निर्णय नं. ९५ - धर्मलोप

निर्णय नं. ९५ ने.का.प. २०१७
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
अ. डि. नं. ८३
वादी, अपीलाट : नथुनीदास बैरागी
विरुद्ध
प्र. विपक्षी : नथुनी बैठा धोवी समेत
मुद्दा : धर्मलोप
(१) अ. बं. १०६ नम्बरमा उल्लिखित “हकदैया” शब्दको बुझाउने अर्थ ।
अ. बं. १०६ नं. मा उल्लिखित हकदैया शब्दले सबै किसिमको हक अर्थात कुनै सम्पत्तिमा अरू कसैको कुनै किसिमको हक नभई एक व्यक्ति वा व्यक्तिहरूको एकलौटी हक र दुई व्यक्ति वा व्यक्तिहरूको आपसी सम्झौताबाट उत्पन्न हक र उत्तरदायित्वलाई समेत बुझाएको देखिन्छ ।
(प्रकरण नं. ४)
(२) परस्पर हक र उत्तरदायित्वमा बाँधिएका व्यक्तिहरू भएमा त्यस्ता व्यक्तिहरू मध्ये आफ्नो बस्तुको स्थितिमा असर पर्ने देखेमा असर पर्ने व्यक्तिलाई बिरोध गर्ने नालिस उजुर गर्न हक हुने ।
प्रस्तुत मुद्दामा नथुनी दास र अनुराग दासले गरेको १९९९ साल बैशाख २८ गते १ मा मठको पुजाआजा चलाउने बन्दोबस्त सम्बन्धी आपसमा गरेको कागजमा रामदासको चेला अनुराग दास बैरागी र राम दासको नाती चेला मर्ने गुलाब दासको चेला नथुनी दास आगे भई गुलाव दास स्वर्गबास हुँदा महन्थी अनुराग दासले चलाउन लायक भएको निजका नाउँमा महन्थी हुने म नथुनी दास अधिकारी भएमा हामी नथुनी दास समेत मञ्जुर भई मञ्जुरनामा लिखत गरी दिएको । काम गर्नामा हामी दुबैजना समेत गरौंला भन्ने देखिएको छ । यस कागज समेत आधार लिई अनुराग दासले आफ्नो महन्थ्याई कायम गर्ने मुद्दामा प्रतिउत्तर पैरवी गरेको प्रमाणको मिसिलबाट देखिएकोले सो कागज उपर कुनै शंका गर्ने प्रश्नै उठेन । त्यस कागजबाट नथुनीदास अधिकारी भएको नाताबाट मठमा हुने दैनिक पुजापाठ आदि सम्पूर्ण काम कुरामा देखरेख समेत मठको सुसञ्चालनमा नथुनी दास सरिक हुनु स्वाभाविक हुन आउँछ । सोही कागजबाट नथुनी दास र अनुराग दास परस्पर हक र उत्तरदायित्वको गाँठोमा बाँधिएका छन् । यसरी अनुराग दासले मठ पुजा आजामा असर पर्ने कुनै काम गरेमा बिरोध गर्ने नालिस उजुर गर्ने हक नथुनी दासलाई पूर्णतया प्राप्त छ ।
(प्रकरण नं. ४)
(३) अ. बं. ९९ नम्बर – सम्बन्धीत सबै कुरामा एकै पटक नालिस दिनुुपर्ने र एउटा मुद्दामा निर्णय दिंदा “फलाना तर्फ” “फलानै मुद्दाबाट” निर्णय हुने भन्ने बोली परी फैसला भएमासो “फलाना तर्फ” भनी संकेत भएतर्फ निर्णय दिन बाधा नपर्ने ।
अ. बं. ९९ नम्बर अनुसार सम्बन्धीत सबै कुरामा अर्थात अन्याय भएको कुरामा एकै पटक नालिस दिनु पर्ने भन्ने कुरालाई वादी नथुनी दास बैरागी प्र. अनुरागदास भएको मठ जग्गा मुद्दामा महन्थ्याँई पाउने तर्फ निर्णय दिई धर्मलोप तर्फ प्रस्तुत यस मुद्दाबाट निर्णय हुने भन्ने बोली परी फैसला भएको देखिएको । उक्त फैसलामा संकेत गरे बमोजिम जग्गा बेचविखन भई धर्म लोप भए नभए तर्फ निर्णय दिन बाधा नपर्ने ।
(प्रकरण नं. ४)
(४) गुठीको १५ (क) नं. : भेषधारीहरूले गुठी नराखी आफ्नो नाममा दर्ता गरी पुजा आजा गरी काम चलाई आएको जग्गा ति मरिसकेपछि त्यसको चेलाले लागेको पोता तिरो तिरी बाँकी रहेको आयस्ताबाट साविक बमोजिम काम चलाई बाँकी शेष रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा बन्धकी राख्न हक छोडी दान बक्स इत्यादि गरी दिन र लिन समेत हुँर्दैन ।
(५) मालपोत तिरो बाँकीमा ऐन सवाल बमोजिम हुने किसिमका जग्गा भएमा गुठिको धर्म नष्ट गरेको र राख्न नहुने गुठी राखेको किसिमको मुद्दा नभई सो बाहेकको देखिन आएमा गुठिको २४ नं. मा लेखिएको म्याद २ वर्षको हदम्याद भित्र नालिस उजुर गर्नुपर्ने । हद नाघी गरेको उजुर खारेज हुने ।
अनुराग दासले आफ्नो प्रतिउत्तरमा श्री रामजानकी स्थान भएको मठ पोखरिया मौजा देखि धेरै ८।९ कोस टाढा रहेको मौजे आकडपाथडको कमसल जग्गा बेची त्यसको साटो जग्गा विक्री भई आएको रूपैंयाबाट मठ भएको पोखरिया साथै जोरिएको १ पाउँ टाढा मौजे भेडियाहिमा राम्रो जग्गा र नजिक हुँदा पूरा दृष्टि पुग्ने भई बिगाह ४।।४।।।२ असल जग्गा किनेको निजी फाईदा र प्रयोजनको लागि हैन । केवल मठकै पुजाआजा धर्म कार्यमा लगाउन निमित्त विक्री गरी असल जग्गा खरिद गरेको हुँ भन्ने जिकिर लिनु भएको हुँदा मठका कामकाजमा बढ्ता सुदृढ र सजिलोसँग चल्ने अभिरुची लिएको देखिएबाट बैरागी अनुराग दासले श्री रामजानकीको पुजाआजामा त्रुटि पुर्याई धर्म नष्ट गर्ने नियत लिई आकडपाथडको जग्गा बेचविखन गरी मासेको नदेखिने । सो आकडपथडको जग्गा विक्री गरेको गुठिको १५ (क) बमोजिम बदर हुन्छ भन्नालाई गुठिको २४ नं. मा गुठिको धर्म नष्ट गरेको राख्न नहुने गुठी राखेको बाहेक २ वर्ष भित्र नालिस नगरे नसुन्नु भनि लेखिएको प्रस्तुत मुद्दा भेषधारीले गुठी नराखी आफ्ना नाउँमा दर्ता राखी खान पाउने आयस्ताबाट देवदेवताको पुजाआजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको जग्गा ति मरीसकेपछि त्यसका चेलाले बन्धक राख्न, हक छोडी दान बकस इत्यादि गरी लिन दिन समेत नहुने तर मालपोत तिरो बाँकीमा ऐन सवाल बमोजिम हुने किसिमको जग्गा भई त्यस्तो जग्गा लिए दिएको बदर गरी त्यस्तो गर्ने महन्थलाई हटाई पाउँ भन्ने भएकोबाट गुठिको धर्म नष्ट गरेको र राख्न नहुने गुठी राखेको किसिमको मुद्दा नभई सो बाहेकको देखिन आएकोले गुठिको २४ नं. मा लेखिएको म्याद २ वर्षको हद नाघी १० वर्षपछि २०११ सालमा मात्र नालिस परेको देखिदा यो उजुर खारेज हुने ठहर्छ ।
(प्रकरण नं. ४)
प्र. नथुनीको वा. राम चरितरका तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी
अपीलाट नथुनीदास तर्फबाट : प्लीडर पुरेन्द्रकुमार
फैसला
१. ठकुरी दासले मौजे लौकाहार मोज आकडपथडमा रामकविरको मुर्ति स्थापना गरी मठ बनाई दुबै ठाँउमा पुजाआजा गर्दे जग्गा जमीन समेत ठकुरी दासले र निजका शेषपछि रामदासले पुजाआजा गरी केही जमीन आर्जन गर्नु भई निजपछि गुलाब दासले पनि जमीन आर्जन गरी पुजाआजा गर्दै आएमा ९८ सालमा गुलाब दास परलोक हुनु भई निजको चेला म भएकोले कृया भण्डारा गरी मठको महन्त हुन मेरै हक भएको । एक्लैले सबै ठाँउमा काम चलाउन मुस्किल भएको प्र. अनुरागदास गुरु गुलाबदासकै पालादेखि सर्लाही इलाकाको जग्गा निजले रेखदेख गरी आएको र मलाई नै महन्थ कायम गरी दिए केही बिग्रदैन भन्नु हुँदा निज अनुराग दासलाई र म अधिकारी नियुक्त भई ९९।१।२८।२ मा कागज भई मठको काम काज हुन लागेको प्र. अनुराग दासलाई सबै काम धन्दा धनदौलत सौंपी तिर्थ गर्न गएपछि १० सालमा घर आउँदा मलाई मठबाट हटक गरी धर्मलोप गर्न आँटेकाले निजको टन्टा छोडाई पाउँ भन्ने समेत मैले नालिस गर्दा निज अनुराग दासलाई महन्त थामी दिने गरी फैसला भएको पनि धर्म लोप तर्फ नालिस गर्न अएको छु । पोखरिया मठको साखा मौज आकडपाथडको मठ भई ठकुरी दास रामदासको आर्जनको आकडपाथडको जम्मा जग्गा बिगाहा १८।।०।।३ निजहरूका शेषपछि गुलाबदासका नाममा दर्ता भएको जग्गा प्र. अनुरागदासको आफ्ना नाममा दर्ता गराई २०००।१२।३।४ मा घरसारमा र ऐ. चैत्र १९ गते रजिष्ट्रेशन पास गरी नथुनी बैठा धोवीलाई फास्र्या दिई निज नथुनीले दर्ता गराई भोग गर्न लागेबाट घर जग्गा समेत विक्री गरी पुजाआजा बन्द गरी मठ लोप गरी दिएको । सो बिक्री गरेका जग्गा मठको कायम गराई फार्स्यापत्र बदर गराई धर्म लोप गर्ने महन्थ बदर गराई पाउँ भन्ने समेत नथुनी दासको फिराद ।
२. आकडपाथडमा कुनै देवता स्थापना भएको छैन । हाम्रो गुरुहरूले मौजे पोखरिया रामजानकीको मूर्ति स्थापना गरी पुजाआजा चलाई आएको गुठको जग्गा आकडपाथडमा भएको । पोखरियादेखि ८।९ कोष टाढा भई आयस्ता पुरा नआउने हुनाले सो जग्गा विक्री गरी असल ठाँउको जग्गा खरिद गरे आयस्ता बढ्ने हुँदा मौजे पोखरिया साथै जोडिएको मौज मेढिहाईमा राम्रो जग्गा र नजिक हुँदा ४।।४।।।२ जग्गा खरिद गरी दर्ता गराई पोखरिया मठमा राखी आएको छु । आयस्ता हिनामिना गरी धर्म लोप गरेको छैन भन्ने समेत अनुरागदास बैरागीको र वादीले दावी गरेको जग्गा रु. ३००१ मा फार्स्यापत्र लेखी अनुराग दासले दिनु भएको । यो जग्गा बेची नजिक मेढिहाईमा खरिद गरेकोले धर्म लोप हुने अवस्थै नपरेको भन्ने समेत नथुनी बैठा धोबीको प्रतिवादी ।
३. आकडपाथडको जग्गा कं. रु. ३००१ मा बिक्री भएको र प्र. अनुराग दासले कं. रु. २९७८ मा जग्गा खरिद गरेको देखिनाले एकाठाउँको जग्गा बेची अर्का ठाउँको जग्गा खरिद गरेको देखाई सकेपछि त्यतिकैबाट धर्म लोप गरेको भन्नु नहुने हुँदा वादी दावी झुठ्ठा ठहर्छ भनी कटहरवन अमिनीले सोही इन्साफ मुनासिब ठहराई कटहरवन अपीलबाट फैसला भएमा चित्त बुझेन भन्ने वादी नथुनी दासको अपील परी आएमा छलफलमा अनुराग दास नथुनीलाई झिकाई पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश बमोजिम म्याद गएमा अनुराग दास मरेको भन्ने म्याद तामेल भई आएबाट हकवालाका नाउँमा म्याद गएमा कोही हकवाला हाजिर हुन नआएको ।
४. छलफलमा झिकाएको प्र. नथुनीबैठा धोवीको वा. राम चरितबैठा धोवी र अपीलाट नथुनी दासलाई राखी नथुनी दास तर्फका विद्वान वकिल प्लीडर पुरेन्द्रकुमार र प्र. नथुनीको वा. राम चरितरबाट रहेका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारीको बहस समेत सुनी विचार गर्दा, मठ जग्गा बेची धर्म लोप गर्यो भन्ने मुद्दा अ. बं. १८ नं. बमोजिम सरकार वादी नभएको र वादी दावी बमोजिम बेचबिखन गरेको जग्गा बदर गरी दिँदा उक्त जग्गा निज वादीले उपभोग गर्न पाउने पनि नदेखिएकोले वादीको यस मुद्दामा कुनै हकदैया छैन भन्ने प्रतिवादी विपक्षको बहसको बुँदाका हकमा अ. बं. १०६ नं. मा उल्लिखित हकदैया शब्दले सबै किसिमको हक अर्थात कुनै सम्पत्तिमा अरू कसैको कुनै किसिमको हक नभई एक व्यक्ति वा व्यक्तिहरूको एकलौटी हक र दुई व्यक्ति वा व्यक्तिहरूको आपसी सम्झौताबाट उत्पन्न हक र उत्तरदायित्वलाई समेत बुझाएको देखिन्छ । प्रस्तुत मुद्दामा नथुनी दास र अनुराग दासले १९९९ बैशाख २८ गते ९ मा मठको पुजाआजा चलाउने बन्दोबस्त सम्बन्धी आपसमा गरेको कागजमा रामदासको चेला अनुराग दासबैरागी र रामदासको नाति चेला मर्ने गुलाब दासको चेला नथुनी दास आगे गुलाव दास स्वर्गबास हुँदा महन्थी अनुरागदासले चलाउन लायक भएको निजका नाउँमा महन्थी हुने म नथुनी दास अधिकारी भएमा हामी नथुनी दास समेत मञ्जुर भई मन्जुरनामा लिखत गरी दिएको । काम गर्नामा हामी दुबैजना समेत गरौंंला भन्ने देखिएको छ । यस कागज समेत आधार लिई अनुराग दासले आफ्नो महन्थ्याई कायम गर्ने मुद्दामा प्रतिउत्तर पैरवी गरेको प्रमाणको मिसिलबाट देखिएकोले सो कागज उपर कुनै शंङ्का गर्ने प्रश्नै उठेन । त्यस कागजबाट नथुनी दास अधिकारी भएको नाताबाट मठमा हुने दैनिक पुजापाठ आदि सम्पूर्ण काम कुरामा देखरेख समेत मठको सुसञ्चालनमा नथुनी दास सरिक हुनु स्वाभाविक हुन आउँछ । सोही कागजबाट नथुनी दास र अनुरागदास परस्पर हक र उत्तरदायित्वको गाँठोमा बाँधिएका छन् । यसरी अनुरागदासले मठ पुजाआजामा असर पर्ने कुनै काम गरेमा बिरोध गर्ने नालिस उजुर गर्ने हक नथुनी दासलाई पूर्णतया प्राप्त छ । अ. बं. ९९ नम्बर अनुसार सम्बन्धीत सबै कुरामा अर्थात् अन्याय भएको कुरामा एकै पटक नालिस दिनु पर्ने भन्ने कुरालाई वादी नथुनी दास बैरागी प्र. अनुरागदास भएको मठ जग्गा मुद्दामा महन्थ्याई पाउनेतर्फ निर्णय दिई धर्म लोप तर्फ प्रस्तुत यस मुद्दाबाट निर्णय हुने भन्ने बोली परी फैसला भएको देखिएको । उक्त फैसलामा संकेत गरे बमोजिम जग्गा बेचविखन भई धर्मलोप भए नभए तर्फ निर्णय दिन बाधा नपर्ने । अब गुठिको १५ (क) नं. बमोजिम जग्गा बेचविखन गर्न पाउने नपाउने के रहेछ ? भन्ने तर्फ विचार गरिएमा भेषधारीहरूले गुठी नराखी आफ्नो नाममा दर्ता गरी पुजाआजा गरी काम चलाई आएको जग्गा ति मरी सकेपछि त्यसको चेलाले लागेको पोता तिरो तिरी बाँकी रहेको आयस्ताबाट साबिक बमोजिमको काम चलाई बाँकी शेष रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा बन्धकी राख्न, हक छोडी दान बकस इत्यादि गरी दिन र लिन समेत हुँदैन भनी प्रष्ट लेखिएको । अनुराग दासले आफ्नु प्रतिउत्तरमा श्री रामजानकी स्थान भएको मठ पोखरिया मौजा देखि धेरै ८।९ कोष टाढा रहेको मौजे आकडपाथडको कमसल जग्गा बेची त्यसको साटो जग्गा बिक्री भई आएको रूपैँयाबाट मठ भएको पोखरिया साथै जोरिएको १ पाउँ टाढा मौजे भेडियाहिमा राम्रो जग्गा र नजिक हुँदा पुरा दृष्टी पुग्ने भई जग्गा बिगाहा ४।।४।।।२ असल जग्गा किनेको निजी फाइदा र प्रयोजनका लागि हैन । केवल मठकै पुजाआजा धर्म कार्यमा लगाउन निमित्त बिक्री गरी असल जग्गा खरिद गरेको हुँ भन्ने जिकिर लिनु भएको हुँदा मठको कामकाजमा बढ्ता सुदृढ र सजिलोसँग चल्ने अभिरुचि लिएको देखिएबाट बैरागी अनुरागदासले श्री रामजानकीका पुजाआजामा त्रुटी पुर्याई धर्म नष्ट गर्ने नियत लिई आकडपाथडको जग्गा बेचविखन गरी मासेको नदेखिने । सो आकडपाथडको जग्गा विक्री गरेको गुठिको १५ (क) बमोजिम बदर हुन्छ भन्नालाई गुठिको २४ नं. मा गुठिको धर्म नष्ट गरेको र राख्न नहुने गुठी राखेको बाहेक २ वर्ष भित्र नालिस नपरे नसुन्नु भनी लेखिएको प्रस्तुत मुद्दा भेषधारीले गुठी नराखी आफ्ना नाउँमा दर्ता राखी खान पाउने आयस्ताबाट देवदेवताको पुजाआजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको जग्गा ति मरीसकेपछि त्यसको चेलाले बन्धक राख्न हक छोडी दानबकस इत्यादि गरी दिनलिन समेत नहुने तर मालपोत तिरो बाँकीमा ऐन सवाल बमोजिम हुने किसिमको जग्गा भई त्यस्तो गर्न महन्थलाई हटाई पाउँ भन्ने भएकोबाट गुठिको धर्म नष्ट गरेको र राख्न नहुने गुठी राखेको किसिमको मुद्दा नभई सो बाहेकको देखिन आएकोले गुठिको २४ नं. मा लेखिएको म्याद २ वर्षको हद नाघी १० वर्षपछि २०११ सालमा मात्र नालिस परेको देखिँदा यो उजुर खारेज हुने ठहर्छ । तपसिलका मानिसलाई तपसिल बमोजिम गर्नु ।
तपसिल
उजुर खारेज भएकोले वादी प्रतिवादी कसैलाई केही गर्नु पर्दैन ........ १
देहायको अड्डाहरूबाट देहायको मानिसहरूलाई देहाय बमोजिम गरेका दण्ड जरिवाना उजुर खारेज भई नलाग्ने भएकोले असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी इलाका अदालत कटहरवनमा पुर्जि गर्न तहसिलमा लगत दिनु ............२
कटहरवन अमिनीका २०१३।२।२६।६ का फैसलाको वादी नथुनी दास बैरागीके दण्ड कं. रु ५। को कलम १
प्र. अनुरागदास वैरागीके सलामी रु. १। को कलम १
प्र. नथुनी धोवी के ऐ. रु. १। को कलम १
जि. रौ. प्र. मटीऔन मौजे आकडपाथड बस्ने माझी राउल ग्वारके जरिवाना रु. को कलम १
ऐ. बस्ने फेकु राउत कुर्मी के को कलम १
ऐ. बस्ने नवल राउत ऐ. के. रु को कलम १
ऐ. वस्ने सतु महतो कोइरी के. ऐ. रु को कलम १
ऐ. प्र. झाझ उत्तर मौजे जिगडवा बेल विछवा बस्ने शेष भौनुचालाई के रु. को कलम १
ऐ. प्र. प. मौजे तेजादाकड बस्ने माधोराउत कुर्मी के. ऐं. रु. को कलम १
ऐ. बस्ने उनमुनियाके रु. को कलम १
२०१३।१०।१९।६ को क. व. अपीलका फैसलाको वादी नथुनी दास वैरागीके दण्ड रु. को कलम १
कटहरवन अपील उपर वादी नथुनी दासले अपील गर्दा तारिखमा बस्नु नपरोस भन्ने ०१३।१२।३०।६ मा क. ब. अमिनीमा धरौट राखेका भनी फा. नं. ४० को भरपाईबाट देखिएको कं. रु.ऐन सवालको रीत पुर्याई निज नथुनीदासलाई फिर्ता दिनु भनी ऐ. ऐ.......................२
खारेज नगरी इन्साफ गर्ने कं. बं. अमिनी, अपीलका हाकिमको उल्टी जनाई राख्नु .........३
इति सम्वत् २०१७ साल जेष्ठ १२ गते रोज ४ शुभम् ।