निर्णय नं. ३०१५ - अंशनाता कायम

निर्णय नं. ३०१५ ने.का.प. २०४४ अङ्क ३
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे. पूर्णइजलास नं. ७३
मुद्दा : अंशनाता कायम
निवेदक/प्रतिवादी: बुटवल नगरपञ्चायत वडा नं. ६ खस्यौली बस्ने कृष्णकुमारी श्रेष्ठ (क्षेत्रीनी)
विरुद्ध
विपक्षी/वादी : जिल्ला रुपन्देही बुटवल नगरपञ्चायत वडा नं. ६ खस्यौली बस्ने कृष्णदेवी क्षेत्रीनी।
ऐ.ऐ बस्ने जीवन राम क्षेत्री।
ऐ.ऐ बस्ने बल्लीराम क्षेत्री।
ऐ.ऐ बस्ने घन्नुराम क्षेत्री।
ऐ.ऐ बस्ने साधुराम क्षेत्री।
फैसला भएको मिति : २०४४।३।२५।५ मा
प्रतिवादीले जग्गा राजीनामा गरी बिक्री गर्दा वादी एकाघरको लोग्ने भनी साक्षी बसेको पाइन्छ, यस स्थितिमा वादीहरू र प्रतिवादीका बीच अंशबण्डा भएको भन्ने पनि देखिन आएन । अंशबण्डा गर्ने गरेको सम्पत्ति सगोलको भन्ने वादीहरू र मेरो निजी आर्जनको सम्पत्ति अंश लाग्ने होइन भन्ने प्रतिवादीको जिकिरतर्फ सो सम्पत्ति प्रतिवादीले आर्जन गरेको भए पनि सगोल रहेको अवस्था आर्जन गरेको देखिन्छ, अंशबण्डाको १८ नं. संशोधन हुनु अगावै आर्जन भएको हुँदा सोही आर्जन भए पनि बण्डा गर्नु पर्ने ।
(प्रकरण नं. १५)
निवेदिका, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालतको निर्णय दोहोर्याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।३।२५।३ मा लेखी आएअनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. म साधुरामकी जेठी श्रीमती कृष्णदेवीतर्फ जीवनराम समेतको ३ छोरा भएको र रोजगार निमित्त नेपाल वीरगंज आई व्यापार गरी बस्दा २००७ सालमा विपक्षी कृष्णकुमारीलाई स्वास्नी तुल्याई २०१० सालमा बुटवलमा आई म अनागरिक हुँदा सुकुम्बासी जग्गा कृष्णकुमारीका नाम भई दर्ता गरी सगोल सम्पत्तिबाट घर समेत बनाई अरु घडेरी समेत खरीद गरी सगोलमा नै बसी आएकोमा कृष्णकुमारीले घर घडेरी बिक्री गरी हिनामिना गर्ने उद्देश्य लिएकोले अंशबण्डा गरी आफ्नो हिस्सा जे इच्छा लाग्छ गर भन्दा अंश गर्न इन्कार गरेकोले नालेश गरेको छौं । निजबाट अंशको फाँटवारी समेत लिई ६ अंश भाग लगाई १ भाग विपक्षीको छुट्याई ५ भाग हामीलाई दिलाई पाउँ भन्ने साधुराम समेतको फिरादपत्र ।
३. मेरो विवाह काठमाडौंमा भएकोमा लोग्नेसँग समेत भई माइतीबाट दिएको दाइजो सम्पत्ति लिई बुटवलमा आई व्यापार गरी बसेको र २०११ सालमा विपक्षी साधुरामसंग लोग्ने तुल्याई बसेकोमा पेवा आर्जित सम्पत्तिमा लुब्ध भई बिक्री गरी भारत लैजाने विचारमा मैले इन्कार गरेकी हुँदा असन्तुष्ट भई भारतमा गई बसेका र २०१६ सालमा आगोले पोली अपांग भई मेरै आर्जित सम्पत्तिमा नातीनी सानु श्रेष्ठको सहारामा बसेकी छु । वादी लेख अनुसार जीवनराम समेत वादीका छोरा होइनन् । मुख्य मालिक साधुराम हुँदा निजबाट मैले अंश पाउने हुँदा आफ्नो दाइजो पेवाबाट आर्जित सम्पत्ति आफूखुस गर्न पाउने हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने कृष्णकुमारीको प्रतिउत्तरपत्र ।
४. म साधुरामको २ श्रीमती मध्ये जेठी कृष्णदेवीतर्फ जेठा जीवनराम, बलिराम, धन्नुराम हुन कान्छी विपक्षी कृष्णकुमारीतर्फ छोरा छोरी नहुँदा जीवनराम समेत छोरा सौता नाता कायम गरी दावी बमोजिम अंश दिलाइ पाउँ भन्ने समेत वा.स. साधुरामले गरेको बयान ।
