निर्णय नं. ३०१० - उत्प्रेषण

निर्णय नं. ३०१० ने.का.प. २०४४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको रिट नम्बर २५३३
विषय : उत्प्रेषण
रिट/निवेदक: जि. सप्तरी पलौनिया गा.पं. वार्ड नं. ६ मौजे लैनिया बस्ने असर्फी खंग खत्वे।
विरुद्ध
विपक्षी : ऐ. ऐ. बस्ने भागवत खंग खत्वे।
भूमि सुधार अधिकारी भू.सु.का सप्तरी ।
आदेश भएको मिति : २०४४।१।२५।६ मा
२ जना भलादमी मात्र राखी तामेल भएको अ.बं. ११० नं. ले अनिवार्य गरे बमोजिम पञ्च सदस्य वा सम्बन्धित वडाको गा.स.स. वा सचिव साक्षी रहेको देखिन नआएकोले रीतपूर्वक तामेल भएको भनी भन्न कानूनले नमिल्ने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेश्वरप्रसाद सिंह
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
उल्लेखित मुद्दाःX
आदेश
न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ ।
२. जि. सप्तरी गा.पं. लौनिया वार्ड नं. ६ को कि.नं. १५९ को जग्गा विगहा १–१३–३ विपक्षी भागवत खंग खत्वेको थियो र त्यसको मोही भई मोहियानीमा जोती आएको थिएँ । मोहियानी हकको प्रमाणपत्र पनि पाइसकेको छु । सो जग्गाको मोहियानी सम्बन्धमा यो जग्गाधनीसंग मुद्दा परी मैले जिती पाएको थिएँ । उक्त जग्गाको कुतबाली जग्गाधनीले बुझ्न आलटाल गर्दा मैले २०३९, २०४० तथा २०४१ मा स्थानीय पञ्चायत लौनियामा जम्मा गरी दिएको थिएँ । यसै बीच २०४१ सालको बाली मोही असर्फीले नदिएकोले बाली भराई मोहीबाट निष्काशन गरिपाउँ भनी विपक्षी जग्गाधनीले भू.सु.का. सप्तरीमा फिराद गर्नु भयो । सो सम्बन्धमा मैले कुनै म्याद पाइन मेरो परिवारका कुनै सदस्यलाई पनि बुझाएको तथा घर दैलोमा टाँस गरेको समेत छैन । असर्फी खंगलाई मोहीबाट निष्काशन गराइ दिएँ भनी जग्गाधनीले २०४३ साल आषाढमा गाउँ घरका मानिससँग कुरा गर्नु भएकोले थाहा पाई भू.सु.का. मा गई बुझ्दा कुरा साँचो रहेछ । भू.सु. अधिकारीबाट ०४३।२।२६ गते मलाई मोहीबाट निष्काशन हुने गरी फैसला भएको रहेछ । मैले उक्त फैसलाको नक्कल भू.सु.का.बाट २०४३।३।६ मा सारी लिँदा थाहा पाएको छु ।
३. यसरी भू.सु.का. बाट भएको निर्णयमा ०४२।२।२३ गतेको समाव्हान आफैंले बुझी थाम्ने थमाउने म्याद गुजारी प्रतिपादन नै नगरी बसेको भन्ने उल्लेख गरेकोमा यसरी म र मेरो परिवार कसैले नबुझेको र घर दैलोमा पनि टाँस नभएको साथै देवानी मुद्दामा इतलायनामा पठाउनु पर्नेमा समाव्हा जारी गरेको गैरकानूनी हुनुको साथै अ.बं. ११० नं. को विपरीत भएको छ। अर्कोतर्फ २०४० र २०४१ सालको कुतबाली मैले २०४१।१।१५ मा नै स्थानीय लौनिया गा.पं. मा बुझाई सकेकोलाई नबुझी मोही निष्काशन गर्ने गरेको (साविक पेज नं. २५७) भू.सु.का. मिति ०४३।२।२६ को सप्तरीको निर्णय गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४३।७।१३।५ को आदेशले प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार रहेछ ।
५. विपक्षी असर्फीले स्थानीय गा.पं. मा कुतबाली धरौट राख्नु भएको भए नियम अनुसार यस कार्यालय र जग्गाधनीलाई जानकारी हुनुपर्नेमा भएको छैन । भागवत खंग खत्वेको उजूरी परेपछि यी रिट निवेदकका नाउँमा नियमानुसार म्याद तामेल हुँदा सो म्यादभित्र उपस्थित भई प्रतिवाद समेत नगरी वादी दावी स्वीकार गरी बसेको र २०३९ सालमा यही विवादित जग्गाको कुतबाली नबुझाएकोमा सप्तरी जि.अ. बाट कुत बुझाउनु पर्ने गरी फैसला भएको प्रमाण मिसिलबाट देखिन्छ । यसरी यी रिट निवेदकले आफ्ना कर्तव्य प्रति कुनै ख्याल नगरी उदाशिन रही पटकपटक हेलचेक्राई गरी कुत बुझाउने मनसाय समेत नभएबाट यस्ता मोहीलाई कायम राख्दा अरु मोहीहरू समेतमा असर पर्ने जाने देखिँदा कि.नं. १५९ को जग्गाबाट विपक्षी मोहीलाई निष्काशन हुने ठहर्याएको यस कार्यालयको मिति ०४३।२।२६ को निर्णयमा कुनै कानूनी त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का. सप्तरीको लिखितजवाफ रहेछ ।
६. यो रिट निवेदकले मलाई कि.नं. १५९ को २०४१ सालको कुतबाली नबुझाएको हुँदा मोही निष्काशनमा मैले भू.सु.का. सप्तरीमा उजूरी गरेकोमा भू.सु.का. बाट जारी भएको म्याद यी रिट निवेदक आफैंले बुझी प्रतिवाद नै नगरी शुरु म्याद नै गुजारी बसेको हुँदा मोही निष्काशन गरिदिने गरी गरेको भू.सु.का. सप्तरीको निर्णयमा कुनै कानूनी त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने विपक्षी भागवत खंग खत्वेको लिखितजावफ रहेछ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री मिथिलेश्वरप्रसाद सिंहको र विपक्षी भू.सु.का. को तर्फबाट उपस्थित हुनु भएका सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस समेत सुनी माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन भन्नेतर्फ विचार गरिएमा प्रस्तुत निवेदनबाट निवेदकले खास गरी जग्गाधनी विपक्षीले आफू उपर बाली भराई मोही निष्काशन गरिपाउँ भनी भू.सु.का. सप्तरीमा निवेदन दिएकोबाट कारवाही भई मेरो नाममा रीतपूर्वक म्याद तामेल गर्नु बेगरै प्राकृतिक न्याय सिद्धान्त विपरीत मोहीबाट निष्काशन हुने ठहर्याएको हुँदा उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर गरिपाउँ भन्ने दावी लिएको देखिन्छ । विपक्षी भू.सु.का. तर्फबाट उपस्थित हुनु भएका विद्वान न्यायाधिवक्ताले यदि जिकिर बमोजिम निवेदकको नाममा बेरीतसंग म्याद तामेल भएको भए अ.बं. २०८ नं. अनुसार सोही व्यहोरा देखाई प्रतिउत्तर लिई गएमा भू.सु.का.ले व्यहोरा साँचो देखेमा कानून बमोजिम गर्ने नै भएकोले कानूनले प्रदत्त गरेको यो हक प्रचलनको लागि अन्य उपचारको व्यवस्था हुँदाहुँदै दिएको यो रिटनिवेदन खारेज हुनु पर्ने भन्ने फुल बेञ्चको नजीर समेत देखाई जिकिर लिएकोबाट अ.बं. २०८ नं. मा भएको व्यवस्था हेरिएमा सो व्यवस्थामा आफ्नो नाममा अ.बं. ११० नं. को रीत नपुर्याई म्याद तामेल गरेकोबाट आफूलाई म्याद तामेल भएको कुरा यकिन हुन नसकेमा सोही व्यहोरा देखाई सोही नम्बरमा तोकिएको म्यादभित्र प्रतिउत्तर लिई गएमा कारवाही हुने व्यवस्था भएको देखिन आउँछ । उक्त दफामा भएको व्यवस्थाबाट गएको म्याद पाउनु पर्ने मानिसको नाउँको म्याद अ.बं. ११० को रीत नपुर्याई निजलाई नै नबुझाएको अवस्थामा मात्र निजले कुरा थाहा नपाउने अवस्था पर्न जाने भएकोले सो म्याद तामेल भएकोले कानूनको यो व्यवस्था प्रस्तुत मुद्दामा जस्तो म्याद पाउने निवेदकलाई नै बुझाएको भन्ने कुरामा लाग्न सक्ने देखिन नआएकोले निवेदकको हनन् भएको भनेको सो कानूनी हक प्रचलन गरी पाउन कानूनमा यो दफा अन्तर्गत अन्य उपचार भएको भन्ने जिकिर मनासिब देखिन आएन । अब निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश जारी हुनु पर्ने नपर्ने के हो भन्नेतर्फ विचार गरेमा यदि लिखितजवाफमा जिकिर लिए बमोजिम निवेदकको नाउँको म्याद निवेदकलाई नै बुझाएको भएपनि अ.बं. ११० नं. मा भएको व्यवस्थाबाट सो व्यवस्थाले तोके बमोजिमका साक्षीहरू रहनु पर्ने अनिवार्य गरेको छ । यसैले निवेदकका नाउँमा तामेल भएको भनेको भू.सु.का. तर्फबाट विद्वान न्यायाधिवक्ताले बहसमा देखाएको मिसिलमा रहेको म्याद हेरिएमा सो म्याद २०४२।२।२३ को मिति जनाई यस बमोजिमको एकप्रति म्याद निज असर्फी खंग खत्वेले आफ्नो हातबाट बुझी लिएँ भनी सहिछाप गर्ने असर्फी खंग र हामी तपसीलका पञ्च भलादमीहरू भनी साक्षीमा रामदेव खंग, मुनिलाल खंग भन्ने २ जना भलाद्मी मात्र राखी तामेल भएको तर अ.बं. ११० नं. ले अनिवार्य गरे बमोजिम पञ्च सदस्य वा सम्बन्धित वडाको गा.स.स. वा सचिव साक्षी रहेको देखिन नआएकोले रीतपूर्वक तामेल भएको भनी भन्न कानूनले मिल्ने देखिन आएन । यस स्थितिमा यी निवेदकको नाममा अ.बं. ११० नं. बमोजिम रीत पुर्याई तामेल गर्नु बेगर निजले म्याद गुजारी बसेको भनी आधार लिई निज उपर लिएको दावीको कुरामा प्रतिरक्षा गर्न मौका नै नदिई गरेको भू.सु.का. सप्तरीको मिति २०४३।२।२६ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको देखिन आएकोले निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । निजको नाममा कानून बमोजिमको म्याद तामेल गरी पुनः कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी भू.सु.का. सप्तरीको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षीको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४४ साल बैशाख २५ गते रोज ६ शुभम् ।