शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७५ - धर्मलोप

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३७५           ने.का.प. २०२४

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्रीराजा इश्वरी जङ्गबहादुर सिंह

२०२४ सालको दे.फु.नं.४८

निवेदक      : का.इ.टेउद वस्ने गोविन्द लाल श्रेष्ठ

                                     बिरुद्ध                  

प्रतिवादी : का.इ.असन बस्ने मंगलप्रसाद समेत ४

मुद्दा : धर्मलोप

(१)   गुठीको ४ नम्बरको देहाय १ दफाशेष जगेडा रहने बाहेकको खान पाउँने शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ भन्ने व्यवस्था भएको । कस्तोलाई शेष बाँकी खान पाउँने सरह नै भन्नु पर्ने ।

     तत्काल प्रचलित गुठीको ४ नं.को देहाय १ दफामा शेष जगेडा रहने बाहेकको खान पाउँने, शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ, भन्ने व्यवस्था भएको पाइयो ।

 (प्रकरण नं.१३)

राति बास बस्न आउनेलाई बास बस्न दिने गरि धर्म किर्तिको लागि राखिएको छेडि तला बाहेक अरु चोटा तला समेतको हकमा सो धर्म किर्तिको संरक्षण गरि राख्ने हक र दायित्व पाएका व्यक्तिले उपभोग गर्न पाउँने भए पछि त्यसलाई शेष वाँकी खान पाउँने सरह नै भन्नु पर्ने हुनाले उक्त ऐन बमोजिम धितो बन्धक राख्न पाउँने कुरा प्रष्टै छ ।

 (प्रकरण नं.१४)

(२) फैसला उपर अपिल नगरे इन्साफमा चित्त बुझाएकै देखिनेगुठीको मुख्य काममा बाधा परी लोप हुन जाने अवस्था नदेखिएमा धर्मलोप भयो भन्न नमिल्ने ।

     भूलबाट स्वबासी लेखिन गएको सच्याई पाउँ भनि ०१७।३।२१।३ मा प्र.मंगलप्रसादले निवेदन दिएको नक्कल पेश भएको र सोभितलाललाई पास गरिदिएको भन्ने भोग बन्धकी लिखतमा छेडि तला बाहेक गरि भन्ने लेखि राखे कै समेत हुँदा सो भोग बन्धकी दिएको समेतबाट छेडि तला दलानमा राति बास बस्न आउनेलाई बस्न दिने गुठीको मुख्य काममा बाधा परी धर्मलोप हुन जाने अवस्था देखिन समेत आउदैन । किनकि दलानमा बास बस्न आउनेलाई बस्न दिने गरि आए कै हुनाले धर्मलोप भएको भन्न नमिल्ने भनि का.जी.अ.दो.ले गरेको फैसला उपर बादीले अपिलै नगरि चित्त बुझाइ बसेको समेतबाट धर्मलोप हुने भन्ने कुरा पुष्टी हुन सकेको छैन ।

(प्रकरण नं.१५)

निवेदक तर्फबाट : अधिवक्ता कुसुम श्रेष्ठ

फैसला

      १.     मंगलप्रसाद र म समेतको पुर्खा कै पाला देखि काजि भक्तबहादुरले भत्के विग्रेमा बनाई पसल थापी ढुकुटी बाहेक पाटीमा बास बस्न आउनेहरुलाई राखी दत्त थामी संतान दर सन्तानले भोग गर्नु भनि ४२ सालमा लिखत गरिदिएको पुर्व उत्तर गणेशलालको घर पश्चिम मुल सडक दक्षिण गल्ली बाटो भएको १ नाले ७ कवले ३ तले पाटी घरमा मंगलप्रसाद समेतका बाजेका पाला देखी लेखिए बमोजिम गरि आएकोमा दत्तको सन्तान प्रेमबहादुर समेतले ८३ सालमा लेखिएको दत्त थामी चलन गर्नु भनि पास गरि मंगलप्रसाद समेतका बाबु र मेरो बाबुलाई लिखत गरिदिएको सो घरलाई अन्यायी मंगलप्रसादले स्वबासी घर भनि तला थपी बनाउने नक्सा दिई पासपुर्जि लिई सके पछि छिडी पसल आनन्दलाल समेतको हक भएकोमा भूलले स्वबासी लेखिन आएछ । निजहरुको कायम गरि पाउँ भनी निवेदन दिएको कुरा प्रमाणका मानिसले भन्दा थाहापाएकोले ३५ दिन भित्रै नालेस गर्न आएको छु । आनन्दलाल समेत मिली गुठी धर्मलोप गरेको र सोभितलाललाई भोग दिई घर बनाउनलाई नक्सा पास गरेकोले सो समेत वदर गरि यि दाताहरुले गरिदिएको लिखत बमोजिम गर्ने व्यहोरा संग मैले नै भोग चलन गर्न पाउँ भन्ने समेत वादि ।

      २.    मेरा बाबु र अन्यायीको बाबुले बण्डाका हिसावसँग भोगेकोमा वादि सावित भएको त्यही व्यहोराबाट माथीको तला भोग गर्नेले अरु पनि हक छ भनि भोग वन्धकी दिई त्यसैमा तला थपी वनाउने भन्ने नक्सा दिए पनि मेरा बाबु समेतको हक भएको नक्सा पास गराए तर्फ मैले नालेस नगरेकाले म समेत दोषी भन्ने भान पारी मेरा उपर झुठ्ठा उजुर गरेको हो भन्ने समेत आनन्दलालको प्रतिवादि ।

      ३.    बादिको घर दाताले दिए बमोजिम भोगी आएको । तल्ला थपी बनाउने मन्सुवा हुँदा अन्यायी समेतको हक देखाउनु पर्नेमा भूलले मेरो स्वबासी भन्ने लेखिन गएछ तापनि भूल सच्याई पाउँ भनि का.न.पा.मा निवेदन समेत दिएको छु । जमिन तलामा यही वादिवालाले समेत पसल थापी वसेको र अघि दाताहरुको लेखत समेतबाट हक हुन आएको माथी तल्ला जम्मै मेरो समेत भएकोले भत्के विग्रेको बनाउन सम्म नक्सा पास गराएको हुँ । घर वन्धकी राखी भिमबहादुर संग १२।९।१५ मा १४०१ लिई भोग वन्धकी दिएको वादिलाई उस बखत थाहा भएको सो घर बनाउन र साहु तिर्न समेत ७००१ सोभितलालबाट लिई पास समेत गरिदिएकोले समेत धर्मलोप गरे भनि भुट्टा उजुर गरेको हो भन्ने समेत सोभीतलाल, कान्छी मंगलप्रसाद र ज्ञानप्रसादको प्रतिबादि ।

      ४.    जमीन तल्ला वादिको र माथि तल्ला मंगलप्रसाद समेतले भोग चलन गरेको हो भन्ने कुरा ६१ सालका बण्डापत्रबाट देखिएकाले समेत दाताहरुको लिखत बमोजिम भोग गरि आएको र मेरै स्वबासी घर भनि का.न.पा.मा दरखास्त दिन नक्सा पास गराए तर्फ भूलबाट लेखिन गएछ । भुल सुधार गरिपाउँ भनी निवेदन दिएकोबाट समेत वादि दावी वमोजिम प्रतिवादिहरुले धर्मलोप गरेको ठहर्दैन भन्ने समेत का.ई.अ.को १८।४।२५ को फैसला ।

      ५.    दाताको दत्त वोली स्वबासी घर भनी भोग दिई तल थपी घर बनाउन नक्सा पास गरि धर्मलोप गरेको देख्दा देख्दै मलाई हरार्ई फैसला गरेकाले चित्त बुझेन भन्ने समेत वादिको पुनरावेदन ।

      ६.    गुठीका ४ नं. ले गुठी को शेष बाँकी सम्म धितो बन्धकी राख्न पाउँनेमा आम्दानी खर्च र शेष रहने भन्ने लगत नभएको र सो खुलाई बन्धकी दिएको समेत नभई मेरो हकको भनि साहु आसामीको रुपमा व्यवहार गरि भोग वन्धकी दिएकोले धर्मकिर्ती थामी बस्न पाउँने र लिखितबाट हक भएको घरलाई मेरो घर भनि भोग बन्धकी लिए दिएको सदर नहुने हुनाले साहु असामीका २६ नं. बमोजिम भोग बन्धकी कच्चा ठहरी साहुले भोग गर्न नपाउँने हुनाले थैली कपाली हुन्छ । ऐन बमोजिम गर्नु भनि दुवै थरलाई सुनाई दिनु । धर्मलोप गरे भन्नालाई दलानमा बास बस्नेहरुलाई बस्न दिआएकै देखिनाले धर्मलोप भएको भन्न नमिल्ने र घर बनाउनलाई दाताको लिखतबाट भत्के विग्रेमा बनाउन पर्ने देखिन आएकोले बनाए पनि दाताको दत्त थामी बस्न पाउँने हुनाले दानबकस सुक्री विक्री अनेत्र गर्न र धितो बन्धकी राख्न नपाउँने भन्ने समेत २०।२।६।२को का.जि.अ.दो.को फैसला ।

      ७.    पसल कवलमा सम्म बास बस्नेलाई राख्नु पर्ने हुँदा त्यस बाहेक बाँकी घर शेष नै भन्नु पर्ने । त्यस्तो घर गुठीको ४ नं. ले बन्धकी सम्म राख्न पाउँने नै हुनाले का.जि.अ.दो.को फैसला उपर चित्त बुझेन भन्ने समेत प्रतिवादिहरुको पुनरावेदन ।

      ८.    लानीथंकु मोहन देबीले ६० साल मार्ग सुदी रोज ३ मा रत्नमानसंग थप रु.५००।लिई मछिन्द्र वाहाल अगाडीको सो गुठीको पसल मध्ये उत्तर पट्टीको पसल १ निजको भतीजा रत्नमानलाई हक छाडी लेखीदिएको देखिनाले समेत मंगलप्रसादले सोभितलाललाई रु.७००१ मा भोग बन्धकी दिन किन नहुने हो वादि गोविन्दप्रसादलाई अ.वं.२०२ न.बमोजिम छलफलमा झिकाई पेश गर्नु भन्ने डिभिजन वेन्चको ०२०।११।२१।४ को आदेश ।

      ९.    दाताको सन्तानले गरिदिएको ८३।११।१० को र ८४।१।६ को रजिष्ट्रेशन पास भएको लिखितमा सो घरको दलानमा रातीलाई खाली गरि बास बस्न आउनेलाई छाडि भत्के विग्रेमा वनाई सन्तान दर सन्तान बस्नु भन्ने लेखिदिएको सो बमोजिम दाताको धर्म किर्ती थामी बस्न भोग गर्न पाउँने गरि देखिएको सो भोग वन्धकी लेखिदिएकोबाट राती बास बस्न आउने बटुवालाई बस्नदिने गुठीको मुख्य काममा बाधा परेको नदेखिएको र तत्काल प्रचलीत गुठीको ४ नं. मा गुठी राख्ने वा उनको सन्तान हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखित बमोजिम काम चलाई शेष जगेडा रहने खान पाउँने । शेष बाँकी सम्म धितो वन्धक राख्न हुन्छ भन्ने उल्लेख भएबाट गुठीको काम चलाई बाँकी रहेको आफुले खान उपभोग गर्न पाउँने जती बन्धकी दिन पाउँने नै देखिएबाट गुठीको काममा बाधा विरोध नपरी भत्के विग्रेमा वनाउने अभिभारा साहु असामी दुवैले बोक्ने गरि बन्धकी दिएको सदर हुन्छ । सो भोग वन्धकी वदर गर्ने गरेको जि.अ.को गल्ती र अरु ईन्साफ जि.अ.को मुनासिब भन्ने डिभिजन वेन्चको ०२१।१।९।३ को फैसला ।

      १०.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने बादि निबेदन परेकोमा न्यायीक समितिबाट यस्मा झगडा परेको घर (गुठीं) राख्न का सन्तान रणजं, मीनबहादुर भण्डारी समेतले गरिदिएको ८३/११ १०, ४।१। ६ को कागजमा कैल टोल मछिन्द्र बहाल अगाडीको २ नाले २ हात लम्बा ३ तले भएको पक्की झिंगटीको पाटी १ गुठी आयस्ता समेत केही नभएको । यो पाटी भत्के बिग्रेमा आफ्नो खर्च लगाई बनाई हाम्रा पुर्खाको दत्त थामी सो पाटीमा पसल थापी बसी बास बस्न आउनेहरुलाई राखी तिमीहरु र तिमीहरुका सन्तान दर सन्तान तक बस्नु भन्ने लेखिएकोले धर्मसाला धर्मकिर्ति सम्वन्धी कुरा देखिँदा उल्लेखित व्यवहारमा गुठीको ऐन प्रयोगमा आउने देखिएको उक्त लिखतका सर्त बोलीले धर्मकिर्ति सम्बन्धी दायित्व तथा पाएको हक सुबिधा पाउँनका सन्तान हकदारलाई बादि प्रतिबादिहरुले धर्मकिर्ति थामी त्यस्को पूर्णतया संरक्षण गरि उपभोग गर्न पाउँने हक पाएको देखिएकोले लिखत बमोजिम शर्त पुरा नगरेमा गुठीका ऐनले सजाय र पाएको हक सुविधाबाट बन्चीत हुनु पर्ने लिखतको अवस्था देखिंदा उक्त उल्लेखित लिखत र ऐनले के कति सम्म गर्न पाउँने रहेछ भनि बिचार गर्दा लिखतले रातमा पाटीको छेडी तलाको बाहिरी भागमा आगन्तुक बटुवा परदेशीहरुलाई बास बस्न दिने र सो पाटी भत्के बिग्रेको मरमत गर्ने सो बापत सो पाटीमा पसल थापी पाटीको सम्पूर्ण भाग उपभोग गर्न सम्म पाउँने । अरु कसैलाई भोग दृष्टि समेत कुनै किसिमबाट दिन नपाउँने देखिएको गुठीका ऐन ४ नं. ले पनि गुठी शेष सम्म बन्धकी दिन पाउँने देखिन्छ । तापनि यस गुठीमा गुठी शेष नदेखिएकोले गुठीराख्ने कै सन्तानले पनि बन्धकी दिन नपाउँनेमा उक्त उल्लेखित किसिमको हक दायित्व भएका प्रतिवादिहरुले गुठीको कुरै नदेखाई धर्मकिर्ति नै गुम गरि मेरो हकको भनि दिएको भोग बन्धकी उक्त रित प्रमाण कुनै किसिमबाट पनि सदर हुन नसक्नेमा भोग बन्धकी दिन पाउँने ठहराई प्रतिवादिहरुले भोग बन्धकी दिएको कायम गरि सर्वोच्च अदालतले निर्णय गरेको मिलेको नदेखिएकोले दोहर्‍याउने आदेश बक्सनु पर्ने भनि समितिबाट शिफारिस गरि जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संबिधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनि मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको २३।३।१८।६ को हुकुम प्रमांगी ।

      ११.    बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रित पुर्‍याई लगतमा दर्ता गरि मिसिल झिकाई दुवै पक्ष राखी फुल बेन्चमा पेश गनुृ र त्यस्को अन्तीम निर्णय भए पछि त्यस्तो निर्णयको २ दुई प्रतिलीपी जाहेर गर्न श्री ५ महाराजाधिराज का प्रमुख सचिवालय राजदरवरमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय प्र.न्या.ज्यू को २३।३।१३।२ को आदेश ।

      १२.   यस्मा तारेखमा रहेका पक्षहरु रोहबरमा रही २३।१२।४।६ मा पेश भई निबेदक बादि तर्फबाट विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ट ले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादि पक्षबाट दिएको बहस नोट समेत अध्ययन गरि हेर्दा झगडा परेको घर भोग बन्धकी राख्न पाउँने नपाउँने के हो भन्ने कुराको मुख्य निर्णय दिनु पर्ने देखिन आएको छ ।

      १३.   बादि तर्फबाट प्रमाणमा पेशे भई रहेको दत्तवालाको सन्तान यमबहादुर भण्डारीले गरिदिएको भन्ने ८३।११।१०।३ मा पास भएको र रणजंगकेशरबहादुर, मीनबहादुर भण्डारीले गरिदिएको भन्ने ८४।१।६।२ मा पास भएको लिखतहरु हेरेमा भत्के बिग्रेमा तिमीहरुबाट खर्च लगाई बनाई हाम्रो दत्त थामी पसल थापी बास बस्न आउनेहरुलाई राखी तिमीहरु र तिमीहरुका सन्तान दरसन्तान पर्यन्त बस्नु भन्ने सर्त लेखिएको पाइन्छ । भोग बन्धकी राख्न नपाउँने भन्ने बन्देज उक्त लिखतहरुमा लेखिएको र त्यस्तो अरु कुनै लिखत सबुद वादिले दिन सकेको समेत पाउँन सकिएन ।

      १४.   तत्सम्बन्धमा भएको कानूनी व्यवस्था तर्फ हेरेमा तत्काल प्रचलित गुठी को ४ नं.को देहाय १ दफामा शेष जगेडा रहने बाहेकको खान पाउँने शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ, भन्ने व्यवस्था भएको पाईयो । निवेदक बादिले प्रस्तूत मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निबेदनपत्रमा ८३८४ सालको लिखतहरुमा सम्पूर्ण घरलाई पाटी शब्दोच्चारण गरि घरको सबै भाग राती बस्न आउनेहरुलाई दिनु पर्ने प्रष्टतया देखिएकै भन्ने जिकिर लिएको भए पनि छेडि तल्लाको दलानका हकमा सम्म दिउँसो पसल राखी राती खाली गरि बास बस्न आउनेहरुलाई बस्न दिई दत्त थामी घरको अरु भाग चोटा तला समेत भोग चलन गरि आएको भन्ने प्रतिवादि पक्षको भनाई भएको र दलानमा राती बास बस्न आउनेलाई छाडी दाताको धर्मकिर्ति थामी बस्न भोग गर्न पाउँने देखिन आएको भनी का.जी.अ.दो.को ०।२।६।२ को फैसलामा ठहर उल्लेख गरिएकोमा निबेदक वादिले अपिलै नगरि चित्त बुझाई बसेको समेतबाट प्रतिवादि पक्षकै भनाई समर्थित हुन आउने समेत भई राती बास बस्न आउनेलाई बास बस्न दिने गरि धर्मकिर्तिको लागी राखिएको छेडी तला बाहेक अरु चोटा तला समेतको हकमा सो धर्मकिर्तिको संरक्षण गरि राख्ने हक दायित्व पाएका ब्यक्तीले उपभोग गर्न पाउँने भए पछि त्यसलाई शेष बाँकी खान पाउँने सरह नै भन्नु पर्ने हुनाले उक्त ऐन बमोजिम धितो बन्धक राख्न पाउँने कुरा प्रष्टै छ ।

      १५.   गुठीको धर्म थामी भोग गर्न पाउँने कुरै लोप राखी स्वबासी घर बनाउने भनी का.न.पा.बाट नक्सा पास गराएको भन्ने निबेदक बादिको जिकिरका हकमा भूलबाट स्ववासी लेखीन गएको सच्चाई पाउँ भनी ०१७।३।२१।३ मा प्र.मंगलप्रसादले निवेदन दिएको नक्कल पेश भएको र सोभितलाललाई पास गरिदिएको भन्ने भोग बन्धकी लिखतमा छेडी तला बाहेक गरि भन्ने लेखी राखे कै समेत हुँदा सो भोग बन्धकी दिएको समेतबाट छेडी तला दलानमा राती बास बस्न आउनेलाई बस्न दिने गुठीको मुख्य काममा बाधा परी धर्मलोप हुन जाने अवस्था देखिन समेत आउदैन । किनकी दलानमा बास बस्न आउनेलाई बस्न दिने गरि आएकै हुनाले धर्मलोप भएको भन्न नमिल्ने भनी का.जी.अ.दो.ले गरेको फैसला उपर वदीले अपिलै नगरि चित्त बुझाई बसेको समेतबाट धर्मलोप हुने भन्ने कुरा पुष्टी हुन सकेको छैन ।

      १६.    तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरु समेतबाट हालको गुठीको ३ नं.को ३ दफा बमोजिम भत्के विग्रेमा बनाउने अभिभार साहु आसामी दुबैले बोक्ने गरि सोभितलाललाई भोग बन्धकी दिएको सदर हुने ठहराएको समेत ईन्साफ २१।१२।९।३ को डिभिजन वेञ्चको मनासिवै छ । निवेदक वादि गोविन्दलाल श्रेष्ठ के मुद्दा रिभिजन गराएमा लाग्ने कोर्टफी दाखेल गरिसकेको देखिंदा अरु सजाय गर्नु परेन । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

ईति सम्बत् २०२३ साल चैत्र १८ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु