निर्णय नं. ३०३८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३०३८ ने.का.प. २०४४ अङ्क ३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको रिट नम्बर १४६४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : का.जि.का.न.पं. वडा नं. ८ देवपतन ढोकासी टोल बस्ने श्यामकृष्ण भण्डारी।
विरुद्ध
विपक्षी :का.जि.का.न.पं. वडा नं. ८ बस्ने पशुपतिनाथका मूल पूजारी (मूल भट्ट) रावल पदमनाथ शास्त्री।
पशुपति भण्डार तहविल कार्यालय,काठमाडौं।
जिल्ला का.न.पं.वडा नं.८ देवपतन।
आदेश भएको मिति: २०४३।५।१।१ मा
माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न मिल्दैन ।
(प्रकरण नं. २२)
माफी माग्ने जस्ता कुराको अनुरोध, त्यहींका निवेदकलाई दिक्षा दिने गुरु मूल पूजारी तथा भण्डार तहविल कार्यालय समेतबाट हुँदा निवेदकले इन्कारी गर्नु जस्तो कुरा पनि साधारण होइनन्। बिना कारण यी सबै कुरा मूल भट्टले गर्नु पर्ने र त्यसलाई अरु प्रतिवेदन दाताहरूले समर्थन गर्नु पर्ने कारण पनि केही देखिँदैन । त्यसकारण यी सबै कुरालाई विचार गर्दा यसमा मूल भट्टले गर्नु भएको सबै कारवाही निवेदकका जिकिर अनुसार आधारहीन हुन् भन्न सकिन्न । मूल भट्टले उचित सावधानी र सामान्य प्रकृया नपुर्याएको कारणबाट निवेदकले आफूलाई सजायँबाट बचाउने मौका नपाएको भन्न मिल्दैन । निवेदकले क्षमा याचना गर्न पाएको अवसरलाई आफैंले गुमाएको देखिन्छ । त्यसकारण अब यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु न्याय, सद्विवेक र व्यवहारिक दृष्टिकोण समेतले उचित नहुने ।
(प्रकरण नं. २३)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री गोपाल भण्डारी
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया,विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा,विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा
उल्लेखित मुद्दाःX
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भनी रिटनिवेदन मिति ०४२।४।२७।१ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् :– म निवेदकलाई परम्परा अनुसार ०३४ साल चैत्र महिनामा श्री पशुपतिनाथका मूल पूजारी समेतका साथमा श्री ५ महाराजाधिराजका हजूरमा उपस्थित गराई म निवेदकबाट मौसूफ सरकारका पाउमा रु. १।,.१० वटा सुपारीका साथ दर्शन गराई श्री ५ बाट भण्डारीमा नियुक्त गर्न स्वीकृति बक्स भई म निवेदकको विधिपूर्वक व्रतबन्ध गराई वंश परम्परागत भण्डारी पदमा बहाल भएको छु । सो पदमा बहाल भएदेखि श्री पशुपतिनाथ र राजमुकुटको हित चिताई आफ्नो क्षमता वुद्धि विवेक अनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै आई रहेको थिएँ । मेरो कामको सम्बन्धमा कतैबाट कुनै प्रकारको असन्तुष्टि जनाइएको थिएन तर अचानक श्री पशुपतिनाथका मूल पुजारीको मिति ०४१।१२।२० को आदेशानुसार भण्डारीको लगतबाट तपाइको नाम काटिएको व्यहोरा जानकारीको निमित्त सूचना गरिन्छ भन्ने समेत व्यहोरा उल्लेख भएको प्रत्यर्थी नं. २ का प.सं. १०४२।०४१।४२ मिति ०४२।३।१९।४ को भण्डारीको लगतबाट नाम खारेज गरिएको विषयको प्रत्यर्थी नं. २ को कार्यालय प्रमुखले हस्ताक्षर गरेको पत्र मलाई मिति ०४२।३।१९।४ मा बुझाइयो भण्डारीको लगतबाट म निवेदकको नाम खारेज गर्दा उक्त पत्रमा निम्नाड्ढित आधार बुँदाहरू उल्लेख गरिएका छन् । ०४१।१२।२०।३ मा तपाइका नाउँमा पठाएको पत्रमा तपाइले बछ्लेश्वरीको खट यात्रामा अश्लिल शब्द प्रयोग गरेको, श्री पशुपतिनाथका मूल पूजारीका निवास स्थानमा झिकाउँदा समेत क्षमा याचना नगरी रहनु भएको ०४१।१२।१९ मा श्री ५ महाराजाधिराज सरकारका प्रमुख सचिवालयबाट लेखिआएको पत्रमा आफ्नो अधिकार बमोजिम गर्नु गराउनु हुन भनी लेखिआएको व्यहोरा दर्शाई तपाइका नाउँमा पत्र पठाउँदा श्यामकृष्ण मार्फत उमेश कुइकेलले ०४१।१२।२१ गोप्य बन्दी खाम बुझी लिनु भएको भर्पाई देखिनाले उक्त पत्रको म्यादभित्र तपाई आफैं उपस्थित भई क्षमा याचना समेत गरेको नदेखिएकोबाट बछ्लेश्वरी देवीको खट यात्रामा मैले अश्लिल शब्द प्रयोग गरेको हो भन्ने कुरा ज्यादै बनावटी र कपटपूर्ण हो, श्री पशुपतिनाथको भण्डारी पदको जिम्मेवारी लिएको म जस्तो सोझो र शान्त प्रकृतिका मानिसबाट कुनै प्रकारको अश्लिल शब्द प्रयोग हुने कुरै आउँदैन । कुनै व्यक्ति उपर कसूर आरोप गर्नुबाट नै कुनै व्यक्ति कसूरदार ठहरिँदैन कसूरदार ठहर्याउन लगाइएको अभियोग शंका रहित तवरले विश्वसनिय रुपबाट पुष्टि हुनु पर्दछ । अश्लिल शब्द प्रयोग गर्यो भनी म उपर लगाइएको अभियोग आधार प्रमाण विहीन हुँदा प्रत्यर्थीहरूको निर्णय र कारवाही मिथ्यायुक्त छ भन्ने स्वतः सिद्ध हुन्छ । वादी दावी प्रमाणित गर्ने भार वहन गर्ने वादीको कारवाही र निर्णयबाट वादी दावी नै प्रमाणित नभएकोले प्रमाण ऐन, ०३१ को दफा २६ को अपहेलना भएको छ ।
३. मैले अश्लिल शब्द प्रयोग गरेको नै असत्य हुँदा मलाई पशुपतिनाथको मूल पूजारीका स्थानमा झिकाएको र मैले क्षमा नमागेको कुरा पनि ज्यादै कल्पना प्रसूत हुन् । मलाई झिकाइएको भए कुन मितिको कुन पत्रद्वारा कुन मितिमा झिकाइएको थियो । सो कुरा खुल्न पर्ने थियो तर प्रत्यर्थी नं. २ को उक्त पत्रमा सो खुलेको छैन । यसबाट प्रत्यर्थीहरूको उक्त निर्णय र कारवाही पूर्वाग्रही आत्मनिष्ट र एकतर्फी रहेछ भन्ने स्वतः पुष्टि हुन्छ । यसबाट प्रमाण ऐन, ०३१ को दफा ५४ अ.बं. १८४क. १८५ र १८९ नं. को त्रुटि भएको छ ।
४. प्रत्यर्थी नं. २ ले प्रत्यर्थी नं. १ को मिति ०४२।३।१९ को पत्रमा उल्लेख गरेको प्रत्यर्थी नं. २ को मिति ०४१।१२।२० को पत्रको बारेमा म निवेदकले मिति ०४२।४।१६ मा प्रत्यर्थी नं. २ बाट नक्कल सारी लिएपछि मात्र थाहा पाएँ । यो भन्दा अघि कुनै जानकारी थिएन । सो पत्र उमेश कुइँकेलले बुझिलिएको भन्ने प्रत्यर्थी २ स्वयंले स्वीकार गरेको छ । उमेश कुइँकेल मेरो नाता गोताका मानिस होइन असम्बन्धित व्यक्तिले पत्र बुझिलिएकोमा सो को जवाफदेही मैले हुनु पर्ने र सोको नकरात्मक प्रतिफल मैले नै भोग्नु पर्ने भन्ने कुरा न्यायिक र कानूनी दृष्टिकोणबाट मात्र होइन व्यवहारिक दष्टिकोणबाट पनि ज्यादै उपहासपूर्ण हो । विभिन्न न्यायिक निर्णय दिने प्रत्यर्थी नं. १ बाट यसरी कानून र न्यायलाई अपहेलना गरी गरेको निर्णयले अ.बं. ११० नं. को र प्राकृतिक न्याय सिद्धान्तको समेत अवहेलना भएको छ ।
५. मैले अश्लिल शब्द प्रयोग गरेको नै असत्य हुँदा मलाई पशुपतिनाथको मूल पूजारीका स्थानमा झिकाइएको र मैले क्षमा नमागेको कुरा पनि ज्यादै कल्पना प्रसूत हुन् । मलाई झिकाइएको थियो । सो कुरा खुल्नु पर्ने थियो तर प्रत्यर्थी नं. २ को उक्त पत्रमा सो केही खुलेको छैन । यसबाट प्रत्यर्थीहरूको उक्त निर्णय र कारवाही पूर्वाही आत्मनिष्ट र एकतर्फी रहेछ भन्ने स्वतः पुष्टि हुन्छ । यसबाट प्रमाण ऐन, ०३१ दफा ५४ अ.बं. १८४क. १८५ र १८९ को प्रत्यक्ष त्रुटि भएको छ ।
६. श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको मिति ०४१।१२।१९ च.नं. ७३३।०४१ को पत्रमा सो विन्तिपत्रमा लेख्नु भएको व्यहोरा ठिक साँचो भएमा आफ्नो अधिकार बमोजिम गराउनु हुनको लागि सूचना गरेको छु भन्ने उल्लेख भएको छ । प्रथमतः माथि निवेदन गरे अनुसार मलाई लगाएको कसूर नै प्रमाणित नभएकोले विन्तिपत्रमा मेरो विरुद्ध लेखेकै भरमा म माथि आरोपित अभियोग सिद्ध हुने होइन उसमा पनि विन्तिपत्रमा लेख्नु भएको व्यहोरा ठिक साँचो भएमा भन्ने उल्लेख भएबाट मैले कसूर नगरेको खण्डमा मलाई सजायँ गर्न नमिल्ने प्रष्टै छ। दोश्रो आफ्नो अधिकार बमोजिम भन्ने कुरातर्फ दृष्टिपात गर्दा प्रत्यर्थी नं. १ ले प्रत्यर्थी नं. २ लाई मिति ०४१।१२।२१।३ मा ताडपत्र अनुसार भण्डारी पदबाट हटाउने बारेका पत्रमा ताडपत्रलाई प्रत्यर्थी नं. १ ले अधिकार स्रोतको रुपमा लिएको छ अव ताडपत्रलाई दृष्टिगत गर्दै “तपाइको सन्तान भएसम्म खोसमोस नगर्नु हिजोका स्थिति भण्डारीले विशेतले उत्पत्तिमा लोभनी नगरी सत्य बन्देजमा रहँदासम्म रुद्रमती पछि बागमती पूर्व जन्म भयाको देवालय भित्र नलिनु राजाहरूका आयु हुँदैन सत्य धर्ममा नरहया खोसमोस गर्नुहुन्छ ।” ताडपत्र अनुसार भण्डारीका सन्तान भएसम्म सामान्य स्थितिमा खोसमोस गर्न प्रतिबन्ध लगाएको छ । भण्डारी विशेतले उत्पत्तिमा लोभानी गरी सत्य बन्देजमा नरहे भण्डारी पदबाट खोस्न सक्ने ताडपत्रमा व्यवस्था भएकोमा म निवेदकले उत्पत्तिमा लोभानी गरेको भन्ने प्रत्यर्थीहरूको अभियोगै नभएकोले उत्पत्तिमा लोभानी गरी सत्य धर्ममा नरहँदाको भनी मलाई भण्डारी पदबाट खोस्न सक्ने स्थिति छैन । रुद्रमति पछि र बागमती पूर्व मेरो जन्म नै भएको होइन यदि सो भएको भए म भण्डारी पदमा नियुक्ति नै हुने थिइन । यसबाट पनि म सत्य बन्देजको परिधिभित्र नरहेको भन्न मिल्दैन यसरी ताडपत्रमा उल्लेख गरे अनुसार म निवेदकको हकमा कुनै पनि पूर्वास्था नभएकोले ताडपत्रको समेत उल्लंघन भई प्रत्यर्थीहरूको काम कारवाही र निर्णय अधिकार क्षेत्रात्मक त्रुटि ग्रस्त छन् भन्ने निर्विवाद सिद्ध हुन्छ ।
७. ताडपत्रमा भण्डारीलाई खोस्न सक्ने अधिकार प्रत्यर्थी नं. १ लाई भएको कुरा उल्लेख छैन यसबाट अधिकार क्षेत्रको त्रुटि भएको झन् पूर्णतः प्रमाणित हुन्छ ।
८. मैले श्री ५ को दर्शन गरी श्री ५ महाराजाधिराजबाट स्वीकृति बक्स भएर भण्डारी पद पाएको हुँदा र प्रत्यर्थी नं. १ ले मलाई भण्डारी पदमा नियुक्ति गरेको नहुँदा प्रत्यर्थी नं. १ मलाई भण्डारी पदबाट हटाउन पूर्णतः असक्षम हुनुहुन्छ । राजमुकुटको निगहा भई भण्डारी पदमा नियुक्ति भएको म निवेदकलाई प्रत्यर्थी नं. १ ले मलाई भण्डारी पदबाट हटाउनाले राजइच्छाको विपरीत प्रत्यर्थी नं. १ ले अनाधिकार निर्णय गरेको प्रष्ट छ ।
९. प्रत्यर्थीहरूको उक्त अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण र कानून असंगत निर्णय र कारवाहीबाट म निवेदकलाई संविधानको धारा १०(१) अनुसारको कानूनको समान संरक्षणको हक र धारा ११(२)(ङ) धारा १५ अनुसारको सम्पत्ति विषयक हक समेतको मौलिक हकहरू तथा वंश परम्परा र श्री पशुपतिको ताडपत्र बमोजिम भण्डारी भई उपभोग गर्न पाउने हक तथा सुविधाहरू समेत अवरुद्ध भई कुण्ठित भएकोले अन्य उपचार मार्गको अभाव भएकोले बाध्य भई सम्मानीत स.अ.को असाधारण अधिकार क्षेत्रको गुहार माग्दै संविधानको धारा १६ तथा ७१ अन्तर्गत सविनय आवेदन गर्न आएको छु भन्ने समेत रिट निवेदकको जिकिर रहेछ ।
१०. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०४२।४।३१।५ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :–
११. ०४१ साल चैत्र १० गतेका दिन श्री वच्छलेश्वरी देवीको खट रीतिस्थिति परम्परा अनुसार श्री पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा ३ तीन ठक्कर खुवाउने काम सम्पन्न गरी सिन्दूर चढाउने पूजाको काम सम्पन्न गर्नु पर्नेमा २ दुई ठक्कर खुवाउने काम हुनासाथ निवेदक श्यामकृष्ण भण्डारी र निजका सहयोगीहरूले हुल गरी देवीको खट घिसारी पश्चिम ढोकाबाट टाढा लगिदिएकोले सिन्दूर चढाउने पूजा यथा समयमा पूरा गर्न बाधा पुर्याउनु भएको हुँदा रात्री १० बजेसम्म देवताको पूजायात्रा सम्पन्न हुन नदिई परम्परागत धर्म रीतिस्थितिमा खलल भई ताडपत्र अनुसार देश तथा राजाको अहित हुने देखिएबाट प्रहरीको मद्दतबाट देवताको खट ल्याउन लगाई सिन्दूर चढाई पूजा गर्न लाग्दा “मूलभट्ट मूर्दावाद” भन्ने नारा समेत लगाई आफू सत्य धर्म र कर्तव्यमा नरही पूजामा समेत विघ्न पार्नु भयो । सो कुराको सन्दर्भमा श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउँदा आफ्नो अधिकार बमोजिम गर्नु गराउनु भनी राजदरवार प्रमुख सचिवालयबाट ०४१ साल चैत्र १९ गतेमा पत्र प्राप्त हुँदा मत मण्डिल कबलका मूल भण्डारी वामनलाल मार्फत निवेदक श्यामकृष्ण भण्डारीलाई सोही दिन बेलुकी झिकाउँदा निज वामनलालले पनि सम्झाउँदा माफी समेत माग्न इन्कार गरी अटेर गरी फर्केर गएको हुँदा निज मूल भण्डारी वामनलालले आफ्नो प्रतिवेदन लेखिदिनु भएको समेतबाट निज श्यामकृष्ण भण्डारी सत्यबन्देजमा नरही देवताको पूजा काजमा बाधा पुर्याउनु भएको र अटेर गरेको साथै आफूलाई मन्त्र दिई देवता तथा राजाको काममा अधर्म गर्ने छैन भन्ने सत्य वाचा बढाई मन्दिरभित्र प्रवेश गराउने गुरुलाई पूजा आजा गरिरहेको अवस्थामा विघ्न पुग्ने गरी अपशब्द उच्चारण गरी देवताको काममा अवरोध खडा गरेको र धार्मिक काममा अवरोध खडा गरेको र धार्मिक काममा बाधा गरेकोबाट निज श्यामकृष्ण धर्म तथा कर्तव्य निष्ठामा नरहेको प्रष्ट हुँदा सम्वत् ८५५ को ताडपत्र र सम्वत् १८८३ को लालमोहर समेतको आधारबाट भण्डारीमा राख्न नमिल्ने भएकोले लगतबाट नाम काट्ने निर्णय गरिएको हो ।
१२. सम्वत् १८८३ साल माघको लालमोहरमा अघिदेखि चलिआएको ढढामा दरिया माफिकको पूजा भोग आरती गर्नु हाम्रो जय मनाउनु भन्ने र भण्डारका तैनाथमा रहन्या रकमीले आफूले लाग्याको काममा भट्टले अह्राया माफिक रुजू रहनु अरु पूजाहारी भट्टले पनि मूल पूजाहारीका सल्लाहमा रहनु .... काममा रुजू नरहन्या रकमीलाई खोसी रुजू रहन्यालाई दिनु पूजाहारी पनि मूल पूजाहारीका तैनाथमा नचली आफैं मवासी हुन नपावला रकमका मानिस काममा रुजु नरही बखेडा गन्र्यालाई खोस्नु दण्ड गन्र्यालाई दण्ड गर्नु भन्ने र सम्वत् ८५५ को ताडपत्रमा भण्डारीहरूलाई पनि विसेटे देवताको काममा रहन्याहरूलाई ईश्वरको स्थानमा भयाको आज्र्य तिर्थमा रात्रीमा दिनमा भयाको हेरिकन शम्भुका घरमा कहनु पर्छ भन्ने ... पूर्जा विधि विधान गर्या राजको जय होला राज्य वृद्धि भई सन्तान वृद्धि होला भन्ने समेत उल्लेख भएकोबाट म मूल पूजारीले भण्डारी खोस्ने अधिकार छैन भन्ने जिकिर गलत छ ।
१३. तसर्थ दफा दफामा उल्लेख गरिएको आधार बुँदाबाट निवेदकको कुनै संवैधानिक हक हनन् नभएकोले रिटनिवेदन पत्र खारेज गरिपाउँ भन्ने समेत श्री पशुपतिनाथका मूल पुजारी (मूलभट्ट) रावल पदमनाथ शास्त्री भट्टको लिखितजवाफ ।
१४. श्रीको पूजा आजाको काम धार्मिक परम्परा रीतिस्थिति अनुसार समयमै सम्पन्न गर्नु पर्ने हुँदा त्यसमा कसैले कुनै बाधा अवरोध खडा गरेमा तुरुन्त कारवाही गर्नु पर्ने अवस्था तथा स्थिति पर्न जाने हुँदा यस्तोमा प्रत्येक कुरा लिखितमा खडा गर्न असम्भव पनि छ । अधिकार प्राप्त अधिकारीको आदेश बमोजिम रीतिस्थिति अनुसार कारवाही चलाई आदेश बमोजिम नै निज निवेदकको नाम भण्डारीको लगतबाट काटिएको सूचना समेत पठाएकोले सो निर्णय आदेश तथा कारवाहीमा कुनै कानूनी त्रुटि भएको नदेखिनाले रिटनिवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत श्री पशुपति भण्डार तहविल कार्यालयका कार्यालय प्रमुख विशेट नाइके मदनगोपाल श्रेष्ठको लिखितजवाफ ।
१५. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ तथा गोपाल भण्डारीले ताडपत्र अनुसार भण्डारीका सन्तान भएसम्म सामान्य स्थितिमा खोसमोस गर्न प्रतिवन्ध लगाएको छ भण्डारी विशेटले उत्पतिमा लोभानी गरी सत्य बन्देजमा नरहे भण्डारी पदबाट खोस्न सक्ने ताडपत्रमा व्यवस्था छँदाछँदै मेरो पक्षलाई उत्पत्तिमा लोभानी गरेको भन्ने विपक्षीहरूको अभियगै नभएकोले उत्पत्तिमा लोभानी गरी सत्य धर्ममा नरहँदाको भनी निवेदकलाई भण्डारी पदबाट खोस्न सक्ने स्थिति छैन । रुद्रमति पछि र बागमती पूर्व निवेदकको जन्म नै भएको होइन यदि सो भएको भए निवेदक भण्डारी पदमा नियुक्ति नै हुने थिएन । यसबाट पनि मेरो पक्ष सत्य बन्देजको परिधि भित्र नरहेको भन्न मिल्दैन । विपक्षी मूल भट्टले निवेदक श्यामकृष्ण भण्डारीलाई बर्खास्त गरेको ताडपत्रको उल्लंघन हुन गरेकोले विपक्षीहरूबाट सम्पूर्ण काम कारवाही गएको अधिकार क्षेत्रात्मक त्रुटि भएकोले रिट जारी हुनु पर्छ भन्ने र विपक्षी पशुपतिनाथका मूल पुजारी मूल भट्ट रावल पदमा नाम शास्त्री समेत तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, शुशिलकुमार सिन्हा तथा कृष्णकुमार वर्माले श्री वच्छलेश्वरी देवीको खट रीतिस्थिति परम्परा अनुसार श्री पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा ३ ठक्कर खुवाउने काम सम्पन्न गरी सिन्दूर चढाउने पूजाका काम सम्पन्न गर्नु पर्नेमा २ दुई ठक्कर खुवाउने काम हुनासाथ निवेदक श्यामकृष्ण भण्डारी र निजका सहयोगीहरूले हुल गरी देविको खट घिसारी पश्चिम ढोकाबाट टाढा लगिदिएकोले सिन्दूर चढाउने पूजा यथा समयमा पूरा गर्न बाधा पुर्याएको हुँदा रात्री १० बजेसम्म देवताको पूजायात्रा सम्पन्न हुन नदिई परम्परागत धर्म रीतिस्थितिमा खलल भई “मूलभट्ट मुर्दावाद” भन्ने नारा समेत लगाई सत्य धर्म र कर्तव्यमा नरही पूजामा समेत विघ्न बाधा पारेकोले सम्वत् ८५५ को ताडपत्रको र सम्वत १८८३ सालको लालमोहर समेतको आधारबाट निवेदकलाई भण्डारी पदबाट नाम फाल्ने निर्णय गरेको कानून अनुकूल हुँदा निवेदनपत्र खारेज हुनु पर्छ भन्ने मिति ०४३।५।१।१ मा बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा निवेदकको माग बमोजिमको भण्डारी पदबाट बर्खास्त गर्ने गरेको कानून अनुकूल छ छैन सो कुराको निर्णय दिनु परेको छ ।
१६. यसमा अदालतको सामुमा जब व्याख्या गर्नु पर्ने वास्तविक प्रश्न आउँदछ त्यसबखत अदालतले धेरै कुराको सोच विचार गर्नु पर्दछ । व्याख्या गर्नु पर्दा शब्दका बाहिरी बोक्रा मात्र हेरी व्याख्या गर्नु हुनुहुन्न । व्याख्या कानूनी, विवेक सम्मत र व्यवहारिक समेत हुनु पर्दछ । व्यवहारिक भन्नाले समय सापेक्ष व्याख्या समेत यसै भित्र पर्दछ । ऐन कानून र समयको बीचमा रहेको समयले ल्याएको परिवर्तनलाई व्याख्याले पूर्ति गर्ने जस्ता व्याख्यालाई समय सापेक्ष व्याख्या भनिन्छ । यस प्रकारको समय सापेक्ष व्याख्या बडो सतर्कता र सावधानी पूर्वक अपवादको रुपमा हुन्छ र गरिन्छ । जस्तो यसलाई कसै कसैले Felt necessities of times पनि भन्दछन् । यति कुरा भन्नु पर्ने आवश्यकता यस कारणले पर्न आयो कि हामीले यहाँ १८८३ सालको लालमोहर, सम्वत् ८५५ को ताडपत्र इत्यादिको व्याख्या अहिलेको अवस्थामा गर्नु पर्ने हुन आएको छ । उक्त दस्तावेजहरूमा नियुक्तिको व्यवस्था छ, बर्खासीको व्यवस्था छैन भन्ने जस्ता प्रश्नहरू पनि यहाँ उठाइएका छन् । जुन बखतमा यी सनदहरू बने त्यस समयको परिस्थिति र त्यस समाजको धारणा अनुसार ती सनद सवालहरू बनेका हुन् । त्यति मात्र हैन श्री पशुपतिनाथको पुजा सम्बन्धमा व्यवस्था गर्दा त्यति बेलाको सामाजिक परिस्थिति अनुसारको व्यवस्था हुन गएको हो । त्यो समाज अहिलेको भन्दा धेरै भिन्न किसिमको थियो । त्यो पवित्र स्थल, त्यसका पूजारी र पूजारीको सहयोगीहरूको कल्पना गर्दा अवश्य पनि अहिलेको Master & Servant को अथवा Muta Marriage को जस्तो कल्पना हुने र गरिने अवस्था थिएन । त्यसको एकदम विपरीत स्थितिको अवस्था थियो भनी मान्नु पर्दछ । त्यहाँका मूल पूजारी, भण्डारीहरूका बीचको सम्बन्ध परम्परागत रुपमा गुरु शिष्यको परिकल्पना अनुरुप गरिएको थियो भन्नु पर्दछ।
१७. गुरु शिष्यको कल्पनामा, गुरुको कल्पना “अनहंकृतम् अनसूयकम् अकोपनं, क्लेशक्षमं शिष्यवत्सलम्” भनी गरिएको थियो भने, शिष्यले गुरुलाई “अग्निवच्च देववच्च राजवच्च पितृवच्च भर्तुवच्चाप्रमतः” हेर्नु गर्नु पर्ने गरी कल्पना गरेको थियो भन्नु पर्दछ । यस पृष्ठभूमिमा प्रस्तुत विवादलाई हेर्नुपर्ने अवस्था आएको छ । यस दृष्टिकोणले हेर्दा यहाँ उठेका २।३ प्रश्नहरूको समाधान यिनै कुरालाई ध्यानमा राखी गर्नु पर्दछ ।
१८. २०४१।१२।११।१, ०४१।१२।१९।२ र ०४१।१२।२५।१ का प्रतिवेदनहरू र १८८३ सालको लालमोहरका फोटोकपीहरू विपक्षीका कानून व्यवसायीतर्फबाट पेश हुन आएका छन् ।
१९. अब यसको तथ्यतर्फ हेरौं :– श्री पशुपति नाथको भण्डारी पदमा कार्यरत निवेदकलाई मिति ०४१।१२।१०।७ का दिन श्री वच्छलेश्वरी देवीको यात्रामा समयमै सिन्दूर चढाई यात्रा सम्पन्न गराउने कार्यमा अवरोध पुर्याई श्री पशुपतिनाथका मूल पूजाहारीलाई अश्लिल शब्द प्रयोग गरेको, पटक पटक माफी माग्न भनिएकोमा माफी नमागी अटेर गरी बसेकोले मूल पूजाहारीको ०४१।१२।२० को आदेश अनुसार भण्डारीको लगतबाट नाउँ काटिएको व्यहोरा ०४२।३।१९ को पत्रद्वारा सूचित गरिएको रहेछ । ताडपत्रमा भण्डारीलाई खोस्न सक्ने अधिकार श्री पशुपतिनाथको मूल पूजाहारीलाई छैन । मैले श्री ५ को दर्शन गरी श्री ५ महाराजाधिराजबाट स्वीकृति बक्स भएर भण्डारी पद पाएको हुँदा मूल पूजाहारीले मलाई हटाउन पूर्णतः असक्षम हुनुहुन्छ भन्ने समेत निवेदकले जिकिर लिएको देखिन्छ ।
२०. सनदले नियुक्तिको व्यवस्था गरेको छ, बर्खास्तको व्यवस्था गरेको छैन भन्ने प्रथम प्रश्नतर्फ विचार गर्दा :– यस प्रश्नलाई अब हामीले २ दुई Çयाकमा विभाजित गर्नु पर्दछ । पहिलो फ्याकलो हो बर्खासीको व्यवस्था नहुनु । अब के यसलाई स्थायी, कहिल्यै नटुट्ने, नियुक्ति मान्दा व्यवहारिक हुन आउँछ त ? यहाँ यस्तो व्याख्या, गर्न व्यवहारिकता र संसारको वास्तविकतालाई पूरा विर्सेर वा बेवास्ता गरेर मात्रै यसो भन्न र गर्न सकिन्छ । भण्डारीको त्यहाँ केही कर्तव्यहरू छन् जस्तो यस मिसिलसाथ संलग्न सम्वत् ८५५ साल ज्येष्ठ वदी ६ रोज ५ को ताडपत्र र सम्वत् १८८३ माघ सुदी ६ को लालमोहरमा लोभानी पापानी नगरी सत्य बन्देजमा रही सनातन देखि चलिआएको श्री पशुपतिनाथको पूजा आजा गर्ने गराउने, आफूलाई मूल पूजाहारी भट्टले लगाएको कार्य गर्नु पर्ने तथा सत्य धर्ममा नरहने काममा रुजू नरहनेलाई खोस्नु भन्ने (सम्वत् १८८३ सालको लालमोहरमा) उल्लेख भएको देखिन्छ । ती कर्तव्यहरू पालन गर्नको (अर्थात् माथि उल्लेखित श्री पशुपतिनाथको मन्दिरमा हुने सबै प्रकारका पूजाको) निमित्त निजको नियुक्ति गरिन्छ र गरिएको हो । त्यसकारण ती कर्तव्यको पालना नभएमा पनि निजको नियुक्ति सो लालमोहरको विपरीत पनि कायम नै रहन्छ भन्नु विलकुलै नमिल्ने कुरा हुन जान्छ । त्यसकारण यहाँ उक्त ताडपत्र तथा लालमोहर इत्यादिमा उल्लेखित बन्देजहरूलाई परम्परागत रुपले हेरी व्यवहारिक अर्थात् समय सापेक्ष व्याख्या गरी समस्याको समाधान गर्नु परेको छ ।
२१. अब पहिलो प्रश्नको दोश्रो Çयाक्लो बर्खासी गर्ने अधिकार कसको हो भन्ने प्रश्न पनि समाधान गर्नु पर्ने हुन आएको छ । त्यसतर्फ हेर्दा उपरोक्त लालमोहर र सर्वोच्च अदालतको निवेदक विशेट सूर्यमान श्रेष्ठ विरुद्ध श्री पशुपतिनाथका मूल पूजाहारी रावल पदमनाथ शास्त्री समेत भएको सम्वत् २०२८ सालका रिट नं. १०७५ को रिट निवेदनमा डिभिजन बेञ्चबाट भएका ०२९।३।९ को निर्णय तथा निवेदक अमृतलाल भण्डारी विपक्षी श्री पशुपतिनाथका मूल पूजाहारी भएको सम्वत् २०३२ सालको रिट नं. १५७९ को रिटनिवेदन पत्रमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०३२।१०।२८ का निर्णयहरूले यस कुराको समाधान गरी सकेको देखिन्छ दीक्षा दिने अर्थात् श्री ५ को दर्शन गराउने अधिकारी मूल भट्ट हुनुहुन्छ भने बर्खास्त गर्ने (खोस्ने) अधिकारी पनि मूल भट्ट (आचार्य) नै हुनुहुन्छ ।
२२. अब अर्को प्रश्न बर्खास्त गर्नुपर्ने कारण पर्यो परेन र परेको भए त्यसमा उचित सावधानी र सामान्य प्रक्रिया अपनाइयो अपनाइएन भन्नेतर्फ नै हेर्नु परेको छ । त्यसतर्फ हेर्दा ०४१।१२।१० का दिन श्री वच्छलेश्वरी देवीको खटमा सिन्दूर चढाउने कार्यमा अपरोध खडा गरी रथयात्रा नै दुई तीन घण्टा ढिलो हुन गएको र मूल पूजाहारीको विरोधमा नारा लगाई देवीको खट यात्रामा बाधा दिएको भन्ने कुरा प्रमाणित भएको छ । त्यसपछि निवेदकलाई माफी माग्ने जस्ता कार्यहरूको निमित्त अवसर दिइएकोमा निजले इन्कार गरेको कुरा मूल भण्डारी वामनलालको ०४२।१२।१९ को प्रतिवेदनबाट देखिन्छ । त्यसपछि पनि निजलाई माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न मिल्दैन ।
२३. यस परिस्थितिमा माफी माग्ने जस्ता कुराको अनुरोध, त्यहाँका निवेदकलाई दीक्षा दिने गुरु मूल पूजाहारी तथा भण्डार तहविल कार्यालय समेतबाट हुँदा निवेदकले इन्कारी गर्नु जस्ता कुरा पनि साधारण होइनन् । विना कारण यी सबै कुरा मूल भट्टले गर्नु पर्ने र त्यसलाई अरु प्रतिवेदन दाताहरूले समर्थन गर्नु पर्ने कारण पनि केही देखिँदैन । त्यसकारण यी सबै कुरालाई विचार गर्दा यसमा मूल भट्टले गर्नु भएका सबै कारवाही निवेदकका जिकिर अनुसार आधारहिन हुन् भन्न सकिन्न । मूल भट्टले उचित सावधानी र सामान्य प्रकृया नपुर्याएको कारणबाट निवेदकले आफूलाई सजायँबाट बचाउने मौका नपाएको भन्न मिल्दैन । निवेदकले क्षमा याचना गर्न पाएको अवसरलाई आफैंले गुमाएको देखिन्छ । त्यसकारण अब यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु न्याय, सदविवेक र व्यवहारिक दृष्टिकोण समेतले उचित नहुँदा रिटनिवेदन खारेज हुन्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल भाद्र १ गते रोज १ शुभम् ।