निर्णय नं. ३८४ - जग्गा वाली लुट्पिट

निर्णय नं ३८४ ने.का.प. २०२४
फुल बेन्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री लोकराज जोशि
न्यायाधीश श्री प्रकाशबहादुर के.शि.
सम्बत २०१९ सालको पहिलो रिभिजन दे.फु.नं.२९९–३००
निवेदक : ल.पु.इ.छवेली काहुले गाउँ बस्ने हस्तबहादुर खड्का क्षेत्रि समेत
विरुद्ध
विपक्षी : चि.ई.वाग्मती पूर्व माल्टा बस्ने रामहरीको मुद्दा सकार गर्ने दोलकेश्वर पाध्या १ समेत
मुद्दा : जग्गा वाली लुट्पिट
(१) धेरैको हकको जग्गा भएमा सबुद वेगर एकै जनाले मात्र मोहियानिमा दिन नमिल्ने ।
वादिको दाता (जग्गा धनि भनेको) दुर्गादत्तको बाबु ठाकुरदत्त समेतका ५ जनाको वादि दायर भएकोबाट पाँचै जनाको जित हुन आएको देखिएको । त्यस्तो ५ जनाको हकको कुरामा विना सबुद १ जनाले मोहियानीमा दिन नमिल्ने । सो दिएको र वादिहरुले लिएको भन्ने कुरा पनि उचित नदेखिएको ।
(प्रकरण नं.१४)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे ।
फैसला
१. चिपाइ माल्टा बस्ने प्रेमनाथ, विश्व नाथ, दुर्गादत्त समेत ८ जनाका हकको पूर्व गोठ खोला मल्टा गाउँ पश्चिम छहरे खोला उत्तर च्यामचुं दक्षिण विपक्षी रामहरीको र प्रेम नाथ समेतको सजिया बिर्ता यति ४ किल्ला भित्रको छहरे भन्ने माटो मुरी ।८२ को जग्गा ९५ सालको वाली देखि बिर्तावारहरुसंग मागी हामीहरुले माटो मुरी ।४१ का दरले मोहियामा कमाइ रु १० का दरले तिरो तिरी आएको जग्गामा हामीहरुले लगाउँको मकै वाली ०९।४।११ गतेका दिन अन्याय वालालाहरुले भांची लुटी लगेकाले मकै मुरी २५। ढोड खोस्टा समेतको विगो रु ५२८। वरावरका दरले भराई सजाय गरि पाउँ भन्ने समेत वादी ।
२. वादी दावीको जग्गा हामीहरुको भई वाली समेत हामीले लगाई खाएका हौं पूर्खा गोपाल पाध्यालाई बिर्ता बक्सी सनद समेत भई मोही कुरीया लगाई खाई आएको रैकर दवाई खाए भनि दलबहादुरले उजुर गर्दा आवादी जति बिर्ता पर्ति जति आवाद नगर्नु भन्ने समेत ७२ सालमा तोक सदर फैसला भएको । सो बिर्ता पूर्खाहरुले अंश बण्डा गरि खाई आएमा फिराद दावीको जग्गा चन्द्रकान्तका पूर्खा नन्दुका अंशमा परेको निजले अचुतानन्दलाई जम्मा बिर्ता रोपनि ४० दानपत्र गरेको निजको सन्तानले चन्द्रशेखरको भदै मेरो आमा गंगा देवीको हक भई दानपत्र सनद पत्र समेत भएकोमा सो दानपत्र सनद पत्र समेत ७९ साल भई हाम्रा बाबु रेवतीरमणले बिन्ति पत्र दिएको र सो ४० रोपनी मध्येकै जग्गामा हामीले घरगोठ बनाई भोगेको जम्मै कुरा गुम गरि पर्ति रहेको जग्गा आवाद गर्न पाउँ भनि मेजरमान मुल्मीले उजुर गरि कृषिपरिषद्बाट सजर्मिन बुझ्दा आवाद गर्न हुने भनि भने पनि बाबु रेवती रमणले हामीहरुको ४० रोपनी भित्रको हो भनेको र निज मेजरमानको झुट्टा उजुर ठहराई ०६।७।२२ मा सदर फैसला भएको कुट पिट मुद्दाको रीस इवीले प्रेमनाथहरुको सजिया बिर्ता भनि रसिद भर्पाई गरि गराई झुट्टा नालेस गरेको सम्म हो । ०६ सालमा बिर्ताको हद किल्ला कायम गर्न बिर्ता नापी हुँदा म रामहरिकै नाउमा नापी भएकोले हामीहरुकै हकभोग ठहर्ने हुँदा झुटा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.खेचर रमण, रामहरीको प्रतिवादी ।
३. सो ८२ मुरी जग्गा प्रेमनाथ समेतको हक भई त्यस मध्ये मेरो पनि भाग लाग्ने हो । सजियाबाट भोग भएमा बाबु ठाकुरदत्तका पाला देखि ९५ साल देखि वादिलाई ठेक रु २०। मा दिई नजले खाए कमाएको सो जग्गाको आँप रेवतीरमणले लुटी खाएमा बाबु ठाकुरदत्तले नालेस गर्दा लुटेकै ठहराई ६३ सालमा देवानी अदालतबाट फैसला भएको छ । त्यस्तो जग्गा एकलौटी खानकालागि झुट्टा प्रतिवादी दिएका हुन भन्ने समेत दुर्गादत्तको बयान ।
४. दानपत्र अर्को गराउन नसकेका, पुर्खाका सन्तानबाट दान भएको आफ्नै तर्फ आएको भन्ने थिति विरुद्ध देखिने । आँप लुटपिट मुद्दामा देवानी अदालतबाट भएको ६३ सालको फैसलामा लेखिएको किल्ला मिल्न आएको सो किल्लाको जग्गा हाम्रो भनि ठाकुरदत्त समेतले दावी गरेमा प्र.को बाबु रेवती रमणले हाम्रो भनि लेख्न नसकेको र आखिर सो जग्गाको आँप ठाकुरदत्त समेतको हक र प्रतिवादीहरुले लुटपिट गरेको ठहरी फैसला भएको देखिएको र प्रतिवादिका लेखाई बमोजिम खुद दान पाएको भए ६३ सालमा दानपत्र आगलागीमा नपरेको मौका आफूले दान पाएको जग्गामा आँप लुटपिट मुद्दा पर्दा आफ्नो हक हुन आएको दानपत्र प्रतिवादीको बाबुले जरुर पेश गर्नु पर्नेमा पेशीएको नदेखिएकोले हाल मात्र प्रतिवादीले जग्गा हक गराउने परीपन्च मिलाई लेखेको देखिन आएकाले समेत जग्गा दुर्गादत्तसमेतको हक ठहर्छ । वादी दावि बमोजिम वाली प्रतिवादीले लुटेको ठहर्छ भन्ने समेत ललितपुर अदालतको ०११।९।८।५ को फैसला ।
५. मेजरमानले जग्गा आवाद गर्न पाउँ भनि चढाएको विन्ति पत्रको किल्ला भित्रकै जग्गा वादिहरुले दाबी गरेको भन्ने जग्गाको नक्सा हुँदा समेत प्रष्टै देखिने हुँदा मेजरमानले आवाद गर्न पाउँ भनि लेखेको ४ किल्ला भित्रको जग्गा हमीहरुकै हक भोगको बिर्ता जग्गा ठहरेकोले पनि सो जग्गा वादी दावी बमोजिम दुर्गादत्त समेतको बिर्ता भन्न नहुने हुनाले समेत शुरुको इन्साफ चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपिल ।
६. ६३ सालको फैसलाबाट ठाकुरदत्तहरुको अंश मोहियानी भनि नलेखेको ८ जना समेतको हक भन्ने लेखेको ७ जनाको दावी नभएको अंश बण्डाको प्रमाण छ भन्नु पर्ने । ७२ सालमा हामीहरुका नाउमा बिर्ता लेखिएको । ९५ सालमा ०९ सालमा बिर्ताको लगत हुँदा हामीहरुका नाउमा बिर्ता लेखिएको थामीएको छ भन्न दुर्गादत्तले नसकेको । खाएको भन्ने सम्म लेखेको । ६३ साल भन्दा यता भोग नभएको देखिनु पर्ने । नक्सा हुँदा साक्षी सर्जमीनबाट समेत प्रतिवादीकै भोग चल देखिएको । मेजरमानको मुद्दामा दुर्गादत्त साक्षी बसेको समेतबाट दुर्गादत्तको हकबाट वादीले खाएको भन्न नहुने मेजरमानको मुद्दाबाट अपिलाटको हक भई ०६ सालमा फैसला भएकोले पनि अ.वं.१११ नं बमोजिम उजुर गरि आफ्नो हक गराउन सक्नु पर्ने । सो हक भए गरेको भन्ने लेख्न नसकेको बिर्ता भए पनि १६ वर्ष सम्म प्रतिवादीहरुले खाए पछि ज.मि.का १ नं. ले प्रतिवादी कै हक भोग ठहर्ने हुनाले र ०८ सालको रसीद दुर्गादत्तले वेरीतबाट गरिदिए पनि वादीको मोहियानी हक नहुने । ७५ साल देखि भोगेका बादीको प्रमाण केहि नभएकोले समेते इन्साफ शुरुको गल्ती ठहर्छ भन्ने समेत अपिल दोश्रा फांटको हाकिमको फैसला र इन्साफ शुरुको मुनासिव ठहर्छ भन्ने समेत अ.ख.०६।९।२३।५ को राय फैसला ।
७. दाताका बाबु बाजेका अंशमा परी भोगी ६३ सालमा यिनै प्रतिवादीका बाबु समेत संग दुर्गादत्तका बाबु समेतको लुट्पीट मुद्दा परी फैसला भई ९४ साल तक निज ठाकुरदत्तहरु आफैले र ९५ साल देखि हामीलाई मोही लगाई भोग चलन गरेको जग्गालाई वादीको नालेसै परेको भए पनि सो जग्गा उपरको नालेस अ.वंं.११० नं. ले दायरै नहुनेमा पनि वाली लुटपीट मुद्दाबाट दाताको अंशै जाने गरि ६३ सालको फैसला काटी प्रतिवादीले लेख्न भन्न नसकेको कुरा र मिसिलैमा नभएको कुराहरु लेखि ठाकुरदत्तका सन्तानहरुलाई निरअंशी गराई दिनु भएकोले समेत चित्त बुझेन भन्ने समेत वादीहरुको अपिल र मलाई निरअंशी गराई भएको फैसला चित्त बुझेन भन्ने समेत दुर्गादत्तको र मेजरमान संगको जग्गा आवाद गर्न पाउँ भन्ने मुद्दामा हामीहरुको बिर्ता ठहराई कृषिपरिषद्बाट फैसला हुँदा निज दुर्गादत्त समेतले उजुर वाजुर गरि सो कृषिपरिषद्को फैसला वदर वातेल गराई अ.वं.१११ नं.को रित पुर्याई आफ्नो हक गराई लिन सक्नु पर्ने । सो कृषिपरिषद्को फैसला उपर उजुर गर्न समेत नसकेको हुनाले समेत राय पर्चा चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपिल ।
८. पूर्व सुर्जेमालो तमाङले दरखास्त गरेको जग्गा सांध पश्चिम छहरे खोल्सा उत्तर दम्की दक्षिन भिर यति ४ किल्ला भित्र अन्दाजी रोपनी ३५। मध्ये रवेतीरमणले अन्दाजी रोपनी २० मालपोत नतिरी खाएको भए सो कट्टा गरि रहनु नपरी सो समेत पाउँ भन्ने समेत मेजरमानको बिन्तीपत्रमा बुझी जाहेर गर्नु भन्ने श्री पु.क.ज.बाट दस्तखत भई ल.पु.मालले बुझी कृषिपरिषद्का सेक्रेटरी मार्फत जाहेर हुँदा आवादी ४० रोपनी कुस बिर्ता भन्ने रामहरीको उजुरी निजले पेश गरेको ७२१।२९।३ को तोक सदरबाट आवादी जति बिर्ता थामिएको देखिएको र आवादी बाहेक अरु प्रति महाभारत बन नजिकको जंगल हुनाले बिर्तावारले चाप्न र अरु कसैले आवाद गर्न समेत नपाउँने भन्ने समेत लेखिएको हुनाले सो माथी लेखिएका ४ किल्ला भित्रको अं.४०–५० रोपनी जग्गा मेजरमान मुल्मीलाई आवाद गर्न दिनु पर्दैन मिसिल तामेलमिा राख्ने काम गर भन्ने समेत ०६ साल अश्विन वेगतेको श्री मिनिष्टर याण्ड कमाण्डर ईन्चीफबाट ०६।