शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९७३ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: बैशाख अंक:

निर्णय नं. २९७३ ने.का.प. २०४४ अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४३ सालको फौ.पु.नं. ६११।५८६।३९२

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक/वादी: प्र.ह.रणबहादुरको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

पुनरावेदक/प्रतिवादी : जि. रुपन्देही मैनहिया गा.पं. वार्ड नं. ४ बस्ने बैजनाथ दुवे।

          ऐ.ऐ वार्ड नं.५ बस्ने गोविन्द प्रसाद उपाध्याय।

फैसला भएको मिति : २०४३।१०।२८।४ मा

 

§  अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं. को १३, १४, १७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन नआउने ।

(प्रकरण नं. ३२)

§  कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै मृत्यु भएको कुरा मान्नु पर्ने अवस्था देखिन आएकोले प.क्षे.अ.ले भवितव्यमा ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब नै देखिने ।

(प्रकरण नं. ३२)

§  मुख्य ज्यानमारा भनी प्रहरी प्रतिवेदनमा अभियोग लगाइएको व्यक्तिलाई नै भवितव्यमा सजायँ गर्ने भएपछि १७(१) को दावी प्र.लाई लगाउन सकिने अवस्था नै विद्यमान हुँदा र प्र. आफैं गोलीको प्रहारबाट घाइते समेत भएको मिसिल संलग्न कागजबाट देखिएको हुँदा निजलाई भवितव्यमा सजायँ गर्नु न्यायसंगत नहुने हुँदा निजले अभियोगबाट सफाई पाउने ।

(प्रकरण नं. ३२)

पुनरावेदक, प्रतिवादीतर्फबाट :  विद्वान अधिवक्ता श्री कमलनारायण दास विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

उल्लेखित मुद्दाः

फैसला

न्या.पृथ्वीबहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी तथा प्रतिवादी दुवै पक्षको पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.   ०३६।१२।११ गते विहान ८ बजे वैजनाथ गोविन्दको गहुँ बालीको विषयलाई लिएर बन्दुक फायर हुँदा शास्त्रीबाबा भन्ने व्यक्तिलाई गोली लागी मरेकोले प्रतिवेदन गरेको छु भन्ने प्र.ह.रणबहादुरको ०३६।१२।११ को प्रतिवेदन ।

३.   ०३६।१२।११ गते विहान ८ बजे मेरो खेतको बाली लैजाने नियतले गोविन्दप्रसाद समेतका १५० जना जतिले लैजान लागेकोले रोकथाम गर्ने २५।३० जना व्यक्ति लिई जाँदा हामीलाई लाठी, ढुंगा, मुढा गरी लखेट्दा हामी भाग्यौं । गोविन्दले गरेको फायरले शास्त्री बाबालाई लागी मृत्यु भयो । मेरो पेटको दाहिनेतर्फ लालमनले हानेको गोली लाग्यो अपराध गर्ने अपराधीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम सजायँ गरिपाउँ भन्ने बैजनाथ दुवेको ०३६।१२।१४ को जाहेरी दर्खास्त ।

४.   ०३६।१२।११ गते विहान अं. ८ बजेको समयमा आफ्नो गहुँ बाली कटाई रहेको अवस्थामा वैजनाथ दुवे समेतका २०।२५ जना आई कुटपिट गर्न थाले । शिवु मुरतले मेरो घरमा गई बन्दुक लिएर आई पुग्नासाथ वैजनाथ समेत तीनजना व्यक्तिले फायर गर्न शुरु गरे । वैजनाथको हातको बन्दुकको फायरबाट शास्त्रीबाबालाई गोली लागी मृत्यु भयो । म घाइते भएँ । मैले बन्दुक लिएको थिइन भन्ने समेत व्यहोराको गोविन्दप्रसाद उपाध्यायले प्रहरी समक्ष ०३६।१२।१५ मा गरेको कागज ।

५.   घटनाको सबै विवरण ०३६।१२।१४ को निवेदनमा दिएको छ । मलाई फसाई आफू बच्नको लागि गोविन्दले झुठ्ठा बयान गर्नु भएको हो । गोविन्दको फायरबाट शास्त्रीबाबा मरेको मेरै आँखाले देखेको हुँ म घाइते समेत भएको छु । मेरो हातमा बन्दुक थिएन भन्ने समेत व्यहोराको वैजनाथ दुवेले प्रहरीमा ०३६।१२।१५ मा गरेको कागज ।

६.   ०३६।१२।११ गते विहान वैजनाथको गहुँ काट्न भनी जाँदा मैनहियातर्फबाट गएको हुलले गहुँ काट्न पाउँदैनौ भन्दा दुवै तर्फबाट गोली हानाहान भयो फायरका चोटबाट शास्त्रीबाबा मरेका हुन् भन्ने मोहरत गोसाई र गोविन्दप्रसाद उपाध्यायले छोडेको फायरबाट शास्त्रीबाबा मरेका हुन् भन्ने समसुल मुसलमान, निदेश पाण्डे, पञ्चलाल अहिर, लालचन, टाँस भन्ने मारकण्डे दुवे, चुनमुन दुवे, रामकान्त दुवे, वैशराज शुकलले प्रहरीमा गरेको कागज ।

७.   ०३६।१२।११ विहान म आफ्नै घरमा छु, घटना स्थलमा गएको नै छैन । गोविन्द र मेरो बीचमा विवाद भएकोले लेखाएको हुनु पर्छ भन्ने समेत रामकान्त पाण्डेले प्रहरी समक्ष गरेको कागज ।

८.   ०३६।१२।११ गते हामी वारदातमा छैनौं, हामी बाबु वैजनाथ र गोविन्दको बीचमा कसरी झगडा भयो कसरी शास्त्रीबाबा मरे आँखाले देखिनौं । गोविन्दबाट भएको फायरले शास्त्रीबाबालाई र लालमनले गरेको फायर वैजनाथलाई लागेको भन्ने सुनेको भन्ने समेत अध्याप्रसाद र झान्कु भन्ने देवीप्रसाद दुवे, विन्धाचल दुवेले प्रहरीमा गरेको छुट्टाछुट्टै कागज ।

९.   ०३६।१२।११ विहान भैंसी चराइरहेको थिएँ । गोविन्दले आफ्नो गहुँ कटाइरहेका थिए यसै अवस्थामा वैजनाथ दुवे समेतका व्यक्तिहरू बन्दुक समेत लिएर आई गोविन्दतर्फका व्यक्तिहरूलाई पिट्न थाले, दुवैतर्फबाट फायर शुरु भयो, कसको फायरबाट शास्त्रीबाबा मरे छुट्याउन सकिन भन्ने समेत व्यहोराको भोला अहिर, रामसेवक यादव, ढाडे अहिर, रामचन्द्र कुर्मी, रामजस यादव, राजेन्द्रप्रसाद दुवे, गंगाशंकर कुर्मीले समेतले प्रहरीमा गरेको कागज ।

१०.  वारदात भएको बखत म घटना स्थलमा नभएको हुँदा के कसरी शास्त्रीबाबा मरे मलाई थाहा छैन भन्ने समेत गादुर अहिर, रामवल कुर्मी, लक्ष्मण कुर्मी रामकेवल अहिरले प्रहरीमा गरेको कागज ।

११.   वारदात भएको दिन म गोविन्दको गहुँ काट्न भनी गएको थिएँ । गहुँ काटीरहेको अवस्थामा बैजुले बन्दुक र अरुले लाठी, खुर्पा लिएर आएका थिए गोविन्दलाई देखी त्यहाँ पुग्दा नपुग्दै वैजुनाथले बन्दुक फायर गरे, त्यसपछि दोहोरो फायर भयो । गोविन्द नेर उभिएका शास्त्रीबाबालाई गोली लागी मृत्यु भयो । बैजुतर्फबाट हानेको फायरले बाबाको मृत्यु भएको हुनुपर्छ भन्ने समेत प्रभारत चमारले प्रहरीमा गरेको कागज ।

१२.  ०३६।१२।११ गोविन्दप्रसादकोमा मजदुरी गर्न गएको थिएँ सोही अवस्थामा वैजनाथ दुवेसमेतका व्यक्तिहरू आई ईंटा प्रहार गर्न थाले । वैजनाथ दुवेले गोविन्दप्रसादलाई मारी दिन्छु भनी फायर गर्दा शास्त्रीबाबालाई लागी मरेको हुन भन्ने समेत व्यहोराको ठागे यादवले र त्यसपछि अयोध्याप्रसादको गोलीबाट गोविन्दप्रसादलाई लाग्यो म डराएर भागे भन्ने समेत व्यहोराको मुरलीधर उपाध्यायले प्रहरीमा गरेको कागज ।

१३.  गोविन्दप्रसादको तर्फबाट पहिले ईंटा टिपी वैजु दुवेतर्फकाले हान्दा गोविन्द, लालमन, र राजमन, ओमकार समेतले बन्दुक फायर गर्दा शास्त्रीलाई लागी मर्न गएको । गोविन्दप्रसादले बैजुलाई ताकी हानेकोे गोली बाबालाई लाग्न गएको हो भन्ने समेत पहिलो दफाका मानिसको भनाई र बैजुनाथले गोविन्दलाई ताकी हानेको गोली शास्त्रीबाबालाई लागेको हो भन्ने समेत भनाई भएको मिति ०३६।१२।१७ को सरजमीन मुचुल्का ।

१४.  प्र.गोविन्दप्रसादले हानेको गोली शास्त्रीबाबालाई लागेको भन्ने देखिएकोले निजलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम र अरु बन्दुकधारी जाहेरी समेत दिने वैजुनाथ, अध्याप्रसाद दुवे, सिमरी दुवे, ओमकारनाथ दुवे, समेत जना ४ लाई ज्यानसम्बन्धीको १७(१) बमोजिम र प्रतिवेदनमा विरुद्ध खण्डमा लेखिएका सबैलाई ज्यानसम्बन्धी १७ नं. को देहाय (३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत स.स.अ. को प्रतिवेदन ।

१५.  ०३६।१२।११ गतेको घटना हो । बैजुको हातबाट छोडिएको फायरबाट शास्त्रीबाबा मरेको हुन् मैले बन्दुक लिएको थिइन । प्रहरीमा गरेको बयान मैले भने बमोजिम लेखिएको हो भन्ने समेत प्र.गोविन्दप्रसाद उपाध्यायले ०३७।१।५ मा अदालतमा गरेको बयान ।

१६.  वारदात भएको समयमा म घटना स्थलमा थिइन । सो सम्बन्धमा मलाई यकीन केही थाहा छैन भन्ने समेत प्र.रामवली कुर्मी, राम अहिर, राजमन कुर्मी प्र. लक्ष्मण कुर्मी, प्र.गादुर अहिर, प्र.रामसेवक यादवले अदालतमा गरेको बयान ।

१७.  ०३६।१२।८ गते म झरीया हुँदै विध्याचल गएको ऐ चैत्र १४ गते म झरीयामा आइपुगेको हुँदा म  उपर झुठ्ठा जाहेरी दिई फसाएका हुन् भन्ने समेत प्र.लालमनले ०३७।२।३१ मा अदालतमा गरेको बयान ।

१८.  गोविन्दको हातको गोलीबाट मरेको भन्ने कोही र बैजनाथको हातको गोलीबाट शास्त्रीबाबा मरेको भन्ने कोही भएको स.स.अ. मार्फत गरेको मिति ०३७।२।२५ को मुचुल्का ।

१९.  ०३६।१२।११ मा गोविन्दले मेरो खेतमा गहुँ कटाएकोले रोक्न जाँदा हामीलाई ईंटाले हाने, ईंटा नपुग्ने ठाउँमा पुग्दा गोविन्द समेत ४ जनाले फायर गर्न थाले शास्त्रीबाबालाई गोविन्दले हानेको फायर लागी मृत्यु भएको हो म भन्दा लालमनले हानेको गोली मेरो भूँडीमा लाग्यो त्यतिकैमा प्रहरी आइपुगे लाश सुरक्षित राखी म बुटवल औषधि गराउन गएको हुँ भन्ने समेत व्यहोराको प्र.वैजनाथ दुवेले ०३७।८।३ मा अदालतमा गरेको बयान ।

२०.  दुवै पक्षबाट गोली चलेकोले कस्को गोली लाग्यो म भन्न सक्तिन । मैले प्रहरीमा पनि यस्तै व्यहोरा लेखाएको छु । स.स.अ. को राय बमोजिम मलाई सजायँ हुनु पर्ने होइन भन्ने समेत प्र.रामजस यादवले मिति ०३७।८।५ मा अदालतमा गरेको बयान ।

