निर्णय नं. ३८५ - जग्गा हक बेहक

निर्णय नं. ३८५ ने.का.प. २०२४
फुल बेन्च
न्यायाधीश श्री बासुदेव शर्मा
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
२०२४ सालो दे.फु.नं.४६
पुनरावेदक : चितवन सोरहजार मौजे जपकौली बस्ने छन्नु महतो थारु
विरुद्ध
रेस्पोण्डेण्ट : ऐ.ऐ.बस्ने बैजनाथ महतो थारु समेत ५ जना
मुद्दा : जग्गा हक बेहक ।
(१) बिक्रेता माथि बिक्री पूर्व उक्त सम्पत्ति उपर स्वामित्व रहे भएको स्थापित गराउने अभिभारा निहित रहने र आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरीत गर्न नमिल्ने ।
बिक्रेतामाथि बिक्री गर्नु भन्दा पहिले नौ उक्त सम्पत्ति उपर आफ्नो पूर्ण स्वामित्व थियो भन्ने कुरा स्थापित गराउने अभिभारा पनि निहित रहेको हुन्छ किन भने कानूनको यो सर्वमान्य सिद्धान्त हो । कसैले पनि आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरित गर्न सक्दैन । आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति हस्तान्तरण हुन नसक्ने र कायम रहन नसक्ने भएकोले क्रेता भन्दा बिक्रेतामा उक्त सम्पत्तिमा उत्पन्न कुनै पूर्व विवाद आधारहिन हो भनि कायम गर्ने स्वार्थ र हक रहेको हुन्छ ।
(प्रकरण नं.१८)
(२) हक टुटाई हस्तान्तरन गरे पछि पनि हस्तान्तरन गर्नु पूर्व उक्त वस्तुमा हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने ।
कुनै वस्तु आफ्नो हक टुटाई हस्तान्तरन गरि सकेपछि पनि सो हस्तान्तरन गर्नु भन्दा पूर्व उक्त वस्तु माथि आफ्नो हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने हक निजमा विद्यमान रहन्छ । अतः अ.वं.१०६ नं. बमोजिम प्रस्तुत नालेस उजुर गर्ने बादिलाई हकदैया छ ।
(प्रकरण नं.२०)
रेस्पोण्डेन्ट तर्फबाट : प्लिडर झुलेन्द्रप्रसाद ।
फैसला
१. ७९ सालमा मेरा बाबु चिरारीका नाउमा दर्ता भई आज सम्म मेरो भोग तिरो भएको जग्गा १५ सालमा बिलेवन्दी दिंदा म अंक अक्षर नजान्नेलाई भुल्याइ विपक्षी बैजनाथले चिरारीकै छोरा हुँ भनी किर्ते कुरा मिलाई जिम्दारबाट विलेवन्दी दाखिल गराउने इत्यादि गरि मेरो र बैजनाथ समेतका नाउमा नापी दर्ता गराएछन् । बैजनाथको नाउमा नापी हुन गएको जबकोली मौजा समेतको मेरो जग्गाको दर्ता बदर गरि मेरो कायम गरि पाउँ भन्ने समेत छन्नु महतोको फिरादपत्र ।
२. मबाट मो.रु.५५०। लिई दुर्गेस्वरीले चलनी पूर्जी गरिदिएकोले बादी दावी को जग्गा कैयौं वर्ष भोग गरि आएको चिरारी मेरो बाबु हुन भनी मैले भनेको छैन जिम्दारले के विचारबाट त्यस्तो लेखे म जान्दीन भन्ने समेत बैजनाथको प्रतिउत्तर ।
३. वादीको बाबु चिरारीले जग्गाको हकै छाडी अनेत्र गएकोले मेरो खसमको पाला जग्गा पर्ति राख्न नभई बैजनाथले आवाद गरि खाएको । लोग्ने मरे पछि ९९ सालमा बैजनाथलाई बहाली पुर्जी गरिदिएको हो । बैजनाथले लालबहादुरलाई बिक्री गरेको छ । जालसाज गरेको छैन भन्ने समेत दुर्गेस्वरीको प्रतिउत्तर ।
४. बैजनाथसंग जबकोलीको जग्गा विगाहा ५ चानचुन ने.रु ३४००। मा ०१५ साल चैत्र ५ गते काठमाडौं पोता अड्डामा रजिष्ट्रेशन पास गराई लिएको छु । जग्गा बैजनाथलाइ नै कमाउन दिएको भन्ने समेत लालबहादुरको बयान ।
५. प्रमाणको मिसिलमा सुर्यकान्तले ०१५।३।१२ गते दिएको विलेबन्दी हेर्दा छन्नु र बैजनाथ दुई जनाले खाएको भनि लेखेको देखिन्छ । छोडपत्र भनेको कागजबाट केही नखुलेको र दाखेल खारेज भएको पनि देखिंदैन । कित्ता नखुलेको मौजा भरकै छोडपत्र भई त्यस्तो कागज सद्दे किर्तेमा पनि सुनाउन नपर्ने र सुर्य कान्तले बादी प्रतिवादी दुवै जनाले मिली खाएकै छ भनी मौकामा ०१५ साल आषाढमा लेखिदिएकै र प्र.बैजनाथले चिरारीको नम्बरी हो । ५ वर्ष भयो जोती खाएको छु भनी नम्बरी वाला चिरारीलाई नै देखाई दिएकै छ । बैजनाथले नभनेको कुरा अमिनले फिल्ड बुकमा टिपेको भए सो अमीन उपर पनि उजुर गर्न सक्नु पर्ने नसकेकोले समेत नम्बरीवाला जग्गा धनी वादी चिरारीको छोरा प्र.छन्नु र प्रतिवादी बैजनाथ सुरक्षीत किसान ठहर्छ । नम्बरी लिएको सदर नहुदै सुरक्षित किसानको हक खरिद गरेको भए जग्गा वालालाई साक्षी राख्नु पर्ने र त्यस्तो दिएको पनि नदेखिएकोले सो लिखतबाट झगडा परेको जग्गा लालबहादुरको हक नपुग्ने हुँदा लिखतको थैलीका हकमा उजुर परेका वखत ठहरे बमोजिम हुने भन्ने समेत चितवन इलाका अदालतको ०२०।१।५ को फैसला ।
६. जग्गा तर्फ सर्भेमा दायर भएको छंदा छंदै पछि परेको मुद्दा खारिज हुन पर्ने हुनाले समेत शुरुको इन्साफमा चित्त बुझेन भन्ने समेत बैजनाथको पुनरावेदन ।
७. मेरो जग्गा विपक्षीले जोताहामा पाउँने ठहरिएकोमा चित्त बुझेन भन्ने समेत छन्नुको पुरनावेदन ।
८. मैले रजिष्ट्रेशन पास गरि राजिनामा लिएको जग्गाको थैली कायम नठहराएकोमा चित्त बुझेन भन्ने समेत लालबहादुर क्षेत्रीको पुनरावेदन ।
९. छोडपत्र वेरीतको ठहराएको ईन्साफ शुरुको मुनासिव जागाको हकमा रसिदवाट नै भोगवालाको किटान गर्न पर्ने देखिएकोले जिम्दार दुर्गेस्वरीवाट १९९८।९।९।५ मा प्रतिवादी बैजनाथले पजनीमा पाई पोत बुझाई आएको । जिम्दारका प्रतिउत्तर लेख र ०१५ साल देखीका रसिद नक्कल पेश भएको । वादी छन्नुले ०१५ साल देखी अघिको रसिद पेश गर्न नसकेकोले समेत जग्गा बैजनाथको भोग रहेनछ भन्न नहुने र ०१५ सालको सर्भे नापीमा हालका जिम्दारले विलेबन्दी दाखिल गरेकोमा वादी दावीको जग्गा समेत बिगाहा ७।। छन्नु र बजीरनाथले बाँडि खाएको भन्ने लेखाएको र कैफियतमा साविक नम्बरी चिरारी भन्ने मरी छोरा छन्नु महतो र बजिरनाथले खाएको सर्भे नापीबाट पनि हाल नं.३।१७।४४।६३।६६ को जग्गा विगाहा ५द्र१।। प्र.बैजनाथका नाउमा फिल्डबुक कायम गरि जग्गा धनीले पाउँने पुर्जि समेत बाँडी लिएको समेत देखिनाले बैजनाथलाई जोताहा सम्म कायम गर्न उचीत नपरी जग्गावाला कायम हुने समेत हुनाले वादी दाबी झुट्टा ठहर्छ भन्ने समेत विरगन्ज जिल्ला अदालतको फैसला ।
१०. विलेवन्दीमा छोरा नै नभएको बैजनाथलाई छोरा भनी लेखेको । सो बदर गरि जग्गा मेरो सदर थामी पाउँ भन्ने नै मुख्य मेरो जिकीर दाबी भएको । जिम्दारको प्रतिवादी को आडले बैजनाथको भोग ठहराउन मनासिब नपर्ने जिम्दार वाहेक बीचको मानिसले दिएको रसिदलाई मान्यता दिन नहुने समेत भएकोले इन्साफमा चित्त बुझेन भन्ने समेत छन्नुको पुनरावेदन ।
११. चिरारीले दलबहादुरलाई गरिदिएको भनेको छोडपत्र राजिनामा बेरितको भई प्रमाण नलाग्ने भनी शुरु जि.अ.समेतले फैसला गरेकोमा प्रतिवादीहरु चित्त बुझाई बसेका र राप्ति दून सर्भे १२ नं.डोरबाट भएको फिल्डबुक उतारमा बैजनाथले नै चिरारीको नन्बरी हो भन्ने र जोती खाएको ५ बर्ष भयो भनि लेखेकोबाट ९९ साल देखी भोग गरेको भन्न नमिल्ने समेत भएबाट अ.वं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलमा प्रतिवादिहरुलाई झिकाइ पेश गर्नु भन्ने डिभिजन बेन्चको आदेश ।
१२. दुर्गेश्वरीको नाउको म्याद कानूनको रित पुगी तामेल भएको नदेखिंदा कानूनको रित पुर्याई तामेल गरि पठाउनु भनि पुनः अर्को नोटीस म्याद जारी गरि पठाउनु भन्ने समेत ०२३।५।१९।१ को डिभिजन बेन्चको आदेश ।
१३. हु.प्र.बमोजिम बुझ्दा मिसिल ब्यहोराबाट तत्कालिन बिरगन्ज जिल्ला अदालतको २१।३।२२।१ को फैसलाले ठहर गरेकोमा निवेदक लालबहादुरलाई अपिल म्याद दिन नपर्ने देखिएकोले ०२३।६।२१।६ का हुकूम प्रमांगी बमोजिम श्री ५ बहाराजाधिराज सरकारका हजुरमा जाहेर गर्न विशेष जाहेरी विभागमा लेखी पठाउनु भन्ने समेत ०२३।८।९।५ को डिभिजन बेन्चको आदेश ।
१४. लालबहादुर तर्फबाट रहनु भएका विद्वान वकिल प्लिडर झुलेन्द्रप्रसादले आजै पेश गर्नुभएको १६।१२।१९।६ मा रजिष्ट्रेशन पास भएको राजिनामा नक्कल हेर्दा दावीको जग्गा वादी छन्नु महतोले रु ४९०१। मा मुक्तिकान्त मैनालीलाई ०१६।१२।१८।५ मा राजिनामा गरिदिएको देखिएको र सोही जग्गाको दर्ता उपर छन्नुले सर्भेमा उजुर गरि सर्भे गोश्वरामा उजुर चली रहेको बखत मुक्तिकान्तलाई राजिनामा गरेको देखिन्छ तापनि जग्गा हक बेहक तर्फ ०१८।७।८।३ मा मात्र छन्नुको अदालतमा नालेस परेको देखिएको र सो नालिस पर्नु भन्दा अगावै अर्थात् ०१६।१२।१८।५ मा दावीको जग्गा मुक्तिकान्तलाई राजिनामा गरि दिई सकेको पास भएको राजिनामा नक्कलबाट देखिएपछि जग्गामा हक छुटी सकेको छन्नुले गरेको ०१८७।८।३ को उजुरीबाट इन्साफ गर्न तत्काल प्रचलित अ.वं.१०६ नं.ऐनले नमिल्ने हुँदा यो उजुर नलाग्ने भई प्रस्तुत फिराद खारेज हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री लोकराज ज्यूको रायमा सहमत नभएकोले सर्बोच्च अदालत नियमावली, २०२१ को परिच्छेद ४ को नियम ३३ (क) बमोजिम राय जांचको निमित्त यो मुद्दा फुल बेन्चमा पेश गर्नु भन्ने माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्टको राय र वादीको दावीका नं.३।१७।४४।६३।६६ का जग्गाहरु प्रतिवादी बैजनाथले १५ सालको सर्भे नापीमा आफ्नो नाउमा दर्ता गराएको वदर गरि मेरा नाउमा कायम गरि पाउँ भनी वादी छन्नुले १५।४।१५ मा सर्भेमा उजुर गरेको मुद्दा कारवाई चल्दै रही आखिर चिरारीले गरेको भनेको छोडपत्र सद्दे किर्ते तर्फ अदालतमा उजुर गरि हक वेहक गराई आउनु भनी ०१८।३।१३ मा सर्भेले सुनाइ दिएको र सर्भेलाई भएको सवालले अदालतबाटै गराउनु पर्ने जग्गा हक वेहकको समेत कुरा लिई वादी छन्नु अदालतमा उपस्थित हुनु भएको रहेछ । सो जग्गा १६ सालमा मुक्तिकान्तजीलाई बिक्री गरिसकेपछि १८ सालमा यो नालेस परेको भए पनि सो बिक्री गरिसकेपछि नालेस दिनु पर्ने कारण परेको नभई माथि उल्लेख गरिए बमोजिम विक्रि गर्नु अगावै सर्भेमा परेको उजुरीको सिलसिलामा छन्नुले छोडी दिएको भएमा वा यस्तो अवस्थामा उजुर गर्न पाउँदैन भनी खारेज गरिदिएमा खरीद गरि लिने साहुले जग्गामा दावी लिन आउंदा दाताले नै हक कायम गर्न नसकेकोमा झगडा पर्दा पर्दैको बखत लिने साहुको दाबी नचल्ने भन्ने तर्क उपस्थित हुन पनि सकेन । कुनै यस्तोमा दाताको नालेस नपरी साहुले नै नालेस दिएको भए त्यस्मा प्रतिवादी हुन आउने दाताले गरेको जिकीरबाटै पनि हक बेहक निर्णय गरि दिनु पर्ने अवस्था पर्न आउने समेतमै जग्गा कायम गर्न नसके आफुले बिक्री गरेको बदर भई थैलीमा दायीत्व लिनु पर्ने अवस्थाको छन्नुलाई उजुर गर्ने हक छैन भनी खारेज गरि दिनु न्यायोचित नभई तत्काल प्रचलित अ.वं.१०६ नं. ले यो उजुर गर्न छन्नुलाइ उजुर गर्ने हक प्राप्त भएकोबाट हक वेहक इन्साफ गरि दिनु पर्ने हुँदा सहयोगी माननीय का.मु.प्रधान न्यायाधीश ज्यूले उजुर खारेज गर्ने गरेकोमा म सहमत नहुँदा आफ्नो राय लेखी दिएको छु भन्ने माननीय न्यायाधीश श्री लोकराज जोशीको समेत ०२४।४।१५।१ को डिभिजन बेन्चको फैसला ।
१५. यस्मा वादीलाई प्रस्तुत नालेस दायर गर्ने हक दैया छ छैन भन्ने कुरामा डिभिजन बेन्चका माननीय न्यायाधीशहरुको राय नमिली सर्बोच्च अदालत नियमावली, २०२३ को ३३ दफाको (क) बमोजिम फुल बेन्चमा पेश हुन आइ तारेखमा रहेका दुवैपक्षका बारेस समेतलाई रोहवरमा राखि आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता ठाकुरप्रसादले सर्भे गोश्वरामा नै दर्ता बदर गरि पाउँ भन्ने मेरो पक्षको उजुर परी सर्भे पर्चा बमोजिम अदालतमा यो नालेस परेको हो । तसर्थ राजिनामा दिईसके पनि सर्भे गोश्वरामा परेको विवादलाई निर्णय ठहर गराउन पाउँने मेरो पक्षलाई हकदैया छ भन्ने र प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता मधुप्रसाद शर्मा र विद्वान अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुलीले छन्नुको बाबु चिरारी महतोले ९६ साल मै यो जग्गा कमाउन सक्दिन भनी छोडपत्र गरेको छ र ९८ सालमा सो जग्गा जिमिदारले बैजनाथको नाउमा बन्दोबस्त गरेको हो । सर्भेले बैजनाथको नाउको दर्ता कायम गरि सो छोडपत्र कागज सद्दे किर्ते के हो त्यसको हक बेहक अदालतबाट गराउनु मात्र भनेको । जग्गै हक बेहक गर्न पठाएको होईन । सर्भेले बैजनाथको नाउमा सो जग्गा दर्ता गरिसके पछि सो दर्ता भएको २ वर्षको म्याद भित्र दर्ता वदर गरि पाउँ भनी छन्नुले उजुर गरेको छैन । वादीले सो जग्गा अरुलाई बिक्री गरिसकेकोले उक्त जग्गामा अब वादीको हकदैया छैन । अदालतमा आउंदा आफ्नो हकदैया देखाएर आउनु पर्छ । एउटा कुनै दायित्व भएको मानिस अरु प्रति पनि दायित्व छ भन्ने कारणबाट अ.वं.१०६ नं. बमोजिम आउन पाउने होईन । सर्भेमा परेको उजुरीबाट यो मुद्दा दायर भयो । त्यस वखत उसको हकदैया छ की छैन भन्ने कुरा हेर्नु पर्ने हुन आउँछ । जग्गा मेरो नाममा दर्ता गराई पाउँ भन्ने वादी छ । जबकी वादीले सो जग्गा अन्य व्यक्तिलाई बेची सकेको छ । अरुलाई बेची सकेको जग्गा अव वादीको नाममा निजको दावी बमोजिम कसरी दर्ता हुन सक्छ भन्ने समेत बहस गर्नु भयो ।
१६. यस्मा वादीको प्रस्तुत विषयमा नालेस लाग्ने नलाग्ने के हो सो कुरामा निर्णय गर्नु पर्ने हुन आएको छ ।
१७. प्रमाणका निमित्त आएको वादी छन्नु प्रतिवादी बैजनाथ समेत भएको दर्ता बदर गरि पाउँ भन्ने मुद्दाका मिसिलबाट वादीले झगडा परेको जग्गा बिक्री गर्नु भन्दा अगावै २०१५ साल श्रावण १० गतेमा नै सर्भे गोश्वरामा उक्त जग्गा मेरो नाउमा एकलौटी दर्ता कायम गरि पाउँ भन्ने उजुर दिएको र विपक्षले जुन आधारमा आफ्नो हक आधारीत गरेको थियो सो कागजहरु सद्दे किर्ते के हो सो कुरा अदालतबाट ठहर निर्णय गराई ल्याउनु भनी ०१८।३।१३।३ मा अर्थ आर्थिक कार्य विषय मन्त्रालय सर्भे विभागबाट पर्चा गरेको देखियो । आफुमा निहीत रहेको भन्ने हकको संरक्षणार्थ भनी बादी जुन कुरालाई लिएर सर्भे गोश्वरामा उपस्थित भएको थियो, त्यस कुराको निर्णयाधार अदालत हो भनी उक्त पर्चाले पक्षहरुलाई मार्ग दर्शन गरेको र सोहि कुराबाट निर्दिष्ट भई वादी प्रस्तुत उजुरी लिएर अदालत समक्ष आएको देखिन्छ ।
१८. अर्को कुरा बिक्रेता माथि बिक्री गर्नु भन्दा पहिले नै उक्त सम्पत्ति उपर आफ्नो पूर्ण स्वामित्व थियो भन्ने कुरा स्थापीत गराउने अभिभारा पनि निहित रहेको हुन्छ । किनभने कानूनको सर्वमान्य सिद्धान्त हो कि कसैले पनि आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरन गर्न सक्दैन । आफ्नो स्वाभित्वमा नरहेको सम्पत्ति हस्तान्तरण हुन नसक्ने र कायम रहन नसक्ने भएकोले क्रेता भन्दा बिक्रेतामा उक्त सम्पत्तिमा उत्पन्न कुनै पूर्व विवाद आधारहिन हो भनी कायम गर्ने स्वार्थ र हक रहेको हुन्छ ।
१९. अतः वादीले राजिनामा दिई सकेपछि कुनै नवीन हक वा कानूनले सुरक्षित नगरेको हितलाई दर्साइ प्रस्तुत नालेस दायर गराएको नभई राजिनामा दिनु भन्दा पहिले आफुमा निहित रहेको भन्ने कानूनले संरक्षित गरेको हित बाहकलाई जो विवाद ग्रस्तहुन गएको थियो त्यसको न्यायीक निरोपणकोलागि निज अदालत समक्ष प्रस्तुत नालेस लिई आएको देखिन्छ ।
२०. तसर्थ कुनै वस्तु आफ्नो हक टुटाई हस्तान्तरन गरिसके पछि पनि सो हस्तान्तरन गर्नु भन्दा पूर्व उक्त वस्तु माथि आफ्नो हक सम्बन्धि उपस्थित विवादलाई निर्णय गराउन पाउँने हक निजमा विद्यमान रहन्छ । अतः अ.वं.१०६ नं. बमोजिम प्रस्तुत नालेस उजुर गर्ने वादीलाई हकदैया छ भन्न माननीय न्यायाधीश लोकराज जोशी संग यो बेन्च सहमत छ । डिभिजन बेन्चबाट मुद्दाको तथ्यमा विचार गरि निर्णय हुन बाँकी रहेको देखिएकोले निर्णयकोलागि डिभिजन बेन्चको लगतमा दर्तागरि नियम बमोजिम डिभिजन बेन्चमा पेश गर्नु ।
इति सम्बत् २०२४ साल मार्ग १२ गते रोज ३ शुभम् ।