शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७१ - बकसपत्र बदर

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३७१            ने.का.प. २०२४

 

फुल बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री लोकराज जोशी

न्यायाधीश श्री बब्बरप्रसाद सिंह

२०२३ सालको पहिलो रिभिजन दे.फु.नं ५०

निबेदक      : त्रिसुली बजार बस्ने सन्तकुमारी मरी सकार गर्ने मोतिलाल श्रेष्ट १

बिरुद्ध

बिपक्षी : ऐ. सांगु बजार बस्ने चन्द्रप्रसाद श्रेष्ट १

मुद्दा : बकसपत्र बदर ।

(१)   साबिकको मुलुकी ऐनको दान दातब्यको १२ नम्बर लिखत गिरिदनेको चित्त नबुझे बदर गर्न पाउँने एउटै लिखतमा ३ जनाको सहि परि गरिदिएको बकसपत्रमा बकसपत्र दाता मध्ये २ जना मरिसकेको भए तेश्रोले आफ्नो हकसम्मको बकसपत्र बदर गराउन सक्ने सम्पूर्ण बकसपत्रको सम्पत्ती बदर गराउन नमिल्ने । बकस दिने ३ जना मध्ये १ जना सम्म जिवीत रहेको अवस्थाम निजले बदर गराउन चाहे पनि पुरै बकसपत्र बदर गराउने पाउँने सर्त उक्त बकसपत्र लिखतमा लेखिएको देखिन आएन । तत्काल प्रचलित दान दातब्यको १२ नं. मा लिखत गरि दिनेको चित्त नबुझी बदर गर्छु भन्छ भने जहिले सुकै बदर गर्छु भने पनि पाउँछ भन्ने उल्लेख भएको । त्यसबाट लिखत गरि दिने व्यक्तिले सम्म चित्त नबुझे आफ्नो हकसम्म बदर गराउन पाउँने सुबिधा पाएको देखिन्छ । लिखत गरि दिने कृष्ण दास, हिरामाया मरी सकेको भएपछि निजहरुका हकमा बाचुन्जेल पालन पोषण मरेपछि काजकृया समेत बकस पाउँने चन्द्रप्रसादले गर्नु पर्ने लिखत बमोजिमको शर्त पुरागरिसकेको समेत हुन आउँने । यस्तो अवस्थामा अन्य कुनै लिखत शर्त वेगर वादीको उजुरी सम्मबाट मरी सकेको कृष्णदास हिरामायाको हकमा समेत पुरै बकसपत्र बदर हुन सक्छ भन्ने उक्त दान दातव्यको १२ नं. ले नमिल्ने कुरा प्रष्टै छ । 

(प्रकरण नं.१०)

निबेदक तर्फबाट : ए. गंगाप्रसाद उप्रेती

फैसला

      १.     भानिज नाताको अन्यायवालालाई खसम कृष्णदास र म, औ भतिजी हिरामायाले ०६।५।२।५ मा शेषपछिको बकसपत्र पास गरिदिएको । खसम र हिरामाया परलोक भए । ०१६ साल भाद्र देखि मलाई घरबाट निकाला गरि खान लाउन समेत नदिएको हुनाले र लोग्ने मरेपछि लोग्नेको हक मेरो लाग्ने हुँदा बकसपत्र बदर गरि सजाय गरि पाउँ भन्ने समेत सन्तकुमारीको फिराद ।

      २.    बादी लेखाई बमोजिम मलाई शेषपछिको बकसपत्र गरिदिएकोले निजहरुलाई पालन पोषण गरि कृष्णदास हिरामायाहरु परलोक भएपछि निजहरुको काजकृया समेत मैले नै गरि जिबित रहेकी बादीलाई पालन पोषण गरि हेर बिचार गरिरहेकोमा झुट्टा उजुर गरेकी हुन्, भन्ने समेत चन्द्रप्रसादको प्रतिवादी । बुझिए सम्मबाट घरका हकमा मर्ने र बादी समेतले ०६ सालका बाली देखिलाई हक छाडी दिई सकेकोले बदर गरि पाउँ भन्ने वादीको दाबी नपुग्ने । शेषपछिको कलममा २ अंश शेषपछिको बकस लेखिदिने मध्ये १ अंशको धनी बुद्धि कन्या हीरामाया मरी सकेकीले निजको हक चन्द्रप्रसादको पाको भई सकेको १ अंशको हकमा पनि कृष्ण दासको हिस्सा कृष्णदास का शेषपछि प्रतिवादीको पाको भईसकेको । कृष्ण दासबाट आधि हिस्सा खाने बादीका भागको मात्र बादीले बकसपत्र बदर गर्न पाउँने ठहर्छ भन्ने समेत ०१७।१२।६।१ को इलाका अदालत नुवाकोटको फैसला ।

