निर्णय नं. ३८८ - जायजात बेहिसाव

निर्णय नं. ३८८ ने.का.प. २०२४
फुल बेन्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री रंगनाथ उप्रेती
०२० सालको दे.फु.नं.८६
निवेदक : जिल्ला वारा प्रगन्ना बरीयारपुर मौजे मधुरी बस्ने गोपी साहुतेली समेत
विरुद्ध
विपक्षी : ऐ ऐ टोकनी मौजे विरगन्ज बजार बस्ने सु.भुपाल सिं प्रधान
मुद्दा : जायजात बेहिसाव
(१) दावी नै नभएको कुरामा र पछि उठाएको वाद विवाद समेतमा अदालतले इन्साफ गर्न नमिल्ने ।
वादिले उजुर गर्दा जति कुरा उजुरीमा दावी लिएको छ त्यति कुरामा सम्म अदालतले इन्साफ गरि दिनु पर्ने हो । उजुरी भई दावी लिएको छैन भने दावी नै नभएको कुरामा पछि उठाएको वाद विवाद समेतलाई लिएर अदालतले इन्साफ गरि दिन मिल्दैन । अतःवादिहरुको उजुर दावी नै नभएको जग्गा विगाहा ११ को हकमा विरगन्ज गोश्वारा भारदारी तेश्रा प्रधान न्यायालय समेतबाट तह तह इन्साफ गर्दै ल्याएको वेमुनासिव ठहराई ०१९।९।१३।६ यो फुल बन्चले गरेको निर्णय संग यो बेन्च सहमत हुन्छ ।
(प्रकरण नं.२१)
निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल ।
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे ।
फैसला
१. मधुरी १ बौडनपूर १ समेत २ मौजा बिर्ताबार डाक्टर जघरनाथलाई खड्ग निसाना बमोजिम रु १५०१। बुझाई मौजा लोकाभार राखी भोग चलन गरि आएकोमा सु.भुपाल सिंलाई रु १५००। मा ठेक्का दिई राखेको । पछि रैतीहरुको बारेस समेत भई ईनरमलले बिन्ती चढाउदा बुझी जाहेर गर्नु भन्ने हुकुमको प्रमांगी बमोजिम विरगन्ज गोश्वाराबाट बुझी जाहेर हुँदा विगाहा १ को रु १५। का दरले बिर्तावालले उठती खान पाउँने गरि रैतीका नाउमा लोकाभार गरि दिनु भन्ने ९२ सालमा खडग निसाना भएको र १०१ विगाहा बिर्ताको मात्र लोकाभार गरि दिया । अरु जग्गा जिम्दारी लोकाभार गरिदिएन भनि फेरी बिन्ती चढाएकोमा ९३।१०।२३ गते कम्याण्डर ईन्चीफबाट प्रमांगी भई आइ विगाहा १ को रु १५। का दरले उठती खान पाउँने गरि रैतीका नाउमा लोकाभार गरि दिनु भन्ने ९२ सालमा ख.नि.भएकोले बिर्ता तर्फ सोही सदर हुन्छ । अरु माल तर्फको जिम्दारी तर्फको लोकाभार गरि दिनु भन्ने खड्ग नीसाना भएको नदेखिएकाले त्यस तर्फ लोकाभार नपाउँने भनी जाहेर हुँदा ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम बक्सेको भनि श्री प.क.ज.बाट तोक भई आएको भुपाल सिं समेतले बाँकी असुल गर्दा वेहीसावसंग फांटवारी खडा गरि जायजात समेतमा वेहीसाव गरि दुख पीर दिए भन्ने समेत रैती जवान ३८ को वा.स.इनरमल कलवारको ९।१० बेगतेको बिन्तीपत्रमा विरगन्ज गोश्वारा के यस्मा बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने श्री क.ज.हिरण्य सम्शेर बाट ९५।१०।२८ मा तोक भएको ।
२. सो मौजा २ को जिरायत राख्नलाई तिमी रैतीलाई सट्टा भर्ना दिन्छु भनी डा.जघरनाथले जम्मै रैतीको जम्मा विगाहा ४० र निज तर्फको विगाहा ११ समेत ५१ विगाहा जिरायत राखेको सट्टा भर्ना नदिएबाट म समेत रैतीका हकको जमिन विगाहा ४० र रैतीले कमाएको हुनाले हाम्रो हक लाग्ने समेत जग्गाको वाली भुपाल सिंले आफ्नो गोदाममा लगी राखेको छ ठहरे बमोजिम गरि पाउँ भन्ने समेत गोपी साहु समेतको ९५।१२।४।६ को बयान ।
३. ५१ विगाहा मध्ये ११ विगाहा जग्गा जिम्दारीका रैतीलाई लोकाभार भएको छ भनी १९९५ साल तकको वाली समेत दिएको छैनन । यो जग्गा समेत पोत तिरी खान पाउँने होइन । उजुर परेकोले असुल तहसिल समेत रोकीएको छ । रोक्का खुलाई असुल तहसिल समेत गराइ पाउँ भन्ने समेत सु.भुपाल शिंको ९६।१।१८ को प्रतिवादि बयान ।
४. बिर्ताको रु १५। का दरले लिनु भन्ने भएकोमा ११ विगाहाको धानको दावी गरे भन्ने तर्फ सो ११ विगाहा जिम्दारी जिरायत हो भन्ने प्रतिवादि भएको खड्ग निसान नक्कल हेर्दा बिर्ताको विगाहाको रु १५। का दरले तिर्ने गरि रैतीलाई लोकाभार गराइ दिनु भन्ने भएको र यो जग्गा पनि रु १५। का दरले नगरि तिरी खान पाउँने हो की भन्नालाई अघि उजुर गर्दा हाम्रो ४० विगाहा नम्बरीको जग्गा बिर्ता भित्र परी धान लियो भन्ने रैतान ४० विगाहा सम्ममा उजुरी परि रु १५। का दरले पोता तिर्ने गरि लोकाभार भएको र सो ११ विगाहा हाम्रो नम्बरी हो भन्न कुनै रैतीले नसकी अघरनाथको जिरायत भन्ने वादिकै लेखाई हुनाले रैतीको नम्बरी रैतीले भोगेकोमा रु १५ का दरले हुँदा लिनु पर्छ । जिरायत छंदा सम्म आफ्नो जिरायत आफैले आवादी गर्दछ भन्ने भएको । वाली बिर्तावारले खान पाउँछ । आफ्नो हक नपुग्ने जिरायत जग्गाको कुरामा वादिहरुले झुट्टा उजुर गरेको ठहर्छ भन्ने समेत बिरगन्ज गोस्वाराको ९६।८।२९।१ को फैसाला ।
५. सो उपर चित्त बुझेन भन्ने वादी गोपी साहु समेतको पुनरावेदन ।
६. भुपाल सिंह कै प्रतिवादि बयानबाट सबै कुरा खुलेकै हुँदा त्यसैबाट हक ईन्साफ पाउँ भन्ने भारदारी तेश्राबाट बुझीएको बिर्तावार अघरनाथको छोरा उपेन्द्रनाथको ९७।५।१५ को बयान ।
७. सो ११ विगाहा जिरायतै हो भन्ने सबुद प्रतिवादीले गुजार्न नसकेको अघि यिनै रैतीले उजुर गर्दा ४० विगाहा हाम्रो नम्बरी बिर्तामा पारीदेउ भन्ने लेखिएको छ तापनि सो ११ विगाहा समेत रैतीले कमाई आएमा साबितै भएको बिर्ता बक्सेको जम्मा विगाहा १०१। को रु १५००। बुझाउने गरि भुपाल सिंले ठेक्का लिएकोमा १५००। बुझाउने गरि रैतिको नाउमा लोकाभार गरि दिनु भन्ने ८८ सालमा खड्ग निशाना भई बिर्ता जग्गा विगाहा १०१ जम्मै लोकाभार पाएको देखिएको । ९ सालमा लोकाभार तोडी अर्को तोक सदर भए तापनि त्यस पछि रैतीको उजुर परी ९२।७।२ मा अर्को तोक सदर हुँदा विगाहा १ को रु १५। का दरले उठती खान पाउँने गरि रैतिका नाउमा लोकाभार गरि दिनु भन्ने बोली परी तोक सदर भई रैतीहरुले लोकाभार पाई सकेको जग्गा पोत बाँकी वेगर बिर्तावारले रैतीबाट पजनी गरि आफैले कमोद गरि खान पाउँछ भन्न ठहराउन नहुने । बिर्तावार उपेन्द्रनाथ पैरवीमा रहन नसकी तारेख गुजारेकोले यस कलमको हकमा गोश्वराको इन्साफ गल्ती ठहर्छ भन्ने भारदारी तेश्राको ९७।८।४ को फैसला ।
८. सो उपर चित्त बुझेन इन्साफ जांची पाउँ भनी अरु रैति र आफ्नो हकमा समेत गोपी साहु तेलीले चढाएको बिन्ती पत्रमा मिसिल झिकी जाहेर गर्नु भन्ने ९७।१२।१० को तोक प्रमांगी बमोजिम जाहेर हुन आएकोमा इन्साफ भारदारी तेश्राले ठहराएको मुनासिब छ भन्ने ले.ज.आनन्द सम्शेर ज.व.रा.बाट भएको ९८।९।१५।२ को फैसला
९. छलफलमा मलाई नझिकाई जिरायत जग्गालाई रैतीको हक गरि भारदारी तेश्राबाट छिनेकोमा चित्त बुझेन भन्ने समेत सु.भुपाल शिंको बिन्तीपत्रमा भगडीया नझिकाई छिनेको रहेछ भने मिसिल झिकी हेरी ऐन बमोजिम गर्नु भन्ने श्री ३ महाराजबाट भएको ९८।१।१७ को हुकुम प्रमांगी ।
१०. भारदारी तेश्राबाट फैसला भए उपर गोपी साहुको उजुरीबाट यस प्रधान न्यायालयले मिसिल झिकाई इन्साफ जाँच्दा इन्साफ भारदारी तेश्रा फांटले ठहराएको मुनासिब ठहराई ९८।९।१५।२ मा तोक सदर भई छिनिएको हुँदा सोही ९८।९।१५ गतेको तोक सदर भई छिनिएको सदर छ भन्ने प्रधान न्यायालय श्री ले.ज.आनन्द सम्शेरबाट भएको ९९।९।१२।१ को फैसाला ।
११. सरकारबाट बक्सेको जिरायत जग्गालाई हाम्रो नम्बरी हामीलाई थामी मालपोत तिरी खान पाउँ भन्ने बादिमा अड्डाले जिरायत जग्गा समेत रैतान हक गराई छिने । जिरायत जग्गा भन्ने प्रमाण मिसिलबाट भएको बिरगन्ज गोस्वाराबाट समेत जिरायतै ठहराएको हुँदा सो समेत मुद्दा दोहराई बुझी पाउँ । सो मौजाका रैतीहरुले तिर्नु पर्ने बाँकी ऐन सवाल बमोजिम गरि बिर्ताको आम्दानीबाट ३ जना सिपाही भर्ना गरि असूल गरि दिनु भन्ने पटक पटक वडापत्र खडगनीसाना तोक फैसलाहरु समेत भएका । झगडीयाको जालले मिसिलै बेपत्ता पारी माल समेतले असुल तहसिल, गरिदिएनन् असामीका नाउमा नालेस गरेको पनि ०५ सालमा खारेज गरिदिए अघिका खडगनीसाना तोक न्यायालयका फैसला बमोजिम गराउनु पर्ने असुल तहसिल मुद्दा परि असुलै हुन रोकीएको आज सम्मको बाँकी जम्मै गोस्वाराबाटै असुल गरि दिनु भन्ने खारेज भएका मुद्दा समेत इन्साफ गरि दिनु भन्ने प्रमांगी पाउँ भन्ने सु.भुपाल सिंले ठाडो बिन्ती चढाउँदा व्यहोरा साँचो भए अघिका खडगनीसाना तोक फैसला बमोजिम गराउनु पर्ने असुल तहसिल मिसिल पतालगाई गोस्वाराबाटै चाँडो असुल तहसिल गरि दिनु नालेस परि खारेज गरेको मुद्दाका हकमा खारेज गर्न हुने नहुने के रहेछ सो र गोपी साहु समेत संग झगडा परेको ११ विगाहा जिरायतका हकमा समेत सो जग्गा रैतान नम्बरीमा जिरायत के रहेछ के ठहराएको रहेछ मिसिल हेरी सो समेत जाहेर गर्नु । अरुमा ऐन बमोजिम गर्नु भनि बिरगन्ज गोस्वारामा पठाउने भन्ने श्री ३ महाराजबाट हुकुम बक्सेको छ भन्ने ०६।१।५।१ को हुकुम प्रमांगी ।
१२. म विचमार समेत ७ जनाले तिर्नु पर्ने ९२ साल सम्मको हुँदा बाँकी र ९४।९५ सालको हुण्डा बाँकी समेत दिलाई पाउँ भन्ने मुद्दा १ र ईनरमल समेत १४ जनाले बुझाउनु पर्ने हुण्डा बाँकी दिलाई पाउँ भन्ने मुद्दा १ समेतका हकमा खड्ग नीसाना बमोजिम मालबाट असुल गराई लिनु पर्ने । नगरे उजुर गर्नु पर्ने र वेइलाका अमिनीमा नालेस दिएको समेत भनि ०५।१०।१८ मा विरगन्ज अमिनीले खारेजी फैसला गरेको मुनासिब देखिएन । ११ विगाहा तर्फको हकमा सो जिरायत हामीले जिरायत पाई सकेको हामीले वालि खाने बिर्तावारलाई रु १५। का दरले तिुर्नु पर्नेमा वालीमा पक्राउ गरे भन्ने वादिको प्रष्ट उजुर गरेको बिन्ती पत्रबाट देखिएन । बिन्तीपत्र दिई सकेपछि बयान गर्दा रैती जम्मैको ४० विगाहा र डाक्टर तर्फको ११ विगाहा समेत रैतीका हकको जमिन ५१ विगाहा जिरायत राखेको सट्टा भर्ना नदिएकोले रैतीका हकको जमिनको वाली भुपाल सिंले गोदाममा लगी राखे भन्ने लेखेको सोही बयानको भरले गोस्वाराबाट ईन्साफ हुँदा जिरायत हुँदा बिर्तावारले भोग गर्न पाउँछ भन्ने फैसला गरेको र पहीले वादिकै दावीबाट सो ११ विगाहामा प्रष्ट दावी नभई ४० विगाहामा मात्र अघी देखि उजुर परेको भन्ने भारादारीकै फैसलामा लेखिएको देखिएको हुँदा ४० विगाहा भन्दा बढी जग्गा जिरायत कै भन्ने सम्झनु पर्ने र १९५५ सालको मधुरी जवदीको नापी तेश्रामा मुकदमी जिरायत भनि नं.११०, ११७, १६१, १०८, १०९, १०६, १०२, १०१, १००, ९९, समेत कित्ता १० को विगाहा ११ लेखिएको देखिए पछि जिरायतको सबुद दिन नसकेको भन्न नहुने । ९२ सालको तोक सदरमा जिरायत बाहेक भन्ने बोली नपरेको हुनाले रैतीले पाउँने हो की भन्नालाई त्यसमा जिम्दारी जिरायत भन्ने बोली पनि परेको नदेखिएको र रैतीको पहिले देखिको उजुरमा हाम्रो ४० विगाहा नम्बरी झिकी हुण्डा लग्यो भन्ने भएको । ऐनले जिरायत भनेको जिमिदारले नै खान पाउँने । अघी आफ्नो जग्गा बिर्ता झिक्दा उजुर परेमा रैतीको हकमा मात्र विगाहाको रु १५। का दरले तिरी खान पाउँने भएको । पछि मात्र जिरायत समेत पाएको भनि रैतीले उजुर गरेको । अड्डाबाट जोत जिरायत समेत हुन जाँदा बिर्तावारले खान पाउँनेमा रैतिले खाने हुन गएकोले प्रमांगी बमोजिम जाहेर गरेका छौं भन्ने विरगन्ज गोस्वाराको ०६।४।२८ को रिपोर्ट ।
१३. खारेज गर्न नहुने मुद्दा खारेज गरेको भन्ने तर्फ खारेज गर्न नहुने भनि बिरगन्ज गोस्वाराले जाहेर गरेको मुनासिब छ ऐन सवाल बमोजिम गरि इन्साफ गर्नु । खारेज गर्न नहुने मुद्दा खारेज गरे ऐन सवाल बमोजिम गरि बिरगन्ज अमिनीमा पठाई दिनु भन्ने र गोपी साहु समेत संगको ११ विगाहा जग्गाको हकमा झगडीया झिकाई जाहेर गर्नु भन्ने समेत श्री ३ महाराजाबाट हुकुम बक्सेको छ भन्ने समेत ०६।९।७।४ को हुकुम प्रमांगी ।
१४. बिन्तीपत्रको व्यहोराबाट नम्बरी र जिरायत जग्गाको निर्णय गर्नु पर्ने देखिएकाले यो मुद्दा प्र्र.न्या.श्रेस्ता अपिलले हेरी दुवै थर झगडीया राखी पेश गर्नु भन्ने डिभिजन बेन्चबाट भएको ०११।१०।४।२ को आदेश ।
१५. जाहेर गर्नु भन्ने हुकुम प्रमांगी भएकाले फुल बेन्चमा पेश गर्नु भन्ने डिभजन बेन्चबाट भएको १२।६।४ को आदेश ।
१६. वादी बयानबाट वादिहरुले वालीमा लिई ४० विगाहा हाम्रो रैतीनी सट्टा नदिएको भन्ने सम्म जिकिर लिई ११ विगाहा रैतानी कायम गरि पाउँ भन्ने दावी लिएको नदेखिंदा त्यस तर्फ ईन्साफ गर्न नमिल्नेमा त्यस्तो वादिले प्रष्ट तवरले दावी नै नलिएको कुरामा विरगन्ज गोस्वारा भारदारी तेश्रा र प्रधान न्यायालय समेतका तहहरुबाट ईन्साफ गरेको मुनासिब देखिन ठहर्न आएन भन्ने फुल बेन्चको ०१९।९।१३।६ को फैसाला ।
१७. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने राम लंख समेत र आफ्नो हकमा समेत गोपी साहु तेलीले चढाएको बिन्तीपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा अघी छिन्ने वाहेक श्री प्रधान न्यायाधीश सहीत ३ वा ५ जना न्यायाधीश भएको फुल बेन्चबाट एकपटक हेरी दोहर्याई दिनु भन्ने हुकुम बस्केको छ भन्ने ०२०।२।२१।३ मा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरि दुवै पक्ष राखी फुल बेन्चमा पेश गर्नु भन्ने २०।३।९।१ को श्री माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
१८. प्रस्तुत मुद्दामा यो वेसरोकारी भुपाल शिंको उजुरीबाट अ.वं.का १०६ नं.का ऐनले कारवाई नै नचल्ने भन्ने समेत गोपी साहु तेलीको निवेदनमा उल्लेख समेत भई रहेको र सोही निवेदनमा फुल बेन्चबाट एकपटक हेरी दोहर्याई ऐन सवाल बमोजिम निर्णय गरि दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको ततकालीन ठेकेदारको हैसियतको सु.भुपाल सिंले जग्गा विगाहा ११ जिरायत हो सो जग्गा जिरायत नै कायम हुनुपर्छ भनि जग्गाको हक कायम गर्ने कुरामा मुद्दा लड्दै रहेको र निजलाई ठेक्कामा दिने भनेको जग्गा धनी उपेन्द्रनाथ मुद्दामा सामिल भई तारीख गुजारी बसेको । पछि कुनै उजुर कारवाई गरे गराएको नदेखिनाले ठेक्दार देखिएको । निजलाई त्यस्तो दावी लिने हक कुन आधारबाट प्राप्त छ त्यस विषयमा आफुसंग भएको सबुद प्रमाण र ९२।७।२८।४ को श्री कमाण्डर ईन्चीफबाट भएको तोक ८८।१०।१।५ का ख.नि.तोक ८९।१२।२७ को ख.नि.तोक भनि भुपाल सिंले नक्कल मिसिल सामेल गराएको कानूनको रीत पुर्याई पेश गरेको नदेखिनाले कानूनी रीत पुगेको सक्कल नक्कल जे जो छ सो पनि साथै लिई आउनु भनी अ.वं.२०२ नं.नियम बमोजिम प्र.भुपाल सिंलाई छलफलमा झिकाई र झगडा पर्न आएको जग्गा समेत लोकाभार भई रैती तर्फको भोग भएको भन्ने वादीहरु तर्फको हुनाले सो जग्गा लोकाभार भएको भनेकाले ८८।१० बेगतेको भनेको ख.नि.तोक सदर र ९२।७।२८ को अर्को तोक सदर समेतको अड्डाको छाप लागेको रीत पूर्वकको नक्कलहरु दाखेल गर्नु भनि निवेदक गोपी साहुलाई तारेख तोकि दिई वारा मौजे मधुरी वडैपूंरको जग्गा विगाहा १०१ डाक्टर अघरनाथले ५५।५८ सालमा उठती खान पाउँने लाल मोहर भएको ८८ सालमा रैतीकै नाउमा बिर्ता माल तर्फको जिम्दारी समेत लोकाभार भएको भन्ने वादिको जिकिर देखिनाले ८८।८९।९२ सालहरुमा उक्त लोकाभार विषयमा भएको ख.नि तोक सदर समेत वि गो मा भए गोश्वाराबाटै र नभए सम्बन्धीत माल समेत बुझी पत्ता लगाई झिकाई पठाई दिनु भन्ने वि.गो.लाई समेत लेखि पठाई काम तामेल भए पछि पेश गर्नु भन्ने ०२१।५।६।६ को फूल बेन्चको आदेश ।
१९. यस्मा तारेखमा रहेका दुवै पक्ष रोहवरमा रही ०२४।५।२७ मा पेश भई निवेदक वादिहरु तर्फबाट विद्वान ल्पीडर श्री ठाकुरप्रसाद खरेलले र विपक्षी प्रतिवादी सु.भूपाल सिंह तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको वहस समेत सुनी आजैको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा हाल विवाद भएको जग्गा विगाहा ११ को हकमा वादिहरुको उजुरी दावी छ छैन भन्ने तर्फ नै सर्वप्रथम हेर्नु परेको छ ।
२०. तत्सम्बन्धमा हेर्दा वादीहरुको ९५।१२।४।६ को उजुरी बयान ९ सवालको जवाफमा सो मधुरी वौंगनपूरको जिरायत राख्नलाई तिमी रैतिलाई सट्टा भर्ना दिन्छु भनी डाक्टर अघरनाथले भनी रैती जम्मै जनाको विगाहा ४० निज डाक्टर तर्फको विगाहा ११ समेत जम्मा विगाहा ५१ जिरायत राखेको । सो सट्टा भर्ना नदिएकाले म समेत रैतीका हकको जमिन विगाहा ४० र रैतीले कमाएको हुनाले हाम्रो हक लाग्ने । फी विगाहाको यति मन कब्जा हुन्छ भन्न सक्दिन । सरजमीन बुझिंदा ठहर्ने छ । सो वाली निज भुपाल सिंले गोदाममा लगी राखी अन्याय गरेको छ । ठहरे बमोजिम गरि पाउँ भन्ने सम्म उल्लेख गरेको पाईन्छ । सो जग्गा विगाहा ११ हाम्रो नम्बरी हो कायम गरि पाउँ भन्ने कुरा प्रष्ट रुपले उजुरी, बिन्तीपत्र बयान समेतमा वादिहरुले दावी लिएको देखिन आएन ।
२१. वादिले उजुर गर्दा जति कुरा उजुरीमा दावी लिएको छ त्यति कुरामा सम्म अदालतले ईन्साफ गरि दिनु पर्ने हो । उजुरीमा नै दावी लिएको छैन भने दावी नै नभएको कुरामा पछी उठाएको वाद विवाद समेतलाई लिएर अदालतले ईन्साफ गरिदिन मिल्दैन । अतः वादिहरुको उजुर दावी नै नभएको जग्गा विगाहा ११ को हकमा बिरगन्ज गोश्वारा, भारदारी तेश्रा, प्रधान न्यायालय समेतबाट तह तह ईन्साफ गर्दै ल्याएको वेमुनासिब ठहराई ०१९।९।१३।६ को फुल बेन्चले गरेको निर्णय संग यो वेन्च सहमत हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
निवेदक प्रतिवादी सु.भुपाल शिंको निवेदनमा भएको फुल बेन्चको ०२१।६।१०।६ को आदेश बमोजिम जग्गा विगाहा ११ को वाली रोक्का गर्न कलैया ई.अ.लाई ०२१।६।१५ मा लेखी गएको देखिएको सो अनुसार वाली रोक्का भएको भए कानून बमोजिम फुकुवा गरि दिनु भनी हालको वारा जि.अ.लाई लेखी पठाई दिनु ..........................१
जि.वारा प्र.बरीयारपुर मौजे मधुरी बस्ने वादी देहायका मानिस के मुद्दा रिभिजन गराएमा अघिल्लो फुल बेन्चको १९।९।१२।६ को फैसलाबाट सजाय भएको नदेखिनदा अ.वं.२०४।२०३ नं. बमोजिम रु १। दरले जरीवाना हुन्छ । रुजु रहेको गोपी साहुसंग असुल गरि र अरुको हकमा बारेस हुँदा असुल गर्न का.श्रे.अ.त.मा लगत दिनु.......................२
राम लखन राउत अहिर के १।
रमाजानमिया धुनीयाके १।
दुखाराउत अहिरके १।
अनुपसा थारुके १।
मोती तेलिनके १।
राधा राउत अहिरके १।
अरजली मीया घुनीयीके १।
लखपतिया कोईरीके १।
वलेसर वठो थारुके १।
झगिरथ राउत अहिरके १।
घनेसरी कुम्हईनीके १।
प्रसाद राउत अहीरके १।
ठाकुरप्रसाद राउत अहीरके १
भागु कोहरीके १।
गोपिसा तेलीके १।
नियम बमोजिम मिसिल बुझाई दिनु ..........................३
ईति सम्बत् २०२४ साल आस्वीन १० गते रोज ३ शुभम् ।