शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९७२ - जग्गा खिचोला

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

 

निर्णय नं. २९७२  ने.का.प. २०४४ अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको दे.पु.नं. ६५४, ६५५

मुद्दा : जग्गा खिचोला

 

पुनरावेदक/वादी : का.न.पं. वार्ड नं. २७ त्यौडटोल बस्ने विष्णुप्रसाद श्रेष्ठ

विरुद्ध

पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वार्ड नं. २० गावहाल बस्ने राममाया श्रेष्ठ

फैसला भएको मिति: २०४३।१०।२२ मा

 

§  आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशीबाट घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना

पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश

फैसला

न्या.पृथ्वीबहादुर सिंहः म.क्षे.अ.ले गरेको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी प्रतिवादी दुवै पक्षबाट दिएको निवेदनमा अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.  पिता पारुलाल तथा माता लक्ष्मीमायाबाट विपक्षीका पति गंगाप्रसाद म वादी जन्मेका हौं । पिता पारुलालसंग चित्त नबुझी विपक्षीका पति गंगाप्रसादले आफ्नो अंश वापतमा पूर्व भाजुमानको घर, पश्चिम गल्ली र हेरामा गभाजूको घर, उत्तर सडक दक्षिण इन्द्रलाल श्रेष्ठको पाताल जग्गा यति चार किल्लाभित्रको २ नाले तीन कवले ४ तले ल.पु. गावहालको घर१ मात्र अंश वापतमा लिई २००६।९।३ गते अंश छोडपत्रको लिखत गरी ऐ २००६।९।५ गते रजिष्ट्रेशन पारीत गराई पिता पारुलाल र म सगोलमा रही बसी विपक्षी प्रतिवादी उनको पतिले आफ्नो अंश भागमा बुझी लिएको घरमा नै बसी आएकी छन् । आमा लक्ष्मीमाया २००५ सालमा र पिता पारुलाल २००६ सालमा आफ्नो कालगतीले परलोक हुनु भयो । विपक्षीका पतिले आफ्नो अंश वापत बुझी लिएको घर बाहेक अरु सम्पूर्ण श्रीसम्पत्ति अंशबण्डाको ११ नं. र अपुतालीको २ नं. ले मेरो मात्र एकलौटी हक भएकोमा माता लक्ष्मीमायाले तुई सिंहसंग १९९७।४।३१।५ मा खरीद गरी लिएको जग्गा मध्ये केही जग्गा मैले सुर्जेबहादुर श्रेष्ठलाई भोगबन्धकी दिएको छु सो बाहेक नापी नभएको बाँकी जग्गा भोगचलन गरी पश्चिम सीमानामा मेरो पर्खाल समेत लागी सकेको जग्गामा विपक्षीले खिचोला गर्न आएकीले उक्त खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको विष्णुप्रसाद श्रेष्ठको फिरादपत्र ।

३.  वादीले लेखेको चार किल्लाभित्रको जग्गा मध्ये सुर्जेबहादुरलाई बन्धकी दिएको भनेको घर भत्की पाताल भइसकेको सो पाताल वादी समेत कुनै कसैको  भोगचलनमा नभएको र उल्लेखित चार किल्ला मध्ये पूर्व सुर्जेबहादुरलाई बन्धकी दिएको भनेको जग्गा पश्चिम सानु शाक्यको, हाल बाबुकाजी महर्जनको घर, उत्तर मेरो जग्गा, दक्षिण मूल सडक र गल्ली बाटो यति चार किल्लाभित्रको ल.पु.न.पं. वार्ड नं. २१ गावहाल टोलको उत्तर, दक्षिण लम्बाई हात १६, पूर्व पश्चिम चौडाई हात १० को जग्गा म राममायाले चन्द्रमान महर्जनसंग २००७।६।४।४ मा फार्सेपत्र गराई लिई मेरो हकभोग चलनमा भएकोमा उक्त जग्गा मेरो हकभोगको हो रु. ९९।को राजीनामा लिखत जालसाजीबाट खडा गरेकोमा सजायँ गरिपाउँ भनी विपक्षी विष्णुप्रसादले मेरा नाउँमा फिराद गर्नु भएकोमा यस अदालतबाट जालसाजी ठहर्‍याई फैसला भएपछि मेरो अपिल पहिला फाँटमा पुनरावेदन पर्दा झगडा परेको जग्गामा अपिलका हाकिम समेत आई जाँची, बुझी मेरो राजीनामा लिखत सद्दे साँचो र मेरै भोगचलनको ठहर्‍याई २०१६।१।३१।५ मा अपिल पहिला फाँटबाट भएको फैसला अन्तिम भई बसेको छ । उक्त जग्गा मैले बाबुकाजी श्रेष्ठलाई मिति ०३०।५।११।२ मा राजीनामा गरी दिइसकेको माथि उल्लेखित पाताल बारी मेरा पतिज्यू भएसम्म उहाँले र उहाँ परलोक भएपछि मैले भोगचलन गरी आएकोमा वेटीमाया ज्यापुनीले बाली लुटपिट गरेकोमा मेरो यस अदालतमा फिराद पर्दा सो जग्गा मेरै हकको ठहर भई बेटीमायाले बाली लुटपिट समेत गरेको ठहर्‍याई मिति ०२४।५।८।५ मा भएको फैसला अन्तिम भइसकेको हुनाले मेरा पति गंगाप्रसादले २००६।९।५ गते अंशको दावी छाडिदिए पनि ससुराज्यूको आर्जनको घर जग्गामा मात्र छोडेको हो, सासु लक्ष्मीमायाको दाइजो पेवाबाट लिएको जग्गामा दावी नछाडेको भन्ने कुरा अंश छोडपत्रका लिखतबाट स्पष्ट भइरहेकोले मेरो हक छुटेको लिखत नभएको र अघिदेखि आजसम्म मेरो भोग चलनमा भएकोले त्यस्तो खिचोला गर्नु पर्ने कारण नै नहुँदा ज.मि.को १८ नं. स्त्री अंशधनको ८ नं. अ.बं. ८२ नं. र १८० नं. बमोजिम फिराद नै खारेज गरिपाउँ भन्ने समेत व्यहोराको राममाया श्रेष्ठको प्रतिउत्तरपत्र ।

४.  लोग्नेले आफ्नो अंश भागको केवल घर मात्र लिएको देखिँदा अन्यमा प्रतिवादीको हकदैया अंशियारको नाताबाट दावी पुग्न आउने देखिँदैन अतः वादी दावा अनुसार खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३५।११।२२ गते ल.पु.जि.अ. बाट भएको फैसला ।

५.  वस्तुनिष्ठ प्रमाणहरू हुँदाहुँदै मिति २००६।९।३ को अंश छोडपत्रलाई मात्र उल्लेख गरी मेरो प्रमाण समेत नबुझी गरेको शुरु फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा प्रतिवादी राममाया श्रेष्ठले दिएको पुनरावेदनपत्र ।

६.  प्रतिवादीको लोग्नेले अंश छोडपत्रको लिखत गरी रजिष्ट्रेशन समेत भएको देखिएको, यस्तो अवस्थामा श्रीमतीले आफ्नो लोग्नेको अंश भागमा मात्र दावा गर्न पाउने स्थिति भएको समेतबाट वादी दावी अनुसार खिचोला गरेको ठहर्छ भन्ने शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.बाट मिति ०३८।६।१५।५ मा भएको फैसला ।

७.  मेरो भोग भइरहेको, अपुतालीको विषयमा अंश छोडपत्रको आधार लिई अपुतालीको २० नं. को हदम्याद नाघी दायर भएको फिरादको आधारमा अपुतालीको २ नं. विपरीत भएको बा.अं.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी म.क्षे.अ.मा परेको प्रतिवादीको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

८.  अपिल पहिलाको फैसलाबाट पुनरावेदक राममाया श्रेष्ठको हक कायम रहेको, भई आएको नक्शाको न.नं. २ को जग्गामा पुनरावेदकले खिचोला गरेको ठहर्‍याइएको शुरुको इन्साफ सदर गरेको अञ्चल अदालतको इन्साफ गल्ती ठहर्छ । सो बाहेक वादी दावी न.नं. ४ र ५ को जग्गामा पुनरावेदक प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ सदर  गरेको अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने म.क्षे.अ.को मिति ०४२।७।२६ को फैसला।

९.  विपक्षी राममायाले चन्द्रमानसंग किनेको भनेको जग्गा र यो विवादको जग्गाको चार किल्ला मिल्दैन यस्तो जग्गालाई विपक्षीले जिती पाएको जग्गा भन्दै खिचोला गरेको ठहर्दैन भनी म.क्षे.अ.बाट भएको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादी विष्णुप्रसाद श्रेष्ठको र फैसला गर्दा लगाउनु पर्ने ऐन कानूनलाई प्रमाण नलगाई लगाउन नहुने अंश छोडपत्रलाई प्रमाण लगाई गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी राममाया श्रेष्ठको यस अदालतमा पर्न आएको छुट्टाछुट्टै निवेदनपत्रमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको रहेछ ।

१०. नियम बमोजम पेशी सूची चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल समेत अध्ययन गरी पुनरावेदक वादी विष्णुप्रसाद श्रेष्ठको तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले र पुनरावेदक प्रतिवादी राममाया श्रेष्ठको तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले गर्नु भएको बहस समेत सुनियो ।

११.  अब यसमा म.क्षे.अ.बाट भएको इन्साफ मनासिब वा बेमनासिब के हो सो मा नै निर्णय दिनु पर्ने हुन आएको छ ।

१२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी राममाया श्रेष्ठले आफ्नो प्रतिउत्तर जिकिरमा देखाए बमोजिम चन्द्रमानसंग मिति २००७।६।४ मा राजीनामा गरी लिएको उत्तर दक्षिण १६ हात, पूर्व पश्चिम १० हातको, पूर्व सूर्यबहादुरलाई बन्धकी दिएको भनेको जग्गा समेतको चार किल्लाभित्रको जग्गा राजीनामा गरी लिँदा पुनरावेदक वादी विष्णुप्रसाद श्रेष्ठले प्रतिवादी राममाया उपर जालसाजी मुद्दा दायर गरेकोमा अपिल पहिलाबाट मिति ०१६।१।३१।५ मा जालसाज गरेको नठहरी फैसला अन्तिम भई बसेको देखियो । सो जग्गा पनि पुनरावेदक प्रतिवादीले २०३० सालमा नै बाबुकाजी महर्जनलाई बिक्री गरी सकेको मिसिल संलग्न राजीनामाहरूको नक्कलबाट देखिन आयो । यसरी अदालतको फैसलाबाट समेत आफ्नो निर्विवाद हक स्थापना भई सकेको जग्गा मुद्दा पर्नु भन्दा अगावै अरुलाई राजीनामा दिई सकेको व्यक्तिले वादी दावी बमोजिम सो जग्गामा खिचोला गर्न गयो होला भन्न मिल्ने देखिन आएन, म.क्षे.अ. ले उक्त न.नं. २ को जग्गामा खिचोला नगरेको ठहर्‍याएको इन्साफ मनासिब नै देखिन्छ । अब वादी दावी मध्येको अरु जग्गाको हकमा प्रतिवादी पुनरावेदकले बेटीमायासंग लुटपिट मुद्दा पर्दा जि. अदालतबाट लुटपिट गरेको ठहर्‍याई २०२४ सालमा भएको फैसलाले मेरो हक कायम भएको भनेको, भई आएको नक्शाको न.नं. ५ को जग्गाको सम्बन्धमा प्रमाणको मिसिलबाट प्रतिउत्तर जिकिर बमोजिम लुटपिट मुद्दामा भएको फैसलाबाट पुनरावेदक प्रतिवादीको हक कायम भएको देखिए तापनि यिनै पुनरावेदक वादीले यिनै पुनरावेदक प्रतिवादी समेत उपर सो लुटपिट मुद्दामा भएको फैसला बदर गरिपाउँ भनी दिएको मुद्दामा फैसला बदर हुने ठहर्‍याई अञ्चल अदालतबाट भएको मिति ०३८।६।१५।६ को फैसला अन्तिम भई बसेको प्रमाणको मिसिलबाट देखिएको हुँदा उक्त न.नं. ५ को जग्गा पुनरावेदक प्रतिवादीको हक, भोग स्वामित्वको जग्गा हो भन्न मिल्ने देखिन आएन । न.नं. ४ को जग्गाको हकमा सो जग्गा सासु लक्ष्मीमायाले १९९७ सालमा तुईसिंगसँग राजीनामा गरी लिएको भन्ने कुरालाई पुनरावेदक प्रतिवादी समेतले स्वीकार गरेको नै देखियो । सासु लक्ष्मीमायाले राजीनामा गरी लिएको जग्गा पुनरावेदक प्रतिवादीका पति गंगाप्रसाद, पुनरावेदक वादी विष्णुप्रसाद समेत सगोलमा रही बसेको अवस्थामा २००५ सालमा निज लक्ष्मीमाया परलोक भएबाट निजको हकको सो जग्गा सगोलका सबै अंशियारहरूले भोग गरी रहेको अवस्थामा पुनरावेदक प्रतिवादीको लोग्ने गंगाप्रसादले सगोलको  आफूले पाउने सम्पत्ति मध्ये २००६।९।५ मा पास भएको छोडपत्र लिखतमा उल्लेख भएको घरसम्म अंश वापत अरु सबै सम्पत्तिमा आफ्नो हक छाडी भिन्न भएको मिसिलसाथ रहेको सो लिखतको नक्कलबाट देखिन आएको हुँदा उक्त घर बाहेक अन्य सम्पत्तिमा पति गंगाप्रसादको हक पुग्ने कानूनले मिल्ने देखिन आएन । आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशी साथ घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्नेमा सो गरेको कुनै सबूद प्रमाण पुनरावेदक प्रतिवादीले देखाउन नसकेबाट उक्त न.नं. ४ र ५ को जग्गा मेरो हकभोग स्वामित्वको हो भन्ने प्रतिउत्तर जिकिर मनासिब देखिन आएन ।

१३. अतः माथि उल्लेख गरिए बमोजिम अपिल पहिलाको फैसला समेतबाट पुनरावेदक प्रतिवादीको हक स्थापित भइसकेको न.नं.२ को जग्गामा खिचोला गरेको नठहर्ने गरी गरेको म.क्षे.अ.को इन्साफ मनासिब नै देखिँदा खिचोला गरेको ठहर्‍याई पाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । सो बाहेक वादी दावीको न.नं. ४ र ५ को जग्गामा पुनरावेदक प्रतिवादीले खिचोला गरको ठहर्‍याई म.क्षे.अ.ले गरेको इन्साफ पनि मनासिब नै देखिँदा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । म.क्षे.अ.ले गरेको इन्साफमा कुनै कानूनी त्रुटि नदेखिएको हुँदा परिवर्तन गरी रहन परेन इन्साफ सदर हुने ठहर्छ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छ ।

 

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल माघ २२ गते रोज शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु