शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८६ - डाका

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३८६            ने.का.प. २०२४

फुल बेन्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्रि

न्यायाधीश श्री मीनबहादुर थापा

२०२४ सालो फौ.फु.नं.५१

पुनरावेदक : प.१ नं.नु.इ.गेरुवा गाउँ बस्ने मु.टेक हादुर तामाङ

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने भैरव तामाङ समेत

मुद्दा : डाका

(१)   दरखास्तमा डाका भन्ने उल्लेख भएमा र रातको टायम ४ जना भन्दा बढि जवान भई हतियार लिई तर्साई धनमाल लिई गएमा डाकाकै बारदात भन्नु पर्ने ।

     सवालको जबाफमा चोरी लगेको देहाय बमोजिम धनमाल नगदी जिन्सी हो भन्ने उल्लेख गरेको देखिन्छ । उक्त उल्लेख भए बमोजिम बयानमा कतै चोरी डाका र कतै चोरी भने पनि वास्तवमा पहिलेको दरखास्त र सनाखत कागज समेतमा डाका भन्ने नै किटानी उल्लेख गरेको र वारदातको अरु अवस्था हेर्दा रातको टायम ४ जना भन्दा बढीको जमात भई अई पाता फर्काइ वाँधि खुकुरी देखाइ पेस्तोल समेतले हान्छु भनि तर्साई धनमाल लिई गएको भन्ने समेत यस्तो कसुर तत्काल प्रचलित चोरीको ९ नं बमोजम डाका नै ठहर्ने हुँदा डाकाकै कसुरमा बादिले उजुर गरेको मान्नु पर्ने प्रष्टै छ ।

(प्रकरण नं १०)

(२) कस्तो अवस्थाको उजुरीलाई तथ्य भए कै भन्नु पर्ने र पोल उजुर गरे वापत सजाय गर्न नमिल्ने ।

     पोल उजुर गर्दाको अवस्थामा रिस इवी रहेनछ भन्ने पोल उजुर गर्नु पर्ने मनासिव माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजुर गर्ने व्यक्तिलाई लेखिएको सजाय मध्ये सबै वा केहि सजाय नगर्न पनि सक्ने व्यवस्था भएको समेत देखियो । प्रस्तुत मुद्दामा वादिले पोले उजुर गर्दाको अबस्थामा प्रतिवादीहरुसंग रीस इवी थियो । सोहि कारणले प्रेरित भई झुट्टा पोल उजुर गरेको भन्ने मिसिल प्रमाणबाट देखिन नआएको र सर्जमिन समेतबाट वारदातको हकमा भए कै कायम हुन आएकाले यस्तोमा मुनासिब माफिकको तथ्यको अभावमा उजुर गरेको भन्ने नभई तथ्य भएर नै उजुर गरेको भन्नु पर्ने समेत हुँदा झुट्टा उजुर गरे वापत वादिहरुलाई सजाय हुन्छ भन्न मिलेन ।

(प्रकरण नं.११)

पुनरावेदक तर्फबाट : अधिबक्ता मिन मर्दन ।

फैसला

      १.     ०२४ साल श्रावण ५ गते रातको अन्दाजी १२।। बजेको टायम प्रतिवादीहरु ३ जना र अरु नचिनेका ५।७ जना समेत आइ हामीहरुलाई पाता फर्काइ बाँधी खुकुरी देखाई पेस्तोल समेतले हान्छु भनी तर्साइर्,  कराईस भने यही खुकुरी पेस्तोलले हानी मार्छु भनी तपसिल बमोजिम धनमाल डाका गरि लगेकोले निजहरुलाई पक्राउ गरि पाउँ भन्ने समेत मु.टेकबहादुरको दरखास्त ।

      २.    जम्मा रु ९०७।३ को धनमाल डकैती गरि लगेका हुन दरखास्त बमोजिम कारवाई गरि पाउँ भन्ने समेत निज टेकबहादुरको पुलिस कागज र दरखास्त उजुरीमा लेखिए बमोजिमको धनमाल जिन्सी समेत चोरी डाका गरि लगेकाले मेरो धनमाल वा त्यस्को बिगो दिलाई पाउँ चोरी लगेको धनमाल नगदी जीन्सीको बिगो ठानाले गराएको कागजमा खुलाई लेखि दिएको छु भन्ने समेत निज टेकबहादुरको अदालतमा बयान ।

