निर्णय नं. ३७८ - जग्गा

निर्णय नं. ३७८ ने.का.प. २०२४
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री रंगनाथ उप्रेती
०२३ सालको दे.फु.नं.५२
मुद्दा : जग्गा
निवेदक : जिल्ला बाग्लु∙ दमेक निमारे बस्ने दिल्लीप्रसाद सापकोटा
बिरुद्ध
विपक्षी : ऐ. लोहान्ने बस्ने अम्बरबहादुरको सकार गर्ने भद्रबहादुर घले गुरुङ
(१) राजिनामा गरिलिएको जग्गा – १० वर्षे घरदरमा दर्ता नसरी निजैको नाउँमा रहेको नाताले राजिनाम गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हक जान नसक्ने ।
बादिले पेश गरेका राजिनामा कबुलियत समेत सद्दे नै देखिने र दर्ता बाबु बालाकृष्णको नाउँमा भएको भन्ने निबेदक प्र. दिल्लीप्रसादको जिकिरका हकमा पनि ठेक–कबुलियतको नाताबाट जग्गा भोग गरि आएकोमा १० बर्षे घरदरमा दर्ता नसरी निजैका नाउँमा रहेको नाताले राजिनामा गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हकै जान्छ भन्न न्यायोचित नपर्ने
(प्रकरण नं.१७)
बिपक्षी तर्फबाट : प्लिडर श्री लवदेव भट्ट ।
फैसला
१. बालाकृष्णले ८३।९।२५ मा राजिनामा गरिदिएको निगल्यानी भन्ने जग्गा निजै बालाकृष्णले र रामकृष्णले ७६।१०।१७ मा राजिनामा गरिदिएको पोखरी भन्ने जग्गा पनि निजै बालाकृष्णले कबुलियत गरि कमाएको । १२–१३ सालको बाली नबुझाएकोले आफैले कमाएकोमा १४ सालको खर घांस काटी खिचोला गरेकाले बिगो रु.८१ भराई खिचोला मेटाई पाउँ भन्ने बादि ।
२. निगल्यानी भन्ने जग्गा म बालाकृष्णका नाउँमा रु.।५० पोखरी भन्ने जग्गा रु.२।३ दर्ता हुनाले १० वर्षमा पनि म बालाकृष्ण कै नाउँमा दर्ता छ । उजुरी झुट्टा हो भन्ने समेत बालाकृष्ण समेतको प्रतिवादि ।
३. बादिबाट पेश भएको राजिनामा ठेका कबुलियत बहाली पुर्जि रसिद समेत सुनाउँदा वादि दावीको पोखरी जग्गा बेग्लै हुनाले राजिनाम सद्दे होला तापनि सो जग्गाको ठेक्का बहाली र निगल्यानी जग्गाको राजिनामा ठेक्का बहाली समेत जालसाजी हो भन्ने प्रतिवादिको बयान ।
४. निगल्यानी जग्गा प्रतिवादि मिलान प्र.बालाकृष्ण कै नाउमा दर्ता भईरहेको देखिएको । ऐनको मयाद २ वर्ष भित्र उजुर नगरेको । र पोखरी बारी जग्गाको पनि प्रमाणीक लिखत दर्ता नदेखिँदा उजुर खारेज हुने ठहर्छ भन्ने बाग्लुङङ अदालतको फैसला ।
५. खारेज गर्न नहुने खारेज गरिदिएकाले चित्त बुझेन भन्ने समेत वादिको पुनरावेदन ।
६. निगल्यानी जग्गाको राजिनामा भनेको यो ठाउँमा बसी यस परीवन्धले जालसाजबाट खडा गरेको भन्ने खुलाउन प्रतिवादिले नसकेकोले राजिनामा सद्दे नै रहेछ भन्ने सिद्ध हुने । बालाकृष्णकै दर्ता मध्ये तिरो रु.।६ कटाई लिएकोले धेरै बुझाउने बालाकृष्णलाई नै तिरो बुझाउने र दर्ता पनि बालाकृष्णकै नाउमा कायम गरि राखेको सम्झनु पर्ने र पोखरी जग्गाको हकमा पदम सिं, शक्तीप्रसादको मुद्दा पर्दा रामकृष्णको राजिनामा बमोजिम पदम सिंले खान पाउँने गरि मिलापत्र गरेको देखिएको । वादिले बालाकृष्णलाई मोहयामा दिई वादि तर्फबाटै भोग गरि आएकोले अरुका नाउमा दर्ता गराउँदैमा हक जाने भन्न नहुने हुँदा म बालाकृष्णको हक पुग्ने भन्ने नहुने समेत वादि दावी जग्गामा प्रतिवादिले खर लुटी खिचोला गरेको ठहर्ने । खारेज गरेको शुरुको गल्ती ठहर्छ भन्ने समेत पाल्पा अपिलको १५।४।१६।५ को फैसला ।
७. बालाकृष्णका नाउको पटक–पटकको दर्ता उपर उजुर नगरेको र राजिनामा भनेको पास हुनु पर्ने पास पनि नभएकोले समेत वादिको उजुर झुट्टा देखिएको हुँदा अपिलको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादि दिल्लीप्रसादको पुनराबेदन ।
८. कागज किर्ते नै हो भन्न प्रतिवादि अपिलाटले नसकी जालसाजी सम्म भनेको र कमाउन निमित्त प्रतिवादिले नै लिएको मिसिलबाट देखिन समेत आएकोले ईन्साफ अपिलको मुनासिव ठहर्छ भन्ने मध्यमान्चल उच्च अदालतको ०१६।१०।२८।५ को फैसला ।
९. दोहराई पाउँ भन्ने दिल्लीप्रसादको निवेदन पेश हुँदा निवेदकलई मध्याञ्चल उच्च अदालतको १६।१०।२८।५ को फैसला बमोजिम जनाउ दिएको मिसिलबाट नदेखिएको र झगडा परेको जग्गा ८४।९।६ सालमा १० वर्ष हुँदा समेत बाबु बालाकृष्णकै नाउँमा दर्ता भएको दर्ता उतार समेत मिसिल सामेल छ र सो जग्गा हामिले नै तिरो तिरी भोग चलन गरेको हुँदा दर्ता भोग उपर २ वर्ष भित्र उजुर गर्न नसकेको हुँदा वादिको उजुर खारेज हुनु पर्ने भनी निबेदकले रोहवरमा जिकिर समेत गरेकोले व्यहोरा साँचो भए दर्ता उपर उजुर गरि बदर गराउन नसकेकोले फिराद लाग्छ लाग्दैन भन्ने कानूनी प्रश्न देखिनाले अपिल दिने अनुमती दिएको छ । आजका ३५ दिन भित्र ऐन बमोजिमको अपिल दिए लिई नियम बमोजिम गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यू हरिप्रसाद प्रधानबाट भएको ०१९।१०।१०।४ को आदेश ।
१०. वादिले पेश गरेको लिखत रजिष्ट्रेशन पास नभएको र संख चक्र समेत राम्रोसंग नबुझिने हुनाले र दर्ता भोग तिरो समेत हाम्रो भएमा वादि सावित हुँदा वादिको उजुरै खारेज हुनु पर्ने हुनाले म.उ.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत दिल्लीप्रसादको पुनरावेदन ।
११. माननीय प्रधान न्यायाधीशज्यूले ०१९।१०।१०।४ मा अपिल दिन पाउँने गरि अनुमति दिनु भएको आदेशमा सम्विधानको व्याख्या जस्तो जटिल कानूनी प्रश्न के छ, त्यस्को कारण उल्लेख नभई केवल कानूनी प्रश्न देखिएको भन्ने सम्म उल्लेख गरि अपिल दिने अनुमति दिएको देखिएबाट अपिल किनारा गर्न नमिल्ने हुनाले सो अपिल (पुनराबेदन) खारेज हुने ठहर्छ भन्ने समेत डिभिजन बेन्च २०।१०।२९।४ को आदेश ।
१२. चित्त बुझेन दोहर्याई पाउँ भन्ने दिल्लीप्रसादको निबेदन परेकोमा दोहर्याउने आदेश बक्सनु पर्ने भनि समितिले सिफारीश गरेको जाहेर हुँदा नेपालको संबिधानको धारा ७२ को (घ) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सी ०२१।४।१४।४ मा लेखी आएको पेश हुँदा बक्स भईआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरि पेश गर्नु भन्ने समेत माननीय प्रधान न्यायाधीश ज्यूको ०२१।४।१९।२ को आदेश ।
१३. वादिबाट पेश भएको वादि दावी बमोजिमको राजिनामा ठेक्का कबुलियत वाहाली पुर्जी रसिद समेत कागजहरु किर्ते हो भन्न प्रतिबादिले नसकेको र पोखरी जग्गाको रामकृष्णले गरिदिएको राजिनामा रसिद बाहाली बाहेक अरु कागज जालसाजी हो भन्ने बयान गरेको भए पनि जालसाजी गरेको भन्ने कुराको भर पर्दो पक्का सवुद पुर्याउन सकेको नदेखिएकोले समेत ती कागजहरु सद्दे नै मान्नु पर्ने देखिन्छ । दर्ता प्रतिवादि वालाकृष्णका नाउमा भएको दर्ताउतारबाट देखिए पनि राजिनामाबाट वादिको हक भएको जग्गा ठेक कबुलियत गरि वादि मार्फत कमाउने बालाकृष्णले आफ्नो नाममा दर्ता गर्दैमा सद्दे दर्ता सम्मको नाताले निज बालाकृष्णको हक हुन्छ भन्न नमिल्ने र यही जग्गा चलन चलाई पाउँ भनि वादी अम्बरबहादुरले उजुर गरेकोमा दिल्लीप्रसाद समेतले प्रतिवादि ने नदिई जग्गा वादिले चलन पाउँने ठहरी बाग्लुङङ ई.अ.बाट फैसला भएको हुनाले समेत वादि दावीको जग्गामा प्रतिवादिहरुले खर लुटी खिचोला गरेको ठहराएको पाल्पा अपिलको सदर गरि मध्यमाञ्चल उच्च अदालतबाट १६।१०।२८।५ मा छिनेको इन्साफ मुनासिबै ठहर्छ, भन्ने समेत ०२१।११।११।२ को डिभिजन बेन्चको फैसला ।
१४. ०२०।१०।२९।४ को डिभिजन बेन्चको र ०२१।११।११।२ को डिभिजन बेन्च रुलिङ बाज्न गएकोले फुल बेन्चमा पेश हुनु पर्ने । सो भएन । फुल बेन्चमा पेश गर्ने आदेश पाउँ भन्ने समेत प्र. दिल्लीप्रसादको निवेदन पत्र पेश हूंदा उपर्युक्त मितिको डिभिजन वेन्चको फैसलाबाट रुलिङ बाझ्न गएको देखिनाले सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ को खण्ड (ख) बमोजिम फुल वेन्चमा पेश गर्न निस्सा गरिदिएको छ । निर्णयको लागी लगतमा दर्ता गरि दुवै पक्ष झिकाई फुल बेन्चमा पेश गर्न फाँटमा बुझाई दिनु भन्ने ०२३।५।८।४ को माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
१५. निवेदक दिल्लीप्रसादको वा. मकरमान र अम्बरबहादुर मरी सकार गर्ने भद्रबहादुर घले गुरुङको वा.कृष्णकुमार रोहवरमा रही गत ०२४।३।२७।३ मा पेश भई विपक्षी भद्रबहादुर तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर श्री लभदेव भट्टले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भई पेश हुन आएको प्रस्तूत मुद्दामा ०२०।१०।२९।४ का डिभिजन बेन्चको रुलीङसंग ०२१।११।११।२ को डिभिजन बेन्चको रुलिङ वाझिएको छ छैन र रुलिङ बाझिएको भए वादिले दावी गरेको जग्गामा प्रतिवादिहरुले हटक खिचोला गरेका हुन् होईनन् यसैको निर्णय गर्नु पर्ने हुन आएको छ ।
१६. न्याय प्रशासन ऐन, ०१६ को दफा १९ को उपदफा ४ मा कुनै मामीलामा उच्च अदालतले दिएको फैसला वा अन्तिम आदेश उपर देहाय बमोजिमको मुद्दा मामीलामा मात्र सर्वोच्च अदालतमा अपिल लाग्ने छ, भन्ने उल्लेख भईरहेको (क) मा संविधानको व्यवस्था जस्तो कुनै जटील कानूनी प्रश्न समावेश भएको छ भनी उच्च अदालतले निस्सा गरिदिएको मामीला वा भन्ने र ऐनको (ख) मा त्यस्तो निस्सा गरि दिन उच्च अदालतले ईन्कार गरे तापनि संबिधानको व्याख्या जस्तो कुनै जटील कानूनी प्रश्न समावेश भएको छ भन्ने सर्वोच्च अदालतलाई चित्त बुझ्ने कारण भई आफु छेउ अपिल गर्न पाउँने गरि विशेष अनुमति दिएको मुद्दा मामीला भन्ने समेत उल्लेख भएको । ०१९।