शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०२२ - लिखत बदर

भाग: २९ साल: २०४४ महिना: असार अंक:

निर्णय नं. ३०२२     ने.का.प. २०४४ अङ्क ३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको दे.पु.इ. नम्बर ७८

मुद्दा : लिखत बदर

 

निवेदिका/प्रतिवादी:का.जि.का.न.पं. वडा नं. २८ को परिवर्तित वडा नं. ३१ डिल्लीबजार धोविधारा बस्ने गंगादेवी सैंजू

विरुद्ध

विपक्षी/वादी:का.जि.फर्पिङ भीमसेनस्थान गाउँ पञ्चायत वडा नं. ३ परिवर्तित दक्षिणकाली गाउँ पञ्चायत वडा नं. ५ बस्ने तुल्सी श्रेष्ठ।

ऐ शेषनारायण गाउँ पञ्चायत वडा नं.२ को परिवर्तित दक्षिणकाली बस्ने सूर्यमान श्रेष्ठ।

फैसला भएको मिति: २०४४।३।३०।३ मा

 

     यस अदालतबाट विपक्षीको नाममा सूचना म्याद जाँदा साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी वतन लेखी सूचना म्याद तामेल हुन गएकोमा म्याद तामेल भई आउँदा तामेली व्यहोरामा पनि साविक वडा नं. २८ को हाल वडा नं. ३० नभएको साविक वडा नं. १७ र १८ को मात्र हाल वडा नं. ३० भएको भन्ने वडा समितिबाट बुझिएको वडा नं. ३० मा घरद्वार फेला नपरेको भनी जनिई तामेल भई आएको देखिएबाट निवेदकको जिकिर बमोजिम सो अवस्था गलत वतन देखाएको नै देखिन आएकोले संयुक्त इजलासबाट विपक्षीको गलत वतनमा सूचना म्याद तामेल गरी सो आधारमा मुद्दा किनारा गरेको प्राकृतिक न्यायको विपरीत देखिने ।

(प्रकरण नं. ११)

निवेदिका, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट किनारा भएको विन्तिपत्रमा लेखिएको लिखत बदर भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गरिदिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    काठमाडौं भू.प्र.का.मा ल.नं. ३३१ मा हामीहरूको बाबु हर्षबहादुरको नाममा दर्ता नरति खेत रोपनी ८।। को आयस्ताबाट पशुपतिनाथ समेतको पूजा आजा गरी गुठी चलाउनु पर्ने तुलसी श्रेष्ठले म सूर्यमानलाई बकसपत्र गरी दिएकोमा नालेश गरी बकसपत्र बदर हुने ठहरी २०२९।३।१७ मा सर्वोच्च अदालत लगायतबाट फैसला भएको सो जग्गा हामीहरूको नाममा दर्ता हुन पर्नेमा विपक्षीहरू ५ जनाले मात्र २०२९।११।५।६ मा दर्ता गरेको थाहा पाई उजूर दिँदा हामीहरूको नाम समेत थपी ७ जनाको नाम कायम गर्नु भनी २०२९।११।२० मा भू.प्र.का. बाट पुर्जीको त.का.मा भई दर्ता हुनु पर्ने नभई विपक्षीहरूले उक्त रैकरमा परिणत गर्न र गुठीलाई भगवान स्थान गा.पं.का १४० जग्गा सट्टापट्टा भर्ना गर्ने गरी २०३०।३।८ को सट्टापट्टा कागज गरेतर्फ छुट्टै उजूर गरेको छु । उक्त ८।। रोपनी जग्गा मध्ये २१३२ जग्गा विपक्षी गंगादेवीलाई मिति २०३०।४।१६ गते रु. ९९,९०१।मा हामी हकदारलाई नदिई राजीनामा गरी दिएको भाद्र ७ गते थाहा पाएको सो गुठी जग्गा हुँदा लिखत बदर गरिपाउँ भन्ने समेतको फिरादपत्र ।

३.    बकसपत्र लिनु दिनु गरेको जग्गामा विपक्षीको  कुनै हक छैन । सो जग्गाको आयस्ताबाट देव देवताको पूजा गर्ने गुठी जग्गा हो सो काममा बाधा नपर्ने गरी जग्गा छुट्याएका छौं । गुठी जग्गाको सट्टा १४ रोपनी जग्गा छुट्याई राखेको हुँदा लिखत बदर हुने होइन भन्ने समेतको हर्षमायाको प्रतिउत्तरपत्र ।