७।२२ मा सदर भएको एकछापे प्रमाणमा आएको निज मेजरमान मुल्मीको उजुरीबाट चलेको मिसिल सामेल रहेकोबाट देखिएको । सो एकछापेबाट प्रतिबादी रामहरी, खेचररमणहरुको जग्गा हुँदै होईन । त्यो एकछापे बदर भएको छ भन्न वादी र दुर्गादत्तले नसकेकोमा पनि यहि वादी मध्येको दुर्गाबहादुर गोले तामाङ आफै सर्जमिनमा रही निज मेजरमान मुल्मीको उजुरीको सर्जमिन हुन जांदा मुचुल्कामा सहिछाप गरेको समेत देखिन आएबाट इन्साफ अपिल दोश्राको हाकिमले बादिको उजुर दावी झुट्टा ठहराई गरेको फैसला मुनासिव छ शुरुको सदर भनि राय पर्चा गरेको शुरुको सदर भनि राय पर्चा गल्ती ठहर्छ भन्ने समेत डिभिजन बेन्चको ०१९।५।१७।१ को फैसला ।
९. पुस्तौं पुस्ता देखि भोगी आएको अंशको जग्गालाई रामहरी, खेचर रमणको ठहर्छ भनि अपिल दोश्राले अन्याय संग गरेको फैसला सदर गरि डिभिजन बेन्चले छिनेको चित्त बुझेन दोहर्याई पाउँ भन्ने दुर्गादत्त पाध्याको र ९५ साल देखि मोहयामा लिई कमाई आएको हाम्रो मोहियानी हकको जग्गा प्रतिवादीको ठहराएकोले चित्त बुझेन दोहर्याई पाउँ भन्ने समेत वादि हस्त वहादुर, दुर्गाबहादुर गोले तमाङले दिएको निवेदनपत्र माननीय भु.पु.प्रधान न्यायाशीशज्यू समक्ष पेश हुँदा ६३ सालमा दुर्गादत्तको बाबु ठाकुरदत्तले प्र. रामहरीको बाबु रेवती रमण समेत उपर वादीको बिर्ता जग्गामा फलेको आंप प्रतिवादिले लुटे भन्ने मुद्दामा नक्सा भई सो जग्गा वादिको ठहराई प्रतिवादीले आँप लुटेको ठहराएकोमा अहिले सोही जग्गामा झगडा पर्दा प्रतिवादी रामहरीको ठहराएकोमा दुर्गादत्तको मोही दुर्गाबहादुर समेतको मोहयानि हक जाने फैसला गरेकाले १९६३ सालको फैसला काटिने भएकोले चित्त बुझेन भन्ने निवेदकहरुले रोहवरमा जिकिर समेत गरेकोले व्यहोरा सांचो भए कानूनी प्रश्न देखिनाले दोहरीने निस्सा दिएको छ । दुवै पक्ष राखि फुल बेन्चमा पेश गर्नु भन्ने ०१९।११।२८।३ को आदेश ।
१०. बिर्तावार दुर्गादत्त प्रेम नाथ समेतले ०६ सालमा आफ्नो बिर्ता लेखाई देखाई गरेको छ छैन भनि ०१२।८।२२।४ मा अपिल दोश्रा फांटबाट चिशापानी गढीलाई लेखेकोमा १९७४ सालका सनद बमोजिम ०६ सालमा माल्टा बिर्ता जग्गा जम्मै नापी भएको । सो नापी मुचुल्कामा साक्षी खटी जानेले सहिछाप गरिदिएन भन्ने डोरवालाको रिपोर्ट परी कारवाई निमित्त अपिल पहिला दोश्रा के मा हो उसै बखत नापी मुचुल्का सहि त गरेको छ भनि चिसापानी गढीले ०१२।९।१८।२ मा जवाफ दिएकोमा यो साल, महिना, मिति र यो हुलाक नम्बरमा चलान भई गएको भन्ने समेत कुनै नखुलेको । सो वेगर पत्ता लाग्न नसक्ने भनि ०१२।११।१४ मा फेरि अपिल दोश्राले चिसापानी गढीलाई लेखेकोमा ९६ सालमा बिर्ता लेखाई देखाई दिएको छ छैन भनी सोध्नु भएको ०१३।३।६।३ मा दाखिल भएको पत्रमा भएको व्यहोरा लेखि पठाई सकेको भनी ०१६। ३।१२ मा जवाफ दिई सोधिएको कुराको जवाफ दिएको नदेखिएकोले सो नापी मुचुल्का कुन साल मितिमा कुन हुलाक नम्बरमा पठाएको हो हुलाकको भर्पाई समेत जो हेर्नु पर्ने श्रेष्ता हेरी जवाफ पठाउनु भनि चिसापानी गढीलाई लेखी आए पछि मिसिल पत्ता लगाउँन जहाँ लेख्नु पर्छ लेखा पढि गरि ०१२ साल जेष्ठमा बिर्ता खारेजीमा बिर्ताको लगत दिएको भन्ने दुर्गादत्तको निवेदनमा उल्लेख भएको । हाल बिर्ता खारेजी अड्डा नहुनाले लगत फांटमा सो श्रेस्ता हुन पर्ने हुँदा सो लगत दिएको छ छैन लगत फांटमा समेत जहाँ बुझ्नु पर्ने बुझी झिकाउने र आफ्नो बिर्ता लेखाई देखाई गरेको आफू संग भएको अथवा आफुले दाखेल गरेको अड्डाबाट रित पूर्वकको नक्कल लिई आउनु भनि दुवै पक्षहरुलाई तारेख तोकी उपरोक्त काम तामेल भई आए पछि पेश गर्नु भन्ने समेत ०२०।१०।१७।६ को फुल बेन्चको आदेश ।
११. वादी दावी गरेको जग्गा १९७२।१।२९।३ का फैसला र २००६।७।२२।३ का श्री मिनिष्टर कम्याण्डर ईन्चीफ बाट भएका फैसलाले हाम्रो हक देखिने भन्ने प्रतिवादीको जीकिर भएको १९६३।११।३० को फैसलाले हाम्रो हक देखिने भन्ने वादिको दाता दुर्गादत्त समेतको जिकिर देखिएकोले उक्त फैसलाहरुको जग्गा एकै वा वेगल के हो वादीले दावी गरेको जग्गा कुन किल्ला भित्र पर्छ भनि मिसिल सामेल रहेको नक्सा हेर्दा उक्त नक्साबाट सो किल्लाहरु सबै नदेखिए नखोलीएकोले अर्को नक्सा गराउन आवश्यक देखिंदा माथि लेखिएका फैसलाहरुको र वादी प्रतिवादीका दावीको किल्ला र झगडा परेको जग्गा आवादी प्रति के कस्तो हो सो समेत देखाई खुलाई अ.वं.१७१ नं.को ऐनको रित पुर्याई नक्सा गरि पठाउनु भनि वादी प्रतिवादीको दावी जिकिर र उक्त फैसलाहरुको किल्ला समेत खुलाई ल.पु.जि.अ.लाई पत्र लेखि पक्षहरुलाई तारेख समेत तोकी पठाई सो बमोजिम काम तामेल भईआए पछि नियम बमोजिम पेश गर्नु भन्ने ०२२।११।१४।६ को फुल बेन्चको आदेश ।
१२. झगडा परेको जिल्ला ललितपुर माल्टा गाउँ पन्चायत वार्ड नं.५ को पूर्व गोठ खोल्सा पश्चिम छहरे खोला उत्तर च्यांचु दक्षिण रामहरी पाध्या समेतको र सोही माल्टा बस्ने सानु प्रेमनाथ बाबुराम विष्णुप्रसाद समेतकै सजिया बिर्ता यति ४ किल्ला भित्रको हो भन्ने माटो मरी ८२। को कित्ताको सर्भेवाट भएको नाप नक्सा फिल्डबुक समेत पठाई दिनु भनि ७ नं.सर्भे गोश्वरा शेक्सन पुल्चोकलाई र सो कित्ताको अस्थायी पूर्जा क–कस्लाई दिएको छ त्यस्को प्रतिलिपी पठाई दिनु भनी भूमि सुधार कार्यालय ललितपुरलाई समेत लेखि पठाई सो आए पछि नियम बमोजिम पेश गर्नु भन्ने ०२४।२।२३।३ को फुल बेन्चको आदेश ।
१३. यस्मा तारेखमा रहेका दुवै पक्ष रोहवरमा रही ०२४ साल कार्तिक ३ गते पेश भई निवेदक वादी तर्फबाट विद्वान अघिवक्ता कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरि हेर्दा आदेशानुसार दोश्रो नक्सा सर्जमिन समेत भई आएको । भूमि सुधार कार्यालयबाट फिल्ड बूक र अस्थायी जोताहा पूर्जाको प्रतिउत्तर तथा नक्सा ट्रेश समेत आएको । ०६ सालको नापी मुचुल्का भनेको पत्ता लागी आउन नसकेको र ०२ सालमा बिर्ता खारेजीमा दुर्गादत्त खेचररमणले लगत दिएको देखिंदैन भन्ने ल.पु.माल दोश्राको जवाफ आएको । जो भएको निस्सा अघि नै पेश गरिसकेको छु । अरु सबुद निस्सा छैन भन्ने दवै पक्षको दरखास्त परेको देखिएको । सो झगडा परेको जग्गा बिर्ता जग्गा भन्ने दुवै पक्षको मुख मिलेको र ७३ सालको तोक सदर नक्कलबाट पनि बिर्ता नै देखिन आएको । यस्मा मुख्य सो झगडा परेको बादी दावीको ४ किल्ला भित्रको भन्ने जग्गा वादीको दाता दुर्गादत्तको वा प्रतिवादी कस्को हक भोगको रहेछ वादीको मोहियानी हकको भई प्रतिवादीले खिचोला लुटपिट गरेको हो होईन निर्णय गर्नुपर्ने देखिन्छ ।
१४. सो वादी निवेदकका जिकिरको १९६३।११।६ को फैसलामा उल्लेख भएको किल्ला सो देखि दक्षीण छहरे खोला देखि पूर्व च्याँचु देखि दक्षिण निजै अन्यायवालाहरुको साजा बिर्ता देखि उत्तर यति ४ किल्ला उल्लेख भएको देखिएको । पटक पटक भई आएको नक्सामा उत्तर तर्फ च्याचुं भन्ने देखिन नआएको दक्षिण तर्फ पनि प्रतिवादीको साजा दर्ता तेहिनै जग्गा हो भन्ने देखिएको पूर्व खोला पश्चिम छहरे खोला सम्म देखिन आएकोलाई खोलाको किल्ला तल माथि जता लाग्न सक्ने हुनाले सो ६३ सालका फैसलाले उल्लेख किल्लाको जग्गा त्यहि नै हो भन्ने यकिन मिल्न नआउने र सो फैसलाले जिति पाएको भनि वादी पक्षले आड लिएको लाई पनि एक त किल्ला नै झगडा परेको जग्गामा दुरुस्त मिल्न नआएको र दोश्रो, सो ६३ सालको फैसला जग्गा सम्बन्धी मुद्दा परी जग्गाको हार जित भई भएको नभई सिर्फ आँप लुटपिट मुद्दामा भएको देखिएको । जम्मा वादीको दाता (जग्गा धनी भनेको) दुर्गादत्तको बाबु ठाकुरदत्त समेतका ५ जनाको वादी दायर भएकोबाट पाँचै जनाको जित हुन आएको देखिएको । त्यस्तो ५ जनाको हकको कुरामा विना सबुद १ जनाले मात्र मोहियानीमा दिन नमिल्ने । सो दिएको र बादीहरुले लिएको भन्ने कुरा पनि उचित नदेखिएको ।
१५. २००३ सालमा मेजरमान मुल्मीको जग्गा आवाद दर्ता गर्न पाउँ भन्ने निवेदन परी कृषिपरिषद्बाट कारवाई भई प्रतिवादीको बिर्ता हक भोग देखिन आई ०६।७।२२ मा एकछापे भएकोमा उल्लेख भएको प्र.जिकिर को किल्ला पूर्व सुर्जेमानको दरखास्त परेको जग्गा सांध पश्चिम छहरे खोल्सा उत्तर दम्की दक्षिण भिर भन्ने भएको नक्सामा पूर्व सुर्जेमानको नाम सांध जानिएको देखिंदैन । तापनि अरु ३ किल्ला दुरुस्त मिलेकै देखिएको । सो कृषिपरिषदबाट सर्जमिन बुझिएकोमा उक्त ४ किल्ला भित्र २०/२५ रोपनी जग्गा रेवतीरमणले आवाद गरि घरगोठ समेत बनाइ भोग गरेकोछ भन्ने निजै वादी दुर्गाबहादुर समेतले मुचुल्का गरिदिएको देखिएको । तत्काल प्रचलित ऐन सवाल बमोजिम कारवाई भै निर्णय भएकोमा जग्गा धनी हुँ भन्ने दुर्गादत्त समेतले तत्काल प्रचलित अ.वं.१११ न.बमोजिम उजुर गरि बदर गराउन नसकेको । उक्त एक छापे प्रमाण लाग्न सक्तैन भन्न नमिल्ने । ०१६।१।१५ मा भई आएको नक्सामा झगडा जनिएको जग्गाको सिरानमा न.नं.५ छाप्रो र बिचमा न.नं.२ घर, न.नं.३ गोठ जनिएको आवादी सिरानमा दुर्गाबहादुरले मेरो भनि जनाएको र त्यस देखि मुनी न.नं.६ आवादी भै, त्यसदेखि मुनी हस्तबहादुरले मेरो भनेको भनी जनिएको । यो नं.को जग्गा यो नं.को घर गोठ यो यति मेरो भनि वादीले जनाउन नसकेको नजनाएको जग्गामा सम्म उत्तर भागमा मेरो भनि हुचुवा जनाएकोलाई बिचमा कुनै सांध सिमाना छुट्टिएको नदेखिएको । प्रतिवादीले न.नं.१।२।३।४।५।६ को जग्गा घर गोठ छाप्रो मेरो हो भनी लेखे जनाएको । घर छाप्रो गोठलाई वादीले कुनै प्रतिकार नगरेको । आवादी जग्गा सबै एकै मोल मिलानमा देखिएको । सो आवादीको बीचमा प्रतिवादीकै घर १ गोठ १ देखिएकोले सो झगडा परेको जग्गा पनि प्रतिवादीकै घर र गोठ भएको एक चाक्लाको देखिन आएको छ ।
१६. कृषिपरिषद्बाट बुझिएको सर्जमिन मुचुल्का बाट र उक्त नक्सा सर्जमिनबाट समेत सो झगडा परेको जग्गा वादी पक्ष दुर्गादत्तको हक भोगको नभई प्रतिवादीहरुले घर गोठ समेत बनाई चलन भोग गरि अएको प्रतिवादिहरुकै हक भोगको रहेछ भन्ने कुरा प्रष्ट देखिन आउने हुँदा त्यस्तो हक भोगै नभएको दुर्गादत्तले फिराद दिई हाम्रो भोग भएकोमा प्रतिवादीले वाली लुटे भन्ने समेत दावी गरेको र मेरोे हक भन्ने दुर्गादत्तको जिकिर समेत पुग्न नसक्ने देखिंदा निजहरुको उजुर दाबी झुट्टा ठहराई तत्कालिन अपिल दोश्रा फांटका हाकिमले गरेको इन्साफ सदर गरि सर्बोच्च अदालत डिभिजन बेन्चबाट ०१९।५।१७।१ मा फैसला गरेकोमा यो बेन्च सहमत भएको छ । तपसिल बमोजिम गरि मिसिल नियम बमोजिम बुझाई दिनु ।
तपसिल
निवेदक देहायका मानिस के उक्त मुद्दामा स.अ.डिभिजन बेन्चका फैसला उपर निजहरुको निवेदन परी दोहरिन आएकोमा माथि लेखिए अनुसार सर्बोच्च अदालत डिभिजन बेन्चको इन्साफ सदर हुन आएकोले स.अ.डिभिजन बेन्चका ०१९।५।१७।१ को फैसलाले निजहरुलाई गर्ने गरेको देहाय अनुसार जरिवानाको अ.वं.२०४ नं. बमोजिम सयकडा १० ले देहाय बमोजिम जरिवाना हुन्छ । रुजु हुने हस्तबहादुरबाट ऐन बमोजिम असूल गर्न र वेरुजु हुने दुर्गाबहादर, दुर्गादत्त बाट असूल गर्न ललितपुर जि.अ.मा लगत दिन का.श्रे.अ.त.मा लगत दिनु .....................१
वादी ल.पु.इ.छवेली काहुले बस्ने हस्तबहादुर खडका क्षेत्री के रु ३।९० को सयकडा १० ले ज.रु.।३९
वादी चीसापानी इलाका माल्टा बस्ने दुर्गाबहादुर गोले तमाङ के रु ३।९० को ऐ ले ज.रु.।३९
पेटवोली बाट बुझिएको ल.पु.माल्टा बसेन दुर्गादत्त उपाध्याय के रु १। को ऐ ले ज.रु.।१०
इति सम्बत् २०२४ साल कार्तिक २४ गते रोज ६ शुभम् ।