      ३.    सो श्रावण ५ गते राती आफ्नौ घरमा छौं । उजुरी बमोजिम हामीहरुले कसुर गरेको छैन । वादीले झुट्टा उजुर गरेको हो भन्ने समेत भैरव तामाङ, अमृतबहादुर, सेरबहादुर समेतको इन्कारी बयान ।

      ४.    वादीले तारेख छोडि बसेको प्रतिवादीहरुले चोरी डाका गरेको सबुद दिन नसकेकोले प्रतिवादीहरु उपर झुट्टा पोल गरेको ठहर्छ । झुट्टा पोल गरेमा वादीलाई चोरीको ५० नं. ले कैद वर्ष ५। गर्ने भन्ने प.सि.१ नं.नुवाकोट अदालतको १२।३।१०३ को फैसला ।

      ५.    सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ६.    इन्साफ प.१ नं.नुवाकोट अदालतको मुनासिब छ वादीलाई सजायको हकमा २०।५।१० गते देखी प्रारम्भ भएको केही फौज्दारी मुद्दा खारेज गर्ने ऐनको दफा ४ को उपदफा ३ बमोजिम ०२० साल भाद्र १ गते देखि प्रारम्भ भएको नेपाल ऐन अन्तर्गत सजाय हुन पर्ने भई सो ऐन अन्तर्गत दण्ड सजायको १८ नं. बमोजिम कैद वर्ष ३। र पुनरावेदन गरे वापत दसौद थप कैद महिना ३।८ समेत कैद वर्ष ३।३।८ गर्ने भन्ने वागमती अन्चल अदालतको ०२१।१।९।४ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ८.    वादीले अदालतमा बयान गर्दा चोरी डाका गरि लगेकोले ऐन सावाल बमोजिम होस भन्ने ३ दफाको जवाफमा र चोरी लगेको देहाय बमोजिमको धन भनी ४ दफाको जवाफमा लेखाएको देखिंदा वादीले नै बयानमा चोरी डाका भनी गोलमाल शंका उजुर गरेकाले घटीमा चोरीको वारदातमा पोल गरेको देखिएको र अभियुक्तहरुलाई चोरीमा सजाय गरि पाउँ भन्ने पुनरावेदनमा वादीले जिकीर लिएको । वादीले चोरीमा सजाय गराउने तथ्ययुक्त सबुद पेश दाखेल गर्न सकेको नदेखिएकोले प्रतिवादीहरुलाई सफाइ दिएको जिल्ला र अन्चल अदालतको इन्साफ मुनासिब छ । सजायको हकमा चोरी गरेको भनी झुट्टा पोलेकोमा तत्काल प्रचलित चोरी को ५० नं.र हाल प्रचलित दण्ड सजायको १८ नं.को ऐनले सजाय लाग्ने भई केही फैज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मीन्हा दिने ऐन, ०२० को दफा ५ (१) ले घटी सजाय लाग्ने हुँदा तत्काल चोरीको ५० नं. बमोजिम रु १७०।।१ पुनरावेदकलाई दण्ड लाग्छ । सहयोगी मा.न्या.संग राय  नमिलेकोले फुल बेन्चमा पेश गर्नु भन्ने मा.न्या.श्री हेरम्बराजको राय र प्रतिवादी जना ३ र नचिनेका ५७ जना समेत भई खुकुरी बन्दुक देखाई तर्साइ हात हतीयार लिई रातको टायममा डाका गरि लगेकोले धनमाल दिलाई सजाय गरि पाउँ भन्ने उजुरीमा उल्लेख गरेकोले तत्कालीन चोरीको ६ नं. बमोजिम डाकाको वारदात भएको भन्ने सिद्ध हुन आएकोले चोरीको वारदात कायम गर्न मिलेन । डाका गरेको नठहराई सूरुको सदर गरि वाग्मती अन्चलले छिनेको मुनासिब नदेखिने । मुलुकी ऐन दण्ड सजायको १८ नं. मा पोल उजुर गर्दाको अवस्था रीस इवी रहेन छ भन्ने वा पोल गर्नुपर्ने मनासीव माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजुर गर्ने व्यक्तिलाई सबै वा केही सजाय नगर्न सक्ने उल्लेख भएको र प्रस्तुत मुद्दा मुलुकी ऐन लागू हुनु भन्दा पहिलेको भए तापनि केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, ०२० बमोजिम झुट्टा पोल गरेमा द.स.को १८ नं.लगाउँनु पर्ने स्पष्ट छ ।वादीले पोल उजुर गर्दाको वखत रीस ईवी थियो भन्ने कुरा मिसील प्रमाणबाट देखिन आएन । डकैतीको वारदात भएको भन्ने मिसील प्रमाणबाट स्थापित हुन आएको छ । यस्तो स्थितिमा वादीलाई झुट्टा पोल गरेको भनी अन्चल अदालतले सजाय गर्ने गरेको मिलेको देखिएन । रिहाई दिनु पर्ने ठहर्छ । सहयोगी मा.न्या.संग राय नमिलेकोले फुल बेन्चमा पेश गर्नु भन्ने मा.न्या.श्री बब्बरप्रसादको राय भएको २४।७।२६।१ को डिभिजन बेन्चको फैसला

      ९.    यस्मा पुनरावेदक वादी टेकबहादुर रोहवरमा रही पेश भई निज तर्फबाट विद्वान अधिवक्ता श्री मिनमर्दन वस्नेतले गर्नु भएको वहस समेत सुनिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ डिभिजन बेन्चका माननीय न्यायाधीश दुवै जनाको राय मिलेकै देखिएकाले मुख्य राय नमिलेको सजायको हकमा सम्म निम्न लिखीत कुराहरुको यस बेन्चबाट निर्णय दिनु पर्ने हुन आएको छ ।

१.     वादीले डाका वा चोरी कुन कसुरमा उजुर गरेको मानिने हो ।

२.    प्रतिवादीहरु उपर झुट्टा पोल उजुर गरे वापत वादीलाई कुन ऐन अन्तर्गत के कति सजाय हुन्छ वा हुदैन ।

      १०.    पहिलो प्रश्नको हकमा यस्तो वारदात कायम गर्दा वादीको दावा र उजुरीमा खुलाएको वारदातको रुप अवस्थालाई नै सर्वप्रथम ध्यान दिनु पर्ने । त्यस तर्फ हेरेमा वादीले पहिले पुलिस थानामा पठाएको १४।४।८।३ को उजुरी दरखास्तमा राताको टायम प्रतिवादी ३ जना र नचिनेका ५७ जना समेत आई हामीहरुलाई पाता फर्काई बाँधी खुकुरी देखाई पेस्तोल समेतले हान्छु भनी डाका गरि लगेको भन्ने र पुलिस थाना मै गरेको १४।६।२५।६ को सनाखत कागजमा रु ९०७।३ को धनमाल डकैती गरि लगेकोले दरखास्त बमोजिम कारवाई गरि पाउँ भन्ने औ १४।७।१।१।५ मा नुवाकोट अदालतमा गरेको बयानको ३ सवालको जवाफमा चोरी डाका गरि लगेकोले निजहरुलाई ऐन सवाल बमोजिम भई मेरो धनमालको विगो दिलाई पाउँ भन्ने ४ सवालको जवाफमा चोरी लगेको देहाय बमोजिम धनमाल नगदी जिन्सी हो भन्ने उल्लेख गरेको देखिन्छ । उक्त उल्लेख भए बमोजिम बयानमा कतै चोरी डाका र कतै चोरी भने पनि वास्तवमा पहिलेको दरखास्त र सनाखत कागज समेतमा डाका भन्ने नै किटानी उल्लेख गरेको र वारदातको रुप अवस्था हेर्दा रातको टायम ४ जना भन्दा बढीको जमात भई आइ पाता फर्काइ बाँधी खुकुरी देखाइ पेस्तोल समेतले हान्छु भनी तर्साइ धनमाल लिई गएको भन्ने समेत यस्तो कसुर तत्काल प्रचलित चोरीको ९ नं. बमोजिम डाका नै ठहर्ने हुँदा डाका कै कसुरमा वादीले उजुर गरेको मान्नु पर्ने प्रष्टै छ ।

      ११.    अव दोश्रो प्रश्न तर्फ हेरेमा यस्तो डाकाको कसुरमा झुट्टा पोल उजुर गरेमा तत्काल प्रचलित चोरीको ५० नं. ले ५ वर्ष सम्म कैदको सजाय हुने भए पनि केही फैज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, ०२० को दफा ५ (१) ले नयाँ मुलुकी ऐन दण्ड सजायको १८ नं.प्रयोगमा आउने भएको । सो १८ नं. मा फौज्दारी मुद्दामा झुट्टा प्रमाण बनाई रीस इवीले वा मनासीव माफिकको कारण वा तथ्य नभइ मुद्दा चलाएको ठहरेमा पोलाई माग्नेलाई हुने सजायको आधा सजाय हुने र सो बमोजिम गर्दा ५ वर्ष भन्दा बढी कैद हुने भएमा ५ वर्ष सम्म मात्र कैद गर्नु पर्ने । पोल उजुर गर्दाको अवस्थामा रीस इवी रहेनछ भन्ने वा पोल उजुर गर्नु पर्ने मनासिब माफिकको तथ्य भइ गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजुर गर्ने व्यक्तिलाई लेखिएको सजाय मध्ये सवै वा केही सजाय नगर्न पनि सक्ने व्यवस्था भएको समेत देखियो । प्रस्तुत मुद्दामा वादीले पोल उजुर गर्दाको अवस्थामा प्रतिवादीहरुसंग रीस इवी थियो र सोहि कारणले प्रेरीत भई झुट्टा पोल उजुर गरेको भन्ने मिसिल प्रमाणबाट देखिन नआएको र सरजमिन समेतबाट वारदातको हकमा भए कै कायम हुन आएकाले यस्तोमा मुनासिव माफिकको तथ्यको अभावमा उजुर गरेको भन्न नभई तथ्य भएर नै उजुर गरेको भन्नु पर्ने समेत हुँदा झुट्टा उजुर गरेमा प्रतिवादीलाई सजाय हुन्छ भन्न मिलेन ।

      १२.   तसर्थ उपरोक्त कारणहरु समेतबाट वारदातको हकमा डाका कायम हुने र प्रतिवादी ३ जना उपर झुट्टा पोल उजुर गरे वापत वादीलाई सजाय नलाग्ने समेत ठहराई २४।७।२६।५ को डिभिजन बेन्चमा मा.न्या.श्री बब्बरप्रसाद सिंहले गर्नु भएको रायसंग यो बेन्च सहमत हुन्छ । वादी मु.टेकबहादुर तामाङ के नुवाकोट अदालतको १५।३।१० को फैसलाले गर्ने गरेको कैद वर्ष ५। को लगत बाँकी भए सो र वाग्मती अञ्चल अदालतको ०२२।१।९।४ को फैसला बमोजिम झुट्टा पोल उजुर गरे वापत कैद वर्ष ३। र अपिल गरे वापत थप महिना ।३।८ समेत जम्मा कैद वर्ष ३।३।८ गर्ने गरेको नलाग्ने हुँदा सो समेत कानूनको रीत पुर्‍याई लगत कट्टा गरि दिन र निज वादिले शुरुबाट गर्ने गरेको कैद वर्ष ५। वापतमा पहिले राखेको जेथा जमानीलाई नै वाग्मती अन्चल अदालतले गर्ने गरेको कैद वर्ष ३।३।८ पनि कायम राखेको फुकुवा गरि दिन समेत का.श्रे.अ.त.मा लगत दिई नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्बत् २०२४ साल मार्ग २९ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु