निर्णय नं. ७६ - जालसाजी

निर्णय नं. ७६ ने.का.प. २०१६
डिभजनबेञ्च
न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
ड.अ.नं. १६३
अपीलाट, वादी : विष्णु केशरी महर्जन्नी
विरुद्ध
विपक्षी, प्रतिवादी : मि.सु. नारायणभक्त श्रेष्ठ समेत
मुद्दा : जालसाजी
(१) जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावीको हक म्याद कायम गर्दा–दान दातव्यका ऐनको महल मुताविकको हदम्याद मुताविक म्याद कायम गर्नुपर्ने ।
जालसाजीमा उजुर गर्ने हदम्याद किर्ते कागजको २१ नं. मा नखुलेकोले अं.बं. ६० नं. बमोजिम जहिले पनि नालेस लाग्ने भनी सिंगलबेञ्चबाट राय भई पेश हुना आएकोमा वादीको शुरु उजुरी निवेदनमा जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावी लेखएकोबाट दान दातव्य गरेको कुरामा उजुर गर्दा दान दातव्यका ऐनको महलमा लेखिएको हदम्याद भित्रै उजुर गर्नुपर्ने ।
(प्रकरण नं. ५)
(२) बकसपत्रको कुरा वादीलाई पहिले नै थाहा थियो भन्ने सबूद प्रतेवादीले नै गुजार्नु पर्ने ।
मानाचामल भराउने डोर जाँदा मात्र बकसपत्रको कुरा थाहा पाएको भनी यो उजुर परेको त्यस अघि वादीले थाहा पाएको प्रमाण प्रतिवादीले केही दिन नसकेको ।
(प्रकरण नं. ५)
(३) दान दातव्यको १५ नम्बर–हक पुगी भोग चलन गरेको २ बर्ष भित्र नालिस गर्नुपर्ने ।
(प्रकरण नं. ५)
(४) वादीले एका सगोलमै रहेको भनी उजुर गरेकोमा छुट्टीएको भन्ने सबुद प्रतिवादीले नै गुजार्नु पर्ने ।
सो बकसपत्र पाउने राजमायाँ समेत सवै प्रतिवादी एका सगोलमा भनी वादीले उजुरी बयान दिएकोमा ऐनबमोजिम रीतपूर्वक बन्दा भई छुट्टिएको भन्न प्रमाण दिन प्रतिवादीले नसकेको।
(प्रकरण नं. ५)
(५) बकसपत्रको नाताले पाएको जेथा–एक लौटी भोग नगरी दाता सँगै सगोलमा भोग गरेको देखिएमा–र पाउनेले भोग चलन गरेको जानी थाहाँ पाई २ बर्ष नाघे पछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएमा–हद नाघेको भन्न नहुने ।
बकसपत्रका नाताबाट पाउनेले मात्र एकलौटी भोग गरेको नभई साबिक देखिन जुन किसिमबाट भोग थियो उसै गरी एकाघर सगोलमा बसी बक्स दिने दाता प्रतिवादीले पनि भोग गरी रहेकै भए पछि पाउनेले भोग चलन गरेको जानी थाहा पाई २ बर्ष नाघेपछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएको हुँदा हद नाघेको उजुर खारेज गर्ने भनी शुरु र अपीलले गल्ती इन्साफ गरेको ठहर्छ ।
(प्रकरण नं. ५)
वादी तर्फबाट : वकिल नारायणप्रसाद श्रेष्ठ
प्रतिवादी तर्फबाट : वकिल पुरेन्द्रकुमार मैनाली
फैसला
१. यसमा प्र. श्यामभक्तले मलाई ०६ साल देखि स्वास्नी तुल्याई ०९।२।८ गते छोरा जन्मेपछि खान लाउन नदिएबाट मानाचामल भराई पाउँ भनी नालिस गरेमा मानाचामल वापत मोरु ७४६।९८ पाउने ठहरी ११।३।२३ गते देवानीबाट फैसला भएपछि बिगो फाँटमा दर्खास्त दिई बिगो फाँटबाट डोर खटी गई तायदाति माग्दा श्यामभक्तको अंश समेत सासु रत्नमायाले बुहारी राजमायालाई ६।८।२३।५ मा बकसपत्र गरी पास भएको कागज देखाएपछि डोर फर्की गएबाट मैले थाहा पाएकोले मेरो र छोराको समेत अंश मार्नाको निमित्त जालसाजी गरी आफ्नो अंश समेत दिएकोमा मञ्जुर भएबाट पुरा जालसाजी गरेको देखिएकोले सो बकसपत्र बदर गरी लोग्नेको अंश छुट्याई मानाचामल समेत भराई पाउँ भन्ने विष्णुकेशरीको वादी ।
२. जालसाजी गर्नुपर्ने कारण केही नहुँदा जालसाजी गरेको होइन । आमाको आर्जन आमाले जो जसलाई दिएपनि ऐनले सदर हुने भन्ने मि.सु.नारायणभक्त रिझ वापत का.ई. बागबजारको घर जग्गा समेत देवर श्यामभक्तलाई पनि साक्षी राखी सासुले मलाई बकसपत्र गरी दिनु भएकोमा आफूले उजुर गर्न नहुने भएकोले नभएको स्वास्नी देखाई झुठ्ठा उजुर गराएको मात्र हो भन्ने राजमाया । मेरो आर्जनमा मेरो खुस हुने हुँदा दुवै छोराहरू साक्षीमा राखी बुहारी राजमायालाई बकसपत्र गरी दिएकी हुँ जालसाजी गरेको छैन भन्ने रत्नमाया । आमाको आर्जन जो जसलाई दिए पनि मञ्जुर हुनै पर्ने भई चुप लागि बसेको हुँ जालसाजी गरेको होइन भन्ने ख.श्यामभक्त समेत ४ जनाको प्रतिवादी ।
३. बुझिएसम्मका प्रमाणबाट किर्ते कागजका २१ नं. ऐनको म्याद २ बर्ष नाघे पछि उजुर परेको देखिएकोले खारेज गरी दिने ठहराई शुरु रा.का. फौजदारी अदालतले १२।९।२२ गते फैसला गरेको फौजदारी अदालतको इन्साफ चित्त बुझेन भन्ने वादीको अपील शुरुकै इन्साफ सदर गरी अपील दोश्राले १४।२।७।२ मा फैसला गरेको ।
४. अपीलको इन्साफ चित्त बुझेन भन्ने वादी विष्णु केशरीको अपील परी सिंगलबेञ्चमा पेश हुँदा लोग्ने सासु– जेठाजु जेठानी समेत मिलि बकसपत्र जालसाजी खडा गरे भनी थाहा पाएका मितिले ३५ दिन भित्रमा यो नालेस दायर भएको देखिएको र किर्ते कागजका १ नं. मा समुचा किर्ते गर्नेको ऐन २ नं. मा घटीबढी किर्ते गर्नेको ऐन ३ नं. मा जालसाजी किर्ते गर्नेको ऐजन ४ नं. मा मुखको परिपन्चले किर्ते गर्नेको उल्लेख भएको ऐजन २१ नं. मा सरकारीया छाप लागेका कागजहरू र सरकारीया अड्डामा रहेका कागजपत्रहरू बाहेक अरु किर्ते गर्यो भन्ने वा मुखका परिपन्चले किर्ते कुरा गर्ने अथवा नपाएको पगरी पाउँ भनी परपजनी समेत गर्यो भन्ने सो भएका २ बर्ष भित्र सो कुरा गर्यो भन्ने नालिस नदिए त्यस कुराको नालिस नसुन्नु लेखिए बाहेक अरु कागज भए अदालती बन्दोवस्तका ऐनबमोजिम गर्नु भन्नेसम्म लेखिएको जालसाजीमा यतिसम्ममा नालिस नदिए नसुन्नु भन्ने नलेखिएको अदालती बन्दोबस्तको ६० नम्बरमा हद नलेखिएको कुरामा नालिस दिनलाई हद हुँदैन । जहिलेसुकै नालिस दिए पनि लाग्न सक्छ भन्ने लेखिएकोले जालसाजीमा पनि २ बर्ष म्याद भन्न नमिल्ने र अ.बं.१११ नं. मा फैसला डिसमिस खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने सो हकमा दैया लाग्ने हकवालाले वा हकदारले आफूले थाहा पाएका ३५ दिन भित्र यसमा हाम्रो पनि दैया लाग्छ यसले मात्र हारी वा डिससिम मिलापत्र खारेज गराएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हक जतिमा झगडीयाका नाउँमा नालेस दिए सुन्नु थाहा नपाई अघि छिन्ने हाकिमलाई वात लाग्दैन भन्ने उल्लेख भएकोले २ थर मिली अड्डा खानाबाट फैसला डिसमिस खारेज मिलापत्र गराएमा थाहा पाएका मितिले ३५ दिनभित्र नालिस गर्न पाउने भएपछि यस्ता रजिष्ट्रेशन पास भएको कलममा अंशियारले थाहा पाएका मितिले ३५ दिन भित्र नालिस उजुरी गर्न पाउदैन भन्न नमिल्ने भएकोले जालसाजीमा हदम्याद २ बर्ष कायम गर्ने अपीलसँग राय नमिलेकोले झगडीया झिकाई सर्वोच्च अदालत नियमावली, २०१३ सालको दफा ३३ को उपदफा (ग) बमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१४।१२।१४।५ को आदेश ।
५. सिंगलबेञ्चका आदेशबमोजिम पेश हुन आएको यो मुद्दा अपीलाट बिष्णु केशरी प्र. वा.कान्छा र प्र. वा.हरिभक्त श्रेष्ठ समेत राखी वादीको विद्वान वकिल नारायणप्रसाद श्रेष्ठ प्रतिवादीको विद्वान वकिल पुरेन्द्रकुमार मैनाली समेतको बहस समेत सुनी बुझ्दा जालसाजीमा उजुर गर्ने हदम्याद किर्ते कागजको २१ नं. मा नखुलेकोले अ.बं.६० नं. बमोजिम जहिले पनि नालिस लाग्ने भनी सिंगलबेञ्चबाट राय भईपेश हुन आएकोमा वादीको सुरु उजुरी निवेदनमा जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावी लेखिएकोबाट दान दातव्य गरेको कुरामा उजुर गर्दा दान दातव्यका ऐनले महलमा लेखिएको हदम्यादभित्रै उजुर गर्नुपर्ने र मानाचामल भराउने दोड जाँदा मात्र बकसपत्रको कुरा थाहा पाएको भनी यो उजुर परेको त्यस अघि वादीले थाहा पाएको प्रमाण प्रतिवादीले केही दिन नसकेकी । दान दातव्यको १५ नं. ले हक पुगी भोग चलन गरेको २ बर्षभित्र नालिस गर्नुपर्ने । सो बकसपत्र पाउने राजमाया समेत सवै प्रतिवादी एका सगोलमा भनी वादीले उजुरी बयान दिएकोमा ऐनबमोजिम रीतपूर्वक बन्दा भई छुट्टीएको भन्न प्रमाण दिन प्रतिवादीले नसकेका । बकसपत्रका नाताबाट पाउनेले मात्र एकलौटी भोग गरेको नभई साविक देखि जुन किसिमबाट भोग थियो उसै गरी एकाघर सगोमा बसी बक्स दिने दाता प्रतिवादीले पनि भोग गरी रहेकै भएपछि पाउनेले भोग चलन गरेको जानी थाहा पाई २ बर्ष नाघे पछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएको हुँदा हद नाघेको उजुर खारेज गर्ने भनी सुरु र अपीलले गल्ती इन्साफ गरेको ठहर्छ । अरु तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
अपीलाट, वादी विष्णु केशरी महर्जननीके इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा भनी अपील दोश्राका फैसला र १४।४।१४ गतेको लगतले लिने गरेको दण्ड मोरु १। हाल नलाग्ने भई उक्त दण्ड असुल भईसकेको देखिँदा ऐन सवालको रीत पुर्याई फिर्ता दिनु भनी अ.त.फौ.फाँटमा लगत दिनु .......१
वादी विष्णु केशरी महर्जननीके निजले राखेको विद्वान वकिल प्लीडर नारायणप्रसाद श्रेष्ठको एकपटकको बहसको फिस मोरु १५। पन्ध्र रुपैयाँ सर्वोच्च अदालत नियमावली २४ दफाबमोजिम प्र. मि.सु.नारायणभक्त श्रेष्ठ १ ख. श्यामभक्त श्रेष्ठ १ राजमाया श्रेष्ठनी १ रत्नमाया श्रेष्ठनी १ समेत जना ४ बाट बराबरका दरले भरी पाउने हुँदा भरी पाउँ भनी विष्णु केशरीको ऐनका म्याद भित्र दरखास्त पदेमा दशौंद बिशांैद नलिई वादीलाई भराई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिनु ....................२
देहायका अड्डाका देहायका मानिसके इन्साफ उल्टिमा हा.क.१५ नं. ले अड्डै पिच्छे तजबिजी मोरु १। एक रुपैयाका दरले जरिवाना हुन्छ असुल गर्नु भनी तहसिलमा लगत दिनु ...................... ३
अपील दोश्रा फाँटके मोरु एक रुपैया १।, ना.सु.झपटसिंह रावल छेत्री का.ई. ज्ञानेश्वरके मोरु साठी पैसा ।६०, अ.ख.दोजराज पाध्या का.ई. मैतिदेवीके मोरु तीस पैसा ।३०, वि.पद्मबहादुर प्रधान पु.२ नं. दोलखाके मोरु दश पैसा ।१०, रा.का. फौजदारी अदालतके जम्मा मोरु एक रुपैया १।, ना.पु.गोपालप्रसाद उपाध्या का.ई. त्रिपुरेश्वरके मोरु साठी पैसा ।६०, अ.डि.गणेशमान राजभण्डारी का.ई. देवपाटनके मोरु तीस पैसा ।३०, वि.मुकुन्दराज पाध्या का.ई. नरदेवीके मोरु दस पैसा ।१०
माथि लेखिएबमोजिमको लगत दिई मुद्दामा जो बुझ्नु पर्ने प्रमाण बुझी ठहरेमाफिक ऐन सवालबमोजिम किनारा गर्नु भनी दुबै थर झगडीयालाई तारेख तोकी मिसिल फौजदारी अदालतमा पठाई दिनु ..............४
इति सम्वत् २०१५ साल भाद्र ११ गते रोज ४ शुभम् ।