२१.  बैजनाथ दुवेले शास्त्रीबाबालाई मारे भन्ने सुनेको, म वारदात स्थलमा थिइन । मैले वारदात गरे गराएको समेत होइन भन्ने समेत प्र.मुरलीधर उपाध्यायले र प्र.गौरीशंकर कुर्मी, प्र.ठागे अहिर प्र.राजेन्द्र दुवे, प्र.वैजनाथ दुवे, प्र.भोला यादवले मिति ०३७।८।५ मा अदालतमा गरेको बयान ।

२२.  ०३६।१२।११ गते गोविन्दको खेतमा मजदुरी गर्न गएको थिएँ, त्यसै बखत वैजु दुवेको हुल भाला, फर्सा, बन्दुक हातमा लिई आए दुवै पक्षको झगडा भयो । बैजु दुवेको तर्फबाट चलाएको फायर शास्त्रीबाबालाई लाग्यो तर कसको हातको गोली लाग्न गएको हो यकीन थाहा पाउन सकिन । गोली चलेपछि म भागेको हुँ भन्ने समेत प्र.ढाडे अहिरले मिति ०३७।८।५ मा अदालतमा गरेको बयान ।

२३.  ०३६।१२।११ गते गोविन्दकोमा मजदुरी गर्न गएको सोही अवस्थामा वैजुको तर्फबाट बन्दुक, लठ्ठी, फर्सा बोकेका मानिस आएको देखी गोविन्दतर्फकाले इँटा प्रहार गरे, सोही अवस्थामा वैजुले गोविन्दलाई हानेको गोली शास्त्रीबाबालाई लाग्यो । त्यसपछि म भागी गएको हुँ भन्ने समेत व्यहोराको प्र.भारत हरिजनले ०३७।८।६ मा अदालतमा गरेको बयान ।

२४.  ०३६।१२।११ मा म घट्ना स्थलमा थिइँन । गोविन्द समेतका गोलीले शास्त्रीबाबालाई लागी मरेको र मेरो बुबा वैजनाथ दुवे पनि घाइते भई बुटवल अस्पतालमा छन् भन्ने सुनेर बुटवल गएको हुँ । वारदात स्थलमा बन्दुक लिई गएको होइन भन्ने समेत प्र.आध्यप्रसाद दुवे, प्र.विध्याचल दुवे, प्र.देवीप्रसाद दुवेले अदालतमा गरेको बयान ।

२५.  गोविन्दले चलाएको गोली शास्त्रीबाबालाई लाग्यो वैद्यनाथ भाग्न लाग्दा लालमनले चलाएका गोली वैजनाथ दुवेलाई लाग्यो । मैले सो घटनामा केही गरेको गराएको छैन भन्ने समेत व्यहोराको प्र.चुलाई अहिर, प्र.वैशराज सुकुल, चुनमुन दुवे, प्र.रामकान्त दुवे, प्र.लालचन अहिर, प्र.मारकण्डे दुवे, प्र.संसुल मुसलमान, प्र.रामकान्त पाण्डेले अदालतमा गरेको बयान ।

२६.  यस्मा वादी प्रतिवादीका साक्षीले पृथक पृथक गरी बकेको बकपत्र मिसिल सामेल रहेको ।

२७.  शास्त्रीबाबालाई प्रहार गरी निजको ज्यानै लिनु पर्नेसम्मको इवी मनसाय नभई संयोगवस दुवैतर्फबाट प्रहार गरेको गोली भवितव्यबाट मात्र लाग्न गई शास्त्रीबाबाको मृत्यु भएको देखिन आएकोले सहप्रतिवादी (जाहेरवाला मैनहिया बस्ने) वैजनाथ दुवे र गोविन्दप्रसाद उपाध्यायले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा ६(२) को कसूर गरेको ठहर्छ र अन्य प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रुपन्देही जिल्ला अदालतको मिति ०३९।४।२७ को फैसला ।

२८.  रुपन्देही जिल्ला अदालतको फैसलामा चित्त बुझेन भनी वादी प्रतिवादी दुवै थरको प.क्षे.अ.मा पुनरावेदन परेकोमा शुरु जिल्ला अदालतले गरेको फैसला मनासिब ठहर्‍याई प.क्षे.अ.बाट मिति ०४१।८।११।२ मा फैसला भएको रहेछ ।

२९.  प.क्षे.अ.को फैसलामा चित्त बुझेन भनी वादी प्रतिवादी दुवै थरको छुट्टाछुट्टै पुनरावेदन परी नियम बमोजम पेश हुन आएको रहेछ ।

३०.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी गोविन्दप्रसाद उपाध्यायको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मेरो पक्षसंग घटना हुँदाको अवस्थामा कुनै हातहतियार नभएको, हतियार साथमा थियो भन्ने कुरा कतैबाट प्रमाणित समेत नभएको र साक्षीहरूको बकपत्र समेतबाट मेरो पक्ष निर्विवाद रुपमा निर्दोष देखिँदा देखिँदै पनि भवितव्यमा सजायँ गरेको इन्साफमा प्रमाण ऐन, २०३१ को दफा २५ को प्रत्यक्ष त्रुटि हुन गएको छ यसर्थ निर्विवाद, र शंकारहित सबूद प्रमाणको अभावमा मेरो पक्षले सफाई पाउन पर्छ भन्ने समेतको र पुनरावेदक प्रतिवादी वैजनाथ दुवेको तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मृतक शास्त्रीबाबा मेरो पक्षको घरमा पूजा गर्ने व्यक्ति हुनु हुन्थ्यो । आफ्नो पुजारीलाई गोली हान्नु पर्ने कुनै प्रयोजन नै छैन । मेरा पक्ष उपर ज्यानसम्बन्धी महलको १७(१) को दावी लिइएको उक्त १७(१) को अभियोग लगाउन मुख्य ज्यानमारासंग मतलवमा पसेको हुनु पर्ने अनिवार्यता देखिन्छ । साथै मुख्य अभियुक्त मानी ज्या.सं. महलको १३ नं. को सजायँको माग दावी लिएको व्यक्तिलाई नै भवितव्यमा सजायँ गरेपछि मेरो पक्षले १७(१) को कसूर गरेको भन्ने कुरा नै निरर्थक हुन गएको छ र स्वयं मेरो पक्ष गोलीको प्रहारबाट घाइते समेत भएको मिसिल संलग्न सबूद प्रमाणबाट देखिँदा देखिँदै भवितव्यमा कैद र जरिवाना गर्न कुनै हालतमा पनि मिल्ने होइन मेरो पक्षले शंकारहित सबूद प्रमाणको अभावमा सफाई पाउनु पर्छ भन्ने समेत र पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले वैजनाथ र गोविन्दको बीचमा जग्गा र गहुँ बालीको सम्बन्धमा रिसइवी भई गोली हानाहान भएको भन्ने कुरा मिसिल संलग्न कागजातहरूबाट देखिएकोले प्रस्तुत वारदातलाई भवितव्यको परिभाषा भित्रको मान्न मिल्ने देखिँदैन । तसर्थ प्रतिवादीहरूलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै सजायँ हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।

३१.  अब प.क्षे.अ.बाट भए गरेको फैसला मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

३२.  निर्णयतर्फ विचार गर्दा प्र.गोविन्दप्रसाद र प्र.वैजनाथ दुवेको बीचमा मुठभेड हुँदा मृतक शास्त्रीबाबा गोलीको शिकार हुन पुगेकोमा विवाद देखिँदैन । दुई पक्षको बीचमा मुठभेड भएको भन्ने कुरा वैजनाथलाई लागेको गोली र गोविन्दप्रसादलाई लागेको चोटबाट समेत पुष्टि हुन आउँछ । यस बारेमा दुवै पक्षबाट विवाद उठाएको पनि पाइँदैन । मृतक शास्त्रीबाबा कस्को गोलीको प्रहारबाट मरेका हुन् भन्ने कुरामा मात्र विवाद देखिन आयो । दुवै पक्षका मृतकलाई मार्नु पर्ने सम्मको कारण, रिसइवी, मनसाय केही पनि मिसिल संलग्न प्रमाणहरूबाट देखिन आउँदैन । मृतक शास्त्रीबाबा प्र.गोविन्द र प्र.वैजनाथको बीचमा मुठभेड भइरहेको अवस्थामा दुवै पक्षलाई झगडा नगर्नु भनी सम्झाउँदै गरेको अवस्थामा अकस्मात दुवै पक्ष मध्ये कसैले प्रहार गरेको गोली लाग्नलाई मृत्यु अवस्थामा पुगेको भन्ने कुरा देखिन आयो । कुन पक्षले हानेको गोलीबाट शास्त्रीबाबाको मृत्यु भएको हो भन्ने कुरा मिसिल प्रमाणबाट यकीन रुपमा खुल्न आएको छैन । शुरु प्रहरी प्रतिवेदनमा पनि यो पक्षले प्रहार गरेको गोलीबाट नै शास्त्रीबाबाको मृत्यु हुन गएको भनी किटानी साथ प्रमाण सहित उल्लेख  गर्न सकेको देखिँदैन । यस अवस्थामा प्र.गोविन्दप्रसादले फायर गरेको गोलीबाट नै मृतक शास्त्रीबाबाको मृत्यु भएको हुनु पर्छ भन्ने वादी दावीलाई आधार मानी अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं.को १३।१४,१७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन आएन । दुवै पक्षबाट निर्दोष मानिएका शास्त्रीबाबाको मृत्यु गोलीको प्रहारबाट भएको देखिएको र कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै शास्त्रीबाबाको मृत्यु भएको कुरा मान्नु पर्ने अवस्था देखिन आएकोले प.क्षे.अ.ले भवितव्यमा ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब नै देखिन्छ तर पुनरावेदक प्रतिवादी वैजनाथको हकमा प्रहरी प्रतिवेदनमा नै ज्यानसम्बन्धीको १७(१) को दावी लिइएको देखियो । उक्त ऐनको अवलोकन गर्दा ज्यान मार्नमा मतलवमा पसेको व्यक्तिलाई सजायँ गर्ने व्यवस्था उल्लेख भएको देखिन आयो । निज वैजनाथ उक्त शास्त्रीबाबालाई मार्ने कुरामा मतलवमा पसेको भन्ने कुरा कहींबाट पनि देखिँदैन । मुख्य ज्यानमारा भनी प्रहरी प्रतिवेदनमा अभियोग लगाइएको व्यक्तिलाई नै भवितव्यमा सजायँ गर्ने भएपछि १७(१) को दावी प्र.वैजनाथलाई लगाउन सकिने अवस्था नै विद्यमान नहुँदा र प्र.बैजनाथ आफैं गोलीको प्रहारबाट घाइते समेत भएको मिसिल संलग्न कागजातबाट देखिएको हुँदा निजलाई भवितव्यमा सजायँ गर्नु न्यायसंगत नहुने हुँदा निजले अभियोगबाट सफाई पाउने ठहर्छ । प.क्षे.अ.ले प्र.वैजनाथलाई ज्या.सं. को ६(२) बमोजिम सजायँ गर्ने गरेकोसम्म प.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ र प्र.गोविन्दको हकमा ज्या.सं.को ६(२) बमोजिम सजायँ गर्ने गरेको प.क्षे.अ.को इन्साफ मनासिब नै ठहर्छ माथि उल्लेखित आधार प्रमाणहरूबाट वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन अरु तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

                            तपसील         

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.वैजनाथले अभियोगबाट सफाई पाउने ठहरेकोले प.क्षे.अ.बाट ज्या.सं. को ६(२) बमोजिम सजायँ गर्ने गरेको लगत कट्टा गरी दिनु भनी का.जि.अ.त.मा लगत दिनु.......१ प्र.गोविन्दको पुनरावेदन जिकिर पुग्न नसकेको हुँदा पुरावेदन गरे वापत अ.बं. २०३ नं. बमोजिम शुरु सजायँ कैदवर्ष २ र जरिवाना रु. ५००।को ५ (पाँच) प्रतिशतले हुने कैदवर्ष ।१।७ र जरिवाना रु. २५ थप सजायँको लगत कसी कानून बमोजिम असूल उपर गर्नु भनी शुरु रुपन्देही जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु........२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४३ साल माघ २८ गते रोज ४ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु