शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९५३ - जालसाजी

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

निर्णय नं. २९५३    ने.का.प. २०४४ अङ्क १

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३८ सालको दे.पु.नं. १२

मुद्दा : जालसाजी

 

निवेदक/वादी : का.न.पं. वा.नं. १० मौसिकोस बहाल बस्ने सर्वज्ञमुनी बज्राचार्य समेत।

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ ऐ वा.नं. ८ पाको पोखल्ड्याङ बस्ने कृष्णप्रसाद श्रेष्ठ समेत।

फैसला भएको मिति : २०४०।९।१२।३ मा

§  विवादको घर खरीद गर्दा वादीहरूको समेत मञ्जूरी लिएको भन्ने प्र.को प्रतिउत्तर देखिन्छ तर वादीहरूको मञ्जूरी लिएको कुनै लिखत देखिन्न । यस्तो अवस्थामा विवादको घरमा वादीहरूको समेत हक लाग्ने कुरा प्र.लाई थाहा थिएन भन्ने स्थिति नरहने ।

 (प्रकरण नं. १२)

§  हक लाग्ने कुनै व्यक्ति चुप लागी बस्दैमा मौकैमा उजूर गर्ने व्यक्तिको समेत हक जान्छ भन्न मिल्ने नदेखिने ।

 (प्रकरण नं. १४)

§  जसले जालसाजी कृया गर्दछ उस उपर जालसाजी मुद्दा दिने हो । लिखतका साक्षी उपर समेत जालसाजी मुद्दा दिनु पर्छ अथवा निजहरूलाई समेत प्रतिवादी गराउन पर्छ भन्ने कुनै कानूनले वाध्यता गराएको छैन ।

(प्रकरण नं. १४)

§  कीर्ते कागजको १ नं. र २ नं. मा कस्तो कुरा कीर्ते ठहर्छ भनिएकोले सोही महलको नं. ३ मा रहेको लेखिए बाहेक भन्ने शब्दले कीर्ते कागजको १ र २ नं. मा लेखिए बाहेकलाई भनेको रहेछ भन्नु पर्ने स्थिति छ । लेखिए बाहेकभनी उक्त शब्दले वादीहरू लेनदेन व्यवहारको महल बमोजिम लिखत बदर गराउनेतर्फ नालेश गर्न आउनु पर्दछ जालसाजीतर्फ आउन सक्दैन भनी न त लेनदेन व्यवहारको महलमा लेखिएको छ न त कीर्ते कागजको महलमा सो बमोजिमको कानूनी प्रावधान छ । दुई उपचारको बाटो भएकोमा दुई मध्ये कुन उपचारको खोजी गर्ने सो वादीहरूको इच्छाको कुरा हो, यस्तो अवस्थामा वादीको फौज्दारीतर्फ जालसाजीमा दावी आएकोमा वादीलाई देवानीतर्फ लिखत बदरमा जानु भनी अदालतले भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

फैसला

न्या.त्रिलोकप्रताप राणाः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।३।२७।५ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहोर्‍याई हेरिदिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :

२.   पिता तेजमुनी आमा पुनमायाको गर्भबाट जीतमुनी १, सर्वज्ञमुनी १, सूर्यमुनी १ समेत ३ जना छोरा जन्म भई आमा २००६ सालमा नै परलोक हुनु भएकोले पिता तेजमुनीले सौतेनी आमा पञ्चमायालाई ल्याउनु भएको थियो । तेजमुनीले विपक्षी कृष्णप्रसादसंग रु. ७,५००।कर्जा लिनु भई का.जि. पाको पोखल्ड्याङको पूर्व पश्चिम लङ उत्तर मोहडा २ नाले २ कवले, ५ तले पक्की झिंगटी छाना भएको घर मध्ये उत्तर पट्टिको ४ तले कोठामा कूल देवता रहेकोले सो कोठा १ बाहेक गरी बाँकी घर ०१२।५।२३।५ मा रजिष्ट्रेशन पास गरी दिनु भई सो घर कृष्णप्रसादले नै भोगचलन गरी आएको र जेठा दाजु जितमुनी ०१५ साल अगावै मानो छुट्टि भिन्न बस्नु भएको । पिता तेजमुनी ०२९।८।१५ गते परलोक हुनु भएपछि पञ्चमायाले हामीहरू समेतको हक लाग्ने श्रीसम्पत्ति छुट्टै लिई बसी आउनु भएको, पिताजीको श्रीसम्पत्ति बण्डा गरी लिउँ भन्दा सबै दाजु भाइ जम्मा नभई बन्धकी राखेको घर निखनी लिन नसकी धनमाल जग्गाहरू बण्डा गरी दिन्न भनी जवाफ दिएकोले जीतमुनी सिं.पा.जि. चौतारा हेल्थ सेण्टरमा बसी आउनु भएको विपक्षी कृष्णप्रसादलाई बन्धकी थैली बुझाउन जाँदा २०२९ सालमा जीतमुनीले सिं.पा.जि. माल मार्फत रु. ३५,०००।मा लिएको ०३१।८।६ मा लिखत नक्कल सारी लिएपछि थाहा पायौं । उक्त घर हामीहरूको समेत अंश लाग्ने हामीहरूको हक मेट्ने गरी जालसाजीबाट लिखत पास समेत गरी दिई सकेको हुँदा विपक्षीहरूले जालसाजी लिखत खडा गरेको भन्ने कीर्ते कागजको नं. ३ ले प्रष्ट गराएकोले कीर्ते कागजको १८ नं. को म्यादभित्र फिराद गर्न आएको  छु। कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत फिरादपत्र ।

३.   वादीले दावी लिएको उक्त घर शुद्ध मेरो अंश हक भएको प्रमाण निमित्त म ०१५ साल अगावै भिन्न भएको भन्ने वादी भई उल्लेख भएको रीतपूर्वक अंश गरी नदिएको घरसार मिलाई सानी आमाको भागमा परी बन्धकी दिएको घर निखनी लिन मेरो भागमा परेकोले निखनी लिन नसकेकोले चौतारा माल मार्फत रु. ३५,०००।मा पास गरी दिएको छु । जालसाजबाट पास गरेको भन्ने झुठ्ठा हो । सानी आमा समेतको हक लाग्ने भनी उल्लेख भएको तर पनि सानी आमाको उजूरी नभएको भन्ने समेतको प्र.जीतमुनीको प्रतिउत्तरपत्र ।

४.   वादी दावीको उक्त घर बन्धकी लिई भोगचलन गरी आएको थिएँ । ०२९।८।१५ मा तेजमुनी परलोक भएकोले काज कृया खर्च ऋण तिर्न सो घर मलाई घर व्यवहार हेर्नु पर्ने सरकारी सेवामा रहेका निजका जेठा छोरा जीतमुनीले सिं.पा.जि. माल मार्फत राजीनामा पास गरी दिएकोले काठमाडौं आई पञ्चायत र वादीहरूलाई समेत थाहा दिई भोगचलन गरी आएको थिएँ । हकदारले निखन्ने म्याद समेत भुक्तान भएपछि उक्त घरमा रु. ९,३६५।खर्च लगाई मर्मत समेत गरेको छु सबैको मञ्जूरीबाट राजीनामा लिएकोमा मूल्य वृद्धि भएको र मैले खर्च लगाई मर्मत समेत गरेको देखी वादी र जीतमुनी समेतको मनमा पाप उठी जालसाज गर्‍यो भनी झुठ्ठा नालेश गरेको मात्र हो मैले जालसाज गरेको छैन भन्ने समेत प्र.कृष्णप्रसादको प्रतिउत्तरपत्र ।

५.  वादी दावी बमोजिम प्रतिवादीहरूले जालसाजी गरेको ठहर्दैन भन्ने मिति २०३२।१०।२ को काठमाडौं जिल्ला अदालतको फैसला ।

६.   सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी सर्वज्ञमुनी बज्राचार्य र सूर्यमुखी बज्राचार्यको संयुक्त पुनरावेदनपत्र ।

७.  वादीहरूको समेत अंश भाग लाग्ने घर भन्ने जानी जानी जालसाजी लिनु दिनु गरेको ठहर्छ । वादीहरूको २ भाग हकसम्म बदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

८.   हामीहरूको समेत हक लाग्ने घर थाहा पत्ता नदिई हामीहरूको हक मेट्ने गरी जालसाजीबाट लिखत खडा गरी पास गरी दिएको हुँदा जालसाजी लिखत खडा गरेको भन्ने कीर्ते कागजको ३ नं. ले प्रष्ट गराएकोले कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत मुख्य वादी दावी र सो घर राजीनामा पास गराई लिएको जालसाज गरेको हैन भन्ने प्रतिउत्तर जिकिर देखिन्छ ।

९.   प्रतिवादी कृष्णप्रसादले घर राजीनामा गरी लिँदा रु. ३५,०००।पैतिस हजारमा लिएको देखिन्छ, त्यसरी आफूले रुपैयाँ तिरी घर खरीद गरी लिँदा आफैले जालसाजी गर्नु पर्ने अवस्था नपर्ने र वादीहरूको भनाई अनुसार जालसाजी गरी घर लिनु दिनु गरेको भए वादीहरूका सौतेनी आमा पञ्चमाया पनि चुपलागी बस्नु पर्ने अवस्था नरहेको । लिखतका अन्तर साक्षीहरू उपर उजूर परेको पनि देखिन नआएको हुनाले समेत कीर्ते कागजका ३ नं. अनुसार जालसाजी गरेको हो भन्ने तथ्य सबूद प्रमाणको अभावमा जालसाजी ठहर गर्न मिल्ने अवस्था रहेन । अतः जालसाजी नठहराएको सम्म इन्साफ काठमाडौं जिल्ला अदालतको मनासिब ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा सो फैसला बदर हुने ठहर्छ भन्ने डिभिजन बेञ्चको ०३७।३।२७ को फैसला ।

१०.  प्रतिवादी मध्येको जीतमुनी र वादीहरू दाजुभाइ भएको हुँदा अंशियार देखिन आएका छन् जीतमुनी र वादी बीच अंशबण्डा भएको पनि देखिँदैन । बाबु तेजमुनीले प्र.मध्येको कृष्णप्रसादलाई ०१२।५।२३।५ मा भोगबन्धकी दिएको प्रस्तुत मुद्दाको घरमा वादीहरू र प्रतिवादी मध्ये जीतमुनीको अंशबण्डा  लाग्ने पैत्रिक सम्पत्ति देखिन आएको छ । वादीहरू समेतको हक लाग्ने घरलाई प्रतिवादी मध्येको जीतमुनीले आफ्नो हक लाग्ने भनी बिक्री गरेकोले वादीहरूको हक मेटाउने कार्य हुन गएको देखिएकै छ र घर खरीद गर्ने साहू प्रतिवादी कृष्णप्रसादलाई पनि वादीहरूको पनि घरमा हक भएको कुरा थाहा जानकारी भएकोले पनि लिने दिने दुवै थरी मिली कागजी व्यवहार प्रबन्धबाट कीर्ते कागजको ३ नं. अन्तर्गत जालसाजी भएको भन्ने कुरा सिद्ध हुन आएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।

११.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले विवादको घरमा मेरो पक्षको समेत हक लाग्ने कुरा निर्विवाद छ । सो को जानकारी प्र.कृष्णप्रसादलाई पनि छ । बाबु परलोक भई मेरो हक हुन आएको प्र.जीतमुनी भन्नु हुन्छ, तर कसरी उक्त हक हुन आएको हो सो को लिखत प्रमाण केही छैन । विवादको घर गुठी घर हो गुठी घर बिक्री गर्न मिल्दैन । सबैको हक लाग्ने सगोलको घरलाई मेरो मात्र हक भनी Truth लाई Suppress गरिएको छ । प्र.कृष्णप्रसादलाई वादीहरू जीतमुनीको हकदार अंशियार हो भन्ने कुरा थाहा छ । बन्धकी लिने कृष्णप्रसादले सोही घर पछि जीतमुनीबाट खरीद गरेको छ । अन्तर साक्षीलाई विपक्षी बनाउनु ऐनले वाध्यता गराएका छैन । जसले जालसाजी गर्‍यो उसै उपर जालसाजीको मुद्दा दिने हो । प्र.जीतमुनीले बाबु परलोक भई मेरा हक लाग्ने भनी व्यहोरा समेत झुठ्ठा लेखी प्र.जीतमुनी दिने र सो घरमा सर्वज्ञमुनी समेतको हक लाग्ने कुरा जानी जानी बन्धकी लिने साहू कृष्णप्रसादले लिने गरी सिन्धुपाल्चोक माल मार्फत पारीत गराएको राजीनामा जालसाजी हुँदा डिभिजन बेञ्चको इन्साफ उल्टी हुनु पर्छ भन्ने र अर्को विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले जालसाजमा उजूर गर्ने वा लिखत बदरमा उजूर गर्ने भन्ने कुरा पक्षले नै छान्ने हो भन्ने समेत बहस गर्नु भयो । प्रतिवादी कृष्णप्रसाद श्रेष्ठतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले वादीको समेत हक लाग्ने घर भए लिखत बदरमा उजूर गर्नु पर्ने । बन्धकी थैलीमा रकम रुपैयाँ थपी तिरी लिएको घरलाई जालसाज भन्न मिल्दैन । विवादको घर गुठी घर होइन । वादीहरू आफैंले उक्त घरलाई अंश लाग्ने भन्नु हुन्छ । तर गुठी घर भए अंश लाग्दैन । कीर्ते कागजको ३ नं. मा रहेको लेखिए बाहेकभन्ने शब्दले अन्य कानूनमा लेखिएको भए सो बमोजिम र अन्य कानूनमा नलेखिएको भए जालसाजीमा नालेश लाग्ने हो । लेनदेन व्यवहारको महलमा लिखत बदरतर्फ नालेश लाग्ने लेखिएकोले लिखत बदरतर्फ आउनु पर्छ । डिभिजन बेञ्चको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । मिति २०४०।८।२३।६ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादी दावी नपुग्ने ठहर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिब बेमनासिब के हो ? निर्णय दिनु पर्ने हुन आएको छ।

१२.  यसमा निर्णयतर्फ हेर्दा वादी सर्वज्ञमुनी, सूर्यमुनी तथा प्रतिवादी मध्येको जीतमुनी दाजुभाइ भएमा विवाद देखिँदैन । प्र.जीतमुनी २०१५ साल अगावै मानो छुट्टिएको भन्ने वादीको भनाई भएकोमा २०१२ साल देखि मानो छुट्टी भिन्न बसेको र वादीले दावी लिएको घर शुद्ध मेरो अंश हकको हो भन्ने प्रतिवादी जीतमुनीको प्रतिउत्तर जिकिर देखिन्छ । यीनै प्रतिवादी जीतमुनीले कतै विवादको घर बाबु मरी मेरो हक हुन आएको भन्नु हुन्छ र कतै मेरो अंश भागमा परेको भन्नु हुन्छ । विवादको घर आÇनु अंश भागमा परेको प्रमाण जीतमुनीबाट आउन सकेको छैन । विवादको घर प्र.कृष्णप्रसादले वादीहरू तथा प्र.सूर्यमुनीको बाबु तेजमुनीसंग ०१२।५।२३ मा रु. ७,५००।मा भोगबन्धकी लिई भोग गरिरहेको देखिन्छ । तेजमुनी मरेपछि २०२९।१०।५ मा जीतमुनीसंग उक्त रु. ७,५००।मा थप  रु. २७,५००।तिरी रजिष्ट्रेशन पारीत गराई लिएको भन्ने प्रतिवादीहरूको भनाई छ । विवादको घर खरीद गर्दा वादीहरूको समेत मञ्जुरी लिएको भन्ने प्र.कृष्णप्रसादको प्रतिउत्तर देखिन्छ । तर वादीहरूको मञ्जूरी लिएको कुनै लिखत देखिन्न । यस्तो अवस्थामा विवादको घरमा वादीहरूको समेत हक लाग्ने कुरा प्र.कृष्णप्रसादलाई थाहा थिएन भन्ने स्थिति रहेन ।

१३.  विवादको २०२९।१०।५ को पारीत राजीनामामा बाबु कालगतिले मरी मेरो हक भएकोभन्ने व्यहोरा परेको देखिन्छ । बाबु मरेपछि जीतमुनीको कसरी हक हुन गयो सो कुरा कतैबाट देखिन्न । यसबाट दिने लिने दुबै थर मिली वादीहरूको समेत हक लाग्ने काठमाडौं जिल्लाको घर सिन्धुपाल्चोक माल मार्फत पारीत गराएको रहेछ भन्नु पर्ने स्थिति छ ।

१४.  विवादको घर जग्गामा हक लाग्ने वादीहरू सरहको प्रतिवादीको सौतेनी आमा पञ्चमायाले उजूर नगरेको भन्ने प्रतिवादीको जिकिरको हकमा हक लाग्ने कुनै व्यक्ति चुप लागी बस्दैमा मौकैमा उजूर गर्ने व्यक्तिको समेत हक जान्छ भन्न मिल्ने देखिँदैन । अदालतबाट अ.बं. १३९ नं. बमोजिम पञ्चमायालाई झिकाउँदा ०३३।३।२५ मा निज परलोक भई सकेको र निजको हकमा कसैले सकार नगरेको देखिन्छ । राजीनामा लिखतका साक्षीहरू उपर उजूर नगरेको अर्थात् निजहरूलाई प्रतिवादी नबनाएको भन्ने प्रतिवादीको अर्को जिकिरको सन्दर्भमा विचार गर्दा लिखतमा बस्ने साक्षीहरू सबै सिन्धुपाल्चोकका देखिएका छन् । दिने लिने दुवै थर मिली गरेको जालसाज व्यवहार निजहरूलाई जानकारी नहुने सक्ने स्थितिको छ । जजस्ले जालसाजी कार्य गर्दछ उस उपर जालसाजी मुद्दा दिने हो । लिखतका साक्षी उपर समेत जालसाजी मुद्दा दिनु पर्छ अथवा निजहरूलाई समेत प्रतिवादी गराउन पर्छ भन्ने कुनै कानूनले बाध्यता गराएको छैन । वादीहरूले लेनदेन व्यवहारको १० नं. बमोजिम आफ्नो हक जति बदर गराउनु पर्ने हो, जालसाजीतर्फ वादीको दावी मिल्ने कुरा होइन, सो कुरा कीर्ते कागजको महलको ३ नं. मा रहेको लेखिए देखि बाहेकभन्ने शब्दले बुझाउँछ भन्ने प्रतिवादी विपक्षीतर्फका विद्वान अधिवक्ताको बहस भएकोमा कीर्ते कागजको १ नं. र २ नं. पछि रहेको ३ नं. मा लेखिए बाहेक अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसंग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले हवस् नगरी नभएको कुरा गरी भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने जालसाजी गर्ने ठहर्छभनी लेखिएको पाइन्छ । कीर्ते कागजको १ नम्बर र २ नं. मा कस्तो कुरा कीर्ते ठहर्छ भनिएकोले सोही महलको नं. ३ मा रहेको लेखिए बाहेकभन्ने शब्दले कीर्ते कागजको १ र २ नं. मा लेखिए बाहेकलाई भनेको रहेछ भन्नु पर्ने स्थिति छ । लेखिए बाहेकभनी उक्त शब्दले वादीहरू लेनदेन व्यवहारको महल बमोजिम लिखत बदर गराउनेतर्फ नालेश गर्न आउनु पर्छ जालसाजी तर्फ आउन सक्दैन भनी नत लेनदेन व्यवहारको महलमा लेखिएको छ नत कीर्ते कागजको महलमा सो बमोजिमको कानूनी प्रावधान छ । दुई उपचारको बाटो भएकोमा दुई मध्ये कुन उपचारको खोजी गर्ने सो वादीहरूको इच्छाको कुरा हो । यस्तो अवस्थामा वादीको फौज्दारीतर्फ जालसाजीमा दावी आएकोमा वादीलाई देवानीतर्फ लिखत बदरमा जानु भनी अदालतले भन्न मिल्ने होइन ।

१५.  अतएव वादीहरूको हक मेट्ने गरी वादीहरूको समेत हक लाग्ने घर जग्गालाई बाबु मरी मेरो हक लाग्ने भनी झुठ्ठा व्यहोरा लेखी प्र.जीतमुनी दिने प्र.कृष्णप्रसाद लिने गरी दुबै थर मिली राजीनामाको कागज लेखी सहिछाप गरी लिने दिने गरेकोले जालसाजी होइन भन्न मिल्ने नदेखिँदा वादी दावी नपुग्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । उक्त घरमा ३ भागको दुई भाग वादीहरूको हकसम्म बदर हुने ठहर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।३।२७।५ को इन्साफ उल्टी हुने तथा म.क्षे.अ.को ०३४।१२।९ को इन्साफ मनासिब ठहरेकोले म.क्षे.अ.को फैसला बमोजिमको लगत काट्ने गरेको उक्त डिभिजन बेञ्चको फैसला बमोजिमको लगत कायम गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु र म.क्षे.अ.को फैसला बमोजिम लगत कस्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु......१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु......१

 

उक्त रायमा हामीहरूको सहमति छ ।

न्या.वासुदेव शर्मा

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४० साल पौष १२ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु