निर्णय नं. ३८३ - जालसाजी

निर्णय नं. ३८३ ने.का.प. २०२४
फुल बेन्च
न्यायाधीश श्री नयनबहादुर खत्रि
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह
सम्बत २०२४ सालको दे.फु.नं.७७
निवेदक : जिल्ला चितवन मौजे कपिहा बस्ने डागरि महतो
विरुद्ध
विपक्षी : ऐ.मौजे सुतन बस्ने बिक महतो
मुद्दा : जालसाजी ।
(१) पेश गरेको रसिद सवाल बमोजिमको रित पुगेको नदेखिएमा र सवाल बमोजिम नै जिमिदारले दाखिल खारेज गरे गराएको भएमा जालसाज गरि दर्ता गरे भन्ने दावी नपुग्ने ।
०१० सालमा सो जग्गा निवेदक प्रतिवादिकै नाउंमा दर्ता भई मालमा समेत दाखेल भई सकेको देखियो । ९७ साल देखि जग्गा भोग गरेको भन्ने वादीको भनाइ भएकोमा ०१० साल देखिको मात्र तिरो जिमिदारलाई बुझाएको रसिद पेश गरेको । सो रसिद पनि सवाल बमोजिम रित पुगेको नदेखिएको हुनाले त्यस्तो रसिदको आधारबाट जग्गामा वादिको हक पुग्छ भन्न र सवाल बमोजिम जिमिदारले गरेको दाखेल खारेज बदर हुन नसक्ने हुनाले उल्लेखित बादिले जालसाज गरि दर्ता गरे भनी दाबी गरेको जग्गामा निजको हक नपुग्ने ठहरी यिनै पक्ष विपक्षको जग्गा खिचोला मुद्दामा आजै निर्णय भएको हुनाले डिभिजन बेन्चबाट दर्ता बदर गर्ने ठहराएको मिलेको देखिएन । इन्साफ तत्कालिन अपिल तेश्राको मुनासिब ठहर्छ ।
(प्रकरण नं ९)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
१. ७९ सालमा मौजे मटेनार मौजे सुर्तनमा रैति नं.५ मा ठगाईका नाउमा दर्ता भएको जग्गा विगाहा ४।ऽ२ र १।ऽ३ दर्ता भएकोमा ठगाइ मरेपछि उखडा भई फागु महतो समेतले कमाएकोमा निजले छाडे पछि ९७ सालदेखि मैले तिरो तिरी भोग चलन गरेकोमा अन्यायको जि.वृज लालले हकै नपुग्ने डागरिका नाउमा दर्ता गरिदिएकाछन् । जालसाज गरेमा सजाय गरि जग्गा मेरै थामि पाउँ भन्ने समेत ०१३।७।७।३ को बिका महतोको वादि ।
२. ७९ सालको नापीमा मेरा बाजे ठगाइका नाउमा दर्ता भई मेरो हक हुन आएको हुँदा मेरो नाउमा दर्ता दाखेल भएको हो । जालसाज गरे भनि झुट्टा उजुर गरेमा वादिलाई नै साजय गरि मुद्दै खारेज गरि पाउँ भन्ने समेत ०१३।८।१५।६ को डागरि महतोको र प्र.जि.वृजलालका नाउमा ०१३।७।२८।३ मा इतलायनामा तामेल भएकोमा निजले म्यादै गुजारी बसेको ।
३. मालको जबाफबाट प्र.डागरिका नाउमा सोझै दर्ता गरेको देखिनाले जालसाज बाटै गराएको भन्नु परी सो दर्ता वदर हुने ठहर्छ भन्ने समेत १४।७।५।२ को तत्कालीन चितवन अदालतको फैसला ।
४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत ०१४।८।१८।३ को प्र.डागरिको अपिल । जिमिदारले ०१० सालमा दर्ता दाखिल खारेज गरेपछि वादि बिकासंग पोत बुझनु पर्ने कारण नभएको सवाल बमोजिमको रसिद पनि नदेखिएको र जग्गा प्रतिवादी डागरिको हक ठहरी आजैका मितिमा फैसला भएकोले जालसाज गरेको ठहर्दैन । वादिले झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने समेत १६।९।१३।२ को तत्कालीन अपिल तेश्राको फैसला ।
५. जग्गामा भोग तिरो मेरो हुँदा शुरुको इन्साफ बदर गरेको उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत ०१७।७।२२ को वादि बिकाको पुनरावेदन ।
६. ९७ साल देखि मेरो हक भोग भई साल सालै मैले मालपोत दाखिल गरि आएको सो जग्गामा जि.वृजलाल समेतले निज डागरिको पक्ष मोलाहिजा गरि हकै नपुग्ने मानिस निज डागरिका नाउमा दाखेल दर्ता गरिदिए दर्ता वदर गरि जग्गामा मेरो हक सदर थामि पाउँ भन्ने वादि । हाम्रो हक भोग हुँदै आएको जग्गा हुँदा दर्ता दाखेल खारेज गर्दा समेत मेरो हक भएबाट मेरो नाउमा दर्ता दाखेल भएको हो । जालसाजिबाट दर्ता गराएको होइन भन्ने प्रतिवादी डागरि भएकोमा प्रस्तुत मुद्दाको डागरिको प्रतिवादीमा १० सालको दाखेल खारेज भन्ने र निजै डागरि बादि भएको जग्गा खिचोला मुद्दाको फिरादपत्रमा ०१२ साल माघ ६ गते दाखिल दर्ता भएको भन्ने उल्लेख गरेको देखिएबाट प्रस्तुत मुद्दाको प्रतिवादीको कुरा र जग्गा खिचोला मुद्दाको फिरादपत्रमा लेखिएको कुरा नमिलि फरक देखिएको र यदि प्रतिवादिका भनाई सांचो भए यस मुद्दामा जि.वृजलाल समेतलते म्याद गुजारी बस्न नपर्ने । उसमा पनि देखि जान्ने भनि प्रतिवादीमा लेखिएका साक्षिहरु १ जना सम्म पनि बकाउन सक्नु पर्ने । सो नसकेबाट समेत प्रतिवादी डागरिको जिकिर खम्बीर हुन आएन । वादि डागरि भएको यिनीहरुको जग्गा खिचोला मुद्दामा झगडा परेको जग्गा उस मुद्दाको प्र.बिका महतोको नाउमा दाखिल दर्ता हुने समेत ठहराई चितवन अदालतले छिनेको इन्साफ मुनासिब ठहरी अपिल तेश्राको इन्साफ उल्टी भई आजै फैसला भएको हुनाले समेत जालसाजबाट दर्ता गराएको ठहराएको इन्साफ चितवन अदालतको मनासिब छ । अपिल तेश्राको इन्साफ मिलेको देखिएन भन्ने समेत ०२३।३।२८।३ को डिभिजन बेन्चको फैसला ।
७. बाजे ठगाइको नाउमा दर्ता भएको जग्गा जिमिदारले मेरो नाउमा दाखेल खारेज गरिसकेकोमा सो वदर हुँदा न्याय पाँईन फुल बेन्चबाट दोर्याइ पाउँ भन्ने समेत प्र.डागरिको वा.मकरमान श्रेष्टले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तीपत्रमा यो मुद्दाको प्रतिवादि डागरिले यो मुद्दाको वादि बिका र जिमिनदार बृजलालको नाउमा नालेस दिएको जग्गा खिचोला मुद्दामा जग्गा हक वादि डागरिको देखिएकोले दाखिल खारेज गरेको कायम र बिकालाई प्रतिवादि जिमिदार वृजलाल समेतले रसिद वेकायम भई जग्गा खिचोला गरेको र बुझाएको पोतको रसिद दिएको नदेखिएको समेत सबुद प्रमाणबाट सर्बोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले मुद्दा दोहर्याउने आदेश बक्सनु पर्ने भनि शिफारिस जाहेर गर्ने आजै निर्णय भएको समेत प्रमाण परिबन्दबाट यो मुद्दामा वादि डागरिको नाममा भएको दाखिल खारेज जालसाजी ठहराएको सर्बोच्च अदालतको निर्णय मिलेको देखिन आएन । मुद्दा दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारीस गरेको श्रीराजप्रतिनिधि परिषद्मा पेश हुँदा नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने श्री अध्यक्षबाट हुकूम बक्सेको छ भन्ने श्रीराजप्रतिनिधि परिषद्का सचिवालयको ०२४।१।२२।६ को आदेश ।
८. तारेखमा रहेका निवेदक प्रतिवादी डागरि महतोको वा.मकरमान श्रेष्ट र वादि बिका महतोको वा.बलभद्र श्रेष्ट रोहवरमा रही गत कार्तिक २१ ग्ते पेश भई निवेदक तर्फबाट रहेका विद्वान वकिल अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिइ पेश हुन आएको प्रस्तुत मुद्दामा वादि दावी बमोजिम जालसाज गरि दर्ता दाखेल गरे गराएको हो होइन यसैको निर्णय गुर्न पर्ने देखियो ।
९. वादिले प्रतिवादीहरु मिली जालसाज गरि दर्ता दाखेल खारेज गरे भनि दावी गरेको जग्गा आफ्नो हक पुग्ने कुनै पक्का लिखत सबुद पेश गरेको देखिएन । सो जग्गा ७९ सालमा ठगाइ महतोको नाउंमा दर्ता भएको र दर्तावाला ठगाइ महतो मेरो बाजे हुन भन्ने प्रतिवादी निवेदक डागरिको भनाइ भएकोमा निज ठगाइ प्रतिवादी निवेदकको २।४ पुस्ताको बाजे पर्ने हो भनि वादि बिका महतोले प्रतिवादिमा लेखेको । ०१० सालमा सो जग्गा निवेदक प्रतिवादि कै नाउंमा दर्ता भई मालमा समेत दाखेल भई सकेको देखियो । ९७ साल देखि जग्गा भोग गरेको भन्ने वादिको भनाइ भएकोमा ०१० साल देखिको मात्र तिरो जिमिदारलाई बुझाएको रसिद पेश गरेको । सो रसिद पनि सवाल बमोजिम रित पुगेको नदेखिएको हुनाले त्यस्तो रसिदको आधारवाट जग्गामा वादिको हक पुग्छ भन्न र सवाल बमोजिम जिमिदारले गरेको दाखेल खारेज वदर हुन नसक्ने हुनाले उल्लेखित वादीले जालसाज गरि दर्ता गरे भनी दाबी गरेको जग्गामा निजको हक नपुग्ने ठहरी यिनै पक्ष विपक्षको जग्गा खिचोला मुद्दामा आजै निर्णय भएको हुनाले डिभिजन बेन्चबाट दर्ता वदर गर्ने ठहराएको मिलेको देखिएन इन्साफ तत्कालित अपिल तेश्राको मुनासिब ठहर्छ । तपसिल बमोजिम गर्नु र नियम बमोजिम मिसिल बुझाइ दिनु ।
तपसिल
देहायका मानिस के ०२३।३।२।३ का डिभिजन बेन्चका फैसला र २३।९।२६।३ का लगतले तत्काल अपिल तेस्राका ०१६।९।१३ फैसलाले देहाय बमोजिम गर्ने गरेकोमा सो बमोजिम गर्नु पर्दैन त्यस्को लगत काटि शुरु चितैन अदालतका ०१४।७।५ का फैसलाको लगत कायम गरि उक्त अपिल तेश्राको फैसला बमोजिम लागेको दण्ड जरिवाना असुल भई सकेको भए कानूनको रित पुर्याइ फिर्ता दिनु भनि चितवन जि.अ.मा लेखि पठाउने भनेकोमा अब सो बमोजिम गर्नु पर्दैन उक्त ०१६।९।१३ को अपिल तेश्राको फैसला र ०१६।९।२०।५ का लगत बमोजिम नै कायम गरि असुल उपर गर्नु भनि जिल्ला अदालत चितवनमा लेखि पठाउँन का.श्रे.अ.त.मा लगत दिनु ........................१
प्रतिवादि निवेदक डागरि महतोको चितवन अदालतका ०१४।७।५।२ का फैसलाले असुल गरेको भा.रु.५ को रु १।२८ ले हुने रु ६।४० ऐन सवालको रित पुर्याइ फिर्ता दिनु भनि अपिल तेश्राका फैसला बमोजिम लगत दिएको सोहि बमोजिम गर्ने। १
देहायका प्रतिवादिहरु के चितवन अदालतका उक्त फैसलाले लिने गरेको देहायबमोजिमको जरिवाना नलाग्ने हुँदा ऐ भनेको ऐ गर्ने ......................२
चितवन सुर्तन बस्ने जि.वृजलाल महतो के भा.रु.।५०
ऐ ऐ बस्ने छन्तुरा महतो के ऐ ।५०
वादि बिका महतो के झुट्टा पोल गरे वापत किर्ते कागजका २२ नं. ले गर्ने गरेको दण्ड रु २।। को कलममा सोही बमोजिम गर्ने .........................३
देहायका मानिस के झुट्टा बके वापत अ.वं.२१३ नं. ले देहाय बमोजिम गर्ने भनि उक्त अपिल तेश्राका फैसला बमोजिम लगत दिएको सोही बमोजिम गर्ने ......................४
चितवन सुर्तना बस्ने प्रभा महतो के भा रु.१
ऐ बस्ने बुधै महतो के ऐ १
ऐ बस्ने छटुवा महतो के ऐ १
तत्कालिन चीतौन अदालतका देहायका मानिस के देहाय बमोजिम इन्साफ उल्टीमा हा.का १५ नं. बमोजिम गर्ने गरेको जरिवाना सोही बमोजिम गर्ने ........................५
हाकिम डि.मुरली मोहन उपाध्याय के ।।२
प्र.मु.रामबहादुर श्रेष्ठके ।।२
निवेदक प्रतिवादि डागरि महतो के इन्साफ दोहर्याउदा ०२४।२।१४।१ मा राखेको कोर्ट«फी रु १। वादि बिका महतो बाट भरी पाउँछ कोर्टफी ऐनको दफा १५ को उपदफा ११ को रित पुर्याई केही दस्तुर नलिई कानूनका म्याद भित्र रित पूर्वकको दरखास्त दिन आए भराई दिनु भनि का.श्रे.अ.त.मा ऐ –२
इन्साफ उल्टीमा देहायका व्यक्तिहरुको रेकर्ड राख्ने भनि ०२३।३।२८।३ का फैसलामा उल्लेख भएकोमा सो बमोजिम गर्नु पर्दैन जनरल विभागमा सूचना दिई सकेको भए उक्त कुराको पनि सूचना दिनु –३
मु.देव मुनि गुभाजु –१
अ.ख.दिल्लीबहादुर–१
बि.वद्रि नारायण – १
इति सम्बत् २०२४ साल कार्तिक २४ गते रोज ६ शुभम् ।