शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८० - ऋण जालसाजी

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं ३८०      ने.का.प. २०२४

फुल बेन्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

न्यायाधीश श्री प्रकाशबहादुर के.सि.

न्यायाधीश श्रीराजा इश्वरी जंगबहादुर सिंह

२०२४ सालको दे.फु.नं.३०२

निवेदक      : का.ई ठमेल बस्ने सु.कटकबहादुर प्रधान

विरुद्ध

वादि : ऐ.मरुटोल बस्ने गोपालबहादुर प्रधान

मुद्दा : ऋण जालसाजी

(१)   जालसाजीको प्रर्याप्त सबुद वादिले गुजार्न सक्नु पर्ने सबुदको अभावमा जालसाजी भन्न नमिल्ने ।

     साहु नरप्रताप जंगनाथ, जगतलाल, वावेलाल समेतले र व्यबहार सद्दे नै हो भनेका ति साहूहरु समेत भई नभएको ऋण देखाई जालसाज गर्नु पर्ने पत्यार लाएक कारण खुलाउन र जालसाजीको पर्याप्त सबुद पुर्‍याउन समेत वादिले सकेको नदेखिएको । पर्याप्त सबुद प्रमाण समेतको अभावमा जालसाजी भन्न ठहराउन मिल्ने देखिएन ।

(प्रकरण नं.१३)

निवेदक तर्फबाट : प्लिडर लबदेव भट्ट

बिरुद्ध

विपक्षी तर्फबाट      : प्लिडर ढुण्डीनाथ उपाध्याय

फैसला

      १.     प्रतिवादी कटकबहादुर संगको अंश मुद्दामा निजले तायदाती दिंदा आफ्नो घनिष्ट सम्बन्ध भएका मानिस नरप्रताप थापासंग रु ५००१, सु. जगंनाथ संग रु ११०१, जगतलाल गिरिसंग रु ७००१, बौबेलालबाट रु ५००१। ऋण लिएको भनी साहु देखाएको समेत रहेछ । सांचो व्यबहार भए हामी अंशीयारहरु समेत साक्षी राखी धितो पास समेतको रीत पुर्‍याई राखेको हुन पर्ने सो नभए बाटै जालसाजी भन्ने देखिएको छ । तमसुकको वापतहरु हेर्दा बद्री जाँदा खर्च लागेको, झोराको दण्ड तिरेको, सेयर खरीद गरेको भन्ने लेखेकोलाई बद्री जाँदा ऋण लिई गएको हो भन्ने उस बखतमा लेखेको चिठ्ठी समेतबाट देखिन्छ । दण्ड मेरै हस्तेवारी ढुकुटीको पैसाबाट तिरेको हो । ऋण गरि कसरी सेयर लिए होला पत्यारै नपर्ने कुरा हुँदा व्याज समेतको सबै कुरा झुट्टा हो । सुर्ती व्यापारलाई ०२।१।१।१८ मा रु ७००१ लिएको भन्ने पनि झुट्टा हो । व्यापार गरेकै मलाई थाहा छैन । शुद्ध जालसाजी हुँदा मैले बेहोर्नु नपर्ने समेत हुँदा जालसाज ऋणबाट अलग गराई पाउँ । सक्कल लिखत पेश गरे देख्न सुन्न पाएका अवस्था ति लिखितहरुको नामाकरण उसै बखत गर्ने छु भन्ने समेत गोपालबहादुरको फिरादपत्र ।

      २.    कपालीको ऐन बहाल हुनाले  धितो नभई रीन नपाइने भन्ने दावी नपुग्ने । तायदातीमा लेखिए बमोजिम जम्मा आम्दानी खर्च सबैको फांटवारी मैले दिएकै हुनाले र आम्दानी आर्जनलाई स्वीकार गर्ने वादिले भएको खर्चलाई पनि मान्नै पर्ने र रीन नलिएको भए सो रुपैंया कताबाट आएको हो ? ढुकुटीको रुपैंया भन्ने दावी छ । तापनि ९८ सालमा भएको बण्डापत्रबाट ढुकुटी रीत्तै भन्ने देखिएको छ । बद्री गएकै हो फजील रुपैंयाबाट रीन नतिरीएको भन्ने हकलाई, अवस्था अनुसार भएको दण्ड पनि तिरेको श्रेस्ता छदै छ । वादी हस्तेवारी सम्म हुनाले सो दावी नपुग्ने । सेयर फाईदाको आसाले लिएको कृयाखर्च सुत्केरीखर्च पनि भएकै हो । सुर्ती झिकाएको श्रेस्ता कुमारी चोकमा छ । जालसाजी होइन भन्ने समेत सु.कटकबहादुरको प्रतिवादी ।

      ३.    रुपैंया दिएकै हो । जालसाजी गर्नु पर्ने कारण केही छैन । गरेको होईन भन्ने समेत मोतीमान, जगन्नाथ, बौवेलाल, नरप्रताप समेतको प्रतिवादी ।

      ४.    दाखेल हुन आएको चिठ्ठी लिखत समेतको प्रमाणबाट जालसाज भन्ने वादीको दावी पुग्न सक्दैन । अरु खर्च फाजील समेत कलम कलमको दावी तर्फ घटी बढी भए त्यस तर्फ ऐनले लाग्ने नालेस दिए उसै बखत ठहरे बमोजिम हुने हुनाले त्यस तर्फ खारेज हुने भन्ने समेत रा.का.दे.दो.को ०१०।१।१४।१ को फैसला ।

      ५.    सो ईन्साफ उपर चित्त बुझेन भन्ने समेत बादी गोपालबहादुरको पुनरावेदन ।

      ६.    लिखत जालसाजी भन्ने तर्फ लिखत गरिदिए लिएमा साहु असामी सावित मन्जुरी देखीनाले ति लिखतहरु जालसाजी भन्न ठहराउन नमिल्ने भई त्यस तर्फ पुनरावेदन जिकिर पुग्न नसक्ने र अव ऋण अंशीयारहरुले व्यहोर्नु पर्छ कि भन्नालाई सो ऋणहरु कुन कलम कलममा पनि अंशीयार वादीले सो ऋण लिएको कतैबाट नदेखिएकोबाट अंशीयारहरु ऐन बमोजिम साक्षी र मन्जुरी बेगर त्यस्तो गोप्य ऋण तिर्न बुझाउनु पर्छ भन्न ठहराउन न्यायोचित नहुनाले वादीलाई सवै ऋण तिराउन पर्छ भन्न ठहराउन मुनासीब नदेखीनाले शुरुले गल्ती गरेको ठहर्छ । अरु शुरुको मुनासीव भन्ने समेत अपिल पहिलाको ११।८।३०।३ को फैसला ।

      ७.    मेरो दावी जिकीर मुनासीब ठहरे पछी मलाई खण्ड जरिवाना कुनै लाग्नु नपर्नेमा अपिल पहिलाले रु १ दण्ड गरेकाले चित्त बुझेन भन्ने समेत वादी गोपालबहादुरको र ऋण वादीले व्यहोर्नु नपर्ने गरि मलाई हराई फैसला गरेमा चित्त बुझेन भन्ने प्रतिवादी सु.कटकबहादुरको पुनरावेदन ।

      ८.    अंशीयार भाईले व्यहोर्ने गरि ऋण लिएको भए रीत पूर्वक व्यवहार हुनु पर्ने । साहु असामी का ६ नं का ऐन बमोजिम गोपालबहादुर पनि घरको मुख्य भई काम गर्ने गरेको देखिएको । निज गोपालबहादुरको मन्जुरी लिई कर्जा गर्नु पर्ने । सो गरेको नदेखिनाले अरु अंशियारको ऋण तिर्नु पर्छ भन्न मुनासीब नदेखिनाले ईन्साफ अपिल पहिलाको मुनासीब छ भन्ने डिभिजन बेन्चको ०१३।७।१६।५ को फैसला ।

      ९.    यो समेत मुद्दाको ईन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने समेत प्रतिवादी सु.कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा अघि छिन्ने न्यायाधीस बाहेक श्री प्रधान न्यायाधीश समेत ३ वा ५ न्यायाधीश भएको फुल बेन्चबाट एकपटक दोहर्‍याई हेरी ऐन बमोजिम निर्णय गरि दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विषेश जाहेरी विभागराजदरवारबाट लेखी आएको २०।२।२१।३ को हुकुम प्रमांगी र बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरि दुवै पक्ष राखी फुल बेन्चमा पेश गर्नु भन्ने माननीय भु.पु.प्रधान न्यायाधीश ज्यूको २०।६।११।३ को आदेश । यिनीहरुकै कोठा खिचोला मुद्दाको मिसिल सामेल रहेको ।

      १०.    घरको मुख्यले व्यवहार गर्दा अरु अंशीयारको पनि मन्जुरी लिनु पर्छ भन्ने तत्काल प्रचलित साहु आसामी को ६ नं मा प्रष्ट वाक्यान हुनाले अ.वं.२०२ नं बमोजिम छलफलका निमित्त साहु भनेको प्रतिवादी नरप्रताप सम्सेर, सु. जगन्नाथ पाध्या, जगतलाल गिरि, बौवेलालहरुलाई रुल नियम बमोजिम म्याद दिई झिकाई पेश गर्नु भन्ने फुल बेन्चको २२।१।१८।६ को आदेश ।

      ११.    गोपालबहादुरको फिरादपत्रमा साहु हुनेहरुले सक्कल लिखत पेश गरेको । सो लिखत देख्न सुन्न पाएका अवस्थामा ति लिखतहरुको नामाकरण उसै बखत गर्ने भन्ने समेत उल्लेख भएको र ती लिखतहरु वादीलाई देखाए सुनाएको मिसीलबाट नदेखिएकोले आफ्नु प्रतिवादीको प्रमाण खण्डमा लेखिएका तमसुक सक्कल दाखिल गर्न ल्याउनु भनी प्रतिवादी नरप्रतापको सकारवाला कमल थापा, जगन्नाथ, मोतीमान जगतलाल र वौवेलालहरुको बारेसलाई दिन ७ को तारेख तोकी उक्त सक्कल लिखितहरु दाखिल भए वादीलाई सुनाउन नियम बमोजिम गरि पेश गर्नु भन्ने फुल बेन्चको २३।२।२५।३ को आदेश ।

      १२.   धनी सु.मोतीमान, ऋणी सु.कटकबहादुर भएको कं.रु.२८३८।। को २०००।६।१७।१ को भर्पाई दरपीठ व्यहोरा समेत भएको १, धनी सु.जगतनाथ रीनी सु.कटकबहादुर भएको कं.रु.११०१। को २००१।६।२८।१, को भर्पाई दरपीठ व्यहोरा समेत भएको १, धनी नरप्रताप सम्शेर रीनी सु.कटकबहादुर भएको कं.रु ५००१। को २००१।३।२८।१ को तमसुक दरपीठ समेत १ धनी जगतलाल गिरि ऋणी सु.कटकबहादुर भएको कं.रु. ७००१। को २०००।१।१९ को तमसुक दरपीठ भएको १ र धनी वौवेलाल रीनी सु.कटकबहादुर भएको कं.रु.५००१। को ०३।११।८।५ को तमसुक दरपीठ भएको  समेत जम्मा थान ५ सक्कल लिखतहरु वादीलाई सुनाउँदा जालसाजी हो भन्ने निजको र सद्दे नै हो भन्ने प्रतिवादीहरुको फुल बेन्चमा बयान भएको ।

      १३.   यस्मा तारेखामा रहेका पक्षहरु रोहवरमा रही २४।३।१६।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान ल्पीडर श्री लवदेव भट्टेले र वादी गोपालबहादुर तर्फबाट विद्वान ल्पीडर श्री ढुंडीनाथ उपाध्यायले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख सरेको प्रस्तुत मुद्दामा वादीको फिराद दावी र सक्कल कागज देखाउदा २३।३।१४।३ को फुल बेन्चमा वादीले गरेको बयान जिकिर समेत बमोजिम ऋण जालसाज गरे नगरेको के रहेछ भन्ने तर्फ सर्वप्रथम विचार गरेमा साहु नरप्रताप, जगन्नाथ, जगतलाल, बौवेलाल समेतले व्यबहार सद्दे नै हो भनेको । ती साहुहरु समेत भई नभएको ऋण देखाई जालसाज गर्नु पर्ने पत्यार लाएकको कारण खुलाउन र जालसाजीको पर्याप्त सबुद पुर्‍याउन समेत वादीले सकेको नदेखिएकोमा पर्याप्त सबुद प्रमाण समेतको अभावमा जालसाजी भन्न ठहराउन मिल्ने देखिएन ।

      १४.   अव उक्त ऋणको बण्डा वादी गोपालबहादुरले व्यहोर्नु पर्ने नपर्ने को हो भन्ने तर्फ हेरेमा नरप्रताप सम्शेर थापाबाट लिएको भन्ने रु ५००१। को २००१।६।२८।१ को तमसुकमा वापत बद्रि जानलाई मथुरालालबाट लिएको तिर्नाके नोट रु १५००। भन्ने समेत लेखिएको र यिनै निवेदक प्रतिवादी कटकबहादुरले लेखेको ९५।८।४।७ को चिठ्ठीमा भने सबै ऋण लिएको भन्ने कुरै उल्लेख नगरि १६७६। बद्री जाँदा खर्च भयो सो बुझ्ने छौं भन्ने सम्म लेखेको । सुर्तीको व्यापार गर्नलाई जगतलाल बाट कं.रु ७००१। लिएको भन्ने हकमा पनि सुर्ती झिकाई नेपाल घरमा ल्याई आफुले व्यापार गरेको प्रमाण र नाफा नोक्सानको हिसाव देखाउन समेत प्रतिवादी सु. कटकबहादुरले सकेको नदेखिएको । साहु, नरप्रताप संग रु ५००१। जगन्नाथ संग रु ११०१ । जगतलालसँंग रु ७००१ बौबेलाल सँंग रु ५००१। समेत त्यति ठुल ठुलो कलमको ऋण लिंदा प्रतिवादी सु.कटक बहादुर सरहकै अंशीयार भाई जो आफू पनि घरको मुख्य भई व्यबहार गर्ने गरि आएको वादी गोपालबहादुरको पनि सरसल्लाह लिई मन्जुरी लिनु र लिखतमा निजलाई पनि साक्षी रहे राखेको हुनु त परै रहोस अंश मुद्दामा तायदाती दिनु भन्द अगाडी सबै ऋण लिए दिएको कुरा निज वादी गोपालबहादुरलाई थाहा जानकारी थियो भन्ने सम्म कुरा पनि क्ुनै प्रमाणबाट देखिन नआएको । र वादी समेत अंशीयार सबैले व्यहोर्नु पर्ने ऋण भए अंशमा कचमच उठी मुद्दा परि सकेपछि सवै ऋण बण्डाको ठेगान नलाग्दै आफुले मात्र तिर्नु बुझाउनु नपर्नेमा कुनै अंश मुद्धा परिसके पछि र कुने मुद्धा दोहरिने भईसके पछि प्रतिवादी सु.कटकबहादुर आफूले मात्र तिरो बुझाएको भनी लिखतमा दरपीठ गराई फट्टा लिईसकेको समेत देखिएकाले यस स्थीतमीा वादी गोपालबहादुरलाई पहिले थाहा जानकारी सम्म पनि नभएको र हाल तिर्नु पर्ने बाँकी पनि नरहेको कलमको यस्तो गोप्य ऋणको बण्डा मन्जुरी वेगर वादी गोपालबहादुर समेतले व्यहोर्नु पर्छ भन्नु न्यायसंगत देखिन आएन ।

      १५.   तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरु समेतबाट लिखत जालसाजी भन्ने वादीको र सो ऋणको बण्डा वादी समेतले व्यहोर्नु पर्ने भन्ने निवेदक प्रतिवादीको दावी जिकिर पुग्न सक्दैन । लिखत जालसाजी ठहराउन नमिल्ने र सबै ऋण वादीले तिर्न बुझाउनु नपर्ने ठहराएको समेत अपिल पहिलाको सदर गरि ०१२।७।१६।५ को डिभिजन बेन्चले छिनेको ईन्साफ मुनासिवै ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

निवेदक प्रतिवादी सु.कटकबहादुर प्रधान के ईन्साफ दोहर्‍याएमा डिभिजन बेन्चको फैसलाले गर्ने गरेको दण्ड रु १। को अ.वं.२०४ नं. ले दस्तुर रु ।१० जरीवाना हुन्छ । बारेस हुँदा का.श्रे.अ.त.मा लगत दिनु ........................१

नियम बमोजिम मिसील बुझाई दिनु ....................२

 

इति सम्बत् २०२४ साल भाद्र २० गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु