैफियत जनाई लेउ भनी मलाई दिएर मैले कागज हेर्दा सुब्बा गंगाधरको हस्ताक्षरको सहीछाप परेको साक्षीको सहीछाप परेको भन्नेसम्म जनाउनु पर्ने अरु जनाई लेख्नु नपर्ने जस्तो लागि सो बमोजिम कैफियत लेखी सहीछाप गराई सक्कलमा गाँसी हाकिम विचारी भएमा लैजाँदा हाकिमले यस कागजमा कागजm पातलो भएको रातो माटोमा धसी पुरानो गराए जस्तो पनि छ । साल लेखेकोमा सुन्यको मसी र धर्को तानेको । मसी फरक छ । कारणीको सहीछापको मसी पनि फरक छ । फुलेको पनि छ । यो सवै जनाई भर्पाई दिनु पर्छ भनी सो बमोजिम भर्पाई लेखाई हाकिम विचारीले सहीछाप गरी छापलगाई टिकालाललाई दिएको छ । मिसिलमा रहने कैफियत लेखिएको कागज अर्को फेराएनन । त्यसो हुँदा सो कागजमा कैफियत नदेखिएको हो । कागज मैले दाखेल गर्दा पनि यस्तै थियो । फरक छैन । सो बारे हाकिमले जाहेर गरेको छु भनेका थिए भन्ने नौ. देवीबहादुरको बयान ।

      ६.    सो कागज टिकालालले दाखेल गर्न ल्याउँदा हाकिम र मैले बुझिलिए भनी मेरो फाँटवाला कारिन्दा नौ. देवीबहादुरले बुझी लिएका हुन । सो कागज हाकिम र मैले हेरी भएको कैफियत लेखी हाकिम समेतको दस्तखत गरी वादीलाई भर्पाई दिएको छु । कैफियत लेख्न कारिन्दाको भुलले छुटाए पनि देखेसम्मको कैफियत लेखी झगडीयालाई भर्पाई भए बमोजिमको कुरा मौकैमा डी. धर्ममानले जाहेर गरेका छन । मौकामा कैफियत लेखिएको कागज फेरि अर्को गाँसेको हैन । सुब्बा गंगाधरको सहीछापमा दोहरो मसी थपे जस्तो र ७१ साल लेखेमा १ को अंकमा व्यहोराकै मसीले मौकैमा सच्याए जस्तो थियो । हाल मसी नै थपी बेगल मसीले सच्याए जस्तो पारेको रहेछ । सो कुरा हाकिमले जाहेरी भन्दा बढी देखिन्छ । सो कैफियत मिसिल मामिला निकसारी चलान गर्दासम्म थिएन । त्यहाँबाट कुन अड्डामा गई कहाँ कैफियतको भएको हो ? थाहा छैन । हाकिमको जाहेरी भन्दा बढी कैफियत थिएन । सदरमा आएपछि कुन अड्डा कसले कैफियत गरेको हो ? थाहा छैन भन्ने समेत वि. मदनकृष्णको बयान ।

      ७.    यसमा साधकद्वारा पेश हुन आएको यो मुद्दा छलफलमा झिकिएको डी. धर्ममानको वा. रविन्द्रमान श्रेष्ठलाई राखी बुझ्दा वादी टिकालालले सच्याई दिए भनी दावी लिएको १९७१ साल जेष्ठ ३० गतेको कागज निजै टिकालाल समेतको र तिर्थराज समेतको घर जग्गा निखनाई पाउँ भन्ने मुद्दामा पेश भई सद्दे किर्तेमा यिनै वादी टिकालाललाई देखाई ४ साल आश्विन १७ गतेमा बयान गर्दा लेखिएकै मितिमा भएको सद्दे हो । किर्ते होइन भनी बयान गरेको प्रमाणको मिसिलबाट देखिएको र सो बखत मौकैमा कागज वादीले देखी सकेको कागज सच्याई भ्रान्ति गराए भएको भए मौकैमा उजुर गर्न सक्नुपर्ने, सो मौकामा उजुर परेको नदेखिई ५ साल चैत्रमा मात्र उजुर परेको देखिएको र सो कागजै किर्ते ठहराई शुरुले र म्याद नाघीसकेपछिको उजुर हुँदा खारेज गर्ने गरी प्रधान न्यायालय डिभिजन बेञ्चबाट ११ साल बैशाख ८ गते सो निखनाई पाउँ भन्ने मुद्दा आखिरी फैसला भएको प्रमाणको मिसिलबाट देखिएको छ तापनि झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए, भएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिमको नक्कल र सक्कल लिनु पर्नेमा मिसिलमा रहेको सक्कल कागजमा मसी फुले समेतको केही कैफियत जनाएको नदेखिएकोले काभ्रेपलाञ्चोक अदालतले ऐन छाडी असावधानीसँग काम गरेको देखिएकोले अदालती बन्दोबस्त २८९ नम्बरका ऐन बमोजिम काभ्रेपलाञ्चोक अदालतका हाकिम डिठ्ठा धर्ममान श्रेष्ठ का.ई. माली गाउँके बहाल टुटी सकेको भनी प्रधान न्यायालयको फैसलामा लेखिएको देखिनाले मोरु २० बीस जरिवाना गर्नु । वि. मदनकृष्ण श्रेष्ठ का.ई. त्यौड र नौ. देवीबहादुर श्रेष्ठ प. ३ नं. कास्की मौजे सरानकोट मध्ये पोखरा बजारका हकमा मोहरू २०। बीसका दरले जरिवाना हुन्छ । डी. धर्ममानको वारेस हुँदा र वि. मदकृष्ण नौ. देवी बहादुर रुजु नभई का. प. अदालतमा बहाल हुँदा असुल गर्नु भनी तहसिलमा लगत दिनु । निज वि. मदनकृष्ण नौ. देवीबहादुरको असावधानीसँग काम गरेको रेकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा लेखी पठाई दिनु ।

 

इति सम्वत् २०१३ साल फाल्गुण २३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु