शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९५९ - विवरण बदर गुठी धर्म लोप

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

निर्णय नं. २९५९  ने.का.प. २०४४ अङ्क १

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३७ सालको दे.फु.नं. ३९

मुद्दा : विवरण बदर गुठी धर्म लोप

 

निवेदक/वादी: जिल्ला काभ्रेपलाञ्चोक पनौति पमारी टोल बस्ने हरिदास मठछे

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. देवी स्थान गा.पं. वडा नं.२ ज्वालाचिति डिहि बस्ने न्हुछे रघु समेत

फैसला भएको मिति : २०४०।६।७।६ मा

 

§  आफू समक्ष रीतपूर्वकको उजूर नपरी वादी र प्रतिवादीहरू बीचको विवादमा  अदालतले अधिकार क्षेत्र ग्रहण गरी विवाद ग्रस्त तथ्यको निर्णय गर्न पाउने नदेखिने ।

 (प्रकरण नं. १३)

§  अनधिकृत निकायबाट भएको कारवाही र निर्णय बदर हुने अवस्थामा फेरी कारवाही र निर्णय हुनका लागि मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था नै कानूनले गरेको छैन ।

(प्रकरण नं. १३)

उल्लेखित मुद्दा :०२६ सालको दे.फु.नं. ७९ निवेदक मुनिलाल गोल्छा विरुद्ध धनचन्द्र राई समेत मुद्दा जिसयत जग्गा, (ने.का.प. २०३०, पृष्ठ ३०२) मा प्रतिपादित सिद्धान्त ।

फैसला

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तवः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।४।२९ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको विन्तिपत्रमा उक्त निर्णय सहितको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.  पुर्खाका पाला देखि विर्ता खरीद गरी पनौति पमारी टोलमा श्रीकृष्ण, शिवजी समेतको देवता स्थापना गरी खेत पाखो समेत ४१६ मुरी माटो जग्गा गुठी राखी मोहीमा लगाई आएको आयस्ताबाट पूजा आजा समेत गरी बाँकी शेषबाट मन्दिर भत्किए बिग्रिएमा बनाउनु भनी १८६२ चैत्र वदी ६ रोज ५ सिलापत्र भई गोकुल पुरीले दस्तुर समेत सरकारमा बुझाई आएको गुठी जग्गा सिलापत्र तामापत्र फैसला समेतबाट गुठी विर्ता नै कायम भएको विपक्षीहरूले हाम्रै विर्ता भनी बिना निस्सा विवरण दाखिल गरेछन् । सो गुठी समेत हरण गर्न खोजेकोले उक्त विवरण बदर गरी सनातन देखि चलिई आए बमोजिम उक्त खेत पाखो देवता पाखो गुठी नै कायम गरिपाउँ भन्ने समेत हरिदाश मठछेको २०२१।४।८।५ को फिरादपत्र रहेछ ।

३.  वादीको निस्सा प्रमाण केही छैन कुन ४ किल्लाभित्रको हो यकीन छैन र ४१६ मुरी माटो जग्गा भन्ने उल्लेख छ यो साँध यो किल्ला भन्ने खुलेको देखिँदैन सो जग्गा हामीलाई के कतिमा कमाउन दिएको र कमाएको छौं कबूलियत छ भन्न पर्ने सो पनि नभएको, अविछिन्न हामीहरूको भोगको जग्गा आफ्नै विर्ता जानी भोगी विवरण दाखिल गरी रैकरमा परिणत गराएको हुँदा निजको दावी लाग्न सक्ने होइन भन्ने समेत कृष्णबहादुर समेत जवान २१ को तथा सोही मिलान गरी फत्तेबहादुर समेत जना २ को र वादी दावाको जग्गा हामीले कमाई आएको जग्गाको २०२० सालसम्म वादीलाई बुझाई आएका थियौं रैकरमा परिणत गर्नु पर्ने म्याद जाला भनी विवरण दाखिल गरी रैकरमा परिणत गराएका हुँदा वादीको गुठी जग्गा ठहर्ने भए बाली बुझाउन मञ्जुर छौं भन्ने समेत काले दमाई समेत जना ३ को र २०२० सालसम्मको बाली वादीलाई बुझाई आएको र विर्ता उन्मूलन ऐन बमोजिम मोहीले पनि परिणत गर्न पाउने भएकोले परिणत गरेको हुँ गुठी धर्म लोप गरेको होइन जग्गा मेरै कायम गरिपाउँ भन्ने समेत नरबहादुरको छुट्टाछुट्टै प्रतिउत्तरपत्र रहेछ ।

४.  जग्गाका हकमा साविक बमोजिम गुठी कायम गरी दिने सुरक्षित मोही प्रतिवादीहरूले साविक बमोजिम गुठीमा तिरो भरो गरी जग्गा भोगचलन गरी  खानु भनी प्र.हरूलाई सुनाई दिने, निजहरूले पेश गरेको विवरण बदर गरी दिने भन्ने समेत काभ्रेपलाञ्चोक मालको ०२१।९।१४।२ को फैसला रहेछ ।

५.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी फत्येबहादुर रघु समेतको पुनरावेदन परेकोमा तेरो मेरो मुद्दा मालले हेर्न नहुने हेरी फैसला गरेको गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत पूर्व १ नं. गोश्वाराबाट ०२२।४।२६ मा फैसला भए उपर वादीको आय र कर अदालतमा पुनरावेदन परेकोमा प्रमुख जिल्ला अधिकारीले कानून बमोजिम गरी फैसला गर्नु भनी प्रमुख जिल्ला अधिकारी अफिस काभ्रेपलाञ्चोकमा पठाई दिने भन्ने समेत आय र कर अदालतबाट ०२३।१।६।२ मा आदेश भई प्र.जि.अ. काभ्रेपलाञ्चोकबाट का.प. मालको इन्साफ सदर ठहर गरी ०२३।८।२०।२ मा फैसला भएको रहेछ ।

६.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी कृष्णबहादुर थापा क्षेत्री समेतको पुनरावेदन परेकोमा माल र प्रमुख जिल्ला अधिकारीलाई यो मुद्दा हेर्ने अधिकार नभएको हुँदा मुद्दा हेरी फैसला गरको सो दुवै अड्डाको फैसला बदर हुने ठहर्छ । यसै मिसिलबाट सम्बन्धित पक्षहरू झिकाई जो बुझ्नु पर्ने बुझी ठहरे माफिक कानून बमोजिम फैसला गरी दिनु भनी तारेखमा रहेका पक्षलाई तारेख तोकी का.प.जि.अ.मा पठाई दिनु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०२५।१।२७।५ को फैसला रहेछ ।

७.  प्रतिवादीहरूको विवरण पेश गरेको जग्गा वादी दावी बमोजिम गुठी जग्गा भन्ने देखिन आएकोले प्रतिवादीहरूका प्रतिउत्तर जिकिर मनासिब देखिन आएन तसर्थ वादीको गुठी जग्गा मोहियासम्म भई कमाउने प्रतिवादीहरूले हाम्रै विर्ता भनी दिनु भएको विवरण वादी दावी बमोजिम बदर हुने ठहर्छ भन्ने समेत काभ्रेपलाञ्चाक जिल्ला अदालतको मिति ०२९।३।१४।३ को फैसला रहेछ । उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन परेकोमा शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहराई बागमती अञ्चल अदालतबाट ०३१।९।२२।२ मा भएको फैसला उपर प्रतिवादी धनप्रसाद बन्जरा समेत जवान १४ को पुनरावेदन परेकोमा वादी दावीको विवरण बदर गर्ने ठहराएको काभ्रेपलाञ्चालक जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको बागमती अञ्चल अदालतको फैसला कानून त्रुटि नदेखिनाले परिवर्तन गर्नु परेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३३।१२।२३।३ को फैसला रहेछ ।

८.  मध्यमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश।

९.  निवेदक मुनीलाल गोल्छा माडवारी विपक्षी धनचन्द्र राई समेत भएको ०२६ सालको दे.फु.नं. ७९ को जिरायत जग्गा मुद्दा माथिल्लो तहको अदालतले दिइएको निर्देशानुसार तल्लो तहको अदालतबाट निर्णय भएको भन्ने कारणले मात्र कानून विरुद्धको कारवाही र निर्णयले कानूनी मान्यता प्राप्त गर्न सक्तैन कानूनी मान्यता प्राप्त गर्नका लागि माथिल्लो तहको अदालतको निर्देशन र तदनुसार तल्लो अदालतले गरेको कारवाही तथा निर्णय सबै कानूनसंगत हुनु पर्दछ भन्ने आदि र फुल बेञ्चमा प्रस्तुत भएको केवलदत्त विरुद्ध कपिलवस्तु जिल्ला अदालत समेतका मुद्दा (रि.फु.नं. ३३) मा २०२९।२।४।३ को फुल बेञ्चले गरेको निर्णयबाट जग्गाधनीलाई बुझाउनु पर्ने बाली भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ बमोजिम मालमा धरौट राख्ने व्यक्ति मोही नै होइन भनी जग्गावालाले प्रतिवाद गरेबाट मोहियानीको हक बेहक सम्बन्धी विवाद उठ्न गई माल अड्डाले सो मुद्दा त्यस बखत अधिकार प्राप्त जिल्ला अदालतमा पठाएको र जिल्ला अदालतले पनि सो मुद्दा निर्णय गरेकोमा जिल्ला अदालतमा वादीको रीतपूर्वकको उजूरी  नपरी माल अड्डामा चलेको कारवाहीलाई नै आधार मानी जिल्ला अदालतले गरेको निर्णय मान्य हुन सक्तैन भन्ने आधारमा फुल बेञ्चबाट जिल्ला अदालतको उक्त निर्णय बदर भएको अधिकार प्राप्त निकायमा परेको उजूरी र सो निकायले गरेको कारवाहीका आधारमा भए गरेको निर्णय अधिकृत निकायको निर्णय भए पनि मान्य हुन सक्तैन भन्ने समेत उक्त मुद्दा खारेज हुने ठहर्‍याई मिति ०३०।५।२६।३ मा निर्णय भएको पाइयो ।

१०. प्रस्तुत मुद्दामा विवरण बदर गरी सनातन देखि चली आए बमोजिम खेत पाखो देवता गुठी नै कायम गरिपाउँ भन्ने समेत कुराको दावी लिई काभ्रेपलाञ्चोक मालमा फिराद दायर भई काभ्रेपलाञ्चोक माल, पूर्व १ नं. गोश्वारा, प्रमुख जिल्ला अधिकारीबाट फैसला भई तद्पश्चात अधिकार नभएका माल र प्रमुख जिल्ला अधिकारीले गरेको दुवै अड्डाको फैसला बदर हुने ठहर्छ यसै मिसिलबाट सम्बन्धित पक्षहरू झिकाई जो बुझ्नु पर्ने बुझी ठहरे माफिक फैसला गरी दिनु भनी तारेखमा रहेका पक्षलाई तारेख तोकी का.प.जि.अ. मा पठाई दिनु भन्ने समेत भई मिति ०२५।१।२७ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भए अनुसार प्रस्तुत मुद्दा पनि का.प.जि.अ. बाट हेरी तह तह हुँदै यस अदालतमा पुनरावेदन परी बेञ्चमा पेश हुन आएको यस मुद्दामा माथि व्यक्त गरिए बमोजिम फुल बेञ्चबाट ०३०।५।२६।३ मा भएका प्रतिपादित सिद्धान्त बमोजिम यस मुद्दाको सम्पूर्ण कार्यवाही तथा निर्णयहरू त्रुटिपूर्ण देखिएकोले २०३३।१२।२३।३ मा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय बदर हुने ठहर्छ भन्ने डिभिजन बेञ्चको ०३५।४।२९ को फैसला ।

११.  मिति ०३५।५।२१।३ मा बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा डिभिजन बेञ्चको ०३५।४।२९ को निर्णय मनासिब बेमनासिब के हो निर्णय दिनु पर्ने हुन आयो ।

१२. यसमा निर्णयतर्फ हेर्दा पूर्खाका पालादेखि खरीद गरी पनौती पमारी टोलमा श्रीकृष्ण शिवजी समेत देवता स्थापना गरी खेत पाखो समेत ४१६ मुरी माटो गुठी राखी मोहिमा लगाई आएको जग्गामा विपक्षीहरूले आफ्नो विर्ता भनी विवरण दाखिल गरेकोले विवरण बदर गरी उक्त जग्गा गुठी नै कायम गरिपाउँ भनी निवेदक वादीको ०२१।४।८।५ मा काभ्रेपलाञ्चोक मालमा फिराद परी काभ्रेपलाञ्चोक माल, पूर्व १ नं. गोश्वारा, आय र कर अदालत, प्र.जि.अ., काभ्रेपलाञ्चोक समेत तह तह हुँदै सर्वोच्च अदालतमा पुनरावेदन परी सर्वोच्च अदालतमा डिभिजन बेञ्चबाट ०२५।१।२७ मा माल र प्रमुख जिल्ला अधिकारीले आफूलाई अधिकार नभएको मुद्दा हेरी फैसला गरेको देखिएकोले उक्त दुवै अड्डाको फैसला बदर हुने ठहर्छ यसै मिसिलबाट सम्बन्धित पक्षहरू झिकाई जो बुझ्नु पर्ने बुझी ठहरे माफिक फैसला गर्नु भनी तारेखमा रहेका पक्षहरूलाई तारेख तोकी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पठाई दिनु भनी निर्णय भएको देखिन्छ । यसरी सर्वोच्च अदालतको फैसला मुताविक प्रस्तुत मुद्दा काभ्रेपलाञ्चोक जिल्ला अदालतले हेरी वादी दावीको विवरण बदर गर्ने ठहर गरे पछि बागमती अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट जिल्ला अदालतको इन्साफ सदर गरकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट माल र प्र.जि.अ. को फैसलासम्म बदर गरी यही मिसिलबाट कारवाही गर्नु भनी सर्वोच्च अदालतले पठाएको र सो बमोजिम का.प.जि.अ.बाट हेरी तह तह हुँदै आएको सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिएकोले बदर हुने ठहर्छ भनी निर्णय भएको पाइन्छ ।

१३. प्रस्तुत मुद्दामा अनाधिकृत निकायमा परेको फिरादलाई कायम गरी अधिकृत निकायमा निर्णय गर्न पठाउन मिल्छ मिल्दैन र त्यसरी पठाएपछि अधिकृत निकायबाट गरिएको निर्णयलाई कानून अनुरुपको मान्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नको नै निरोपण गर्नु पर्ने हुन आएको छ । यससम्बन्धमा विचार गर्दा ०२६ सालको दे.फु.  नं. ७९ निवेदक मुनिलाल गोल्छा माडवारी विरुद्ध धनचन्द्र समेत भएको जिरायत जग्गा भन्ने मुद्दामा माथिल्लो तहको अदालतले दिएको निर्देशानुसार तल्लो तहको अदालतबाट निर्णय भएको भन्ने कारणले मात्र कानून विरुद्धको कारवाही र निर्णयले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । कानूनी मान्यता प्राप्त गर्नका लागि माथिल्लो तहको अदालतको निर्देशन र तदनुसार तल्लो अदालतले गरेको कारवाही तथा निर्णय सबै कानूनसंगत हुनु पर्दछ भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चबाट ०३०।५।२६ मा निर्णय भएको (ने.का.प. २०३०, पृ. ३०२) पाइन्छ । प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२५।१।२७ को निर्णय बमोजिम का.प. माल तथा प्र.जि.अ. को निर्णयसम्म बदर भई का.प. मालमा परेको फिराद र सो बमोजिमका कारवाहीहरू कायमै रही सोही फिरादबाट काभ्रेपलाञ्चोक जिल्ला अदालतले क्षेत्राधिकार ग्रहण गरी निर्णय गरेको देखिन्छ । आफू समक्ष रीतपूर्वकको उजूर नपरी वादी र प्रतिवादीहरू बीचको विवादमा अदालतले अधिकार क्षेत्र ग्रहण गरी विवादग्रस्त तथ्यको निर्णय गर्न पाउने देखिँदैन । अनाधिकृत निकायबाट भएको कारवाही र निर्णय बदर हुने अवस्थामा फेरी कारवाही र निर्णय हुनका लागि मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था नै कानूनले गरेको छैन । सो सम्बन्धमा फुल बेञ्चको उपर्युक्त निर्णयमा सिद्धान्त स्थापित भएको देखिन्छ ।

१४. अतः उपर्युक्त कारणहरूबाट अनधिकृत निकाय काभ्रेपलाञ्चोक मालबाट भएको निर्णयसम्म बदर गरी पुनः कारवाही तथा निर्णय गर्न पठाएको सर्वोच्च अदालतको निर्णय मुताविक अधिकार क्षेत्र ग्रहण गरी कारवाही तथा निर्णय गरेको काभ्रेपलाञ्चोक जिल्ला अदालत, बागमती अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयहरू त्रुटिपूर्ण देखिएको हुँदा उक्त निर्णयहरू बदर गर्ने गरेको डिभिजन बेञ्चको ०३५।४।२९ को निर्णय मनासिब देखिन्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.धनेन्द्रबहादुर सिंह

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४० साल आश्विन ७ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु