निर्णय नं. ३८१ - लिखतपास

निर्णय नं. ३८१ ने.का.प. २०२४
फुल बेन्च
का.मु.प्र.न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री मिनबहादुर थापा
न्यायाधीश श्री लोकराज जोशी
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री रंगनाथ उप्रेती
०२३ सालको पहिलो रिभिजन दे.फु.नं.४९
निवेदक : का.ई. ज्ञानेश्वर बस्ने देवेन्द्र विक्रम शाह
विरुद्ध
बिपक्षी : का.ई. दिल्ली बजार धोबी धारा बस्ने रामकृष्ण पाठक ।
मुद्दा : लिखतपास
(१) साबिकको रजिष्ट्रेशनको ९ नं. – रित नपुगेको लिखत अड्डाबाट रित पुर्याई पास गरि दिन सक्ने ।
घरायसको लिखतमा केही कमबेसी लेखिन गई रित नपुगेकै छ भने पनि रित नपुगेकोमा पास गर्ने अड्डाबाट रित पुर्याई पास गरि दिन हुने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ९ नं. ले व्यवस्था गरे कै
(प्रकरण नं.१३)
(२) कस्तो स्थितिमा लिखत पास हुन नसक्ने भन्ने जिकिर उपयुक्त र न्यायसंगत मात्र नमिल्ने ।
निवेदक प्रतिवादीले एकपटक चित्त बुझाई सो रु ४४००। आफुले बुझी लिन मन्जुरै गरि धरौट उठाई लिने ऐनको म्याद बाँकी छदै आफु खुसि २१।१०।२१।६ मा काठमाडौं रजिष्ट्रशनमा दरखास्त दिई बुझी लिईसक्नु भएको र उक्त राजिनामा लिखतको जग्गामा घर बनाउन नक्सा पास गरि पाउँ भन्ने वादि रामकृष्ण पाठकको २०।१२।१२।४ मा का.न.पा.मा दरखास्त परी नक्सा बमोजिम घर बनाउँदा कसैलाई पीर मर्का पर्ने भए १५ दिन भित्र उजुर गर्न आउनु भनि का.न.पा.बाट २०।१२।१२।४ मा सूचना टाँस हुँदा निवेदक प्रतिवादीले उजुर बाजुर कुनै नगरि बस्नु भएको समेत देखिन आयो । अतः यस स्थितिमा उक्त लिखत पास हुन नसक्ने भन्ने समेत निवेदक प्रतिवादिको जिकिर उपयुक्त र न्यायसंगत मान्न मिलेन ।
(प्रकरण नं.१३)
(३) थप गरि दिने लिखतको शर्त भएको र सो नै रकम धरौटमा राखि दिंदा पक्षले बुझी लिएमा लिखतको थैली भित्रकै थप रकम भन्नु पर्ने ।
यहि जग्गा राजिनामा लिएको कुरा उल्लेख गरि सो राजिनामा पास गरि दिंदा अरु मो.रु.४४००। दिने छु भन्ने लेखिएकोले सो जग्गा राजिनामा वापत भई अरु ४४०० थप दिने लिने शर्त भएको देखिएको र सो रु.वादिले धरौट राखेको निवेदक प्रतिवादीले बुझी लिई सक्नु भएको समेत हुँदा राजिनामा लिखतको थैली रु १८००१। भई थप हुने भन्ने कुरा प्रष्टै भएको छ ।
(प्रकरण नं.१४)
निवेदक तर्फबाट : अधिवक्ता दिनेशमान प्रधान, गजेन्द्रबहादुर प्रधानाङग
वादि तर्फबाट : अधिबक्ता कृष्णप्रसाद घिमिरे ।
फैसला
१. अन्यायवालाले १७।२।२५ गते म बाट रु १८००१ लिई अन्यायवालाको मुमा ढुन्डीराज दिव्यश्वरीका दाईजो हकको अन्यायवाला र निजको दाजु महेन्द्र विक्रमलाई १६।१।१८।३ मा गरिदिएको शेषपछिको बकसपत्र बमोजिम हक भएको कापूर्व ६९२/५४६ नं.को पोता लगतमा दर्ता भएको चलवथौ पाखा रोपनी ३३।।।३। मध्ये महेन्द्र विक्रमसंग बण्डा गर्दा अन्यायवालाका भागमा पर्न आउने आधी घर कम्पाउण्ड रोपनी १६।।।३।।२ मध्ये पूर्व पश्चिम उत्तर समेत तिनै तर्फ मध्ये जुन तर्फ भाग पर्न आउँछ उस तर्फबाट १५० फीट सडक लाईन पारी रोपनी ४ जग्गाराजीनामा गरिदिएको राजिष्ट्रेशन पास गरि दिन पास गराई पाउँ भन्ने वादि ।
२. वादी दावीको लिखत गरिदिएको हुँदा रु ४४०० निजले मलाई दिने लिखत गरिदिएको समेत रुपैंया नदिई फिराद गरेको हो । लिखत पनि रीत पूर्वक नभएको । दाजुसंग बण्डा छुट्याउन बाँकी नभएको समेत हुँदा पास गरि दिनु नपर्ने भन्ने समेत देवेन्द्र विक्रमको प्रतिवादी ।
३. राजीनामाको थैली बाहेक अरु ने.रु.४४००। थप दिन्छु भनि छुट्टै लिखत गरिदिएको हुँदा रु.१८००१। भित्रको नभई छुट्टै हुनाले अड्डाबाट कागज मलाई सुनाउनु आवस्यकै नभएको भन्ने समेत वादीको वापत रु १८००१। लिईराजीनामा गरिदिएमा प्रतिवादी कायमै भएको पास गर्दा अरु ४४००। दिई लीने लिखत सर्त देखिनाले रु १८००१। माथी पछि अरु थप्ने कुरा देखिन आउने । सो बिर्ता रोपनी ३३।।।/// को देवेन्द्र विक्रम र महेन्द्र विक्रम २ जनाका नाउमा गोस्वारा दर्ता भएको । महेन्द्र विक्रमले तायदाती लिई बण्डा पाउँ भन्ने दावा गर्दा जग्गा आधी आधी खाई आएको भनी लेखेको । जग्गा सम्म छुट्टिन बाँकी विगो फाटल १८।६।२३।२ मा बण्डा छुट्याउँदा गौचर मुल बाटो देखि दक्षिन ज्ञानेश्वर जाने मुल बाटो देखि पश्चिम गुहेस्वरी जाने सडक देखी उत्तर हरिहर जंग मल्लका घर जाने बाटो देखि पूर्व यति ४ किल्ला भित्रको जग्गा पश्चिम महेन्द्र विक्रमको र पूर्व प्रतिवादी देवेन्द्र विक्रमको भाग पर्न गएको मुचुल्काबाट देखिएको । रजिष्ट्रेशनको १७ नं. ले ४ किल्ला नखुलेको बदर हुने नभई रीत नपुगेकोले बदर हुने नभई रीत नपुगेकोलाई सोही ९ नं. ले रीत पुर्याई दिनु हुने र अब कुन ठाउँको जग्गाराजीनामा रहेछ भन्ने कुरालाई प्रतिवादी देवेन्द्रको जग्गा पूर्व तर्फ परेकै देखीएको । जुन ठाउँको पर्छ उस ठाउँकोराजीनामा दिने सर्त हुनाले पूर्व उत्तर दक्षिण बाटो नै लिखतमा कायम गरि पश्चिममा मेहन्द्र विक्रमको जग्गा भन्ने खुलाई पूर्व तर्फको जग्गा राजिनामा कायम गरि पास हुने र थैलिका हकमा रु ४४००। लिखत पास गर्दा लिने दिने सर्त हुनाले १७।२।२५ गतेको लिखत पास गर्नलाई रजिष्ट्रेशन भई धरोट राखी माथीको थैली माथी सो रु.४४००। थप गराई रजिष्ट्रेशन पास गरि दिनु पर्ने ठहर्दछ भन्ने का.दे.इ.अ.को १८।७।१७।५ को फैसला ।
४. वेरीत र रुपैंया बाँकी भएको लिखत पास हुने ठहराएको समेत ईन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
५. पास गर्न दावी भएको राजिनामा लिखतमा रु १८००१। मात्र लेखिएको । सोही कागज पास गरि पाउँ भन्ने दाबी भएको । त्यस माथि रु ४४००। थपी दावी बाहेकको अंक अड्डाले कायमै गरि गरेको शुरुको निर्णय मुनासिव ठहर्दैन । रु ४४००। का हकमा पास हुँदा दिने लिने भन्ने भर्पाईमा लेखिएको । लिखत अनुसार रुपैंया वादीले नबुझाई लिखत पास हुन नसक्नेमा शुरुबाट फैसला भएपछि रजिष्ट्रेशनमा धरौट रहीसकेको समेत हुनाले सो रुपैंया प्रतिवादीलाई बुझाई वादि दावी बमोजिम रु १८००१। को १७।२।२५ को राजिनामा लिखत पास हुने ठहर्छ भन्ने का.जि.अ.दोश्राको १९।११।३।६ को फैसला ।
६. पास गर्नै नहुने लिखत राजिनामा कायमै गरि पास गर्ने गरेमा समेत चित्त बुझेन भन्ने प्रतिवादी देवेन्द्र विक्रमको र प्रतिवादीको शुरु उपरको अपिल म्याद नाघी दर्ता भएको खारेज हुनु पर्छ रु ४४००। प्रतिवादीलाई दिनु पर्ने लिखत भनि रु १८००१। को मात्र पास गर्ने गरेकाले ईन्साफमा चित्त बुझेन भन्ने समेत वादी रामकृष्ण पाठकको पुनरावेदन ।
७. १७।२।२५ को भर्पाईमा घरसारकोराजीनामा लेखिए बमोजिमको जग्गाको किल्ला हाली त्यसैलाई उल्लेख गरि १५० फिट सडक लाइन पारि दिई पास गरि दिंदा अरु ने.रु.४४००। दिनेछु भनी भर्पाइ लेखी दियाँ भन्ने लेखिएकोले जग्गा वापत नै उक्त दाम थप दिने गरेको रहेछ भन्ने देखीने हुनाले उक्त दाम रु १८००१। को लिखत पास गरि दिंदा मिलाई पास हुन सक्तैन भन्नु न्यायोचीत नहुने हुनाले ईन्साफ का.दो.इ.अ., को मुनासिव र जिल्ला अदालतले केही गल्ती गरेको ठहर्छ भन्ने डिभिजन बेच्नको २०।९।३।४ को फैसला ।
८. श्री ५ महाराजधिराज सरकारका हजुरमा जाहेर गरेको देवेन्द्र विक्रम शाहाको र गुणराज पाध्याको निवेदनपत्रहरु जहेर गर्न ल्याउनु भन्ने हुकुम बक्सी देवेन्द्र विक्रमको द.नं.२६५९ र गुणराजको २४७३ नं मा दर्ता भई मौसुफ सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए न्यायिक समितीले निरर्थक भनी सिफारीस नगर्ने गरेको भए पनि अघि छिन्ने डिभिजनका न्यायाधीस बाहेक श्री प्रधान न्यायधीस सहीत ५ जनाको फुल बेन्चबाट न्याय परे नपरेको एकपटक ईन्साफ जाँची ३ महिना भित्र ऐन बमोजिम निर्णय गरि नतिजा जाहेर गर्नु । निवेदकहरुलाई जनाउ दिनु भनी ताहां पठाउन हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट लेखी आएको २३।४।३२।३ को हुकुम प्रमांगी ।
९. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरि दुवै पक्ष राखी फुल बेन्चमा पेश गर्नु भन्ने २३।५।५।१ को माननीय श्री प्रधान न्यायाधीसज्यूको आदेश ।
१०. रजिष्ट्रेशन पास गरि पाउँ भनी उजुर परेको लिखतमा लेखिएको जग्गामा नक्सा पास गरि घर बनाई सकेको भन्ने विपक्षीको निवेदन परेको देखिनाले सो नक्सा पास सम्बन्धमा कारवाई भएको मिसील का.न.पा.बाट र देवेन्द्र विक्रम शाहाको र महेन्द्र विक्रम शाहाको जग्गा छुट्याउने विषय कारवाई भएको मिसील श्रेस्ता अदालत तहसिल या जहाँ छ झिकाई पेश गर्नु भन्ने समेत २४।२।१२।६ को फुल बेन्चको आदेश ।
११. यसमा तारेखमा रहेका दुवै पक्ष रोहवरमा रहि २४।४।१०।३ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री दिनेशमान प्रधान, गजेन्द्रबहादुर प्रधानांगहरुले र वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका विद्वान वकिलहरुले दिनु भएको वहस नोट समेतको अध्ययन गरि यो प्रतिवादीले गरिदिएको १७।२।२५ को राजिनामा लिखत पास गराई पाउँ भन्ने वादीको मुख्य दावी भएकोले वादीको दावी बमोजिम लिखत पास हुने नहुने के हो भन्ने सम्म कुराको प्रस्तुत मुद्दामा निर्णय दिनु पर्ने भएको छ ।
१२. उक्त लिखत के कस्तो रहेछ भन्ने तर्फ हेरेमा राजिनामा गरि दियाँ भन्ने बोली लेखी रजिनामा कै नामाकरण भए गरेको देखिन आयो । जुन लिखत आफूले गरिदिएको हो भन्ने कुरा निवेदक प्रतिवादीले स्विकारै गर्नु भएको छ । जग्गाको हकमा उक्त लिखत गरिदिंदाको अवस्था प्रतिवादी देवेन्द्र विक्रमको दाजु महेन्द्र विक्रमसंग भाग बण्डा छुट्टी नसकेको भन्ने भनाई भए पनि प्रतिवादी देवेन्द्र विक्रमको दर्ता हक भोगै नभएको भन्ने नभई जम्मा रोपनी ३३।।।///। आफनी मुमाबाट देवेन्द्र विक्रम, महेन्द्र विक्रम दुवै भाईले बकस पाई ६९२/५४३ नं.को पोता लगतमा दुवै भाईको नाउमा दर्ता भई राखेको र आफ्नो भाग आध रोपनि १६।।।३।।२ प्रतिवादि देवेन्द्र विक्रमले हक भोग गरिआएको मध्ये रोपनी ४ राजिनामा दिएको भन्ने समेत उक्त लिखतमै उल्लेख भएको र देवेन्द्र विक्रम, महेन्द्र विक्रमको भाग छुट्याई दर्ता गरिसकेको पनि देखिएकाले त्यस तर्फ अरु शंका गरि रहनु परेन ।
१३. उक्त लिखतको आतिरिक्त अन्य केही कुराहरुलाई लिएर राजिनामाको रीत नपुगेकोले पास हुन नसक्ने भन्ने निवेदक प्रतिवादि तर्फको मुख्य जिकिर भएको हकमा घरायसको लिखमा केही कम वेसी देखिन गई रीत नपुगेकै छ भने पनि रीत पुर्याई पास गरि दिनहुने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ९ नं. ले व्यवस्था गरेकै र मुख्यतः सो लिखत रजिष्ट्रेशन पास गरि दिंदा दिने सर्त गरि वादी रामकृष्ण पाठककले प्रतिवादी देवेन्द्र विक्रमलाई गरिदिएको १७।२।२५।३ को भर्पाई लिखत बमोजिम वादीले पाउँने र उक्त लिखत रजिष्ट्रेशन पास हुने समेत ठहराई डिभिजन बेन्चबाट २०।९।३।४ मा फैसला भएकोमा निवेदक प्रतिवादीले एकपटक चित्त बुझाई सो रु.४४००। आफूले बुझी लिन मन्जुरै गरि धरौट उठाई लिने ऐनको म्याद बाँकी छदै आफू खुसी २१।१०।२१।६ मा काठमाडौं रजिष्ट्रेशनमा दरखास्त दिई बुझी लिई सक्नु भएको र उक्त राजिनामा लिखतको जग्गामा घर बनाउन नक्सा पास गरि पाउँ भन्ने वादी रामकृष्ण पाठकको २०।१२।१२।४ मा का.न.पा.मा दरखास्त परी नक्सा बमोजिम घर बनाउँदा कसैलाई पीर पर्ने भए १५ दिनभित्र उजुर गर्न आउनु भनी का.न.पा.बाट २०।१२।१२।४ मा सूचना टांस हुँदा निवेदक प्रतिवादीले उजुर बाजुर कुनै नगरि बस्नु भएको समेत देखिन आयो । अतः यस स्थितिमा उक्त लिखत पास हुन नसक्ने भन्ने समेत निवेदक प्रतिवादीको जिकिर उपयुक्त र न्यायसंगत भन्न मिलेन ।
१४. अव वादी रामकृष्ण पाठकले गरिदिएको १७।२।२५।३ को लिखत बमोजिम रु ४४००। राजिनामा लिखतको थैली रु १८००१। मा थप हुने नहुने के हो भन्ने तर्फ विचार गरेमा उक्त भर्पाई लिखतमा सो रु ४४००राजनामा खिलत कै थैली रु १८००१। मध्ये कै बाँकी भन्ने नभई यही जग्गा राजिनामा लिएको कुरा उल्लेख गरि सो राजिनामा पास गरि दिंदा अरु मो.रु.४४००। दिने छु भन्ने लेखिएकाले सो जग्गा राजिनामा वापत मै अरु ४४००। थप दिने लिने सर्त भएको देखिएको र सो रु ४४०० वादीले धरौट राखेको निवेदक प्रतिवादीले बुझी लिईसक्नु भएको समेत हुँदा राजिनामा लिखतको थैली रु १८०। भई थप हुने भन्ने कुरा प्रष्टै भएको छ ।
१५. तसर्थ उपरोक्त उल्लेख भए बमोजिम निवेदक प्रतिवादीले डिभिजन बेन्चको फैसलाको ईन्साफमा मन्जुर गरि ऐनको म्याद बाँकी छंदै धरौट रहेको थैली रु ४४००। समेत मन्जुरी साथ उठाई लिई फैसला कार्यान्वीत गराई सके पछि पुनः चित्त बुझेन मन्जुरी छैन भन्नु न्यायोचित नुहने कारणहरु समेतबाट वादी दावीको १७।२।२५ को राजिनामा लिखत पास गरि दिनु नपर्ने भन्ने समेत निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन । उक्त लिखत पास हुने ठहराएको समेत शुरु का.दो.ई.अ.को सदर गरि डिभिजन बेन्चबाट २०।९।३।४ मा छिनेको ईन्साफ मुनासीवै ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
निवेदक प्रतिवादी देवेन्द्र विक्रम शाहाको मुद्दा रीभिजन गराए वापत लाग्ने कोर्टफी २३।५।२७ मा दाखेल गरिसकेको देखिंदा अरु केही गर्नु परेन ............................१
का.इ.धोवी धारा बस्ने रामकृष्ण पाठक के निज तर्फबाट रहेका विद्वान अधिबक्ताको सर्बोच्च अदालत नियमावली, ०२१ को नियम २४ बमोजिम पाउँने वकिल फी रु २०। प्रतिवादी देवेन्द्र विक्रम शाहाबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ५ बर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ............ २
बक्स भएको ०२३।४।३२।३ को हुकुम प्रमांगी बमोजिम फैसला भएको नतिजा श्री ५ महाराजधिराजका हजुरमा जाहेर गर्न यो फैसलाको प्रतिलिपी १ समेत सामेल राखी मौसुफका विशेष जाहेरी विभागराजदरवारमा लेखी पठाई दिनु ............................३
नियम बमोजिम मिसील बुझाई दिनु ......................४
इति सम्बत् २०२४ साल श्रावण १७ गते रोज ३ शुभम् ।