निर्णय नं. ८८२६ - बैकिङ कसूर

ने.का.प. २०६९, अङ्क ५
निर्णय नं.८८२६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६८–CR–०७५४
फैसला मितिः २०६९।३।१८।२
मुद्दाः– बैकिङ कसूर ।
वादीः सोलुखुम्वु जिल्ला, नेचा बतासे गा.वि.स. वडा नं.९ घर भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटार बस्ने सुन्दरी राई समेतको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः सोलुखुम्वु जिल्ला, जुवु गा.वि.स. वडा नं.२ घर भई ललितपुर जिल्ला, सातदोबाटो वडा नं. ९ ठोलाहिटी बस्ने ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपाली
§ विधायिकाले ऐन निर्माण गर्दा न्यायकर्तालाई सजायको मात्रा (Quantam of Punishment) निर्धारण गर्न स्वविवेकीय अधिकार प्रदान गरेकोमा सो अधिकारको प्रयोग न्यायकर्ताले वस्तुनिष्ठ आधारमा गर्नु पर्दछ र उक्त अधिकार प्रयोग सत् विवेकपूर्ण तवरले भएको छ छैन भनी परीक्षण गर्ने अधिकार अघि फैसला गर्ने इजलास भन्दा वृहत इजलास, फैसला गर्ने अदालतभन्दा माथिल्लो अदालत वा न्यायाधीशमा रहने ।
§ कानूनी व्यवस्थाको प्रयोगमा सारभूत भिन्नता (Substantial Difference) को व्याख्या गर्दा न्यायकर्ताले आत्मगत रुपमा नभै सम्बन्धित ऐन कानूनको सूक्ष्म अध्ययन गरी विधायिकी मनसायलाई परिलक्षित गरी वस्तुनिष्ठ तवरले गर्नुपर्ने ।
§ बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(१) बमोजिम ऐनले न्यायकर्तालाई दशहजारसम्म जरीवाना गर्न सक्ने गरी व्यवस्था गरेकोमा संयुक्त इजलासको रायवाझी फैसला गर्ने न्यायाधीशले रु.८,०००।– जरीवाना गरिसकेको अवस्थामा तेस्रो न्यायाधीशबाट रु.९,०००।– जरीवाना गरी निर्णयमा मत बाझिएको भनी विना आधार तेस्रो राय कायम गरी निर्णयार्थ यस अदालतमा प्रेषित गरेको निर्णय उपयुक्त एवंम् मनासिव नदेखिने ।
(प्रकरण नं.४)
वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद पोखरेल
प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ वैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) र १५(१)
फैसला
न्या.दामोरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(४) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र निर्णय यस प्रकार रहेको छः–
प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीले भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.५ स्थित कि.नं.२६८ क्षेत्रफल १–०–०–० जग्गा बिक्री गर्ने भनी म जाहेरवाली लक्ष्मी राईसँग बैनाबट्टाबापत रु. २६,००,०००। लिएको र पछि जग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत दिएको, त्यस्तै म जाहेरवाली सुन्दरीकुमारी राईलाई जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं.७ कि.नं.४४७ र ४५८ को क्षेत्रफल ०–९–२–० र १–२–२–० जग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत देखाई सो जग्गाहरू बिक्री गर्ने बताई बैनापट्टाबापत रु.४२,००,०००/- लिएकोमा सो जग्गाहरू निजको नाममा नरहेको भन्ने मालपोत कार्यालयबाट समेत बुझिएको साथै निजले कीर्ते कागजातहरू तयार गरी झुक्याई पैसा फिर्ता नगरी ठगी गरेको भन्ने समेत व्यहोराको सुन्दरीकुमारी राई र लक्ष्मी राईको संयुक्त जाहेरी दरखास्त ।
इन्द्र ताम्राकारले भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ५ स्थित कि.नं.२६८ क्षेत्रफल १-०-०-० बिक्री गर्ने बताई बैनाबट्टा बापत लक्ष्मी राईसँग रु.२६,००,०००/- बुझेको कागजको प्रतिलिपि ।
सुन्दरीकुमारी राईलाई जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं.७ कि.नं.४४७ र ४५८ को क्षेत्रफल ०-९-२-० र १-२-२-० जग्गा बिक्री गर्ने बताई बैनाबट्टा बापत इन्द्र ताम्राकारले रु.४२,००,०००/- लिई गरी दिएको कागज ।
प्रतिवादी इन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीले जग्गा बिक्री गर्ने बताई बैनाबट्टा बापत रकम लिएको र जग्गा बिक्री नगरेको साथै उक्त जग्गाहरू निजको नाममा नरहेको भन्ने थाहा हुन आएको हुँदा रकम फिर्ता माग गर्दा निजले हामीलाई झुक्याई रकम नै नभएको निजको नाममा हिमालयन बैङ्कमा रहेको खाताबाट रकम भुक्तानी लिनु भनी म जाहेरवाली लक्ष्मी राईको पति थर्कबहादुर राईलाई रु.३०,००,०००/- को चेक र म जाहेरवाली सुन्दरी राईलाई रु.१,००,००,०००/- को चेक दिई ठगी एवं बैकिङ्ग कसूर गरेकोले सजाय गरिपाऊँ भन्ने समेत जाहेरी दरखास्त ।
मिति २०६८।३।२० गते जाहेरवाली सुन्दरीकुमारी राई समेतलाई ठगी गर्ने काठमाडौँ जिल्ला, रामकोट गा.वि.स. वडा नं. ८ मा इन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीलाई फेला पारी आवश्यक कारवाहीको लागि पक्राउ गरी दाखिला गरिएको साथै निजले दोहोरो नागरिकताको प्रमाणपत्र लिएको बुझिएको हुँदा निजउपर सो सम्बन्धमा समेत अनुसन्धान हुन सक्ने भन्ने प्रहरी प्रतिवेदन ।
प्रतिवादी ईन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले जाहेरवालीहरूलाई बिक्री गर्न भनी बैनाबट्टा बापत रकम बुझेका भक्तपुर, जिल्ला भक्तपुर नगरपालिका वडा नं. छ स्थित कि.नं. द्दटड, जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं. ७ कि.नं.४४७ र ४५८ का जग्गाहरू इन्द्र ताम्राकारको नाममा नरहेको भन्ने मालपोत कार्यालय भक्तपुरको पत्र ।
प्रतिवादी ईन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले जग्गा बिक्री गरेको भनी रकम बुझी जाहेरवालीको नाममा जग्गाधनी प्रमाणपूर्जा बनाई दिएको भनी जाहेरवाली लक्ष्मी राईले जाहेरी दरखास्त साथ पेश गरेको भक्तपुर, सिरुटार गा.वि.स. वडा नं. ७ कि.नं.४४८ को जग्गा सुरेशप्रसाद लामिछानेको नाममा स्रेस्ता कायम रहेको भन्ने समेत व्यहोराको मालपोत कार्यालय, भक्तपुरको पत्र ।
खाता नम्बर ०२७०२४२४६३००१४ इन्द्र ताम्राकारको नाममा खोलिएको छ । उक्त खातामा चेकलाई खाम्ने रकम नभएको हुँदा पेश भएका चेकहरू भुक्तानी हुन नसकेको हो, पत्रसाथ प्राप्त रिटर्न स्लीप यस बैङ्कबाट प्रमाणित गरिएको हो भन्ने समेत व्यहोराको हिमालयन बैङ्क लिमिटेड, काठमाडौँको जवाफ ।
जग्गा बिक्री गर्छु भनी प्रतिवादी इन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले म तथा मेरो श्रीमान्लाई ठगी गरेको रकम रु.२६,००,०००।- मात्र हो । व्याज रकम जोड्दा रु.३०,००,०००।- भन्दा बढी रकम भएतापनि निजले रु.३०,००,०००।- रकम दिने भनेकोले निजको कुरामा सहमत भएकोमा निजले मेरो नाममा रु.३०,००,०००।- को चेक काटी दिएका हुन् । व्याज रकम सहित गरी निज प्रतिवादीबाट रु.३०,००,०००।- दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको जाहेरवाली लक्ष्मी राईको कागज ।
जग्गा बिक्री गर्छु भनी प्रतिवादी इन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले मलाई ठगी गरेको रकम रु.४२,००,०००।- मात्र भएको हो । मैले बैनाबट्टा गरेको जग्गाको मूल्य बढेको साथै मैले निजलाई दिएको सो रकमको व्याज समेत गरी निजले मलाई रु.१,००,००,०००।- दिने बताई मेरो नाममा रु.१,००,००,०००।-को चेक काटी दिएका हुन् । व्याज रकमसहित गरी जम्मा रु.५३,७९,०००।- दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको सुन्दरीकुमारी राईको कागज ।
ईन्द्र ताम्राकार नामको नागरिकताको प्रमाणपत्र पेश गरेको भन्ने समेत व्यहोराको रुपा ताम्राकारको निवेदन ।
म र रमेशकुमार कार्कीले कीर्ते जग्गाधनी प्रमाणपूर्जाहरू तयार गरी सोही कागजातहरू देखाई ठगी गर्ने योजना बनाएको र निज रमेश कार्कीले मेरो नाममा रहेका जग्गाको कीर्ते जग्गाधनी प्रमाणपूर्जालगायतका कागजातहरू तयार गरी मलाई दिएपश्चात् मैले जाहेरवाली सुन्दरीकुमारी राई र लक्ष्मी राईलाई विश्वासमा पारी जाहेरवाली लक्ष्मी राई तथा निजको श्रीमान् थर्कबहादुर राईलाई भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ५ स्थित कि.नं. २६८ क्षेत्रफल १-०-०-० जग्गा बिक्री गर्ने भनी बैनाबट्टाको कागज गरी निजसँग २६,००,०००।- र जाहेरवाली सुन्दरीकुमारी राईलाई जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं. ७ कि.नं. ४४७ र ४५८ को क्षेत्रफल ०-९-२-० र १-२-२-० जग्गाहरू बिक्री गर्ने बताई जग्गाधनी प्रमाणपूर्र्र्र्र्जा समेत देखाई सो जग्गाहरू बैनाबट्टा बापत रु. ४२,००,०००।- लिई ठगी गरेको हुँ । जग्गा बिक्री गर्ने भनी जाहेरवाली सुन्दरीकुमारी राई र लक्ष्मी राईसँग पैसा बुझेको बैनाबट्टाको कागजमा भएको सहिछाप मेरो आफ्नै हो । जाहेरवाली लक्ष्मी राईले जाहेरी दरखास्त साथ पेश गरेको निजको नामको नक्कली जग्गाधनी प्रमाणपूर्जा रमेश कार्कीले बनाएर मलाई दिएको र मैले निज जाहेरवालीलाई दिएको हुँ । मैले निजहरूलाई ठगी गरी भागेकोमा निजहरूले फेला पारी रकम माग गर्दा जग्गाको मूल्यवृद्धि भएको र व्याज समेतलाई अनुमान गरी जाहेरवाली सुन्दरीकुमारी राईलाई रु.१,००,००,०००।- र जाहेरवाला थर्कबहादुर राईलाई रु.३०,००,०००।- को चेक काटी दिएको हुँ । मैले सोलुखुम्बुबाट ईन्द्रबहादुर नेपालीको नामबाट लिएको नागरिकताको प्रमाणपत्र हराएको हुँदा नानीमायाँ तामाङ्ग (ताम्राकार) लाई आमा बनाई इन्द्र ताम्राकारको नामबाट काठमाण्डौबाट समेत नागरिकताको प्रमाणपत्र लिएको छु भन्ने समेत व्यहोराको प्रतिवादी ईन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयान कागज ।
प्रतिवादी ईन्द्रबहादुर नेपालीले हिमालयन बैङ्कमा खोलेको ०२७०२४२४६३००१४ नं. को खातामा रकम नभएको जानीजानी सुन्दरीकुमारी राईलाई रु.५०,००,०००।- को चेक थान २ र थर्कबहादुर राईलाई रु.३०,००,०००।- को चेक काटी दिएकोमा ती चेकहरू रकम अभावमा भुक्तानी नभई बैङ्कबाट अनादर भएको देखिँदा प्रतिवादीले बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा घ(ग) विपरीत कसूर गरेको पुष्टि भएकोले सोही ऐनको दफा १५-१ बमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६८।४।२० को अभियोगपत्र ।
मैले जाहेरवाली सुन्दरीकुमारी राईको नाउँमा रु.५०,००,०००।- को २ थान र थर्कबहादुर राईको नाउँमा रु.३०,००,०००।- को १ थान गरी जम्मा तीनवटा चेकको रु.१,३०,००,०००।- साँवा व्याज हिसाब गरी मिति २०६८।३।२०मा अगाडिको २०६७।१२।१० को मिति पारी हनुमानढोका प्रहरी कार्यालयमा जवर्जस्तीका साथ चेकमा सही गर्न लगाईएकोले मैले ती चेकहरूमा सही गरिदिएको हुँ । मिति २०६६।५।२४ को बैनाबट्टाको कागज ठगी गर्ने नियतले नभई जग्गामा लगानी गर्न गरिएको हो, जाहेरवालाहरूबाट जम्मा रु.६८,००,०००।- लिएकोमा रु.२१,००,०००।- निजहरूलाई फिर्ता गराई सकेको छु, मेरो कारणबाट उक्त चेकहरू बाउन्स भएको होइन, अभियोग दावीबमोजिमको बैकिङ्ग कसूर नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीले मिति २०६८।४।२६ मा अदालतमा गरेको बयान ।
प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीले आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेको देखिएकोले निजले बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा घ(ग) को कसूर गरेको ठहर्छ र ऐ. ऐनको दफा १५-१ बमोजिम कसूरको मात्राअनुसार प्रतिवादीलाई रु.८,०००।- आठ हजार) जरीवाना हुने ठहर्छ भन्ने माननीय न्यायाधीश टंकबहादुर मोक्तानको राय र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा समावेश नै नभएको मुद्दाको जाहेरी दरखास्त लिएर अनुसन्धान गरी अभियोगपत्र पेश हुन आएको यस मुद्दाको शुरु कारवाही र किनारा गर्ने क्षेत्राधिकार यस अदालतको वाणिज्य इजलासलाई भएको नहुँदा प्रतिवादीले आरोपित कसूर गरेको हो होइन भनी न्याय अन्यायको निर्क्यौल गरी प्रतिवादीले कसूर गरेको देखिए सजाय गर्नुपर्ने अवस्था नै देखिएन । अतः विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क अन्तर्गतको यस मुद्दाको शुरु कारवाही र किनारा गर्ने क्षेत्राधिकार ग्रहण गरी इन्साफ गर्न मिल्ने अवस्था नहुँदा अभियोगपत्र खारेज हुने ठहर्छ । शुरु कारवाही किनारा गर्ने क्षेत्राधिकार ग्रहण गरी प्रतिवादीलाई सजाय गर्ने ठहर गर्नु भएको माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायसँग सहमत हुन नसकिएकोले प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ८-४ र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम निर्णयार्थ तेस्रो न्यायाधीशको इजलाससमक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरिकुमार पोखरेलको राय ।
प्रस्तुत मुद्दामा संयुक्त इजलासमा रहनु भएका एक जना माननीय न्यायाधीशज्यूले प्रस्तुत चेक अनादर मुद्दा विनिमेय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत पर्ने हुँदा सरकारवादी भै दायर हुने बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत नपर्ने भनी अभियोग मागदावी खारेज हुने राय व्यक्त गर्नुभएको छ भने अर्का माननीय न्यायाधीशले प्रस्तुत मुद्दा बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत नै पर्ने हुँदा अभियोग दावी ठहर गरी प्रतिवादीलाई जरीवाना हुने राय व्यक्त गर्नु भएको छ । दुवै ऐनमा चेक अनादर भएमा व्यक्तिवादी या सरकारवादी भै मुद्दा चल्न सक्ने दुवै कानूनी बाटो खुला रहेको अवस्थामा विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार व्यक्तिवादी भै या बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अनुसार सरकारवादी भै जुन रुपबाट अदालतमा मुद्दाको प्रवेश भएको छ उसै रुपबाट हेरी न्याय निरुपण किनारा गर्नुपर्ने हुँदा बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत सरकारवादी भै अभियोगपत्र दायर हुन आएको प्रस्तुत चेक अनादर मुद्दामा बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम सरकारवादी भै अभियोगपत्र दायर हुन नसक्ने विनिमेय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत व्यक्तिवादी भै चल्ने मुद्दा भनी अभियोगपत्र माग दावी खारेज हुने ठहर्याएको माननीय न्यायाधीश श्री हरिकुमार पोखरेलको रायसँग सहमत हुन नसकी प्रस्तुत मुद्दामा बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसूर कायम गरी कसूर ठहर गरेको हदसम्म माननीय न्यायधीश श्री टंकबहादुर मोक्तान ज्यूको रायसँग सहमत भै सो हद सम्मको राय समर्थन हुन सक्ने देखिन आयो । माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायमा बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) अनुसार कसूर कायम गरेको हदसम्म सहमत भै समर्थन गर्न सकिने भए पनि अनादर भएको चेक, रकमको बिगो, मुद्दाको प्रकृति तथा कसूर हुँदाको अवस्था समेतलाई विचार गर्दा उक्त ऐनको दफा १५(१) बमोजिम रु.९,०००।– (नौ हजार रुपैयाँ) प्रतिवादीलाई जरीवाना गर्नुपर्नेमा रु.८,०००। (आठ हजार रुपैयाँ) मात्र जरीवाना हुने ठहर्याएको जरीवाना रकम कम देखिएकोले कम जरीवाना हुने ठहर्याएको सो हदसम्मको जरीवाना रकमको हकमा सम्म सहमत हुन नसकिएकोले छुट्टै राय व्यक्त गरिएको छ ।
प्रस्तुत मुद्दामा जरीवानाको हकमा बहुमतको राय नमिलेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ८(४) र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम प्रतिवादीलाई तारिख तोक्न निज अन्य मुद्दाबाट थुनामा बसेको देखिंदा निज थुनामा रहेको कारागार कार्यालयमा निजलाई जानकारी दिई प्रस्तुत मुद्दामा छुट्टाछुट्टै राय व्यक्त गर्नुहुने दुवै जना माननीय न्यायाधीशज्यूहरूको राय र मबाट आज व्यक्त गरिएको यो रायसहित यो मुद्दाको मिसिल निर्णयार्थ सर्वोच्च अदालतमा पठाई दिनू भन्ने माननीय न्यायाधीश भरतप्रसाद अधिकारीको राय ।
लक्ष्मी राई समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपाली भएको बैंकिङ्ग कसूर मुद्दाको मिति २०६८।७।१७ र मिति २०६८।८।२५ मा संयुक्त इजलास र तेस्रो न्यायाधीशको इजलासबाट राय नमिली छुट्टाछुट्टै फैसला भएकाले निर्णयार्थ पुनरावेदन अदालत पाटनबाट सक्कल मिसिल प्राप्त भएकोले यस अदालतमा २०६८–CR–०७५४ मा दर्ता भएको रहेछ ।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान सहन्यायाधिवक्ता श्री सूर्यप्रसाद पोखरेलले पुनरावेदन अदालतको संयुक्त इजलासबाट एकजना न्यायाधीशले वैकिंङ कसूर ठहराएको रायलाई तेस्रो न्यायाधीशको इजलासबाट सदर गरी स्वविवेकीय अधिकार अन्तर्गत गरिने जरीवाना रकमको हकमा मात्र फरक परेकालाई फैसलामा फरक पर्ने गरी छुट्टै राय भन्न नमिल्ने हुँदा यस अदालतबाट निर्णय हुन प्रश्न नै रहेको अवस्था छैन भनी बहस गर्नुभयो ।
पुनरावेदन अदालत पाटनबाट प्राप्त सक्कल मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी इन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीलाई निजले हिमालयन वैंकमा खोलेको खातामा रकम नभएको जानाजानी सुन्दरकुमारी राईलाई रु.५०,००,०००।– को चेक थान २ र थर्कबहादुर राईलाई रु.३०,००,०००।– चेक काटी दिएकोमा ती चेकहरू रकम अभावको कारणले भुक्तानी हुन नसकी वैंकबाट अनादर भएको देखिएकाले निज प्रतिवादीले वैकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) विपरीत कसूर गरेको देखिँदा सोही ऐनको दफा १५(१) बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको अभियोग पत्र रहेकोमा पुनरावेदन अदालत पाटनको संयुक्त इजलासबाट मिति २०६८।७।१७ गते फैसला हुँदा एकजना न्यायाधीशबाट प्रस्तुत मुद्दा वैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको नभई विनिमय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत दायर हुनु पर्नेमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा समावेश नै नभएको मुद्दाको जाहेरी दरखास्त लिएर अनुसन्धान गरी अभियोगपत्र पेश हुन आएकाले शुरु कारवाही र किनारा गर्ने अधिकार वाणिज्य इजलासलाई नभएकाले अभियोगपत्र खारेज हुने भनी र अर्को न्यायाधीशबाट आफ्नो खातामा रकम नभएको जानाजानी प्रतिवादीले विवादित चेकहरू काटी जाहेरवालाहरूलाई दुःख हैरानी एवम् धोका दिई वैकिंङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसूर गरेको ठहराई ऐ.ऐनको दफा १५(१) बमोजिम कसूरको मात्रा अनुसार प्रतिवादीलाई रु.८,०००।– (अक्षरुपी आठ हजार) जरीवाना ठहर गरी रायवाझी फैसला भएकोमा निरोपणका लागि तेस्रो न्यायाधीशको इजलासमा पेश हुँदा वैकिंङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ को देहाय (ग) अनुसार प्रतिवादीले कसूरदार ठहराएको संयुक्त इजलासमा न्यायाधीशको रायसँग सहमत भई सजायको हकमा ऐ. ऐनको दफा १५(१) बमोजिम दशहजारसम्म जरीवाना हुन सक्नेमा रु.८,०००।– मात्र प्रतिवादीलाई जरीवाना गरेकोमा सहमत हनु नसकी रु.९,०००।– जरीवाना हुने ठहर भएबाट इन्साफमा फरक परी छुट्टै राय हुन गएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा ८(४) र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम मुद्दाको अन्तिम निर्णय यस अदालतबाट हुनुपर्ने भनी मिसिल पठाएकोमा निर्णयार्थ आज इजलाससमक्ष पेश हुन आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीलाई वैकिंङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) विपरीत कसूर गरेको ठहर गरेको संयुक्त इजलासको न्यायाधीशको रायसँग तेस्रो न्यायाधीशको इजलास सहमत रहेको र केवल सजायको हकमा प्रतिवादीलाई ऐ.ऐनको दफा १५(१) बमोजिम रु.८,०००।– हुने भनी संयुक्त इजलासको रायसँग रु.९,०००।– हुने भनी रायबाट मुद्दाको निर्णयमा एकरुपता कायम हुन नसकेकोले यस अदालतमा अन्तिम निर्णयका लागि पठाएको देखिएबाट जरीवाना सम्बन्धमा स्वविवेकीय अधिकारअन्तर्गत ठहर गरेको संयुक्त इजलासको न्यायाधीशको रायसँग जरीवानाको अङ्कमा फरक हुने भनी व्यक्त रायको आधारले फैसलामा फरक पर्ने हो होइन भन्ने सम्बन्धमा विवेचना भै निष्कर्षमा पुग्नु पर्ने देखिन आयो ।
३. सर्वप्रथम प्रतिवादीउपर अभियोग लगाइएको वैकिंङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) र १५(१) को कानूनी व्यवस्था के रहेछ उल्लेख गर्न सान्दर्भिक देखिन आयो ।
दफा ३ को खण्ड (ग): आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन ।
दफा १५ को उपदफा (१): कसैले दफा ३ को खण्ड (क) (ख) (ग) दफा ४ वा दफा ११ बमोजिमको कुनै कार्य गरेमा कसूरको मात्राअनुसार दश हजार रुपैयासम्म जरीवाना हुने छ ।
४. माथि उल्लिखित ऐनको व्यवस्था हेर्दा दफा ३ को कसूर गरेको ठहर भएको अवस्थामा दफा १५(१) बमोजिम न्यायकर्ताले कसूरको मात्राअनुसार दशहजार रुपैयासम्म जरीवाना ठहर गर्नसक्ने गरी न्यायकर्तालाई स्वविवेकीय अधिकार प्रदान गरेको देखिन्छ । प्रस्तुत विवादमा संयुक्त इजलासमा रायवाझी फैसला गर्ने न्यायाधीशले प्रतिवादीले वैकिंङ कसूर गरेको ठहराई सजायको हकमा ऐनमा भएको व्यवस्था मुताविक दशहजार रुपैयाँसम्म जरीवाना गर्न सक्नेमा आठ हजार जरीवाना ठहर गरेकालाई ऐनमा भएको व्यवस्था मुताविक र वादी पक्षको अभियोग मागदावी पुग्न सक्ने गरी ठहर गरेको देखिन आउँछ । यहाँ ऐनमा भएको सजायको व्यवस्था र अभियोग मागदावी भन्दा कम वा न्यून सजाय ठहर गरेको भनी अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । विद्यायिकाले ऐन निर्माण गर्दा न्यायकर्तालाई सजायको मात्रा (Quantam of punishment) निर्धारण गर्न स्वविवेकीय अधिकार प्रदान गरेकोमा सो अधिकारको प्रयोग न्यायकर्ताले वस्तुनिष्ठ आधारमा गर्नु पर्दछ र उक्त अधिकार प्रयोग सत् विवेकपूर्ण तवरले भएको छ छैन भनी परीक्षण गर्ने अधिकार अघि फैसला गर्ने इजलास भन्दा वृहत इजलास, फैसला गर्ने अदालतभन्दा माथिल्लो अदालत वा न्यायाधीशमा रहने हुन्छ, जुन कानूनको सामान्य सिद्धान्त पनि हो । तर प्रस्तुत मुद्दामा समान तहको अदालतको तेस्रो न्यायाधीशको इजलासबाट संयुक्त इजलासको न्यायाधीशबाट ऐनले प्रदान गरेको स्वविवेक अधिकारअनुरूप ठहर भएको जरीवानाको रकम अपर्याप्त भनी जरीवाना रकम अर्कै ठहर गरेकोलाई फरक रायको अर्थ गरेको पाइयो । कानूनी व्यवस्थाको प्रयोगमा सारभूत भिन्नताको (Substantial Difference) व्याख्या गर्दा न्यायकर्ताले आत्मगत रुपमा नभै सम्बन्धित ऐन कानूनको सूक्ष्म अध्ययन गरी विद्यायिकी मनसायलाई परिलक्षित गरी वस्तुनिष्ठ तवरले गर्नुपर्दछ । प्रस्तुत विवादमा वैङ्किङ कसूर दफा १५(१) बमोजिम ऐनले न्यायकर्तालाई दशहजारसम्म जरीवाना गर्न सक्ने गरी व्यवस्था गरेकोमा संयुक्त इजलासको रायवाझी फैसला गर्ने न्यायाधीशले रु.८,०००।– जरीवाना गरिसकेको अवस्थामा तेस्रो न्यायाधीशबाट रु.९,०००।– जरीवाना गरी निर्णयमा मत बाझिएको भनी विना आधार तेस्रो राय कायम गरी निर्णयार्थ यस अदालत प्रेषित गरेको निर्णय उपयुक्त एवंम् मनासिव देखिन आएन । पुनरावेदन तहको अदालतबाट निरोपण भैसकेको मुद्दाको विषयमा राय वाझिएको भनी निर्णयार्थ यस अदालतमा पठाइएको कारणले अनावश्यक रुपमा मुद्दा लम्विन जाने एकातर्फ छ भने अर्कातर्फ यस्ता कामकारवाहीले समग्र न्यायपालिकाको विश्वसनीयता र जनआस्था वृद्धिमा समेत सहयोग पुर्याउन सक्ने नदेखिँदा सचेत रहनुपर्ने हुन जान्छ ।
५. अतः माथि विवेचित आधारहरूबाट प्रस्तुत मुद्दामा समष्टिगत रुपमा हेर्दा पुनरावेदन अदालत पाटनको मिति २०६८।७।१७ को संयुक्त इजलासको रायवाझी फैसला तेस्रो न्यायाधीशको इजलासमा पेश भई मिति २०६८।८।२५ को निर्णय हुँदा वैकिंङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसूर प्रतिवादी इन्द्र ताम्राकार भन्ने इन्द्रबहादुर नेपालीले गरेको ठहराई व्यक्त भएको रायसँग सहमत भै सजायको हकमा न्यायकर्तालाई दशहजार रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्थाबमोजिम संयुक्त इजलासमा फैसला गर्ने न्यायाधीशबाट रु.८,०००।– जरीवाना गर्ने निर्णय गरेकोमा अपर्याप्त भएको दर्शाई रु.९,०००।– कायम हुने भनी व्यक्त तेस्रो न्यायाधीशको इजलासको रायलाई भिन्न रायको रुपमा ग्रहण गर्न नमिल्ने हुँदा रु.८,०००।– जरीवाना कायम हुने देखिन्छ । मुद्दाको निरोपण पुनरावेदन अदालत पाटनको तेस्रो न्यायाधीशको इजलासबाट भै सकेको देखिँदा निर्णयमा राय नमिलेको भनी यस अदालतबाट निर्णय गर्नुपर्ने प्रश्न नै सन्निहित नरहेकोले केही बोली रहन परेन । प्रस्तुत मुद्दाको विषयमा पुनरावेदन अदालत पाटनबाट निरोपण भैसकेको देखिएको अवस्थामा चित्त नवुझ्ने पक्षले यस अदालतमा पुनरावेदन गर्न सक्ने नै देखिन्छ । मुद्दाको दायरी लगत कट्टा गरी मिसिल पुनरावेदन अदालत पाटनमा पठाउनू ।
उक्त रायमा म सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६९ साल असार १८ गते २ शुभम्––
इजलास अधिकृत :– गायत्रीप्रसाद रेग्मी