निर्णय नं. ७० - हुण्डाबाली

निर्णय नं. ७० ने.का.प. २०१६
डिभिजन बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री मिनबहादुर थापा
दे.अ.डी.नं. ५२
अपीलाट : अनहोजीलाल साह कलवार
विरुद्ध
विपक्षी : शेषसफी महमद
मुद्दा : हुण्डाबाली
१. बालीका झगडाको २० नं.–३ बर्षको म्याद नघाई कबुलियत बाहेक अरु कुनै कागज भाकापत्र समेत नभएमा–दावी लाग्न नसक्ने । खारेज हुने ।
०८।०९ सालको बालीलाई ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको । ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने र पेश हुन आएको समेत नदेखिनाले बालीका झगडाको २० नं. ऐनबमोजिम ३ बर्षको म्याद नघाई दावी गरेको वादी दावी उजुर खारेज हुने ठहराई सुरु क.बं.अमिनीको उल्टि गरी क.बं.अपीलले छिनेको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. ८)
प्रतिवादी तर्फबाट : प्लीडर कृष्णप्रसाद उपाध्या
अपीलाट, वादी तर्फबाट : पद्ममान श्रेष्ठ
फैसला
१. यसमा प्रतिवादीले मेरो नं. ६२९ को जग्गा विगाहा ४ मध्ये मौजे नरकटिया गुठी बिर्ताको जम्मा बिगाहा १ साल ०७ का बाली देखि ०९ सालका बाली तक साल १ को धान मन १५ र रबी चना मन २ का दरले बुझाउने गरी ०७ साल जेष्ठ ३० गते हुन्डा बालीको कबुलियत गरी दिएको । ०७ सालको बाली बुझाएको । ८।९ साल २ को नबुझाएकोले धान मन १ को कं.रु १२ र चना मन १ को कं.रु. १० का दरले हुने जम्मा कं.रु ४०० र फैसला भएका मिति तकको ऐनबमोजिम व्याज समेत भराई पाउँ भन्ने समेत ०१३।३।३२।१ को वादी अनहोजीको फिरादपत्र ।
२. ०७ सालका बाली बर्ष १ सम्मलाई भनी लिई कमाई सो सालको बाली बुझाईसकेको छु । ०८।०९ सालको कमाएकै छ । म लेख पढ गर्न नजान्ने मानिस हुँदा कबुलियतमा ०९ सालसम्मको भनी लेखेको रहेछ । कबुलियत चित्तल गरी देउ भन्दा नदिई आलटाल गरी झुट्टा नालिस गरेको हो भन्ने समेत प्र. शेषसफी महमदको प्रतिउत्तर ।
३. प्रतिवादी कबुलियत गरेमा सावित भई ०८।०९ सालको बाली कमाएको छैन भन्ने जिकिर छ तापनि सो लिखत बदर बातिल गराउन नसकेकोले समेत वादी दावीबमोजिमको कं.रु. ४०० र आजको मिति तकको व्याज समेत गरी जम्मा कं.रु. ५८९।।। प्रतिवादीबाट वादीलाई भराई दिने ठहर्छ भन्ने समेत ०१३।११।२२ को क.बं अमिनीको फैसला ।
४. सो कटरवन अमिनीको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. शेषसफी महमदको अपीलपत्र ।
५. ०८।०९ सालको कबुलियतबमोजिम बाली दिलाई पाउँ भन्ने वादीको उजुर ०१३।३।३२।१ मा मात्र दायर गरेको । बालीको झगडाको २० नं. ले ३ बर्ष हदम्याद नाघी गरेको उजुर दायर रहन नसक्ने हुँदा शुरु अमिनीले गल्ती गरेको र वादी उजुर खारेज हुने ठहर्छ भन्ने समेत ०१४।३।५ को कटरबन अपीलको फैसला ।
६. सो कटरबन अपीलको फैसलामा चित्त बुझेन भन्ने समेत वादी अनहोजीलालको अपीलपत्र ।
७. लिखत गरेमा प्र. सावित । ३ बर्षलाई होइन भन्ने जिकिर छ तापनि सो लिखत चित्तल बदर गराउन र फिर्ता लिन समेत नसकेकोले इन्साफ सुरु क.बं.अमिनीको मनासिव देखि अपीलसँग राय नमिलेकोले छलफलमा प्रतिवादी झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१६।५।११ को सिंगलबेञ्चको राय आदेश ।
८. उक्त आदेशानुसार छलफलमा झिकाई आएको प्र. शेषसफी महमद र निज तर्फबाट रहेको विद्वान वकिल प्लीडर कृष्णप्रसाद उपाध्याय र अपीलाट, वादीकोबाट पद्ममान श्रेष्ठ समेत राखी दुवै थरको जिकिर वकिल बहस समेत सुनी प्रस्तुत मुद्दा बुझ्दा, ८।०९ सालको ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने र पेश हुन आएको समेत नदेखिनाले बालीका झगडाको २० नं. ऐनबमोजिम ३ बर्षको म्याद नघाई दावी गरेको वादी दावी उजुर खारेज हुने ठहराई सुरु क.बं. अमिनीको उल्टि गरी क.बं. अपीलले छिनेको इन्साफ मुनाविक ठहर्छ । सुरुको सदर गर्ने गरेको सिंगलबेञ्चको रायबमोजिम गर्नु पर्दैन । अपील अड्डा उपर अपील गरे वापत अपीलाटलाई हा.का. १० नं. बमोजिम दण्ड समेत अरु तपसीलका कुरामा तपसीलैबमोजिम गरी मिसिल, मिसिल बिभागमा बुझाई दिनु ।
तपसील
अपीलाट, वादी अनहोजीलाल सा कलवारके क.वं.अपील उपर अपील गरे वापत हा.का. १० नं. ले सुरु र अपीलमा समेत निजलाई दण्ड नभएको हुँदा तजविजी कं.रु. १ दण्ड हुन्छ । रुजु नभई वा.हुँदा असुल गर्न जिल्लालाई लेखी पठाउन तहसीलमा लगत दिनु .......................१
प्रतिवादी शेषसफी महमदके तिनी तर्फबाट वकिल प्लीडर कृष्णप्रसादलाई राखी बहस भई जितेकाले सर्वोच्च अदालत नियमावलीको २४ दफा अनुसार निज वकिल राख्दाको वकिलको फी खर्च वापत मोरु १५। हार्ने अपीलाट, वादी अनहोजीलाल सा कलबारबाट भरी पाउछ ऐनका म्याद ५ बर्ष भित्र भराई पाउँ भनी ऐनबमोजिम वादीको जे जेथा देखाई, दरखास्त गरेमा केही दस्तुर नलिई वादीबाट प्रतिवादीलाई भराई दिनु भनी जिल्लालाई लेखी पठाउनु अ.त.बिगो फाँटमा लगत दिनु ....................२
इति सम्वत् २०१६ साल कार्तिक ५ गते रोज ५ शुभम् ।