१०।१० को माननीय प्रधान न्यायाधीश ज्यूले अपिल दिन पाउँने अनुमती दिनुभएको आदेशमा संबिधानको व्याख्या जस्तो जटील कानूनी प्रश्न के छ त्यस्को कारण उल्लेख नभई के कानूनी प्रश्न हुनाले भन्ने सम्म भएको हुँदा यस्तोमा अपिल किनारा गर्न नमिल्ने हुँदा अपिल खारेज हुने ठहर्छ भनी ०२०।१०।२९।४ को डिभिजन वेन्चले निवेदकको अपिल खारेज गरेकोमा बक्स भईआएको हुकुम प्रमांगीबाट मध्यमान्चल उच्च अदालत सिंगल वेन्चले गरेको ईन्साफ उपर दोहर्याई हेरी निर्णय दिनु पर्ने हुनाले फुल बेन्चमा पेश गर्नु पर्ने स्थीती देखिएन भनी ०२१।११।११।२ को डिभिजन वेन्चबाट इन्साफ भएकोबाट न्याय प्रशासन विविध व्यवस्था ऐन संगको सर्वोच्च अदालतले अपिल दिन पाउँने अनुमती दिने व्यवस्थामा ०२०।१०।२९।४ को डिभिजन वेन्चको र ०२१।११।११।२ को डिभिजन वेन्चको उल्लेखित कानूनी सिद्धान्तमा मतैक्य नभई रुलिङ वाझिएकै देखिन्छ ।
१७. विपक्षी मध्ये बालाकृष्णबाट राजिनामा गराई लिएको रु ६। तिराको निगल्यानी भन्ने जग्गा र रामकृष्णबाट राजिनामा गरि लिए मध्येको रु ४। तिराको पोखरी भन्ने पाखो जग्गा अन्यायी वालाकृष्णलाई ठेक्कामा कमाउन दिएकोमा ठेक नतिरेकोले आफै चलन गरेको । ०२४ साल श्रावण २९ गते देखि अन्यायवालाहरुले सो जग्गाको खरघांस काटी दावी गरे भन्ने समेत वादिले दावि लिई निवेदकका बाबु प्र.बालाकृष्णले गरिदिएको भनी राजिनामा र ठेक कबुलियत समेतका कागज पेश गरेको । सो कागजहरुलाई निजसंग म वालाकृष्णको अरु लेनदेन व्यवहार समेत भए गरेको हुनाले झुक्याई राजिनामा ठेक मगनीको कागज गराई राखेको रहेछ । देख्न सुन्न पाएका बखत छुट्टै उजुर गर्ने छु, भन्ने प्रतिवादिमा उल्लेख गरि अदालतबाट देखाउँदा जालसाजी भनी बयान गरेको । किर्ते भन्न नसकेको पेश भएका उल्लेखीत कागज हेर्दा पुराना रितपुर्वक कै देखिएको । यस किसिमबाट जालसाज गरेको हुन भनी त्यस्को सबुद दिन नसकेको देखिएको समेत हुनाले वादिले पेश गरेको राजिनामा कबुलियत समेत सद्दे नै देखिने र दर्ता बाबु बालाकृष्णको नाउँमा भएको भन्ने निवेदक प्र. दिल्लीप्रसादको जिकिरका हकमा पनि ठेक कबुलियतको नाताबाट जग्गा भोग गरि आएकोमा १ वर्षे घरदरमा दर्ता नसरी निजैका नाउमा रहेको नाताले राजिनामा गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हक जान्छ भन्न न्यायोचित नपर्ने हुनाले र आफैले राजिनामा गरि दिई ठेक कबुलियतमा कमाएको जग्गालाइ आफ्नै हकको भनेको बाट वादि दावीको जग्गामा प्रतिवादिहरुले दावी गरेकै देखिंदा ईन्साफ मध्यमान्चल उच्च अदालत सिंगल वेन्चको सदर गरेको ०२१।११।११।२ को डिभिजन वेन्चको मुनासिव छ । रुलिङ बाझिई पेश हुन आएको देखिँदा निवेदकलाई केही लाग्दैन । नियम बमोजिम मिसिल बुझाई दिनु ।
ईति सम्वत् २०२४ साल आषाढ ३० गते रोज ६ शुभम् ।