      ३.    इन्साफमा चित्त बुझेन भन्ने समेत मोतिलालको अपिल ।

      ४.    घरबाट निकाला गर्‍यो । धन माल दिलाई पाउँ भन्ने र घरका हकमा इन्साफ मुनासिबै छ । शेषपछि खानु भनि लेखिएको जग्गा जमिनको हकलाई बकस दिने ३ जना मध्ये २ जना मरे पनि १ जना वादीले वदर गरि पाउँ भन्ने नालेस गरेपछि दान दातव्यका १२ नं. ले वदर हुने हुँदा कृष्ण दास, हिरामायाको हकको जग्गा जमिन समेत चन्द्रप्रसादको हक नपुग्ने ठहर्छ भन्ने समेत १९।३।३१।१ को का.जि.अ.दा.े को फैसला ।

      ५.    इन्साफमा चित्त बुझेन भन्ने समेत चन्द्रप्रसादको अपिल ।

      ६.    छलफलमा मोतिलाललाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०२०।१।१३।६ को डिभिजन वेन्चको आदेश ।

      ७.    तत्कालै हक छोडी दिएको घर जग्गाको हकमा अपिल समेत नपरेकोले त्यसतर्फ शुरुको सदर गरेको जिल्ला अदालतको इन्साफ मुनासिवैछ । अरु शेषपछिको बकसपत्रका हकमा बकसपत्र दिने सन्तकुमारीले आफ्नो भाग जति दान दातव्यको १२ नं. बमोजिम जहिले पनि वदर गर्न पाउँने नै भएकोले मर्ने लोग्ने पतिजीको भाग पनि वदर गर्न पाउँने भन्नलाई मर्नेको काज कृया समेत गरि काल भेटाएको देखिनाले त्यस तर्फ वदर गर्न नमिली निज वादीका भागमा पर्ने ४ खण्डको १ खण्ड सम्म बकसपत्र वदर गर्ने ठहराएको इन्साफ शुरु नुवाकोट इलाका अदालतको मनासिव भई शेषपछिको जति सवैको भाग वदर गर्ने गरेको का.जि.अ. दोश्रा को इन्साफ केही गल्ती ठहर्छ भन्ने डिभिजन वेन्चको ०२०।४।४।६ को फैसला ।

      ८.    सो फैसला उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी सन्तकुमारी मरी सकार गर्ने मोतिलाल श्रेष्टको निवेदन परेकोमा न्यायिक समितिवाट यस्मा बकसपत्र दिने सबैका शेषपछि मात्र बकसपत्रवालाले पाउँनु पर्ने हुनाले सवै बकसपत्र वदर हुनु पर्ने हो भन्ने समेत निवेदकको जिकीर भए तर्फ बकसपत्र दिने सवै मरी सकेपछि मात्र हक हुनेछ भन्ने त्यस्तो शर्त बकसपत्रमा केहि भए परेको नदेखिनाले तत्कालै खान पाउँने गरि बकसपत्रमा लेखि दिएको घरको हकमा सवै र मर्ने कृष्णदास, हिरामायाको हक अंश जति बकसपत्रवालाको ठहराएको सर्वोच्च अदालतको इन्साफ मिलेकै देखिएको । निज कृष्णदास, हिरामाया समेतको हिस्सा भागको हकमा शुरु नुवाकोट ईलाका अदालतले हिरामायाको आधा हिस्सा र बाँकी आधामा कृष्णदास मरि सकेकोले निजको हिस्सा प्रतिवादीको पाको र कृष्णदासको अंशबाट आधि अंश जतिको मात्र वदर हुने ठहर्छ भनि र वादीको भाग ४ खण्डको १ खण्ड सम्म बकसपत्र वदर गर्ने ठहराएको शुरुको इन्साफ मुनासिव ठहर्छ भनि सो शुरु इन्साफलाई नै समर्थन गरि सर्वोच्च अदालतबाट समेत निर्णय भएको देखियो । सो निर्णयबाट ईन्द्रमानको छोरा हिरामायालाई आधि अंश हिस्सा पाउँने गरेकोमा इन्द्रमान र कृष्णदास सगोल भईरहेको बखत इन्द्रमान परलोक भएको र बाँकी अंशियार कृष्णदास, निजको स्वास्नी वादी सन्तकुमारी र इन्द्रमानको छोरी हिरामायाहरु समेत सगोल छँदै बकसपत्रभए गरेको देखिन आएको अपुतालीको १ नं. मा अपुताली पर्दा अंश लिई छुट्टी बसेको भए तापनि मर्नेका स्वास्नी छोराहरु र अरुसँग बसेका ३ पुस्ता भित्रका हकवाला भएसम्म छोरीले अपुताली पाउँदैनन् । सो बमोजिम कोही नभए ऐन बमोजिम छोरीले अपुताली खान पाउँछन भन्ने भएको । ईन्द्रमान र कृष्णदास दुवै भाई सगोल छँदै इन्द्रमान मरेको देखिएकाले त्यस्तो सगालेका अंशियारा छँदै इन्द्रमानको छोरीले ईन्द्रमानको अंश अपुतालीका नाताबाट आधा अक गर्न पाउँने व्यवस्था नदेखिएको । अंश बण्डाको २४ नं. मा अंशियाराहरु मानु नछुट्टिइ संग बसेकोमा कोही अंशियार अंश नपाउँने खण्ड मात्र पाउँने स्वास्नी र त्यस पट्टिका सन्तान समेत रहेछन् वा स्वास्नी मात्र रहिछ भने अंशबण्डा हुन नपाउँदै लोग्ने मरिसकेको रहेछ भने त्यस्ता स्वास्नी र सन्तालने लोग्ने बाबुको सबै अंश खान पाउँदैनन् । ऐन बमोजिम पाउँने अंशबाट स्वास्नी छोराले ऐन बमोजिम पाउँने खण्ड मात्र अंश विवाह खर्च पाउँछन् भन्ने उल्लेख भएकोबाट इन्द्रमानको सबै अंश हिरामायाले पाउँन सक्ने व्यवस्था नदेखिएको । निज हिरामायाले के कति पाउँने रहिछन् भन्ने तर्फ हेरेमा बकसपत्र दिंदाको अवस्थामा निजको उमेर ५२ वर्ष पुगेको र विवाह नभएको भन्ने नदेखिएको । अंशबण्डा ३५ नं.साविक मुलुकी ऐनमा ३५ वर्ष नाघेपछि पनि विवाह नभई माईत रहेकी छोरीले भाई भिन्न हुँदा ऐन बमोजिम भाई सरहको अंशमा आधि अंश पाउँछ भन्ने लेखिएकोबाट १ अंशको धनी हिरामायाको बाबु ईन्द्रमान र एक अंशको धनी कृष्णदास हुनाले सोह्र आनामा आठ आना इन्द्रमान पट्टि र आठ आना कृष्णदास पट्टि अंश हिस्सा लाग्नेमा इन्द्रमान र कृष्णदास सगोल छँदै इन्द्रमान मरेको हुनाले सो साविक अंश बण्डाको ३५ नं. बमोजिम इन्द्रमानको हिस्सा आठ आनाको आधी चार आना हिरामायाको हक र बाँकी इन्द्रमानको चार आना र आफ्नो आठ आना समेत बाह्र आना कृष्णदासको हक हुने र कृष्णदासको अंशबाट आधा ६ आना बादी सन्तकुमारीको अंश हक लाग्ने देखिनाले सो अनुसार मर्ने कृष्णदासको ६ आना र हिरामायाको ४ आना समेत दश आना बकसपत्र पाएको र सन्तकुमारीको हिस्सा ६ आना बकसपत्रवदर हुने देखिएकोले ४ खण्डको १ खण्ड मात्र बकसपत्र बदर गर्ने र ३ खण्ड बकसपत्र कायम गर्ने गरेको सर्वोच्च अदालत डिभिजन बेन्चको निर्णय मिलेको नदेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनि समितिबाट शिफारीस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालयबाट लेखि आएको ०२३।३।१८।६ को हुकूम प्रमाड्डीको व्यहोरा पेश हुँदा बक्स भई आएको हुकूम प्रमाड्डी बमोजिम गर्न निमित्त नियमको रित पुर्‍याई लगतमा दर्ता गरि मिसिल झिकाई दुवै पक्ष राखि फुल बेन्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महाजाराधिराजका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यू बाट ०२३।३।१३।२ को आदेश भएको ।

      ९.    यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२३।९।२९।६ मा पेश भई निवेदक तर्फबाट विद्वान एडभोकेट श्री गंगाप्रसाद उप्रेतिले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०६ साल कै वाली देखि खान पाउँने गरि हक छोडी दिएको घरको हकमा बक्स पाउँने चन्द्रप्रसादको हक पुग्ने ठहराएको का.जि.अ.दो को फैसला उपर वादीको अपिलै नपरेको र त्यस तर्फ हाल जिकीर समेत नभएकाले शेषपछि खान पाउँने गरि लेखि दिएको कलमका हकमा सम्म निम्न लिखित प्रश्नहरुको निर्णय दिनु पर्ने भएको छ ।

(१)   बकस दिने मध्ये मरी सकेका कृष्णदास, हिरामायाको हकमा समेत बकसपत्र पुरै वादी १ जनाको उजुरीबाट वदर हुन सक्छ सक्दैन ।

(२)   यदि बकसपत्र पुरै बदर हुन नसक्ने भएमा वादीको भाग के कति बदर हुने हो ?

      १०.    सर्व प्रथम पहिलो प्रश्न तर्फ हेरेमा कृष्ण दास, हिरामाया र वादी सन्तकुमारी समेत ३ जना संयुक्त भई गरिदिएको घरायसको मिति ०५।१२।२६।६ को बकसपत्र लिखतमा बकस पाउँनेले हक गरि खान पाउँने शर्तमा हामीहरु बाचुन्जेल पालन पोषण मरेपछि काजकृया गरि बाँकी रहेको शेषपछि खान पाउँने भन्ने शिर व्यहोरामा र हाम्रा शेषपछि खान पाउँने भन्ने तपसिलको कच व्यहोरामा लेखिएको भए पनि बकसपत्र बदर गर्ने कुरामा बकस दिने ३ जना मध्ये १ जना सम्म जिबीत रहेको अवस्थामा निजले बदर गराउन चाहे पनि पुरै बकसपत्र बदर गराउन पाउँने शर्त उक्त बकसपत्र लिखतमा लेखिएको देखिन आएन । तत्काल प्रचलित दान दातव्यको १२ नं. मा लिखत गरि दिनेको चित्त नबुझी बदर गर्छु भन्छ भने जहिले सुकै बदर गर्छु भने पनि पाउँछ भन्ने उल्लेख भएको । त्यसवाट लिखत गरि दिने व्यक्तिले सम्म चित्त नबुझे आफ्नो हकसम्म बदर गराउन पाउँने सुविधा पाएको देखिन्छ । लिखत गरि दिने कृष्णदास, हिरामाया मरी सकेको भएपछि निजहरुका हकमा बाचुन्जेल पालन पोषण मरेपछि काजकृया समेत बकस पाउँने चन्द्रप्रसादले गर्नु पर्ने लिखत बमोजिमको शर्त पूरा गरिसकेको समेत हुन आउने । यस्तो अवस्थामा अन्य कुनै लिखत शर्त वेगर बादीको उजुरीसम्म बाट मरी सकेको कृष्णदास हिरामायको हकमा समेत पुरै बकसपत्र बदर हुन सक्छ भन्ने उक्त दान दातब्यको १२ नं. ले नमिल्ने कुरा प्रष्टै छ ।

      ११.    अब दोस्रो प्रश्नको हकमा बादी सन्तकुमारीले उक्त दान दातब्यको १२ नं. बमोजिम आफ्नो हक जति जहिले सुकै पनि बदर गराउन पाउँने नै हुनाले निजको भाग हिस्सा के कति हो ? भन्ने तर्फ हेरेमा कृष्णदास र चन्द्रमान २ अंशियारमा ईन्द्रमान परलोक भई निज पट्टि निजकी छोरी हिरामाया र कृष्णदास पट्टि निज र निजकी स्वास्नी वादी सन्तकुमारी समेत सगोलमा रहेको अवस्था उक्त बकसपत्र गरिदिएको देखिन आएको छ । तत्काल प्रचलित अपुतालीको १ नं. मा अपुताली पर्दा अंश लिई छुट्टि सकेको भए तापनि मर्नेकी स्वास्नी छोराहरु र अरु संग बसेको ३ पुस्ता भित्रका हकवाला भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने उल्लेख भएको र इन्द्रमान, कृष्णदास दुबै भाई सगोल छदै इन्द्रमान मरेको भन्ने भनाई भएकोले अपुतालीको नाताबाट इन्द्रमानको हक अंश पुरै छोरी हिरामायाले पाउँनै नसक्ने र बकसपत्र दिंदा ५२ वर्ष उमेर लेखेकी निज हिरामाया विवाह नभई बुढी कन्या बसेकी भन्ने देखिनाले यस्तो अवस्थामा तत्काल प्रचलित अंश बण्डाको ३५ नं. ले भाई सरहको अंशमा आधि मात्र अंश पाउँने कानूनी व्यवसथा भएको देखिन्छ । कृष्णदास इन्द्रमान २ भाईको २ हिस्सा लाग्नेमा मरी सकेको इन्द्रमानको १ हिस्सा ८ आना मध्ये उक्त अंश बण्डाको ३५ नं. बमोजिम आधा ४ आना मात्र छोरी हिरामायाले पाउँने र आधा ४ आना कृष्णदासकै हक हुने समेत हुँदा त्यस हिसाबबाट जग्मा सम्पति १६ आनामा हिरामायाको ४ आना र कृष्णदास पट्टि १२ आना हुन आउँने भई कृष्णदास पट्टिको सो १२ आना मध्ये निजकी स्वास्नी वादी सन्तकुमारीको अंश हिस्सा आधि ६ आना हुन आउँछ ।

      १२.   तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट बकसपत्र पुरै वदर गरिपाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । शेषपछि खान पाउँने गरिदिएको जम्मा सम्पतिमा हिरामायाको ४ आना कृष्णदासको ६ आना समेत १० आना हिस्साको शेषपछिको बकसपत्र कायमै हुने र वादी सन्तकुमारीको अंश हक ६ आना हिस्साको सम्म उक्त शेषपछिको बकसपत्रबदर हुने समेत ठहर्छ । जम्मा सम्पतिको ४ खण्डको १ खण्ड मात्र वादी सन्तकुमारीको हक कायम गरि त्यति मात्रको बकसपत्र बदर हुने ठहराएको सम्म ०२०।४।४।६ को डिभिजन बेन्चको इन्साफ मिलेको देखिएन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

वादी सन्तकुमारी मरी सकार गर्ने निबेदक मोतिलाल श्रेष्ट के डिभिजन बेन्चको इन्साफमा केही परिवर्तन भएकाले इन्साफ दोहर्‍याएमा केहि गर्नुपर्दैन ....................१

कृष्णदास श्रेष्ट सन्तकुमारी श्रेष्टनी हिरामाया नगरकोटीनी जना ३ ले चन्द्रप्रसाद श्रेष्टलाई ०६।५।२।५ मा पास गरिदिएको बकसपत्र मध्ये शेषपछि खान पाउँने गरि लेखि दिएको कलमको जम्मा सम्पतिमा बादी सन्तकुमारी को भाग ४ खण्डको १ खण्ड बदर भएको व्यहोरा इलाका माललाई जनाउं दिने भन्ने शुरु नुवाकोट इलाका अदालतको ०१७।१२।६।१ को फैसलामा उल्लेख भई राखेकोमा हाल यो फैसलाबाट हिरामायाको ४ आना कृष्ण दासको ६ आना समेत १० आना हिस्साको शेषपछिको बकसपत्रकायमै हुने र वादी सन्त कुमारीको अंश हक ६ आना हिस्साको सम्म उक्त शेषपछिको बकसपत्र बदर हुने समेत ठहरेकाले सोही व्यहोरा नुवाकोट माल (रजिष्ट्रेशन) लाई जनाउं दिनु भनी रसुवा तथा नुवाकोट जिल्ला अदालतलाई लेखि पठाउँन का.श्रे.अ.त.मा लगत दिनु.......२

तत्कालीन काठमाडौं जिल्ला अदालत दोश्राका हाल सेती अन्चल अदालतमा वहाल अन्चल न्यायाधीश विश्वनाथ उपाध्यायको इन्साफ केहि उल्टीको रिकर्ड राख्न रजिष्ट्रेशन अफिसमा सूचना दिनु ......................३

नियम बमोजिम मिसिल बुझाई दिनु..................४

 

इति सम्वत् २०२३ साल माघ ४ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु