निर्णय नं. ३०३४ - उत्प्रेषण समेत

निर्णय नं. ३०३४ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४२ सालको रि.नं. २०७६
विषय : उत्प्रेषण समेत
निवेदक : जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं. ४ बस्ने अब्दुल अन्सारी।
ऐ.ऐ बस्ने अब्दुल गफुर।
ऐ.ऐ बस्ने अब्दुल सतार अन्सारी।
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय,सुनसरी।
जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं.८ बस्ने अन्सुल अन्सारी।
आदेश भएको मिति: २०४४।३।२।३ मा
एकै व्यक्तिको एक जग्गाको मोही कायम मुद्दा खारेज भएकोमा मोही नामसारी मुद्दा बेग्लै भनी नामसारी गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
एक पटक टुंगो लागेको विवादमा पुनः पुनः मुद्दा गर्नु न्यायको दृष्टिबाट पनि अनुकूल हुँदैन, तसर्थ एक पटक खारेज भई सकेपछि पुनः मुद्दाको नाम मात्र फरक हुँदैमा तात्विक विषय वस्तु उही भएको देखिँदा त्यस्तोमा पुनः मोही नामसारी गर्ने गरी भू.सु.का.बाट भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वीबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ ।
२. साविक गुन्जेश्वरीका नाउँको जल्पापुर गा.पं. वार्ड नं. ४(क) कि.नं. ३८ को जग्गा हाल अब्दुल अन्सारीले कि.नं. १६९ मा अब्दुल गौफारले कि.नं. १७० मा अब्दुल सतार अन्सारीले कि.नं. १७१ मा खरीद गरी लिएपछि पनि जोतकोड गरी आएकोमा पिताजी ०२९ सालमा परलोक भएकोले मोही नामसारी गरिपाउँ भनी अन्सुल अन्सारीले निवेदन दिएकोमा विपक्षी अन्सुलले हामी उपर स्थायी प्रमाणपत्र पाउँ भनी दिएको उजूरी यसै कार्यालयबाट ०४१।६।९ मा खारेज भएको भनी हाम्रो प्रतिउत्तर परेको थियो । विपक्षी अधिकारीज्यूबाट २ नं. अनुसूची प्रकाशित भएको देखिएकोले सो जग्गामा मोही थियो भन्ने प्रमाणित हुन आउँछ । यिनै वादी प्रतिवादीको मोही कायम मुद्दा खारेज भएको र आमा भाइहरूले दिएको मोही नामसारी मुद्दा खारेज भएको बसाई सरी गएको भन्ने प्रतिवादी जिकिरतर्फ विचार गर्दा मोही कायम मुद्दा र मोही नामसारी मुद्दा बेग्ला बेग्लै भएको र मोही कायम गरिपाउँ भन्ने मुद्दाको निर्णयबाट नामसारी गराउन पाउने अधिकार हनन् हुन नसक्ने र त्यस मुद्दाबाट यस मुद्दामा असर पार्न नसक्ने साथै आमा र भाइको मुद्दा खारेज भएकोबाट निजको हक हनन् नहुने भनी कि.नं. १६९, १७०, १७१ वादी अन्सुल अन्सारीको नाउँमा मोही नामसारी हुने ठहर्छ भनी ०४२।८।१८ मा फैसला गर्नु भएको छ ।
३. विपक्षीले हाम्रो दाता र हामीहरू समेत उपर मोहियानीहरूको प्रमाणपत्र पाउँ भनी दिएको उजूरीमा मोही कायम गर्न नमिल्ने भनी ०४१।६।९ मा खारेजी फैसला भएको अन्तिम रुपमा रहेको छ । तत्पश्चात विपक्षले हाम्रो पिताजीले १ नं. भरी २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि. पिताजीले प्राप्त गर्नु भएको, स्वर्गीय हुनु भएबाट नामसारी गरी मोही प्रमाण पूर्जा पाउँ भनी दिएको उजूरीमा ०४२।८।१८ मा मोही नामसारी हुने ठहर्याएको निर्णय अ.बं. ८५ नं. को कानूनी व्यवस्था प्रतिकूल छ । भू.सु. लागु हुँदा जग्गाधनी रहेको हाम्रो दातालाई जग्गाधनी नदेखाई सो अवस्थामा ज.ध. नरहेका व्यक्तिलाई ज.ध. देखाई भरेको लगत अनुसार २ नं. प्रकाशित भएको नाताबाट निवेदकको जग्गामा मोहियानी कायम गर्न मिल्दैन । अतः उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी उक्त मोही नामसारी हुने ठहर्याएको निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिटनिवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत सिंगलबेञ्चको आदेश ।
५. मोही कायम मुद्दा र मोही नामसारी मुद्दा बेग्ला बेग्लै भएको र मोही कायम गरिपाउँ भन्ने मुद्दाबाट नामसारी गराउन पाउने अधिकार समाप्त नहुने हुँदा मोही नामसारी गर्ने गरी निर्णय भएको हुँदा रिटनिवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने भू.सु.का. सुनसरीको लिखितजवाफ ।
६. बाबुको मृत्यु पछि आमा भाइको नाउँमा मोही नामसारी नभएपछि म मात्र बाँकी भएकोले मेरो नाउँमा नामसारी गर्ने गरेको त्रुटिपूर्ण छैन । तसर्थ रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको अम्सुल अन्सारीको लिखितजवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले गर्नु भएको बहस समेत सुनियो ।
८. अब प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा विवादित साविक कि.नं. ३८ को हाल कि.नं. १६९, १७० र १७१ को जग्गाको मोही नामसारी अन्सुल अन्सारीको नाउँमा गर्ने गरी भू.सु.का. सुन्सरीबाट ०४२।८।१८ मा भएकोमा विवाद देखिँदैन । सोही विवादित जग्गाको मोही कायम मुद्दा विपक्षीले अघि नै दिएको र उक्त मुद्दा खारेज हुने ठहरी मिति ०४१।६।९ मा निर्णय भइसकेको भन्ने कुरा भू.सु.का. सुनसरीको र विपक्षी अन्सुल अन्सारीको लिखितजवाफमा स्वीकार नै गरेको देखिन आयो । जहाँसम्म मोही कायम मुद्दा र मोहियानी नामसारी मुद्दा बेग्ला बेग्लै भएको भन्ने विपक्षीहरूको लिखितजवाफमा लिइएको जिकिर छ, त्यसतर्फ हेर्दा मोही कायम मुद्दामा मोही कायम हुन नसकी खारेज भएपछि सोही व्यक्तिका नाममा मोही नामसारी हुन सक्ने स्थिति रहन्छ भन्ने मिल्दैन । एकै व्यक्तिको एकै जग्गाको मोही कायम मुद्दा खारेज भएकोमा मोही नामसारी मुद्दा बेग्लै भनी नामसारी गर्न मिल्ने स्थिति रहँदैन । अ.बं. ८५ ले “अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउँको फिरादपत्र लिई सुन्न हुँदैन । लिएको भएपनि खारेज गरिदिनु पर्दछ” भन्ने व्यवस्था गरेको छ । यो व्यवस्था एकै विषयमा बारम्बार मुद्दा दोहोर्याई अनावश्यक झमेला नहोस् भन्ना खातिर भएको देखिन्छ । एक पटक टुंगो लागेको विवादमा पुनः पुनः मुद्दा गर्नु न्यायको दृष्टिबाट पनि अनुकूल हुँदैन । तसर्थ एक पटक खारेज भइसकेपछि पुनः मुद्दाको नाम मात्र फरक हुँदैमा तात्विक विषय वस्तु उही भएको देखिँदा त्यस्तोमा पुनः मोही नामसारी गर्ने गरी भू.सु.का. सुनसरीबाट ०४२।८।१८ मा भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४४ साल असार २ गते रोज ३ शुभम् ।