निर्णय नं. २९६७ - कर्तव्य ज्यान

निर्णय नं. २९६७ ने.का.प. २०४४ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५३२
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी: शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.सि.गा.पं पिपरा वडा नं. २ बस्ने कमलसिंह दनुवार।
ऐ.वडा नं.३ बस्ने नैनिलाल यादव।
ऐ. बस्ने प्र.पं.चन्द्रदेव यादव।
ऐ. बस्ने मुनिलाल यादव।
ऐ.बस्ने किसोन देव यादव।
ऐ.बस्ने रघुवीर यादव।
फैसला भएको मिति : २०४३।९।२५।६ मा
§ प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन, शंकारहित सबूत प्रमाण बेगर कसूरदार ठहर्याउन मिल्ने देखिन आएन ।
(प्रकरण नं. १९)
पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.बब्बरप्रसाद सिंहः- पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।२७ मा भएको फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. २०४० साल ज्येष्ठ ३१ गते राती ११ बजेको समयमा अन्दाजी ११।१२ जनाको हुल आई हातहातमा लाठी बन्दुक समेत लिई मेरो बाबु कैसिलाल यादवलाई बन्दुकले हानी मारी दिएकोले मैले चिनेका पिपरा गा.पं. वाड नं. २ बस्ने कमल सिंह दनुवार–१ ऐ. वार्ड नं. ३ बस्ने नैनिलाल यादव १, ऐ बस्ने प्र.पं.चन्द्रदेव यादव १, ऐ बस्ने मुनिलाल यादव १, ऐ बस्ने किसुनदेव यादव १, ऐ बस्ने रामनारायण यादव १, ऐ बस्ने रघुवीर यादव १ समेतलाई चिनेको र नचिनेका समेतले मारी भागी गएको हुँदा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने केशवनारायण यादवको मिति २०४०।३।१।४ को जाहेरी दर्खास्त ।
३. मृतक केसीलालसंग कुटपिट र करकाप मुद्दा अदालतमा चलेको र चुनावको रिसइवी समेत थियो घटना घटेको दिन म सुतिरहेको अवस्था थाहा पाएर हेर्न जाँदा मृतकको लाश देखेको छु म र मेरो परिवारका मेरा छोरा किसुनदेव र पक्राउ भएका मुनिलालनारायण समेत उपर पोल उजूर गर्ने भन्ने हल्ला सुनी म भारत लक्ष्मीया २०४०।३।१ विहान गई बसेको थियो अपराध गरेमा निर्दोष छु भन्ने समेत नैनीलाल यादवले प्रहरी समक्ष गरेको इन्कारी कागज।
४. घटना घटेको दिन बन्दुकको आवाज सुनी घटनास्थलमा जाँदा गोली छर्राबाट मरेको मृतक देखेको हुँ । मृतकको जेठो छोरा सिताराम यादव र मेरो बाबु नैनिलाल भाइ चन्द्रदेव र मुनिलाल समेतका नाउँमा करकाप मुद्दा परेको र चुनावको रिसइवी थियो । २०४०।२।३१ गतेको रात भाइ चन्द्रदेव घरमा नभई लखनपुरको बाटो बनाउन गएका थिएँ । म र मेरो बाबु नेविलाल मुनिलाल अध्यक्ष रामनारायण यादव समेत उपर पोल उजूर गर्ने हल्ला सुनी भारत लदनियामा २०४०।३।१ मा गई बसेकोमा श्री नारायण यादवसंग भेट हुँदा वारदात बनाइदिन्छु भनेकोले रु. ४०००।– दिएका थियौ । ज्यान मारे मराएमा म निर्दोष छु भन्ने समेत प्र.किसुनदेव यादवको प्रहरीमा भएको कागज ।
५. घटना घटेको दिन हल्ला सुनी सुतिरहेको अवस्था बिउझी हेर्न जाँदा मृतकको लाश देखेको हुँ चुनावको रिसइवीबाट केसीलाल र मेरो कुटपिट मुद्दा चलेको छ । पक्राउ भई आएका रामनारायण, किसुनदेव, नेलीलाल र म समेत ४ जना उपर पोल गरेको छ भन्ने सुनेर घटना घटेका भोलिपल्ट विहान लदनिया भारत गई बसेकोमा श्रीनारायण यादवले वारदात बनाई दिन्छु भनेकोले प्रति जवानले रु. १,०००।– का दरले रु. ४,०००।– दिएका थियौं । वारदात बनाइदिन्छु भन्ने कुरा के हो सो थाहा छैन मैले ज्यान मारे मराएको छैन भन्ने कुरा र सो थाहा छैन मैले मारे मराएको छैन भन्ने समेत मुनिलाल यादवले प्रहरीमा गरेको कागज ।
६. घटना घटेको समयमा बन्दुकको आवाज सुनी घटना स्थलमा आउँदा पोल गरेको अभियुक्तहरूलाई देखेनौं । जाहेरवाला र प्र.पं.परिवारसंग अदालतमा मुद्दा चलेको कारणबाट फसाउनलाई पोल गरेका हुन् कर्तव्य गरी केसीलाललाई मारेका हुन् भन्ने थाहा छैन भन्ने सरजमीनका दफा १ र ५ बाहेकका मानिसहरू र प्र.पं.चन्द्रदेव यादव समेत उल्लेखित ६ जना मध्ये प्र.पं.चन्द्रदेव यादवले बन्दुक प्रहार गरी मारेको र अरु सहयोगीको रुपमा लाठी लिई गएको भन्ने सरजमीनका दफा १ र ५ का मानिसहरूको भनाई भएको सरजमीन मुचुल्का ।
७. प्र.पं.चन्द्रदेव यादवले मुख्य भई कर्तव्य गरी ज्यान मारेको देखिएकोले निजलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ बमोजिम सजायँ हुन र अन्य अभियुक्त कमल सिंह दनुवार, रघुवीर यादव, मुनीलाल यादव किसुनदेव यादव नैनीलाल यादव समेत ५ जनाले घटनास्थलमा लाठी लिई ज्यान मार्नको मतलबले बसेको तर प्रहार गरेको वा हात हालेको कतैबाट नदेखिएकोले निजहरू उपर ज्यानसबन्धीको १७(१) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
८. म मेरो भतिजा किसुनदेव भाइ नैनीलाल गाउँको रामनारायण यादव र हरिनारायण झा समेत भई गोरु खरीद गर्नलाई २०४०।३।२४ गते घरबाट हिंडेकोमा २०४०।३।२९ गतेको विहान १०।११ बजे कोशी व्यारेजमा नास्ता गरी रहेको अवस्था प्रहरीले पक्राउ गरेको हो जाहेरवालाको परिवार र हामीहरू मेरा एकासगोलका भाइ नैनिलाल भतिजा प्र.पं.चन्द्रदेव किसुनदेवसंग रिसइवीबाट मृतकसंग कुटपिट करकाप मुद्दा समेत परेको रिसइवीले जाहेर गरेको हो ज्यान मारे मराएको होइन भन्ने समेत प्र.मुनिलाल यादवले अदालतमा गरेको बयान ।
९. प्रहरीमा कागज हुँदा सो कागजको दफा ९ मा भएको कुरा मैले भनेको होइन । म र नैनीलाल यादव, मुनिलाल यादव, रामनारायण यादव हरिनारायण झा समेत गोरु खरीद गर्न भनी घरबाट हिंडेकोमा २०४०।३।२९ गते विहान १०।११ बजेको समयमा नास्ता गरी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो गाउँमा निर्वाचन समयमा झगडा हुँदा जाहेरवालाको परिवारसंग रिसइवी थियो सोही रिसइवीले मलाई पोल गरेको हो । कसरी ज्यान मारे मराए मलाई थाहा छैन म निर्दोष छु भन्ने समेत प्र.किसुनदेव यादवले अदालतमा गरेको बयान ।
१०. प्रहरीमा दफा ८ मा लेखिएको व्यहोरा मैले लेखाएको छैन । म र दाजु मुनिलाल यादव, छोरा किसुनदेव यादव, गाउँको रामनारायण यादव हरिनारायण झा समेत गोरु खरीद गर्न भनी २०४०।३।२४ मा हिंडेकोमा ऐ २९ गते कोशी व्यारेजमा नास्ता गरिरहेको अवस्थामा पक्राउ परेका हौं जाहेरवालाको परिवारसंग चुनाव र कुटपिट मुद्दा चलेको रिसइवी थियो त्यसैले पोल गरेको हो मैले ज्यान मार्ने मराउने कुनै काम गरेको छैन म निर्दोष छु भन्ने समेत नैनिलाल यादवले अदालतमा गरेको बयान ।
११. मिति २०४०।२।३१ गतेको राती म आफ्नो गाउँ घरमा नभई पिपरा गाउँ पञ्चायतको वार्ड नं. ८ को लखनपुरमा थिएँ । लखनपुरमा अनुदानबाट उठेको रकमबाट बाटो मर्मत गराउन गई सो ३१ गतेको राती १० बजेसम्म मजदूरको ज्याला फछ्र्यौट गरी ढिलो हुँदा अध्यक्ष कमल सिंह दनुवार गा.पं.स. हरिको घरमा बस्यौं भोलिपल्ट विहान सबेरै केसिलाललाई कर्तव्य गरी मारेको भन्ने सुनी कमल सिंह केसीलालको घरमा पुगी हेर्दा मुतकको लाश देखेको हो । मेरो परिवारसंग जाहेरवाला र सरजमीनका सेती यादव र मोहित यादवको रिसइवी हुँदा झुठ्ठा पोल उजूर गरेका हुन् । मेरो साथमा बन्दुक राख्ने गरेको छैन बन्दुक चलाउन पनि जान्दिन तसर्थ मैले ज्यान मारे मराएको छैन भन्ने समेत प्र.पं.चन्द्रदेव यादवले अदालतमा गरेको बयान ।
१२. २०४०।२।३१ गतेको दिन म घरमा नभई गा.पं. खनन वार्ड नं. ८ मा सडक मर्मत गर्न गएको हुँदा उही हरि यादवको घरमा थिएँ । केसीलाललाई मारेको हल्ला सुनेपछि प्र.पं. चन्द्रदेव र म घर फर्की आउँदा मृतकको लाश र एकजना प्रहरीलाई बसी राखेको देखेको थिएँ । चोरले केसिलाललाई मारेको भन्ने सुनेको जाहेरवालासंग कुटपिट करकाप मुद्दा परेको हुँदा म समेत उपर जाहेर गरेको हुन् म उपर लगाइएको आरोप झुठ्ठा हो । म निर्दोष छु भन्ने समेत प्र.कमल सिंह दनुवारले अदालतमा गरेको बयान ।
१३. २०४०।२।३१ गतेको राती सुतिरहेको अवस्था बन्दुकको आवाज सुनी ब्युझी जाँदा मृतक केसीलाललाई देखेको छु कसको कर्तव्यबाट मृतक बन्नु पर्यो सो थाहा छैन । मेरै भतिजा चन्द्रदेव यादवले प्र.पं. मा जितेको र जाहेरवालाको दाजु हारेको हुँदा रिसइवी बढेको थियो । सोही रिसइवीबाट जाहेरवालाले झुठ्ठा जाहेरी गरेको सरमजीनका मानिसले झुठ्ठा बकी लेखाई दिएका हुन् मैले ज्यान मार्ने मराउने कार्यमा सहयोग गरेको र गराएको समेत छैन भन्ने समेत प्र.रघुवीर यादवले अदालतमा गरेको बयान ।
१४. जाहेरी किटानी गरी लेखिएको व्यक्तिहरूले मेरो बुबालाई जत्रतत्र कुटी मारेको देखेकोले जाहेरी दर्खास्त दिएको हुँ घटना घटेको समयमा म र मेरो बुबा केसिलालसँगै सुतेका थियौं । राती ११ बजेको समयमा चन्द्रदेव यादव, किसुनदेव यादव, रामनारायण यादव, तेतीलाल यादव, मुनीलाल यादव, कमल सिंह दनुनार, रघुवीर यादव आई सुतिरहेको ठाउँमा आई मेरो बाबुलाई कुटी मारेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला शिवनारायण यादवले अदालतमा बकेको बकपत्र ।
१५. प्रतिवादीहरू विरुद्ध वादी पक्षले प्रस्तुत गरेको प्रमाणहरू तथ्ययुक्त विश्वासनीय प्रतितलायक देखिएन । शंकाको आधारमा प्र.हरूलाई कसुरदार ठहराउन मिलेन प्र.हरू चन्द्रदेव यादव, नेतीलाल यादव, मुनिलाल यादव, किसुनदेव यादव, रघुवीर यादव, कमलसिंह दनुवारले सफाई पाउने ठहर्छ भन्ने समेत मिति २०४१।१।११।२ को सिरहा जिल्ला अदालतको फैसला ।
१६. उक्त फैसला उपर चित्त बुझेन प्रतिवादीहरूले जाहेरवालाको बाबु केसिलाल यादवलाई कर्तव्य गरी मारेको प्रष्ट देखिँदा देखिँदै निजहरूलाई सफाई दिएको शुरु अदालतको फैसला बदर गरी प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको २०४१।४।१७ मा पू.क्षे.अ.मा परेको पुनरावेदन ।
१७. जाहेरवालाको पोल विश्वसनीय र स्वतन्त्र प्रमाणबाट समर्थित नभएको देखिँदा शुरु जिल्ला अदालतले प्र.चन्द्रदेव यादव समेतका सबै प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिएको इन्साफ मनासिब छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मिति ०४२ साल आषाढ २ गतेको पू.क्षे.अ.को फैसला ।
१८. प्र.हरूको चुनाव सम्बन्धी रिसइवीले झुठ्ठा जाहेरी गराएका हुन् भनी इन्कारी बयान गरे तापनि १० वर्षको बच्चा जो मृतकको बाबुसंगै सुतेको र घटनामा आफू पनि घाइते भएकोमा निजले चुनाव सम्बन्धी रिसइवीले झुठ्ठा पोल उजूर गर्न पर्ने प्रयोजन देखिँदैन । बाबुसंगै सुतेको छोरा शिवनारायणको उक्त व्यहोरा घा जाँच फारामबाट पनि समर्थित नै छ साथै प्रतिवादीहरू भागी लुकी हिंडेका पनि छन् र गवाहको बकाईसंग इन्कारी बयान मिलेको पनि छैन भन्ने समेत पुनरावेदन लिई प्र.हरूलाई सफाई दिएको जि.अ. र पू.क्षे.अ.को फैसला बदर भई सबूद प्रमाणहरूको पुनः मूल्याड्ढन भई प्रहरी प्रतिवेदन दावी अनुसारको सजायँको माग गर्दै श्री ५ को सरकारबाट पर्न आएको पुनरावेदन ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहसका लागि खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादीले प्रतिवादी विरुद्ध जाहेरवालाले चिनेको भन्ने आधारमा अभियोग लगाएको देखिन्छ । रातीको घटना कसरी जाहेरवालाले चिनेका हुन् सो कुरा दर्खास्तमा खुल्दैन । जाहेरी दर्खास्त १० वर्षको नाबालखको देखिन्छ, मर्ने केसिलालको जेठो छोरो, जाहेरवालाको बाबु, सिताराम वारदातको समयमा तीन हात फरक सुतेको भन्ने देखिएकोमा निजले जाहेरी दर्खास्त नगरी नावालखबाट जाहेरी दिएको, सीतारामले चिनेको भनी लेखाएको समेत नदेखिएको, वारदात पछि पुगेका नेतीलालले देखें चिने भनी लेखाएकोमा पनि कसरी चिनेको हो प्रष्ट रुपमा खुलाउन नसकी हचुवा किसिमले लेखाएको र निज जाहेरवालाको काका नाता पर्ने व्यक्ति देखिएको, निजको बकाई साँचो सत्य भन्न सकिने स्थिति नरहेको । प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले केसिलालको ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन। शंकारहित सबूद प्रमाण बेगर कसूरदार ठहर्याउन मिल्ने देखिन आएन, तसर्थ प्रतिवादीहरूलाई सफाई दिने ठहर्याई शुरु जि.अ.बाट भएको इन्साफलाई सदर गरेको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा केही परिवर्तन गरिरहन परेन । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गरिरहन परेन मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायसंग म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४३ साल पौष २५ गते रोज ६ शुभम् ।