५. जीवनराम समेत वादी साधुरामको छोरा होइन, निज साधुरामको जेठी स्वास्नी भए नभएको मलाई थाहा नहुँदा छोरा सौता नाता कायम हुनु पर्ने होइन भन्ने समेत प्र.कृष्णकुमारीको बयान ।
६. बुझिएका साक्षी समेतबाट वादी साधुरामको जेठी श्रीमती र छोरा जीवनराम समेत छोरा सौता नाता कायम भएको देखिन आएकोले दावी बमोजिम ६ भाग मध्ये ५ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको फैसला ।
७. रुपन्देही जिल्ला अदालतले वादीहरू छोरा सौता नाता कायम हुने र दावी बमोजिम ६ बण्डाको ५ बण्डा अंश वादीहरूले पाउने ठहर्याएको इन्साफमा चित्त बुझेन । मेरो दाइजो समेतबाट आर्जित निजी सम्पत्ति हुँदा उक्त फैसला बदर गरी निजी आर्जित सम्पत्ति ठहर्याई पाउँ भन्ने समेत कृष्णकुमारीको पुनरावेदनपत्र ।
८. मिति २०१५।३।८ मा भैरहवा खस्यौली विटौरी बृद्धिबाट सुकुम्बासीको हैसियतबाट कि.नं. २६ को विगहा १ कठ्ठा १२ धुर जग्गा प्रतिवादी कृष्णकुमारीले स्वतन्त्र रुपबाट प्राप्त गरेको देखिन्छ । यी कुराको बाबजूद २०१८ सालमा दाइजो पेवाको सम्पत्तिबाट सानो खुद्रा व्यापार गरी निजी आर्जनबाट २०१८ सालमा बुटवल नगरपञ्चायत अन्तर्गत कि.नं. १८५ को घर जग्गा पनि लालबहादुरबाट खरीद गरेको जग्गाको राजीनामा लिखतको प्रतिलिपि व्यहोरा हेर्दा उक्त जग्गा सगोलको सम्पत्तिबाट किनिएको भन्ने कुरा कतै खुल्न नआएको हुँदा मैले स्वतन्त्र रुपमा आफ्नै आर्जनबाट कमाएको सम्पत्ति हो भन्ने यी कृष्णकुमारीको जिकिर पुष्टि हुन आउनुको साथै लेनदेन व्यवहारको १० नं. ले पनि त्यस्तो निजी आर्जनको सम्पत्तिमा आफूखुस गर्न पाउने व्यवस्था भएको देखिन आएको कारण समेतबाट पुनरावेदक प्रतिवादी कृष्णकुमारीको निजी आर्जनको अंश भाग चलाउने घर घडेरी अचल सम्पत्तिलाई वादी दावी बमोजिम ६ भागको ५ भाग प्र. बाट वादीहरूले अंश भाग पाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. लोग्नेले स्वास्नी उपर अंशमा दावी गर्न नपाउने भन्न मिलेन निजी आर्जनको सम्पत्ति हो भन्ने कुरा विपक्षीले पुष्टि गर्न सकेको छैन । अंश बण्डाको १८ नं. २०३४ सालमा संशोधन भएको कुरालाई क्षे.अ.ले समेत स्वीकार गरेको छ । अतः उक्त क्षे.अ.को फैसलामा अंशबण्डाको १, २, १८ र प्रमाण ऐन, २०३१ को दफा ६ समेतको त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत कृष्णदेवी क्षेत्रीनी समेतको निवेदनपत्र ।
१०. वादी सगोलको होइन मेरो दाइजो पेवा र सो बाट बढे बढाएको सम्पत्ति हो भन्ने प्रतिवादी कृष्णकुमारी भनाई भएकोमा सो प्रमाणित गर्ने भार निजको भएकोमा सो प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा प्रतिवादी कृष्णकुमारीको सम्पत्ति दाइजो पेवा र सो बाट बढे बढाएको सम्पत्ति भनी बण्डा नहुने ठहर्याएको प.क्षे.अ.को निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ६ र अंश बण्डाको १, २ र १८ नं. समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको आदेश ।
११. दाइजो पेवाको भन्ने प्रमाणित हुन आएको देखिँदैन । लोग्ने स्वास्नी बीच अंशबण्डा भएको वा मानो छुट्टिएको समेत देखिँदैन । एकासगोलको अंशियार मध्ये जुनसुकैको नाममा रहेको सम्पत्ति सगोलकै सम्पत्ति मान्नु पर्ने हुन्छ । प्रतिवादीका साक्षीहरूले सगोलको सम्पत्ति हो भनी बकपत्र गरी दिएको मिति २०३०।१२।५ मा जग्गा राजीनामा गर्दा साधुराम साक्षी बसेको समेत देखिँदा वादी कृष्णदेवी क्षेत्रीनी समेतले दावी बमोजिम अंश पाउने ठहर्याई जिल्ला अदालतले गरेको फैसला सदर ठहर्छ । वादी दावी नपुग्ने ठहर्याई क्षे.अ.ले गरेको इन्साफ गल्ती ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।९।१३ को फैसला ।
१२. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा अंश नाता कायम मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आएकोले लगतमा दर्ता गरी पेश गर्नु भन्ने समेत सम्माननीय प्रधान न्यायाधीशको मिति २०४२।४।२१ को आदेश ।
१३. निवेदिका प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले वादीहरू साधुरामको छोरा स्वास्नी हो भनी प्रतिवादीले भनेको छैन । प्रतिवादीका सौता छोरा हो भन्ने आधारयुक्त प्रमाण बेगर नाता कायम हुन सक्दैन । प्रतिवादीले जग्गा सुकुम्बासी हैसियतले प्राप्त गरेको जग्गा हो । वादीहरूलाई अंश दिनु पर्ने जग्गा होइन । प्रतिवादीको निजी आर्जनको हुँदा अंश लाग्ने होइन । तसर्थ प्रतिवादीबाट वादीहरूलाई नाता कायम गरी अंश दिलाउने गरेको शुरुको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको छैन बदर हुनु पर्दछ भन्ने र विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले वादी साधुरामलाई लोग्ने भनी प्रतिउत्तरपत्रमा स्वीकार गरेको छ । अरु वादीहरू प्रतिवादीका सौता तथा सौतेनी छोरा होइन भन्ने कुराको कुनै प्रमाण दिन सकेको छैन । वादीहरूसँग अंश भएको वा मानो छुट्टिएको कुनै प्रमाण पेश गर्न सकेको पनि छैन प्रतिवादीका नाममा रहेको सम्पत्ति सबैको अंश लाग्ने सम्पत्ति हो । तसर्थ सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१४. आर्ज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यसमा निर्णयतर्फ हेर्दा वादी मध्येका साधुरामसंग लोग्ने तुल्याई वैवाहिक सम्बन्ध कायम गरेकी छु भनी निवेदिका प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा स्वीकार गरेको हुँदा वादी साधुराम र प्रतिवादी कृष्णकुमारी लोग्ने स्वास्नी भन्ने कुरामा विवाद देखिएन । साधुरामको जेठी श्रीमती म कृष्णदेवी र निजतर्फ छोरा जीवनराम, बल्लीराम र धनुराम भएको हामी सगोलमा छौं अंश पाउँ भन्ने वादीहरूको दावी देखिन्छ । छोरा भनिएका जीवनराम धनुराम वादी साधुरामका छोरा होइनन् । साधुरामको जेठी स्वास्नी अनेपाली भारत निवासी भारतीय नागरिक मैले नदेखेको नचिनेको हुँदा वादी कृष्णदेवी नै हुन् वा अरु को हुन् हाल छुटयाउन असमर्थ छु । मेरै आर्जनको घर सम्पत्तिमा बसेको छु । अंशबण्डाको १८ नं. अनुसार निजी ठहरी अंश दिनु पर्ने होइन भन्ने प्रतिवाद परेको पाइन्छ । नाता कायमतर्फ प्रतिवादीको वा.सानु श्रेष्ठले बयान गर्दा साधुरामको जेठी स्वास्नी भए नभएको थाहा छैन । कृष्णदेवी सौता होइनन् त्यसो हुँदा वादी मध्ये जीवनराम, वलीराम, धन्नुराम र कृष्णदेवी सौता र सौतेनी छोरा नाता कायम हुनु पर्ने होइन भनेको देखिन्छ। यसबाट वादी कृष्णदेवी जीवनराम, बलिराम, साधुरामलाई अंशियार होइन भनी इन्कार गरेको पाइन्छ । बुझिएका वादीका साक्षी टेकबहादुर कालो साह, भीमलाल भट्टचन, केशव श्रेष्ठ र सोविलाल विश्वकर्माहरूले साधुरामकी जेठी श्रीमती कृष्णदेवी हुन् निजतर्फको छोरा जीवनराम, धनुराम, बलीराम हुन उनीहरूको कमाईबाट बुटवलमा घर बनाएको हो । अंश भएको छैन, भनी किटानी बकपत्र गरेको देखिन्छ । यसबाट वादीहरू प्रतिवादीको साधुराम लोग्ने कृष्णदेवी सौता र अरु जीवनराम समेत सौतेनी छोरा नाता र अंशबण्डा नभएको भन्ने देखिन्छ । प्रतिवादीका साक्षीहरू टीकाबहादुर गुरुङले साधुराम र कृष्णकुमारी लोग्ने स्वास्नी भई बसेका थिएँ । साधुरामको सम्पत्ति भए कृष्णकुमारीलाई अंश दिनु पर्छ कृष्णदेवी जीवनराम बलीराम धन्नुराम साधुरामका छोरा हुन् होइनन् म भन्न सक्दिन भनेकोछ । अर्को साक्षी मेवालाल अग्रहरी, मोतीप्रसाद पुन र कमलकुमारी समेतले साधुरामको कृष्णकुमारी बाहेक अरु स्वास्नी सन्तान छन् वा छैनन् म भन्न सक्दिन भनी बकपत्र गरेको पाइन्छ । निज वादीहरू साधुरामका जेठी श्रीमती र छोराहरू होइन भनी किटान गर्न सकेको छैन निज वादीहरू अंशियार होइनन् भन्ने कुराको तथ्ययुक्त कुनै आधार दिन सकेको पाइन्न । वादीहरू र प्रतिवादीहरू अंशियार भन्ने देखिन्छ । वादीहरू र प्रतिवादीका बीच अंशबण्डा भएको र मानु छुट्टिएको कुनै लिखत प्रमाण प्रतिवादीले दिन सकेको छैन । प्रतिवादीले मिति २०३०।१२।५ मा जग्गा राजीनामा गरी बिक्री गर्दा वादी साधुराम एकाघरको लोग्ने भनी साक्षी बसेको पाइन्छ । यस स्थितिमा वादीहरू र प्रतिवादीका बीच अंशबण्डा भएको भन्ने पनि देखिन आएन । अंशबण्डा गर्ने गरेको सम्पत्ति सगोलको भन्ने वादीहरू र मेरो निजी आर्जनको सम्पत्ति अंश लाग्ने होइन भन्ने प्रतिवादीको जिकिरतर्फ सो सम्पत्ति प्रतिवादीले आर्जन गरेको भए पनि सगोल रहेको अवस्था आर्जन गरेको देखिन्छ । अंशबण्डाको १८ नं. संशोधन हुनु अगावै आर्जन भएको हुँदा सोही आर्जन भए पनि बण्डा गर्नु पर्ने भयो । तसर्थ वादी कृष्णदेवी क्षेत्रीनी समेतले दावी बमोजिम अंश पाउने गरेको जिल्ला अदालतको फैसला सदर ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चले गरेको मिति २०४१।९।१३ को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी कृष्णकुमारीबाट वादी कृष्णदेवी समेतलाई सर्वोच्च अदालतको मिति २०४१।९।१३ को फैसला र मिति २०४१।१२।६ को लगत बमोजिम भराउने गरेको कोर्ट फी रु. १६६।– प्रतिवादी कृष्णकुमारीले मिति २०४२।६।१४ मा सर्वोच्च अदालत ल.नं. शाखा मार्फत का.जि.अ.त.मा धरौट राखेको देखिँदा सो धरौटी कोर्ट फीबाट भराई पाउँ भनी देहायका वादीहरूको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई बराबरका दरले भराई दिनु सो भराउने गरेको लगत कट्टा गरिदिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु.........१
साधुराम क्षेत्री १
कृष्णदेवी क्षेत्री १
जीवनराम क्षेत्री १
बल्लीराम क्षेत्री १
धन्नुराम क्षेत्री १
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.........................२
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.प्रचण्डराज अनिल
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४४ साल आषाढ २५ गते रोज ५ शुभम् ।