निर्णय नं. ३०२५ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३०२५ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४० सालको रिट नं. १८७२
विषय : उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निवेदक : जि.म.हे.न.पं. वडा नं. ४ बस्ने फणिन्द्रराज रिजाल।
विरुद्ध
विपक्षी : मालपोत कार्यालय मकवानपुर।
जि.म.हे.न.पं वडा नं.४ बस्ने सुन कुमार मानन्धर।
ऐ.ऐ बस्ने बच्चुराम शर्मा बास्कोटा।
ऐ.ऐ बस्ने उजुर सिं विश्वकर्मा।
ऐ.ऐ बस्ने राम शरण विष्ट।
ऐ.ऐ बस्ने कृष्ण बहादुर आले मगर।
ऐ.ऐ बस्ने गोपाल बहादुर श्रेष्ठ।
ऐ.ऐ बस्ने मणी कुमारी मगर्नी।
ऐ.ऐ बस्ने नोम प्रसाद घिमिरे।
ऐ.ऐ बस्ने विष्णु मायाँ रेग्मी मगर।
ऐ.ऐ बस्ने देवी कुमारी क्षेत्री।
ऐ.ऐ बस्ने निषेश मान प्रधान ।
ऐ.ऐ बस्ने रत्न बहादुर श्रेष्ठ।
जि.म.हे.न.पं. वडा नं.४ बस्ने सानुमायाँ सांगम।
ऐ.ऐ बस्ने परशुराम आचार्य।
सेते सिजाली मगर परलोक भैसकेकोले निजको हकमा ऐ.ऐ बस्ने निजकी श्रीमती लाल कुमारी मगरनी।
आदेश भएको मिति:२०४३।८।२९।१ मा
हक बेहक सम्बन्धी जग्गा खिचोला मुद्दाको निर्णय नहुँदै प्रत्यर्थी मालपोत कार्यालय मकवानपुरले गरेको दर्ताबाट रिट निवेदकको हकमा कुनै असर पर्न नसक्ने ।
(प्रकरण नं. १२)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
प्रत्यर्थीतर्फबाट :विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट,विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी, विद्वान अधिवक्ता श्री रविन्द्रमान प्रधान
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंहः मालपोत कार्यालय मकवानपुरको २०४०।८।२ को निर्णय समेत बदर गरिपाउँ भन्ने समेत नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :–
२. जि.मकवानपुर प्र.खे.७२ नं. मौजे हेटौंडा अन्तर्गत साविक कि.नं. ९ को ज.वि. १–८–० मध्येको कित्ता फोर भई मेरा नामको रै.नं. ९ क. मा पूर्व तर्फको ज.वि. ०–७–० जग्गा ०२१ सालका बाली देखि सेते सिजाली मगरलाई मोहियानीमा कमाउन दिएको ०३२।९।२७ मा सर्भे हुँदा कि.नं. २७६ मा ज.वि. ०–६–१८¼ मा मेरा नाममा नाप नक्शा हुन लाग्दा सेते मगर समेतले खिचोला गर्नु भएबाट फिल्डबूक कैफियत महलमा सेते मगरको ऐलानी भोग र फणिन्द्रराजको नम्बरी, गणेशबहादुरको नम्बरी दावी भनी जनियो । विशेष अदालतमा म्याद भित्र उपरोक्त व्यक्तिहरू माथि फिराद गरेको थिएँ । वादी गणेशलाल प्र.सेते मगर भएको बाली भराई मोही निष्कासन मुद्दामा वादीको जग्गा कमाएको नभई फणिन्द्रराजको जग्गा कमाएको भनी ०२५।२।२ मा प्रतिउत्तर परेकोमा वादी दावी झुठ्ठा भई भू.सु.का. बाट ०३१।४।२० मा फैसला भएको छ । गणेशलालले म समेत १० जना उपर म.जि.अ.मा जग्गा खिचोला मुद्दा दिएकोमा वादी दावी झुठ्ठा ठहर म.जि.अ.बाट फैसला समेत भएको छ । खिचोला समेत मेटाई कि.नं. २७६ को ज.वि. ०–६–१८ मा मेरो हक कायम गरी गणेशलाल र सेते मगरको नाममा भएको नाप नक्शा बदर गरी मेरो हक कायम गरिपाउँ भन्ने मैले फिराद गरेको मुद्दा विशेष अदालत विघटन भई अञ्चल अदालतमा ०३८।२।२५ मा मुल्तवी रहन गयो । गणेशलाल श्रेष्ठ वादी र हिराकाजी राणा मगर समेत प्रतिवादी भएको जग्गा खिचोला मुद्दामा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को ०३७।४।६ को इन्साफ उल्टी गरी वादी दावी झुठ्ठा ठहर गरेको म.जि.अ.को इन्साफ मनासिब ठहर्छ भनी सम्मानीत सर्वोच्च अदालतबाट मिति ०३९।३।६ को फैसलाबाट गणेशलालले दावी लिनु भएको कित्ताको कुनै अस्तित्व नै छैन भन्ने प्रष्ट छ । मेरो साविक रै.नं. ९(क) को ज.वि. ०–७–० हो र हाल सर्भे नापीमा उक्त जग्गा कि.नं. २७६ को ज.वि. ०–६–१८
कायम भएको छ । मेरो त्यस जग्गा सम्बन्धमा नारायणी अञ्चल अदालतमा मुद्दा मुलतवी रहेकोमा ०४०।७।२५ मा मुलतवी जागी कारवाही हुन लागेकोमा सो भन्दा पहिले नै मकवानपुर मालपोत कार्यालयबाट हे.न.पं. वडा नं. ४ कि.नं. २७६ को जग्गामा तेरो मेरो मुद्दा परी सर्वोच्च अदालतको ०३९।३।६ को फैसलाबाट ऐलानी ठहरिएको छोडपत्र गरी लिएको जग्गा दर्ता गरिपाउँ भन्ने सेते सिंजाली मगर मरी निजको स्वास्नी लालकुमारी मगर्नी समेत विभिन्न व्यक्तिको निवेदनबाट सरजमीन समेत भई आएको र उक्त कित्तामा तेरो मेरोमा ताहा मुद्दा चलिरहेको दर्ता कार्य रोक्का गरिपाउँ भन्ने समेत फणिन्द्रराजको निवेदन परेको हुँदा के कस्तो मुद्दा चलेको छ खुलाई पठाउन मालपोत कार्यालयको पत्रको सम्बन्धमा यिनै वादी प्रतिवादीको जग्गा खिचोला मुद्दा म.क्षे.अ. मा चलिरहेकोले उक्त मुद्दा निर्णय नभएसम्म छिन्न नमिल्ने भनी ०३८।३।२५ मा मुद्दा मुलतवी रहेको भन्ने ०४०।७।४ को ना.अं.अ.को जवाफ र जग्गा दर्ता रोक्का गर्न प्र.जि.अ.मा निवेदन गरेकोमा अदालतबाट फैसला नहुन्जेल रोक्का गर्नु भनी मालपोत कार्यालयलाई ०४०।५।२१ मा आदेश समेत भएको रहेछ । जिल्ला कार्यालयको मिति ०४०।८।१।५ को पत्रबाट सर्वोच्च अदालतको फैसला बमोजिम गर्नु हुन भनी लेखिएको आधारमा कि.नं. २७६ बाट सुनकुमार मानन्धरलाई कि.नं. १९६५ को ज.वि. ०–१–३ बच्चुराम शर्मालाई कि.नं. १९६६ को ०–१–१७
जसविर विश्वकर्मालाई कि.नं. १९६७ को ०–०–४
उजूर सिंहलाई कि.नं. १९६८ को ०–०–४
कृष्णबहादुर आले मगरलाई कि.नं. १९६९ को ०–०–२
गोपालबहादुर श्रेष्ठलाई कि.नं. १९७० को ०–०–७ नोमप्रसाद घिमिरेलाई कि.नं. १९७१ को ०–०–५ विष्णुमाया रेग्मी मगरलाई कि.नं. १९७२ को ०–०–२
देवीकुमारी क्षेत्रीलाई कि.नं. १९७३ को ०–०–२ रामशरण विष्टलाई १९७४ को ०–०–१
निशेसमान प्रधानलाई कि.नं. १९७५ को ०–०–२ रत्नबहादुर श्रेष्ठलाई कि.नं. १९६७ को ०–०–३
सानुमाया सांगमीलाई कि.नं. १९७७ को ज.वि. ०–०–१४ परशुराम आचार्यलाई कि.नं. १९७८ को ०–०–१५ मणीकुमारी मगर्नीलाई कि.नं. १९७९ को ज.वि. ०–०–१ लालकुमारी मगर्नीलाई कि.नं. १९८० को ०–०–१२
समेत जम्मा सोह्र जनालाई दर्ता गर्ने सदर भनी मिति २०४०।८।२ मा मालपोत कार्यालयबाट निर्णय भएको रहेछ ।
३. गणेशलाल श्रेष्ठ र हिराकाजी राना मगर समेतको जग्गा खिचोला मुद्दा ०३९।३।६ मा सम्मानीत अदालतबाट निर्णय भएको र मेरो कि.नं. २७६ को ज.वि. ०–६–१८ को सम्बन्धमा गणेशलाल श्रेष्ठ र सेते सिंजाली मगर समेत प्रतिवादी भएको जग्गा खिचोला मुद्दा मकवानपुर विशेष अदालतमा चलिरहेको विशेष अदालत विघटन भई नारायणी अञ्चल अदालतमा चली मुलतवी रहेको ०४०।७।१३ मा मुलतवी जागी कारवाही हुँदा हुँदै उक्त जग्गा विभिन्न १६ व्यक्तिका नाममा दर्ता गरी ज.ध.प्र.पूर्जा दिएको अनाधिकार हुँदा बदरभागी छ । नारायणी अञ्चल अदालतमा मुलतवी रहेको मुद्दा फैसला नभएसम्म रोक्का राख्ने भन्ने जिल्ला कार्यालयबाट आदेश भएकोमा सो फैसला नहुँदै सर्वोच्च अदालतबाट कि.नं. ७ को सम्बन्धमा भएको फैसलाको आधारमा गरिएको मालपोत कार्यालयको निर्णय बदरभागी छ । मेरो कि.नं. २७६ को नम्बरीलाई ऐलानी भनी दर्ता गरिपाउँ भनी निवेदन दिएकोमा ऐनको व्यवस्था प्रतिकूल मलाई रोहवर समेत नराखी सरजमीन गरी सोही आधारमा गरेको दर्ता अन्यायपूर्ण छ । मिति ०४०।८।२ को मालपोत कार्यालय मकवानपुरको निर्णय सम्बन्धी सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी हक संरक्षण गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ लिई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत २०४०।१०।२७ को सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।
५. उत्प्रेषणको रिटनिवेदनमा मालपोत कार्यालय मकवानपुर अन्य निम्न लिखित १६ जनाको नाम समावेश हुनु पर्नेमा टाइपको भूलले छुट्न गएकोले उक्त १६ जनालाई विपक्षी बनाई पाउँ भन्ने निवेदकको वारिसको निवेदन परेकोमा निवेदकका माग बमोजिम सच्याई दिइएको छ भन्ने समेत ०४१।१।२० को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
६. सर्वोच्च अदालतबाट भएको फैसलाबाट विपक्षीको नम्बरी ठहर गरेको पाइँदैन । सो फैसला सरजमीन मुचुल्का र सर्भे नापी समेतको आधारमा भोगवालाहरूकै नाम मालपोत ऐनको दफा ७.२ बमोजिम दर्ता गरिदिने निर्णय भएको सो निर्णय बदर हुनु पर्ने कारण छैन । रिट खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय मकवानपुरको लिखितजवाफ ।
७. रिटनिवेदन झुठ्ठा हो सेते मगर लालकुमारी मगरनीले जंगल फडानी गरी ऐलानी जग्गामा बसोवास गरी आएको हुन् र कि.नं. १९७५ को ०–०–२ को लालपूर्जा दिनको लागि सरजमीन समेत गरी सोही कित्तामा घर बसोवास गरी भोगचलन समेत गरी आएको कुराको सरजमीन समेत गरी रीत पुर्याई जग्गाधनी दर्ता पूर्जा मालपोत कार्यालयले दिएको हो । म समेत उपर मकवानपुर जि.अ.मा ०४१।२।१ मा दर्ता बदर मुद्दाको फिराद दिएको त्यसैबाट इन्साफ हुने हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत विशेषमान प्रधानको लिखितजवाफ ।
८. मालपोत कार्यालयको निर्णय उपर प्र.जि.अ.मा पुनरावेदन लाग्ने व्यवस्था हुँदा रिट खारेज गरिपाउँ । कि.नं. २७६ को जग्गा मध्ये नै १६ जनाले कित्ताकाट गरी दर्ता गरेको सो दर्ता बदर गरिपाउँ भनी विपक्षीले हामी १६ जनाको नाममा मकवानपुर जिल्ला अदालतमा फिराद दायर गरी हाम्रो प्रतउत्तर परी कारवाही चलिरहेकोले प्रस्तुत रिटनिवेदन खारेजभागी छ भन्ने समेत पर्शुराम आचार्य समेत ११ जनाको वारिस नरबहादुर राईको लिखितजवाफ । सोही व्यहोरा मिलानको बच्चुराम शर्मा समेत चार जनाको वारिस नरबहादुर राईको लिखितजवाफ ।
९. रिट निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री अनुपराज शर्माले प्रत्यर्थीहरूले कित्ताकाट गरी दर्ता गराई लिएको कि.नं. २७६ को जग्गामा जग्गा खिचोला मुद्दा सेते मगर समेत उपर परेको मुद्दा नछिनिदै ऐलानी भनी सो जग्गा प्रत्यर्थीहरूका नाउँमा दर्ता गरेको मालपोत कार्यालयको निर्णय त्रुटिपूर्ण छ । सो दर्ता गरेको दर्ता बदरमा जिल्ला अदालतमा छुट्टै रिट निवेदकले दिएको फिराद समेत दायर छ । तसर्थ सो निर्णय बदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले सरजमीन समेत बुझी सबूद प्रमाणको आधारमा जग्गा दर्ता गरेको मालपोत कार्यालयको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत प्रत्यर्थीहरू तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी र विद्वान अधिवक्ता श्री रविन्द्रमान प्रधानले प्रत्यर्थीहरूका नाउँमा भएको दर्तालाई बदर गरिपाउँ भनी रिट निवेदकको मकवानपुर जिल्ला अदालतमा उजूर परी मुद्दा चलिरहेको हुँदा त्यसैबाट दर्ता बदर हुने नहुने कुराको निर्णय हुने नै हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१०. प्रस्तुत रिटनिवेदनमा निवेदकको माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा मेरो कि.नं. २७६ को जग्गा सम्बन्धमा जग्गा खिचोला मुद्दा नारायणी अञ्चल अदालतमा मुलतवी जागी कारवाही हुँदा हुँदै उक्त जग्गा विभिन्न व्यक्ति १६ जनाका नाउँदा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा दिएको प्रत्यर्थी मालपोत कार्यालय मकवानपुरको ०४०।८।२ को निर्णय सम्बन्धी सम्पूर्ण काम कारवाही अन्यायपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर देखिन्छ ।
१२. विभिन्न व्यक्ति १६ जनाका नाउँमा कि.नं. २७६ को जग्गाबाट दर्ता गरेको भनी जिकिर लिएको जग्गाको सम्बन्धमा रिट निवेदकको उजूर परेको सो हक बेहक सम्बन्धी जग्गा खिचोला मुद्दाबाट विवादित जग्गा जसको हक ठहरी निर्णय हुन्छ उसैको नाममा जग्गा दर्ता हुने भएकोले सो हक बेहक सम्बन्धी जग्गा खिचोला मुद्दाको निर्णय नहुँदै प्रत्यर्थी मालपोत कार्यालय मकवानपुरले गरेको दर्ताबाट रिट निवेदकको हकमा कुनै असर पर्न नसक्ने भएकोले रिट निवेदकको हकमा आघात पर्न सक्ने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४३ साल मार्ग २९ गते रोज १ शुभम् ।