शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०१७ - नापी दर्ता बदर खिचोला मेटाई पाउँ

भाग: २९ साल: २०४४ महिना: असार अंक:

निर्णय नं. ३०१७     ने.का.प. २०४४ अङ्क ३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४१ सालको देवानी फुल बेञ्च नम्बर ९१

मुद्दा : नापी दर्ता बदर खिचोला मेटाई पाउँ

 

निवेदक      : श्री पशुपतिनाथ अमालकोटका मूलभट्ट रावल पद्मनाथ शास्त्री

विरुद्ध

विपक्षी :काठमाडौं नगर पञ्चायत वडा नं. १ नक्साल बस्ने गोपकुमारी थापा मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने बटुक शमशेर थापा।

      ऐ.को मु.स गर्ने पद्‌म कुमारी थापा।

      ऐ.को मु.स गर्ने रवि शमशेर थापा।

      ऐ.को मु.स गर्ने उपेन्द्र शमशेर थापा ।

      ऐ.को मु.स गर्ने समुद्र शमशेर थापा ।

      ऐ.को मु.स गर्ने झलक शमशेर थापा ।

      का.जि बौद्ध पञ्चायत वडा नं.६ महांकाल छायापाल बस्ने पद्‌म कुमारी मगनी।

फैसला भएको मिति : २०४४।३।११।५ मा

 

     श्री पशुपतिनाथको गुठी जग्गालाई साविक बमोजिम नै गुठी कायम गरिपाउँ भन्ने वादी दावीलाई पक्री श्री पशुपतिनाथ अमालकोटतर्फबाट इन्साफ जाँच गराउन तथा फुल बेञ्चबाट मुद्दा दोहर्‍याउन समेत कारवाही गरी ल्याएको समेत देखिएबाट श्री पशुपतिनाथको गुठी जग्गा सम्बन्धमा श्री पशुपतिनाथ अमालकोटलाई उनाउ पक्ष वा मुद्दाको कारवाही गराउन हक नभएको भन्न मिलेन ।

(प्रकरण नं. १६)

निवेदक तर्फबाटःX

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को निर्णय फैसला उपर फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी पाउँ भनी श्री पशुपतिनाथ मूल पूजारी रावल पद्मनाथ शास्त्री भट्टको श्री ५ महाराजाधिराज सरकारका जुनाफामा विन्तिपत्र परेकोमा फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुमको प्रमांगी बक्स भई आए बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    का.जि. बौद्ध पञ्चायत वडा नं. ६ को पशुपतिनाथ अमालकोट कचहरिको २०२३।१२।१७।५ को बहाली पुर्जी बमोजिम साविक रोपनी २ रहालको बड समेत रोपनी ५।।। को जग्गाको बहाली पाई गुठीको जग्गा हुँदा सालसालै बाली बुझाई भोगी आएको घर बनाउनको लागि बौद्ध पञ्चायत मार्फत नक्शा पास समेत पाएको विपक्षी गोपकुमारीले वेनिस्साको विर्ता भनी नापी नक्शा गरे गराएको हुँदा थाहा पाई पञ्चायतमा निवेदन दिंदा गुठी नै जनाई दिनु भनी पञ्चायतले लेखी पठाई कारवाही हुँदा हक छ्ट्याई ल्याउनु भनी २०२७।३।२ मा भू.प्र.का. काठमाडौंबाट आदेश भएकोले ३५ दिनभित्र फिराद गर्न आएको छु । हकै नपुग्ने विपक्षीले धर्मलोप गरी कि.नं. ११३ नं. मा नापी गरेको बदर गरी गुठी हक जनाई बहाली लिखत अनुसार चलन गर्न पाउने गरी हक जनाई पाउँ भन्ने समेत विष्णुराज पन्तको २०२७।४।५ को फिरादपत्र।

३.    भूमिप्रशान कार्यालयबाट निर्णय हुँदा अदालतमा जानु भन्ने उल्लेख छैन । हदम्याद कायम गर्न मात्रै उक्त कुरा वादीले उल्लेख गरेको हो । हदम्याद भित्रको फिराद नहुँदा खारेज हुन पर्दछ । ०२२ सालमा भएको नापी बदर गर्न ५ वर्षपछि आएर फिराद गरेको छ । २०२३।४।१६ को आदेशबाट मैले दर्ता गरेपछि सो मितिले जग्गा मिच्नेको १० नं. र जग्गा पजनीको १७ नं. समेतका म्यादभित्र बदर गराउनु पर्ने सो गर्न नसकेको समेत हुँदा फिराद खारेज हुन पर्दछ भन्ने समेत गोपकुमारीको प्रतिउत्तरपत्र ।

४.    भूमिप्रशासन कार्यालयबाट २०२७।३।२ मा पर्चा भएको नभई २०२६ पौषमा पर्चा गरेको देखिएको र २०२२।९।४ मा नापी भएको भन्ने फिल्डबुकबाट देखिएकोले नापी दर्ता गराएतर्फ ज.मि.को १८ नं. र  गुठीको १६ नं. को म्याद २ वर्षभित्र फिराद दायर भएको नदेखिँदा खारेज हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति २०२८।१०।११ को फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी विष्णुराज वैद्यको पुनरावेदन ।

६.    २०२२ सालमा सर्भे हुँदा कि.नं. ११३ मा जोताहा मोही लालबहादुर मगर किसानको व्यहोरामा प्रतिवादी गोपकुमारीको लोग्ने कुवेर शमशेर उल्लेख भएको देखियो । प्रतिवादी गोपकुमारीले दर्ता गरी तिरो तिरान गरेको रसीदबाट देखिन्छ । दर्ता उपर गुठी संस्थानको कुनै उजूरी नभई वादी मात्र आफ्नो हकमा आएको र वादी पनि म्याद नाघी फिराद गर्न आएकाले खारेज गर्ने गरेको शुरुको इन्साफ मनासिब ठहर्छ, भन्ने समेत बागमति अञ्चल अदालतको मिति २०३१।३।१४को फैसला ।

७.    १९९९ सालको सनद समेत र १८६७ सालको लालमोहरको अधिकारबाट बहाली दिएको कुरालाई ख्यालै नराखी सम्बन्धित अड्डालाई नबुझी म्यादभित्र फिराद नपरेको भनी फिराद खारेज गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरी बा.अं.अ. बाट फैसला भएको र सो फैसला उपर पुनरावेदन गर्न पाउने व्यवस्था नभएकोले जग्गा चलन गर्न नसक्ने भएको हुँदा बुझाएको कोदो मुरी १८ फिर्ता पाउँ भनी बहाली पाउने विष्णुराज वैद्यको निवेदन पर्न आएकोबाट मात्र यस कचहरीलाई जानकारी हुन आयो । तसर्थ श्री पशुपतिनाथ मातहत अमालकोट अधिनस्थ जग्गालाई लालमोहर र सनद समेतको अधिकारमा आघात पुर्‍याई गोपकुमारी थापाले रैकर परिणत गराएको लगत कट्टा गरी जग्गा चलन समेत चलाई दिनु भन्ने समेत सम्मानीत सर्वोच्च अदालतका नाममा हुकुम प्रमांगी गरिपाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा विशेष जाहेरी विभाग मार्फत पशुपति अमालकोटका मूल भट्ट रावल पदमराम शास्त्रीले २०३५।७।२७ मा चढाएको विन्तिपत्र ।

८.    यस्मा मिसिल झकाई इन्साफ जाँची कानून बमोजिम गरी छिनी नतिजा जाहेर गर्न निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छभन्ने समेत विशेष जाहेरी विभाग राजदरवारको मिति २०३६।५।४ को पत्र बमोजिम सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३६।७।३ को विविधमा दर्ता हुन आएको रहेछ ।

९.    यस्मा भूमिप्रशासन कार्यालयको २०२७।३।२ को पर्चामा अदालतमा गई आफ्नो हक छुट्याई ल्याउनु भनी वादी विष्णुराजलाई सुनाएको देखिन्छ । पर्चा भएको मितिले ३५ दिनभित्रै फिराद दायर भएकोमा म्याद नाघी परेको भनी खारेज गरेको मिलेन । छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाउनु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।३।१७ को आदेश ।

१०.    पशुपतिनाथ अमालकोट कचहरीको २०२३।१२।१७।५ को बहाली पुर्जी बमोजिम मैले पाएको जग्गा गोपकुमारीले वेनिस्साको विर्ता भनी कि.नं. ११३ मा नापी गराएको बदर गरिपाउँ भनी विष्णुराज बैद्यको फिराद परेकोमा २०२७।३।२ मा भूमिप्रशासनबाट पर्चा भएको भनी विष्णुराज बैद्यको फिराद परेको तर २०२६ साल पौषमा नै पर्चा भएको देखिएको र २०२२।९।२४मा नापी भएकोमा नापी दर्ता बदर तर्फ हदम्याद भित्र फिराद नपरेको हुँदा खारेज हुने ठहर्छ भनी का.जि.अ. बाट भएको फैसला बागमती अञ्चल अदालतबाट सदर गरेको देखिन्छ । निवेदक पशुपतिनाथ अमालकोटको नापी दर्ता बदरतर्फ कुनै उजूर परेको देखिँदैन । नापी दर्ता बदर मुद्दामा निवेदक पक्ष विपक्ष भएको देखिँदैन नापी दर्ता बदर तर्फ ऐनका म्याद २ वर्षभित्र फिराद दायर हुनु पर्नेमा सो म्याद नघाई उजूरी परेको देखिन्छ । निवेदकले चढाएको निवेदनमा हदम्याद थामी पाउँ भन्ने माग पनि नगरेको हु.प्र. बाट हदम्याद थामिएको समेत देखिन नआएको मुद्दामा पक्ष विपक्षी नभएको उनाउ  व्यक्तिको निवेदनमा इन्साफ जाँच गर्नु पर्ने अवस्था नदेखिँदा प्रस्तुत उजूरी खारेज हुने ठहर्छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को फैसला।

११.    सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को निर्णय फैसला उपर फुल बेञ्चबाट दोहर्‍याई हेरिपाउँ भनी श्री पशुपतिनाथका मूल पूजारी रावल पदमनाथ शास्त्री भट्टले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा यो विन्तिपत्र जाहेर हुँदा यस्मा व्यहोरा साँचो हो र श्री पशुपतिनाथ गुठीको जग्गा रैकरमा दर्ता भई गुठी लोप हुन जाने रहेछ भने हदम्याद गुज्रेको रहेछ भने गुज्रेको हदम्याद समेत थामी त्यस अदालतको डिभिजनबेञ्बाट छिनिएको विन्तिपत्रमा लेखिएको नापी बदर खिचोला मिटाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजधिराजका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको रहेछ ।

१२.   निवेदक वा.प्रेमप्रसाद पाण्डलेले वादी दावी कि.नं. ११३ को जग्गा पुशपतिनाथ गुठी जग्गा हो । विष्णुराज बैद्यको फिरादमा पनि गोपकुमारीका नाम दर्ता भएको बदर गरी गुठी कायम गरिपाउँ भन्ने छ । नापी भएको मितिले हदम्याद नाघी फिराद परेको भनी शुरु काठमाडौं जिल्ला अदालत तथा बागमती अञ्चल अदालतबाट फिराद खारेज हुने ठहरी निर्णय भएकोमा पशुपतिनाथका मूल पूजारी पदमनाथ शास्त्री भट्टको इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जूनाफमा विन्तिपत्र परी इन्साफ जाँचको लागि आएकोमा श्री पशुपतिनाथका मूल पुजारीलाई विवादित जग्गाको विषयमा उनाउ व्यक्ति मान्न मिल्दैन । सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय उपर मुद्दा दोहोर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारको जुनाफमा विन्तिपत्र परेकोमा हदम्याद समेत थामी दिनु भन्ने हुकुमा प्रमांगी भई आएको हुँदा श्री पशुपतिनाथ गुठीको जग्गा रैकरमा परिणत गरी विपक्षी गोपकुमारीले आफ्ना नाममा गराएको नापी दर्ता बदर गरी गुठी नै कायम हुने गरी इन्साफ हुनपर्छ भन्ने र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित कि.नं. ११३ को जग्गा २०२२।९।१४ मा गोपकुमारीका नाममा नापी भई दर्ता भएको हो । भूमिप्रशासन कार्यालयबाट हक छुट्याई ल्याउनु भनी २०२६ सालमा सुनाएको छ नापी दर्ता बदर तर्फ विष्णुराज वैद्यको फिराद परी फिराद खारेज भई बागमति अञ्चल अदालतबाट अन्तिम भएको श्री पशुपतिनाथ प्रस्तुत मुद्दामा पक्ष विपक्ष नै नभएको हुँदा श्रीपशुपतिनाथको तर्फबाट परेको निवेदनको आधारमा अब मुद्दा दोहोराई हेर्न मिल्ने स्थिति छैन । अतः उजूरी खारेज गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गुर्न भयो ।

१३.   यस्मा आज निर्णय सुनाउने तारिख तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा का.जि. बौद्ध गा.पं. अन्तर्गत चावेल वडा नं. ६ स्थित पूर्व माहांकाल जाने बाटो, पश्चिम गोपकुमारीको जग्गा, उत्तर रामप्रसादको जग्गा, दक्षिण गोपकुमारीको जग्गा यति चार किल्लाभित्रको श्री पशुपतिनाथ अमालकोट खान्गीको साविक २ रोपनी हाल नरबढी भई ५।।। रोपनी बाह्र आना जग्गा श्री पशुपति अमालकोट कचहरीको मिति २०२३।१२।१७ को बहाली पुर्जी अनुसार कमाई आएको कि.नं. ११३ को जग्गालाई बेनिस्साको विर्ता भनी विपक्षी गोपकुमारी थापाले नापीमा आफ्नो नाममा नपाई दर्ता गराएकोले सो दर्ता बदर गरी साविक बमोजिम गुठी जनाई खिचोला मेटाई पाउँ भन्ने विष्णुराज वैद्यको फिराद परेकोमा हक छुट्याई ल्याउनु भनी भूमिप्रशासन कार्यालय, काठमाडौंबाट २०२६ साल पौषमा पर्चा भएको देखिएको र २०२२।९।१४ मा जग्गा  सर्भे नापी भएको फिल्डबूकबाट देखिएकोले जग्गा दर्ता नापी गराएतर्फ ज.मि को १८ नं. गुठीको १६ नं. को म्याद २ वर्षभित्र फिराद दायर गरेको नदेखिएकोले यो मुद्दामा वादी दावी अुनसार म्यादभित्रको उजूरी नभएकाले इन्साफ दिन मनासिब नहुँदा अ.बं. १८ नं. बमोजिम खारेज हुने ठहर्छ भनी काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोलाई वादी विष्णुराज वैद्यको पुनरावेदन पर्दा बागमती अञ्चल अदालतबाट मिति २०३१।३।१४ मा शुरु फैसला सदर गरी निर्णय गरेकोमा इन्साफ जाँच गरिपाउँ भनी श्री पशुपतिनाथका मूल भट्ट रावल पदमनाथ शास्त्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र पर्दा यसमा विन्तिपत्र जाहेर हुँदा इन्साफ जाँची दिनु भन्ने हुकुमा प्रमांगी बक्स भई निर्णयार्थ सर्वोच्च अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा दावी जग्गा २०२२।९।१४ मा गोपकुमारी थापाका नाममा नापी दर्ता भएको र २०२६ साल पौषमा भूमिप्रशासन कार्यालयबाट हक छुटाई ल्याउनु भनी पर्चा भएकोमा सो मितिले २ वर्षभित्र उजूर गर्नु पर्ने नपरेको मुद्दामा पक्ष विपक्षी नभएको उनाउ व्यक्तिको निवेदनबाट अन्तिम रुपमा रहेको इन्साफ जाँच गर्नु पर्ने अवस्था देखिन आएन हुकुम प्रमंगीबाट हदम्याद थामिएको समेत देखिन नआएकाले उजूरी खारेज हुने ठहर्छ भनी मिति २०४०।८।१९ मा निर्णय भएको देखिन्छ ।

१४.   उक्त सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को निर्णय उपर गुज्रेको हदम्याद थामी फुल बेञ्चबाट मुद्दा दोहर्‍याई पाउँ भनी श्री पशुपतिनाथका मूलभट्ट रावल पदमनाथ शास्त्रीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो हो र श्री पशुपतिनाथ गुठीको जग्गा रैकरमा दर्ता भई गुठी लोप हुन जाने रहेछ भने हदम्याद गुज्रेको रहेछ भने, गुज्रेको हदम्याद समेत थामी त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको नापी बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छभनी मौसुफ सरकारका विशेष जाहेरी विभाग राजदरवारबाट मिति २०४१।१।१२।३ मा तोक लागी आए बमोजिम यस इजलासको लगतमा दर्ता भई पेश हुन आएको देखियो ।

१५.   प्रस्तुत मुद्दामा मूलतः हदम्याद नाघी दर्ता भएको फिराद हुँदा इन्साफ गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतबाट उजूरी नै खारेज हुने ठहरी फैसला भएको र सो फैसला बागमती अञ्चल अदालतबाट समेत बदर गरी फैसला भएको इन्साफ जाँचको लागि सर्वोच्च अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा हदम्याद भित्र उजूर नपरेका भन्ने तथा उनाउ व्यक्तिको निवेदनबाट इन्साफ जाँच गर्न मिलेन भन्दै उजूरी खारेज हुने ठहरी निर्णय भएको पाइन्छ ।

१६.    अब वादीको नापी दर्ता बदर खिचोलातर्फको फिराद हदम्याद नाघी दर्ता भएको हो कि भन्नालाई श्री पशुपतिनाथका मूल भट्ट पदमनाथ शास्त्रीको स.अ. डिभिजन बेञ्चको फैसला उपर गुज्रेको हदम्याद थामी दिई मुद्दा दोहोर्‍याई फुल बेञ्चबाट हेरी दिनु भन्ने हुकुमको प्रमांगी बक्स गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउँदा हदम्याद गुज्रेको रहेछ भने, गुज्रेको हदम्याद समेत थामी डिभिजन बेञ्चबाट छिनेको मुद्दा फुल बेञ्चबाट दोहोराई हेरी निर्णय गर्नु भन्ने हुकुमको प्रमांगी बक्स भई हदम्याद थामी आएको देखिएबाट प्रस्तुत मुद्दामा हदम्याद गुज्रेको भन्न मिल्ने अवस्था रहेन । मुद्दाको तथ्यभित्र प्रवेश गरी इन्साफ गर्नु पर्ने हुन आयो । जहाँसम्म मुद्दामा पक्ष विपक्षी नरहेको जनाउ व्यक्तिको निवेदनबाट इन्साफ जाँच गर्न नमिल्ने भनी डिभिजन बेञ्चको निर्णयाधारको प्रश्न छ त्यसतर्फ हेर्दा विवादित कि.नं. ११३ को जग्गा श्री पशुपतिनाथको गुठी जग्गा भएकोमा वेनिस्साको  विर्ता भनी गोपकुमारीले आफ्नो नाममा नापी गराई रैकरमा परिणत गरेकाले उक्त नापी दर्ता बदर गरी साविक बमोजिम गुठी नै कायम गरी खिचोला मेटाई पाउँ भन्ने विष्णुराज वैद्यको फिराद परेको र उक्त फिराद काठमाडौं जिल्ला अदालत तथा बागमती अञ्चल अदालत समेतबाट खारेज हुने ठहरी फैसला भएपछि श्री पशुपतिनाथको गुठी जग्गालाई साविक बमोजिम नै गुठी कायम गरिपाउँ भन्ने वादी दावीलाई पक्री श्री पशुपतिनाथ अमालकोट तर्फबाट इन्साफ जाँच गराउन तथा फुल बेञ्चबाट मुद्दा दोहोर्‍याउन समेत कारवाही गरी ल्याएको समेत देखिएबाट श्री पशुपतिनाथको गुठी जग्गा सम्बन्धमा श्री पशुपतिनाथ अमालकोटलाई उनाउ पक्ष वा मुद्दाको कारवाही गराउन हक नभएको भन्न मिलेन ।

१७.   उपर्युक्त उल्लेख भए बमोजिम प्रस्तुत मुद्दा हदम्याद नाघी दायर भएको भन्ने आधारमा शुरु तहदेखि खारेज हुँदै आएकोमा बक्स भई आएका हुकुम प्रमांगीबाट गुज्रेको हदम्याद समेत थामिएकोले प्रस्तुत मुद्दाको तथ्यभित्र प्रवेश गरी सबूद प्रमाणको मूल्यांकन गरी इन्साफ फैसला गर्नुपर्ने अवस्था देखिन आयो ।

१८.   अतः कानून बमोजिम इन्साफ फैसला नगरी उजूरी नै खारेज हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको मिति २०२८।१०।११ को फैसला तथा सो फैसला सदर गरेको बागमती अञ्चल अदालतको मिति २०३१।१।१४ को फैसला र सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को खारेजी फैसला समेत मिलेको नदेखिँदा बदर हुने ठहर्छ । अब परिरहेको फिरादबाट सबूद प्रमाणको मूल्यांकन गरी कानून बमोजिम इन्साफ फैसला गर्नु भनी मुद्दाका पक्षहरूलाई तारिख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. पृथ्वीबहादुर सिंह

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल आषाढ ११ गते रोज ५ शुभम्



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु