निर्णय नं. २९५७ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ

निर्णय नं. २९५७ ने.का.प. २०४४ अङ्क १
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको दे.फु.नं. ३८
मुद्दा : जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ
निवेदक/वादी: जि.तनहुँ दोर गा.पं वा.नं. २ चुदी तामाकोट बस्ने जीतबहादुर महत क्षेत्री
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. ऐ. वार्ड नं. ३ धारापानी बस्ने विष्णुहरि पाध्या ।
ऐ.ऐ वार्ड नं. १ लादिखोला वेसी बस्ने विलनाथ शर्मा ।
ऐ.ऐ बस्ने रामदत्त पाध्या ।
ऐ.ऐ बस्ने नामरुको हाल वर भंञ्जाङ गा.प.वा.नं. ८ मुला वारी छविसी डिही बस्ने ज्ञानी शंकर पाध्या ।
फैसला भएको मिति: २०४०।५।१७।६ मा
§ वादी दावीको किल्लामा पूर्व लादी खोला, उत्तर लादी खोला भन्ने किल्ला विवादको जग्गासंग मिलेको देखिन आउँछ प्रतिवादीका नक्शा जिरह बमोजिम सो पौवा गुठी जग्गा न.नं. ११, १२, १३, १४ को कि.नं. ३६, ३७, ३८, ३९ को नै हो भन्न प्रतिवादीको दर्ता र प्रतिउत्तरमा समेत किल्ला नखुलेकोले सकिने अवस्था देखिन आएन । तसर्थ वादीको दावी पुग्न सक्दैन भनी तनहुँ जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३९।४।२५ निर्णय मिलेको नदेखिने ।
(प्रकरण नं. १०, ११)
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।४।२५ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा डिभिजन बेञ्चको उक्त निर्णय फुल बेञ्चबाट दोहर्याई कानून बमोजिम गरी छिनी दिनु भन्ने विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ।
२. मेरो हकभोग तिरोको खेत मुरी ।४२।८।६ मध्ये रैकर भएको ।१४।८।६ कट्टि गरी बाँकी गुठीमा मेरै नाउँमा दर्ता भएको साविक जि.सन्तबहादुर थापाको हाल जि.बलबहादुर मगर झुत्ता जिम्माको दोभान दुमरे गुठी खेत ।२८ मा ०२९ सालमा खोलाले पुरेकोमा मैले नै खर्च लगाई भोग गरी आएको थिएँ । म घर नभएको बेलामा सर्भेबाट नामरुङ गा.पं. वार्ड नं. ७(च) कि.नं. ३४, ३५, ३६, ३७, ३८ र ३९ समेत ६ कित्ता मध्ये कि.नं. ३६ को जग्गा विष्णुहरिको नाममा कि.नं. ३९ को जग्गा ज्ञानीशंकरको नाउँमा कि.नं. ३७ को जग्गा रामदत्तका नाउँमा कि.नं. ३८ को जग्गा खिलनाथको नाउँमा दर्ता गरे गराएको र कि.नं. ३४, ३५ को जग्गा मेरो नाउँमा दर्ता गराएको र कि.नं. ३४, ३५ को जग्गा मेरा नाउँमा दर्ता गराएकोमा पनि लालपूर्जा लिन पाएको छैन । विपक्षले गरे गराएको दर्ता बदर गरी मेरो हकको जग्गा मेरै नाउँमा गरिपाउँ भन्ने समेत ०३४।२।२३।१ को जीतबहादुर महत क्षेत्रीको फिराद ।
३. ०३३ साल माघमा मात्र प्र.हरूले दर्ता गराएको भन्ने थाहा भयो भनी वादी दावी यिनै वादीले हामी प्र.मध्ये विष्णुहरि, रामदत्त, खिलनाथ समेतका नाउँमा एकै पटक एउटै नक्शामा नापी भएको कि.नं. २०, २१, २२ को दर्ता बदर गरिपाउँ भनी दिएको मुद्दाको फिरादपत्रमा ७ दिने सूचना टाँस्दा थाहा पाई हुलाकद्वारा निवेदन दिई सनाखत समेत गरेको भनी उल्लेख गरेबाट सो सूचना साथै यो वादीको जग्गाहरू पनि सूचना टाँस भएकोले उस बखत उजूर नगरी ०३३ सालमा थाहा भयो भनी झुठ्ठा कुरा लेखी हामीहरूका बाबु बाजेको पालादेखि भोगी आएको पौवा गुठी दर्ता भएको जग्गालाई दावी लिई म्याद थामी गरेको फिराद अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने समेत विष्णुहरि समेत चारै जनाको प्रतिउत्तर ।
४. दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी हक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत ०३४।११।१० को तनहुँ जिल्ला अदालतको फैसला ।
५. तनहुँ जिल्ला अदालतको फैसला उपर म.क्षे.अ.मा पुनरावेदन लिई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई वादीको पुनरावेदन परेकोमा वादी दावा नपुग्ने ठहराएको शुरु तनहुँ जिल्ला अदालतको इन्साफ मनासिबै छ भन्ने समेत ०३७।१०।२९।४ का म.क्षे.अ.को फैसला ।
६. उक्त म.क्षे.अ.को फैसलामा चित्त बुझेन भनी वादीले श्री ५ महाराजाधिराज सरकारमा चढाएको विन्तिपत्रमा बक्स भई आएका हु.प्र. बमोजिम इन्साफ जाँच हुन यस अदालतको विविधमा ०३८।२।१६ मा दर्ता भएको ।
७. वादी जीतबहादुरका नाउँमा खेत मुरी ।२८ दर्ता रहेको तनहुँ मालबाट आएको दर्ता उतारबाट देखिनेमा वादी दावी नपुग्ने ठहराएको म.क्षे.अ.को इन्साफ नमिलेकोले अ.बं. २०२ नं. सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम प्रतिवादीका नाउँमा नोटिस म्याद पठाउनु भन्ने समेत ०३८।६।२ को डिभिजन बेञ्चको आदेश ।
८. जीतबहादुरको नाउँमा पूर्व उत्तर लादी खोला साँध जनाई ४२।८।६ मुरी मध्ये २८ मुरी गुठीतर्फ १४।८।६ मुरी रैकरतर्फ दर्ता भएको देखिन्छ । यसै साथका अरु मिसिल समेतबाट पुनरावेदक जीतबहादुरका नाउँमा कि.नं. २३, २४, २५, ३५, ३४ समेत कित्ताबाट रोपनी २३।१४।०।१ को माटो मुरी ९४ भन्दा पनि धेरै नै बढी भई वादीको जग्गा पुगेको देखिन्छ । झगडा परेको ३६, ३७, ३८, ३९ कित्ताको साथमा निजले दर्ता गरेको कित्ताहरू क्षेत्रीय किताबबाट देखिन्छ । उसमा पनि प्रतिवादीतर्फबाट पेश भएका पौवा गुठीको दर्ता उतारबाट प्रतिवादीतर्फकै झगडा परेको जग्गा देखिएको हुँदा वादीको दावी पुग्न सक्तैन भनी तनहुँ जिल्ला अदालतको सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब छ भन्ने डिभिजन बेञ्चको ०३९।४।२५ को फैसला ।
९. यस्मा निर्णयतर्फ विचार गर्दा पूर्व लादी खोला पश्चिम छविसे मुरे पुछार पहरो, उत्तर लादी खोला, दक्षिण दोभान पछिको सलमिटारीको ढीक कूलो समेतका ४ किल्लाभित्र दोभान ढुम्रे भन्ने जग्गा प्रतिवादीहरूले कि.नं. ३६, ३७, ३८, ३९ मा नापी दर्ता गराएकोले सो बदर गरी मेरै नाउँमा दर्ता गरिपाउँ भन्ने वादी, उक्त जग्गा हामीहरूकै बाबु बाजे हरिदत्त वाग्लेको नाउँमा पौवा गुठी भनी दर्ता भएको जग्गा हो भन्ने प्रतिवादीहरूको जिकिर देखिन आयो । मिसिल सामेल रहेको दर्ता उतारबाट वादीले फिरादमा देखाएको जग्गाको ४ किल्ला दर्ता श्रेस्तासंग मिल्न भिड्न आएको र प्रतिवादीको तनहुँ सुर पौवा गुठी भनेको जग्गाको दर्तामा ४ किल्ला खुलेको नदेखिएको र प्रतिवादीमा समेत ४ किल्ला खुलाई प्रतिवाद गरेको देखिँदैन ।
१०. यिनै वादी प्रतिवादी भएको प्रमाणको निमित्त आएको २०४०।२।२७ मा डिभिजन बेञ्चबाट फैसला भएको दर्ता बदर मुद्दामा भई आएको नक्शा हेर्दा न.नं. ११, १२, १३, १४ का कित्ताहरू क्रमैसंग कि.नं. ३६, ३७, ३८ र ३९ का देखिन आएका छन् । उक्त नक्शा हेर्दा न.नं. १ लादी खोला विवादको जग्गाको पूर्व उत्तर हुँदै पश्चिमतर्फ गएको देखिन्छ । यसबाट वादी दावीको किल्लामा पूर्व लादी खोला, उत्तर लादी खोला भन्ने किल्ला विवादको जग्गासंग मिलेको देखिन आउँछ । प्रतिवादीका नक्शा जिरह बमोजिम सो पौवा गुठी जग्गा न.नं. ११, १२, १३, १४ को कि.नं. ३६, ३७, ३८, ३९ को नै हो भन्न प्रतिवादीको दर्ता र प्रतिउत्तरमा समेत किल्ला नखुलेकोले सकिने अवस्था देखिन आएन ।
११. तसर्थ वादीको दावी पुग्न सक्दैन भनी तनहुँ जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहराएको म.क्षे.अ. को इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३९।४।२५ को निर्णय मिलेको देखिएन । वादी दावी बमोजिम प्रतिवादीहरूले जग्गा खिचोला गरेको ठहर्छ । त्यसो हुँदा प्रतिवादीहरूले गराएको दर्ता बदर भई वादीको नाममा दर्ता समेत हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी जीतबहादुर महत क्षेत्री के माथि इन्साफ खण्डमा वादी दावी बमोजिम प्रतिवादीहरूले गराएको नापी दर्ता बदर भई वादीका नाउँमा दर्ता हुन ठहर भएकोले देहाय बमोजिम गर्नु भनी तनहुँ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. तहसिल फाँटमा लगत दिनु..१ जिल्ला तनहुँ नावरुङ गा.पं. वा.नं. ७(च) को प्रतिवादी विष्णुहरि पाध्याले दर्ता गराएको कि.नं. ३६ को जग्गा १, प्रतिवादी रामदत्त शर्माले दर्ता गराएको कि.नं. ३७ को जग्गा १, प्रतिवादी खिलनाथ शर्माले दर्ता गराएको कि.नं. ३८ को जग्गा १, प्रतिवादी ज्ञानीशंकर पाध्याले दर्ता गराएको कि.नं. ३९ को जग्गा १, समेतका चार कित्ता जग्गा वादी जीतबहादुरका नाममा दर्ता गरी दिने भनी मालपोत कार्यालय, तनहुँमा लेखी पठाउनु कलम..१ वादी जीतबहादुर ०३४।२।२३ मा तनहुँ जिल्ला अदालतमा राखेको कोर्ट फी रु. ३२।५० म.क्षे.अ.मा ०३६।८।१७ मा दाखिल गरेको कोर्ट फी रु. ४।४८ तथा यस अदालतमा ०३९।६।२५ मा दाखिल गरेको कोर्ट फी रु. ३।१६ समेत जम्मा रु. ४०।१४ चालिस रुपैयाँ चांैध पैसा प्रतिवादीहरू विष्णुहरि १, खिलनाथ शर्मा १, रामदत्त पाध्या १, ज्ञानीशंकर पाध्या १, समेतबाट भराई पाउँ भनी कोर्ट फी ऐन, का म्यादभित्र दर्खास्त परेमा कुनै दस्तुर नलिई दामासाहीले भराई दिने भनी लेखी पठाउने कलम.१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु..२
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.धनेन्द्रबहादुर सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल भाद्र १७ गते रोज ६ शुभम् ।