शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: असार अंक:

निर्णय नं. ३०२०     ने.का.प. २०४४ अङ्क ३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको रि.फु.नं. ३५

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

निवेदक      : का.न.पं. वडा नं.. २४ भिखाडो बस्ने जुजुभाइ स्थापित।

विरुद्ध

विपक्षी :३ नं. नापी गोश्वारा अन्तर्गत जग्गा नाप तौल जाँच ऐन, २०१९ को दफा ११(ख) बमोजिम गठित १ नं. नापी समिति।

आदेश भएको मिति: २०४४।३।२५।५ मा

 

     एकाका नाममा दर्ता भएको जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दा सम्बन्धित व्यक्तिलाई बुझी सबूद प्रमाण पेश गरी प्रतिवाद गर्ने मौका प्रदान गरी मात्र निर्णय गर्नु पर्ने ।

(प्रकरण नं. १२)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री बालकृष्ण श्रेष्ठ

विपक्षी तर्फबाटःX

उल्लेखित मुद्दाःX

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोलाः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।१२।२७ को निर्णय उपर उक्त मुद्दा फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदक जुजुभाइ स्थापितले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट मुद्दा दोहोर्‍याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    भूमिसुधार मन्त्रालय नापी विभाग ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीले जुजुभाइ स्थापित का.न.पं. वडा नं. २४ भिखाडोलाई तपाईका नाममा स्ववासी दर्ता भई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरी सक्नु भएको का.न.पं. वडा नं. २४ कि.नं. ५५९ को घर र जग्गा मध्ये मिति २०३९।३।२३ मा समितिको निर्णय अनुरुप घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो पेटीदेखि पश्चिमतर्फ बाँकी रहेको जग्गा सार्वजनिक कायम गरी क्षेत्रफल संशोधन गर्न परेको हुँदा यो पत्र लेखेको छ । यो पत्र पाएको वा टाँसेका मितिले ७ दिनभित्र आफूसंग भएको प्रमाण पूर्जा लिई यस नापी टोलीमा उपस्थित हुनु होला अन्यथा नापीलाई भएको नियम बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ भन्ने पत्र दिएको रहेछ ।

३.    यो जग्गा मेरो हकभोगको घर भत्की पाताला भएको स्ववासी जग्गा हो । अर्थात् लेखिए बमोजिमको जग्गा हो नाप जाँच ऐनको दफा ६ को (५) बमोजिम ७ दिने र २१ दिने सूचना प्रकाशित गर्दा पनि कसैको उजूर बाजूर नपरेकोबाट मेरो नाममा दर्ता हुन आएको जग्गा हो यसरी म्याद सबै नाघी सकेपछि मेरा नाममा दर्ता भई लालपूर्जा समेत प्राप्त गरिसकेको जग्गामा विपक्षी समितिले अवैध र अनाधिकार गैरकानूनी तरिकाबाट मेरो लेखिएको स्ववासी जग्गालाई केही जग्गा सार्वजनिक कायम गर्ने गरी निर्णय गरेको अवैध र गैरकानूनी हो आफूले हेर्न हुने बाहेक अरु मुद्दा हेर्नु हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने समेत अ.बं. ३५ नं. मा उल्लेख भएकोले समितिको अवैध र गैरकानूनी मिति २०३९।३।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ ।

४.    विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको सिंगलबेञ्चबाट मिति २०३९।३।३२ मा भएका आदेशानुसार प्राप्त लिखितजवाफमा कि.नं. ५५९ को जग्गा समेत सार्वजनिक देखिएकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ११(ख) अनुसार गठित समितिबाट उक्त कि.नं. ५५९ समेतको घरको पश्चिमतर्फको जग्गामा ३ फुट पेटी कायम गरी बाँकी जग्गा सार्वजनिक भई गर्न निर्णय गरेको अवैध अनाधिकार छैन रिटनिवेदन खारेज गरिपाउँभन्ने समेत व्यहोराको निमित्त प्रमुख नापी अधिकृतको लिखितजवाफ ।

५.    कि.नं. ५५९ को घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो पेटीदेखि पश्चिमतर्फ बाँकी रहेको जग्गा सार्वजनिक कायम गर्ने समितिको मिति २०३९।३।२३ को निर्णय अनुसार क्षेत्रफल संशोधन गर्न परेको हुँदा आफूसंग भएको प्रमाण पूर्जा लिई आउनु भनी ३ नं. नापी गोश्वारा अन्तर्गत १ नं. नापी टोलीबाट निवेदकलाई पत्र पठाएकोमा सो पत्र प्राप्त गरेपछि समितिमा उपस्थित भई आफ्नो भएको सबूद प्रमाण पेश गरी उक्त जग्गा आफ्नो नाममा दर्ता गराउन सक्नु पर्ने सो गरेको देखिएन । निवेदकलाई प्रतिकूल असर पर्ने कुनै निर्णय गरेको देखिन नआएकोले रिटनिवेदन खारेज हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।१२।२७ को निर्णय ।

६.    सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।१२।२७ को निर्णय उपर फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी जुजुभाइ स्थापितले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा मुद्दा  फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएको रहेछ ।

७.    रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बालकृष्ण श्रेष्ठले रिट निवेदकका नाममा दर्ता हकभोगको कि.नं. ५५९ को जग्गालाई निवेदकलाई सबूद प्रमाणको पेश गरी प्रतिवाद गर्ने सफाईको मौका नै प्रदान नगरी एकाएक विपक्षी ३ नं. नापी गोश्वारा अन्तर्गत गठित १ नं. नापी टोलीले सार्वजनिक कायम गर्ने गरेको मिति २०३९।३।२३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

८.    यसमा निर्णयतर्फ हेर्दा मेरो दर्ता हकभोगको का.न.पं. वडा नं. २४ कि.नं. ५५९ को घर र जग्गा मध्ये मलाई सबूद प्रमाण पेश गर्न प्रतिवाद गर्ने मौका नै नदिई विपक्षी १ नं. नापी टोली समितिबाट घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो देखि पश्चिमतर्फको जग्गा सार्वजनिक कायम गर्ने गरेको मिति २०३९।३।२३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।

९.    कि.नं. ५५९ को जग्गामा घरको पश्चिमतर्फ ३ फिट पेटी कायम गरी अरु बाँकी निवेदकको जग्गा नभई सार्वजनिक देखिएकोले सार्वजनिक कायम गरेको नापी टोली समितिको निर्णय कानून अनुरुप छ, भन्ने प्रत्यर्थी नापी टोलीको लिखितजवाफ देखिन्छ ।

१०.    विवादित कि.नं. ५५९ को जग्गा सार्वजनिक कायम गर्ने बारेको मिति २०३९।३।२३ को निर्णय सहितको मिसिल यस अदालतको मिति २०४२।४।२९ को आदेशानुसार पटकपटक पत्राचार गरी झिकाउँदा उक्त मिसिल खोजतलास गर्दा फेला पर्न नसकेको तथा ३ नं. नापी गोश्वाराको वडा नं. २४ को अकर्ण समेत हेर्दा उक्त मिसिल नदेखिएको भनी मालपोत कार्यालय काठमाडौंबाट मिति २०४३।६।९ को पत्रद्वारा जवाफ पठाएको देखिएको तर उक्त मिसिल प्राप्त हुन सकेको देखिएन ।

११.    मिसिल सामेल रहेको प्रत्यर्थी ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट रिट निवेदकलाई लेखेको मिति २०३९।४।३ को पत्र हेर्दा तपाइका नाममा स्ववासी दर्ता भई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरी सक्नु भएको का.न.पं. वडा नं. २४ कि.नं. ५५९ को घर र जग्गा मध्ये मिति २०३९।३।२३ को समितिको निर्णय अनुरुप घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो पेटीदेखि पश्चिमतर्फ बाँकी रहेको जग्गा सार्वजनिक कायम गरी क्षेत्रफल संशोधन गर्नु परेको हुँदा यो पत्र लेख्ने काम भएको छ । यो पत्र पाएको वा घर दैलामा टाँस भएको मितिले ७ दिनभित्र आफूसँग भएको प्रमाण पूर्जा लिई यस नापी टोलीमा उपस्थित हुनु होला अन्यथा नियम बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ भन्ने उल्लेख भएको पाइन्छ ।

१२.   उक्त पत्रको व्यहोराबाट निवेदक जुजुभाइ स्थापितका नाममा स्ववासीमा दर्ता भई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरेको का.न.पं. वडा नं. २४ को कि.नं. ५५९ को जग्गा मध्ये घरको पश्चिम पट्टि ३ फिट पेटी कायम गरी सो देखि पश्चिम बाँकी रहेको जग्गा सार्वजनिक कायम गर्ने गरी प्रत्यर्थी ३ नं. नापी टोली अन्तर्गत गठित १ नं. नापी टोलीबाट मिति २०३९।३।२३ मा निर्णय गरेको देखिन्छ । त्यसरी एकाका नाममा दर्ता भएको जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दा सम्बन्धित व्यक्तिलाई बुझी सबूद प्रमाण पेश गरी प्रतिवाद गर्ने मौका प्रदान गरी मात्र निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा प्रत्यर्थी नापी टोलीबाट रिट निवेदकलाई बुझी प्रतिवाद गर्ने मौका प्रदान गरी विवादित कि.नं. ५५९ को जग्गा सार्वजनिक कायम गर्ने निर्णय गरेको देखिँदैन ।

१३.   त्यसरी रिट निवेदकलाई बुझ्दै नबुझी सबूद प्रमाण पेश गरी प्रतिवाद गर्ने मौका प्रदान नै नगरी प्रत्यर्थी ३ नं. नापी गोश्वारा अन्तर्गत गठित १ नं. नापी टोली समितिबाट विवादित कि.नं. ५५९ को जग्गामा  घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो पेटीदेखि पश्चिमको बाँकी जग्गा सार्वजनिक कायम गर्ने गरेको २०३९।३।२३ को निर्णय कानून विपरीत भई त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । रिट निवेदकलाई बुझी कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीका नाममा परमादेशको आदेश समेत जारी गरिएको छ । यो निर्णयको प्रतिलिपि प्रत्यर्थी कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

                                                                                                                                      

न्या.प्रचण्डराज अनिल

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४४ साल आषाढ २५ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु