निर्णय नं. २९५६ - अंश

निर्णय नं. २९५६ ने.का.प. २०४४ अङ्क १
फुल बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको दे.फु.नं. ७९
मुद्दा : अंश
निवेदक/प्रतिवादी: रामराज्यलक्ष्मी शाह मरी निजको हक खाने छोरा का.जि.पं. वडा नं. १ कमल पोखरी बस्ने शम्भु विक्रम शाह।
ऐ.ऐ. बस्ने हरि विक्रम शाह
ऐ.ऐ बस्ने केशव विक्रम शाह
विरुद्ध
विपक्षी/वादी : का.जि. कमल पोखरीको हाल का.न.पं. ७ नं. वार्ड का.जि. देउपाटन जयबागेश्वरी बस्ने सोम विक्रम शाह
फैसला भएको मिति : २०४२।३।२१।६ मा
§ पैतृक सम्पत्ति अंशियारहरू मध्ये कसैको नाममा पनि रहन सक्ने ।
(प्रकरण नं. १०)
निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
फैसला
न्या.पृथ्वीबहादुर सिंहः- यस अदालतको डिभिजन बेञ्चबाट मिति ०३९।३।१०।५ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हु.प्र. बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. रलिन्द्रविक्रम शाहका जेठा मोहनविक्रम शाह कान्छा रामविक्रम शाह, वेमातृतर्फका रणविक्रम शाह र होमविक्रम शाह समेत ४ छोरा भएकोमा वहाँहरूको बीचमा १९९९ साल कार्तिक १८ गते रोज ३ मा १ छापे बमोजिम अंशबण्डा भएको सो अंशबण्डा पत्रमा अबण्डा रहेको जिल्ला बारा मैनाथपुरको वगैचाको आयस्ता सबैले भाग बमोजिम भोग गर्ने गरी अबण्डा रहेको थियो । रामविक्रम परलोक हुनु भएपछि विपक्षीको नाममा दर्ता भएको थियो । म सोमविक्रम शाहको बुबा मोहनविक्रम शाह परलोक हुनु भएपछि निजको हक म सोमविक्रमको भएको र रणविक्रम परलोक हुनु भएपछि निजको हक खाने निजको छोरा शशीविक्रम शाह र होमविक्रम परलोक भएपछि निजको हक खाने श्रीमती रोहिणी शाह भई म समेतले सोही बमोजिम भाग हिस्साबाट आयस्ता खाने गरी आएको थियो । सर्भे नापी हुँदा पनि जिल्ला बारा मनौंडा गाउपञ्चायत वार्ड नं. २ कि.नं. २२ को क्षेत्रफल ६–१०–० कायम भई विपक्षीको नाउँमा नै दर्ता गरी माथि लेखिए बमोजिम आयस्ता बाँधी खाने गरेका थियौं । त्यस्तैमा निज विपक्षीले आयस्ता कम दिने गर्नु भएकोले अब बगैंचा सगोलमा राख्न मञ्जूर छैन मेरो भाग छुटयाई दिनोस् भनी विपक्षीलाई भन्दा बण्डा पनि छुट्याई दिन्न अब आयस्ता पनि दिन्न सकेको गर भनी भनेकोले १९९९।७।१८ मा भएको १ छापे बण्डापत्रमा अबण्डा गोश्वारा रहेको उपरोक्त लेखिएका बगैंचाको विपक्षीबाट तायदाती लिई ४ भागको १ भाग मेरो अंश अदालतबाटै छुट्याई बण्डा गरिपाउँ भन्ने समेत सोमविक्रम शाहको फिरादपत्र ।
३. रलिन्द्र शाहका विवाहिता पट्टिका जेठा मोहनविक्रम र कान्छा म प्रतिवादीका पति रामविक्रम हुनु भएको र भित्रिनी पट्टिका रणविक्रम र होमविक्रम समेत दुई छोरा हुनु भएको र उक्त चारै भाइ १९९९।७।१८।३ भन्दा अगावै भिन्न हुनु भएको हो । वादीको भनाई बमोजिम सो एक छापे भएपछि मात्र भिन्न भएको भन्ने दावी गलत हो । वादीले दावी लिएको बगैंचा मेरो नाउँमा नापी दर्ता भएको हो सो जग्गा अबण्डा होइन । उक्त जग्गा १९९९।७।१८ गतेसम्म गोश्वारा राखी छाड्दा आयस्ता आम्दानीको भागबण्डामा परस्पर खिचोला परी रहने हुनाले सो बगैंचा भागबण्डा लगाउन हुने नहुने के हो नहुने भए सो बगैंचाको कायम भएको मोल अंशियारलाई दिलाई बगैंचा एकै अंशियारले पाउने गरी मिलाई दिनु पर्ने हुनाले सो बगैंचाको मोल कति कायम भएको छ मोल बुझी लिन अंशियारहरू मध्ये कस्ले मञ्जूर गर्छन् गर्दैनन् सो पनि बुझी यस्ले लिन मञ्जूर गरेकोले यस यसलाई यति यति मोल दिन बोलाउनु पर्ने भनी खुलाई जाहेर गरी निकाशा भए बमोजिम गर्नु भन्ने उक्त एक छापेमा प्रष्ट उल्लेख भएको र सो विषयमा गोश्वारा तहविलले सबै कुरा अंशियारसँग बुझी ठहर गरी अबण्डा पनि बण्डा भएको थियो । त्यसै सिलसिलामा दावी उक्त बगैंचा जग्गातर्फ पनि त्यस्तो मोल कायम गरी मेरा पति बाहेकका अन्य अंशियारले आफ्नो भाग बमोजिमको तहविल मार्फत नगदै बुझी मेरो पति रामविक्रमको नाममा एकलौटी नामसारी दर्ता हुन गएको थियो । पति पछि मैले ७ नं. फाँटवारी भरी नापीमा समेत मेरै नाममा दर्ता भएकोमा कुनै पनि अंशियारको उजूरी परेको छैन । अतः गोश्वारा नरही मेरो पति छँदै देखि एकलौटी भइसकेको बगैंचा हुनाले वादीको झुठ्ठा दावी खारेज गरिपाउँ भन्ने समेत रामराज्यलक्ष्मीको प्रतिउत्तरपत्र ।
४. वादी दावीको जग्गा अबण्डाको जग्गा हो र हामी चारै अंशियारको हकभोगको हो र चारजना अंशियारकै नामबाट ०२४।०२५ सालमा मालपोत बुझाएको । अतः उक्त वादी वादीको बगैंचा जग्गा सोमविक्रम, प्रतिवादी रामराज्यलक्ष्मी, रोहिणी शाह, शशीविक्रम शाह समेत ४ जनालाई अंश भाग अदालतबाटै छुट्याई पाउँ भन्नेको पेटवोलीबाट बुझिएका रोहिणी शाह र शशीविक्रम शाहले गरेको बयान ।
५. अंशियारको नाउँमा दर्ता भएकोमा कानून बमोजिमको लिखत बेगर १९९९ साल कार्तिक १८ गतेको १ छापेमा मैनाथपुरको जग्गा बगैंचा गोश्वारा भन्ने देखिएकोले प्रतिवादीको पति रामविक्रमको नाउँ दर्ता भई निजका नाउँबाट प्र.रामराज्यलक्ष्मीका नाउँमा दर्ता भएको ६–०–१० मध्ये १–१०–२१⁄२ जग्गा वादीले प्रतिवादीबाट अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
६. शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. उक्त म.क्षे.अ.ले गरेको फैसला इन्साफ जाँची दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हु.प्र. पाउँ भनी निवेदिका रामराज्यलक्ष्मी शाहले श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चढाएकोमा इन्साफ जाँची दिनु भन्ने हु.प्र.बक्स भई आएको र मिति ०३८।९।२०।२ को यस अदालतको डिभिजन बेञ्चबाट विपक्षीलाई झिकाउने आदेश भएको ।
८. वादीको भाग छुट्याई दिने गरेको का.जि.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०३९।३।१०।५ को फैसला ।
९. डिभिजन बेञ्चबाट भएको उक्त निर्णय दोहर्याई पाउँ भनी प्रतिवादी रामराज्यलक्ष्मी शाह मरी निजको हक खाने छोराहरू शम्भुविक्रम शाह हरिविक्रम शाह र केशवविक्रम शाहको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र परेकोमा उक्त डिभिजन बेञ्चको निर्णय फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम प्रस्तुत मुद्दा यस बेञ्चमा पेश हुन आएको छ ।
१०. निवेदकहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले गर्नु भएको बहस समेत सुनियो । यसमा डिभिजन बेञ्चबाट वादी दावी बमोजिम वादीको भाग छुट्याई दिने गरेको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । यसतर्फ हेर्दा वादी अंशियार हुन् भन्ने कुरा प्रतिवादीले स्वीकार गरेको हुनाले वादी अंशियार हो कि होइन भन्ने विषयमा निर्णय गरी राख्नु परेन । अब वादी दावी बमोजिम प्रतिवादीबाट वादीले अंश छुट्याई लिन पाउँछ कि पाउँदैन भन्ने कुरातर्फ हेर्दा १९९९ साल कार्तिक १८ गतेको १ छापेबाट उक्त विवादको मैनाथपुरको बगैंचा गोश्वाराको भन्ने देखिन्छ । उक्त १ छापेमा “मैनाथपुर बगैंचा गोश्वारा राखी छोड्दा आयस्ता आम्दानी आए बखत भाग बण्डामा बराबर खिचोला परी रहने हुनाले सो बगैंचा भागबण्डा लगाउन हुने नहुने के हो नहुने भए सो बगैंचाको कायम भएको मोल अंशियारलाई दिलाई बगैंचा एक अंशियारले पाउने गरी मिलाई दिनु पर्ने हुनाले सो बगैंचाको मोल कति कायम भएको छ मोल बुझी लिन अंशियारहरू मध्येकाले मञ्जूर गर्छ गर्दैन सो पनि बुझी यसले लिन मञ्जूर गरेकोले यस यसलाई यति दिनु मिलाउनु पर्ने भनी खुलाई जाहेर गरी निकाशा भए बमोजिम गर्नु” भनी लेखिएको छ । यस १ छापेमा लेखिए बमोजिम अरु अंशियारहरूले उक्त जग्गाको यो यति मोल यो मितिमा बुझेर लिइसकेको छ भन्ने प्रमाण प्रतिवादीले दिन सकेको छैन । विवादको बगैंचा पैतृक सम्पत्ति हो भन्ने कुरा प्रतिवादीले स्वीकार गरेकै देखिन्छ र पैतृक सम्पत्ति अंशियारहरू मध्ये कसैको नाममा पनि रहन सक्दछ । उक्त विवादको जग्गाको ०२४ सालको धरौटी मालपोत चारै जना अंशियारहरूको नामबाट दाखिल भएको देखिएबाट पनि उक्त जग्गामा वादी लगायत अन्य अंशियारहरूको भोगमा रही रहेको देखिन्छ । तसर्थ वादीको दावी बमोजिम प्रतिवादीको पति रामविक्रमका नाउँमा दर्ता भई निजका नाउँबाट प्रतिवादी रामराज्यलक्ष्मीका नाउँमा दर्ता भएको ६–०–१० मध्ये १–१०–२१⁄२ जग्गा वादीले प्रतिवादीबाट अंश छुट्याई लिन पाउने गरेको शुरु का.जि.अ. र म.क्षे.अ.को इन्साफ सदर गरेको यस अदालतको डिभिजन बेञ्चको मिति ०३९।३।१०।५ को निर्णय मनासिब ठहर्छ । निवेदकहरूबाट कोर्ट फी दाखिल भई सकेकोले केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हाम्रो सहमति छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल आषाढ २१ गते रोज ६ शुभम् ।