४.    गुठी जग्गा राजीनामा गरी लिनु दिनु गरेको होइन मैले लिएको जग्गा मेरो पक्षको नाममा दर्ता भएको जग्गालाई गुठी भन्न मिल्दैन र मैले गुठी जग्गा लिएको पनि होइन दाताको नाममा दर्ता भएको जग्गा लिएको हुँदा यो लिखत बदर हुनु पर्ने होइन भन्ने समेत प्रतिवादी गंगादेवीको प्रतिउत्तरपत्र ।

५.    यो सट्टापट्टाको लिखत बदर गरिपाउँ भन्ने वादीको दावी नपुग्ने ठहरी आजै फैसला भएकोले उक्त सट्टापट्टाको लिखत सदर भएपछि सो सट्टापट्टाको लिखत बमोजिम रैकर कायम गरी प्रतिवादी गंगादेवीलाई गरी दिएको २०३०।४।१६ को राजीनामा कानूनको रीत पुर्‍याई दिएको देखिएकोले हक पुग्नेले गरी दिएको लिखत बदर हुन नसक्ने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।

६.    सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

७.    यिनै वादी प्रतिवादी समेत भएको लिखत बदर मुद्दामा विवादास्पद जग्गामा वादीको हक नपुग्ने ठहरी फैसला भएको र सोही जग्गा सट्टापट्टा गरी रैकर दर्ता गरी प्रतिवादी गंगादेवीलाई अन्य प्रतिवादीहरूले राजीनामा गरिदिएको २०३०।४।१६ को रजिष्ट्रेशन भएको लिखत बदर गरिपाउँ भनी आउन वादीहरूलाई हक भएको नदेखिँदा शुरु बुँदा प्रमाण समेतबाट वादीहरूको हक पुगेको अवस्थामा दावी नपुग्ने ठहर्‍याएको इन्साफ मिलेन भन्ने झगडिया झिकाएको २०३६।४।२२ को डिभिजन बेञ्चको आदेशसंग सहमत हुन सकिएन । अतएवं वादी दावी पुग्न सक्दैन भनी का.जि.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मिति २०३७।१।३१।३ को म.क्षे.अ.को फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनपत्रमा विवादास्पद जग्गा वादीको हक नठहरी फैसला भएको र सोही जग्गा सट्टापट्टा गरी गंगादेवीलाई अन्य प्रतिवादीहरूले राजीनामा गरी दिएको लिखत बदर गरिपाउँ भनी आउन वादीहरूलाई हक नभएकोले दावी पुग्न सक्दैन भनी म.क्षे.अ. बाट २०३७।१।३१ मा भएको निर्णयले वादीहरू समेतको सगोलको गुठी जग्गालाई अ.बं. ८२ नं. ले लिखत बदर गराउन वादीहरूको हक पुग्नेमा नपुग्ने भनी उक्त ऐन तथा गुठी को ३(२) नं. को त्रुटि गरी निर्णय गरेको र सो त्रुटि सार्वजनिक महत्वको विषय समेत हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) बमोजिमको खण्ड (ख) को आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने मिति २०३८।८।८।२ को डिभिजन बेञ्चको आदेश ।

९.    निर्णयार्थ संयुक्त इजलास समक्ष पेश हुँदा २०३७ सालको दे.पु.नं. १९५८ को पुनरावेदक प्र.सूर्यमान श्रेष्ठ समेत र विपक्षी वादी ज्ञानमाया श्रेष्ठ समेत भएको फैसला र लिखत बदर मुद्दामा मिति २०२९।२।१७ मा सर्वोच्च अदालतबाट भएको फैसला वादी प्रतिवादीहरू तुइसिंहकै सन्तान हुनुका साथै विवादको सम्पत्तिमा वादी प्रतिवादी दुवै पक्षको हक लाग्ने गुठी जग्गा भएको भनी उल्लेख भएको र सोही आधारमा उपर्युक्त लिखत बदर मुद्दामा विवादमा परेको बकसपत्र बदर हुने ठहरी निर्णय गरेकोबाट अहिलेको वादी प्रतिवादी सबैको हक लाग्ने प्रष्ट छ । यस्तो स्थितिमा वादीको हक नलाग्ने गरी का.जि.अ.ले गरेको निर्णयलाई म.क्षे.अ.ले सदर गरेको निर्णय सर्वोच्च अदालतको उक्त फैसलाको विपरीत हुँदा विवादको जग्गामा वादीको हक पुग्ने देखिन आउँछ । वादी दावी नपुग्ने ठहर्‍याएको का.जि.अ.को सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । वादी दावी बमोजिम प्रतिवादीहरूले ८।। जग्गा मध्ये २१३२ जग्गा प्रतिवादी गंगादेवी सैजूलाई २०३० साल साउन १६ गतेमा राजीनामा पारीत गरेको  लिखत बदर हुने ठहर्छ भन्ने समेत संयुक्त इजलासको फैसला ।

१०.    निवेदिकातर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले संयुक्त इजलासबाट सूचना तामेल हुँदा लगत ठेगानामा तामेल भएका कारणले मेरो पक्षले प्रतिवाद गर्न नपाएको हुँदा संयुक्त इजलासको फैसला बदर हुनु पर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीकोतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले वडा परिवर्तन हुन गएकोबाट वादीले वतनमा म्याद तामेल हुन नसके पनि अहिले मुद्दा दोहोरिएर आएकै छ । निवेदकको दाताले जुन सट्टापट्टाको लिखतबाट हक प्राप्त गरी निवेदकलाई विवादित जग्गा बिक्री गरेको छ सो बकसपत्र नै बदर हुने ठहरी अन्तिम भइरहेको समेतबाट प्रस्तुत मुद्दामा संयुक्त इजलासको इन्साफमा अन्यथा हुन सक्ने स्थिति छैन भन्ने समेत बहस गर्नु भयो ।

११.    आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा निवेदिकाले खास गरी संयुक्त इजलासबाट मुद्दा फैसला हुँदा वादी विपक्षीले मलाई प्रतिरक्षा गर्ने हकबाट वञ्चित गर्न ठीक वतन नदेखाई गलत वतन देखाई दिएबाट सोही वतनमा सूचना म्याद टाँस भएबाट मैले सूचना म्याद समेत नपाई मुद्दा मेरो विपरीत फैसला हुन गएको भन्ने मुख्य जिकिर लिएकोबाट त्यसतर्फ के कसो हो भनी मिसिल हेरिएमा प्रस्तुत मुद्दाको वादीले यिनी निवेदिकालाई विपक्षी बनाउँदा शुरु जिल्ला अदालत देखि नै निजको वतन डिल्लीबजार धोवीधारा बस्ने भनी लेखाउँदै आएकोमा म.क्षे.अ.को निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी निवेदन दिँदा निवेदकको वतन सोही बमोजिम डिल्लीबजार धोवीधारा बस्ने भनी नदेखाई साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी मात्र देखिएको र यस अदालतबाट विपक्षीको नाममा सूचना म्याद जाँदा सोही बमोजिम साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी वतन लेखी सूचना म्याद तामेल हुन गएकोमा म्याद तामेल भई आउँदा तामेली व्यहोरामा पनि साविक वडा नं. २८ को हाल वडा नं. ३० नभएको साविक वडा नं. १७ र १८ को मात्र हाल वडा नं. ३० भएको भन्ने वडा समितिबाट बुझिएको, वडा नं. ३० मा गंगादेवीको घरद्वार फेला नपरेको भनी जनिई तामेल भई आएको देखिएबाट निवेदकको जिकिर बमोजिम सो अवस्था गलत वतन देखाएको नै देखिन आएकोले संयुक्त इजलासबाट विपक्षीको गलत वतनमा सूचना म्याद तामेल गरी सो आधारमा मुद्दा किनारा गरेको प्राकृतिक न्यायको विपरीत देखिन आएकोले संयुक्त इजलासको मिति २०३९।१।२६ को इन्साफ बदर हुने ठहर्छ ।

१२.   प्रस्तुत मुद्दामा म्याद पाउनु पर्ने गंगादेवी हाजिर हुँदा कानून बमोजिम गर्न पूर्णइजासको लगत काटी संयुक्त इजलासमा दर्ता गरी नियम बमोजिम पेश गर्नु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.पृथ्वीबहादुर सिंह

 न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४४ साल आषाढ ३० गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु