शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०३९ - डाँका

भाग: २९ साल: २०७१ महिना: असार अंक:

निर्णय नं. ३०३९     ने.का.प. २०४४ अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको फौ.पु.नं. ४००

मुद्दा : डाँका

 

पुनरावेदक/प्रतिवादी: जि.रौतहट सरुअठा गा.पं. वार्ड नं. ८ बस्ने राजेन्द्रप्रसाद सिंह राजपुत।

विरुद्ध

विपक्षी/वादी: तेजनारायण कापडको जाहेरीले श्री ५ को सरकार।  

फैसला भएको मिति: २०४३।११।२६।३ मा

     अभियोक्ता स्वयं उपस्थित रही मौका तहकिकात वा सरजमीन सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यस अवस्थामा प्रधानपञ्च र उपप्रधानपञ्चको उपस्थिति अनिवार्य गराएको वा निजहरूको अनुपस्थितिमा भएको मौका तहकिकात वा सरजमीनले कानूनी मान्यता पाउन नसक्ने भन्ने अवस्था रहेको नदेखिने ।

(प्रकरण नं. २२)

     मिति २०३७।२।२१ मा सरजमीन मुचुल्का भएको र यी पुनरावेदक प्रतिवादी मिति ०३७।३।२७ मा मात्र पक्राउ परेको देखिँदा सरजमीनको रोहवरमा राख्ने अवस्था नै आएन फेला नपरेको कारणबाट रोहवरमा नरहेको भए सोही किसिमको फेला नपरेको भनी जनाउनु पर्नेमा नजनाएको भन्ने कुराले मात्र सरजमीनको तात्विक प्रमाणिक महत्वमा असर नपर्ने नहुँदा सरजमीनलाई कानून विपरीतको मान्न मिलेन, फेला नपरेका अभियुक्तहरूको पनि नाम खुलाउनु पर्ने तर्फ व्यवहारिक र कानूनले बाध्य पनि छैन ।

(प्रकरण नं. २३)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    २०३६।११।२०।२ गते राती खानपिन गरी मेरो भएको परिवार सुती निदाई रहेको अवस्थामा करिब १०१० बजेको समयमा २१, २२ जना डाँकाहरू आई घरभित्र पसी मलाई समाई कुटपिट गर्न लाग्दा ज्यान बचाउनको लागि बल प्रयोग गरी घरबाट बाहिर निस्कें र सो रात चाँदनीको उज्यालो भएको र डाँकाहरूले बालेको टर्चको उज्यालोबाट समेत राजेन्द्र सिंह, हिरामान सिंह, जगत सिंह, ठगरमियाँ, चन्द्रेश्वर सोनार, रसुल मियाँ, खहेरु राउत, पलट कापडलाई चिनें अरुलाई पहिचान गर्न सकिन । डाँकाहरूले जम्मा रु. ९१,३००।को धनमाल डाँका गरी भागी गएकोले डाँकाहरू पत्ता लगाई कारवाही गरी डाँका गरी लगेको बिगो दिलाई सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.    जाहेरवालाको घरमा डाँकाहरू आई डकैती वारदात गरेको हो । सो डाँका वारदात हुँदा म आफ्नो घरमा नभई श्रीमतीलाई ल्याउनको लागि २ दिन अगावै सरुअठा गएको थिएँ । भोलिपल्ट मात्र श्रीमतीलाई लिएर फर्केको हुँ । वारदात भएको ठाउँदेखि मेरो ससुराली २ कोष फरकमा पर्दछ । कहाँका डाँकाहरू आई डाँका गरे मलाई थाहा छैन । जाहेरवालासंग मेरो जग्गा मुद्दा परी मैले जितेको हुँदा रिसइवीले गर्दा उजूर दिएको हो भन्ने समेत व्यहोराको पलट कापडको प्रहरीमा भएको कागज ।

४.    जाहेरवाला तेजनारायणको घरमा डाँका वारदात भएको र डाँकाहरू भाग्दा प्रहरीहरू आई पुगी गोलिफायर समेत गरेको कुरा मैले भोलिपल्ट सुनेको हुँ फागु पूर्णिमाको रात म घरमा छु । रातको १० बजे फागु खेलेको छु । जाहेरवालासंग मेरो कुनै रिसइवी छैन । जाहेरवाला र मेरो गाउँ बस्ने जि.स.स. चन्द्रिकाप्रसाद सिंहको बीच दोस्ती भएकोले चन्द्रिकाको दवावबाट जाहेरवालाले मेरो नाम समावेश गरेको हुनुपर्दछ । दर्खास्तमा उल्लेख भएका प्रतिवादीहरूसंग मेरो कुनै सम्पर्क छैन । राम्ररी चिनेको पनि छैन भन्ने समेत व्यहोराको राजेन्द्र सिंहको प्रहरीमा भएको बयान ।

५.    जाहेरवालाको जाहेरी अनुसारको डाँका वारदात भएको हो र जाहेरी दर्खास्तमा लेखिएका प्रतिवादीहरूलाई रात चाँदनी भएको हुँदा त्यसको प्रकाशले चिनेको भन्ने समेत व्यहोराको सरजमीनका अधिकांश मानिसहरूले लेखाई दिएको सरजमीन मुचुल्का ।

६.    राजेन्द्र सिंह राजपुत समेत आठजना उपर मुद्दा चलाउन सबूद पुग्ने हुँदा निजहरू माथि मुलुकी ऐन चोरीको १४ नं. को देहाय ४ बमोजिम सजायँ हुनु पर्ने भन्ने माग दावी गर्दै प्रतिवादीहरू समेत दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

७.    २०३६।११।१७ देखि नै मलाई आँउको विमारले गर्दा गौर अस्पतालको डाक्टरसंग औषधि गराई औषधि खाई घरमै बसिरहेको थिएँ । मैले डाँका गरेको भन्ने मेरो उपरको उजूरी झुठ्ठा हो प्रतिवादीहरू कसैलाई म चिन्दिन र निजहरूसंग मेरो भेटघाट पनि छैन । साक्षी बुझी झुठ्ठा पोल उजूरबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र सिंहको अदालतमा भएको बयान ।

८.    २०३६।११।२० गते दिन म आफ्नो घरमा छैन । जहानलाई बोलाई ल्याउन ०३६।११।१८ गते घरबाट हिंडी सरुअठ्ठा ससुराली पुगी २ दिन बसी ऐ २१ गते घर आएको हुँ । वारदात गरेको छैन । म निर्दोष छु । साक्षी प्रमाण बुझिपाउँ भन्ने पलट कापड यादवको अदालतमा भएको बयान ।

९.    २०३६।११।२० गते राती आफ्नो गाउँघरमा नभई गाउँकै शुरत सिंहको बचलगाडी लिई जंगलबाट लकडी ल्याउनका लागि ४ दिन अगावै घरबाट हिंडी जंगलकै लकडी कटान गरी रंगपुर बस्ने बेचु थारुको दरबाजामा लकडी ओसार्ने काम गरेको थिएँ । वारदात भएको १५ दिनपछि घर फर्की आएको छु । डाँका गरेको छैन । म निर्दोष छु मेरो साक्षी प्रमाण बुझी झुठ्ठा पोल उजूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रसुल मियाँ फकिरको अदालतमा भएको बयान ।

१०.    बहिनी विरामी परेको भन्ने खबर आएकोले बहिनीलाई हेर्न भनी ०३६।११।१६ मा घरबाट भात खाई हिंडी बहिनीको घर मिठु जगावै ६, ७ दिन त्यहीँ बसी बहिनी निको भएपछि ऐ फाल्गुण २३ गते मात्र म आफ्नो घरमा आएको छु । जाहेरवालाको घरमा म डाँका गर्न गएको छैन । म निर्दोष हुँदा साक्षी प्रमाण बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ठगा मियाँले अदालतमा गरेको बयान ।

११.    ०३६ साल फाल्गुण २० गतेका दिन रात म बारा जिल्ला बारा गढी पञ्चायतमा थिएँ । जाहेरवालाको घरमा डाँका वारदात गरेको छैन । म निर्दोष हुँदा साक्षी बुझी झुठ्ठा पोल उजूरबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हिरामान सिंह राजपुतले अदालतमा गरेको बयान ।

१२.   म धनुषा जि.गोदार पञ्चायत कमला प्रोजेक्टमा पेटी कन्टेक्टमा ग्राभेल ढुवानीको काम १ वर्ष देखि गर्दै आएको छु । गोदार पञ्चायतमा नै परशुराम सुवेदीको घरमा भाँडा माझी आएकोमा ०३६।११।१४ देखि ऐ २४ गते सम्म पेटको रोग लागेकोले औषधि उपचार गराई बसेको छु । मैले डाँका गरेको छैन । म निर्दोष हुँदा साक्षी प्रमाण बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जगत सिंहले अदालतमा गरेको बयान ।

१३.   भाँडा वर्तन बेचबिखन गर्न २०३६ साल फाल्गुण १८ गते घरबाट हिंडी सर्लाही जिल्ला मौजे मानपुर लौकाहा टोल बस्ने बुनी भगत यादवको घरमा गई भाँडा वर्तन बिक्री गर्ने काम गरेको थिएँ । ऐ फाल्गुण २५ गते मात्र घर फर्किएको छु । डाँका गर्न गएको छैन । निर्दोष हुँदा साक्षी बुझी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.चन्द्रेश्वर सोनारको अदालतमा भएको बयान।

१४.   २०३६।११।२० मा म आफ्नो घरमा छैन । ०३६ साल माघ महिना भारत जिल्ला मधुवती सुजातपुर बस्ने ललन सिंहको घरमा निजको हलो जोत्ने घाँस काट्ने काम गरी बसेको थिएँ । ०३७।१२।१० मा मात्र म घर आएको हुँ । डाँका गर्न गएको छैन म निर्दोष छु भन्ने समेत व्यहोराको खहेरु राउतको अदालतमा भएको बयान ।

१५.   प्र.ठगाले ०३७।१२।२३ को र प्र.चन्द्रेश्वर सोनारले ०३७।११।१ को तारेख गुजारी बसेको ।

१६.    किटानी जाहेरी मौका घटनामा देखें चिनेको भनी सरजमीन र अदालतमा बकपत्र भएको समेत आधारमा जाहेरवालाको घरमा ०३६।११।२० गतेका रात प्र.राजेन्द्र सिंह हिरामान सिंह जगत सिंह ठगा मियाँ चन्द्रेश्वर सोनार ससुलमियाँ खहेरु राउत कुर्मी पलट कापड यादव समेत जना ८ ले डाँका वारदात गरी जाहेरीमा लेखिएको बिगो डाँका गरेको ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जि.अ.को मिति ०३८।९।१२ को फैसला ।

१७.   शुरु रौतहट जिल्ला अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला उल्टाई मेरा भएका सबूद प्रमाणहरूको मूल्यांकन गरी सफाई पाउने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद सिंहको म.क्षे.अ.मा परेको पुनरावेदन ।

१८.   राजेन्द्र सिंह समेतका आठ जवान प्रतिवादीहरूलाई चिनेको भनी किटानी जाहेरी सो जाहेरीलाई पुष्टी हुने गरी सरजमीनले लेखाई दिएको र सोही व्यहोरालाई सरजमीन मध्येका ६ जवान व्यक्तिहरूले अदालतमा आई  बकपत्र समेत गरी दिएको समेतबाट यी पुनरावेदक समेतले कसूर गरेको देखियो । तर प्रहरी प्रतिवेदन दावी बमोजिम रु. ९१,३४०।को बिगो मध्ये आफू नसुतेको घरमा सेफमा रहेको भनिएको रु. ७५,०००।बिगो डकैती गरेको देखिएन काठको आलमारीमा आफू सुतेको पश्चिमपट्टी रहेको भनिएको रु. १६,३४०।रुपैयाँ र मालसामान मात्र राजेन्द्रप्रसाद सिंह राजपुत समेतले डकैती गरेको ठहर्छ । सु.जि.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको ०४२।६।१७।५ को म.क्षे.अ.को फैसला ।

१९.    म.क्षे.अ.को फैसलामा प्रमाण ऐन, ०३१ को दफा २५५४ अ.बं. १८४क १८५ समेतको त्रुटि भएको हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी राजेन्द्र सिंह राजपुतको निवेदन यस अदालतमा परेको रहेछ ।

२०.   प्रस्तुत मुद्दाको वारदातको मौका तहकिकात वा सरजमीन गर्दा सम्बन्धित गाउँ पञ्चायतको प्रधानपञ्च वा उपप्रधानपञ्चलाई समावेश गरेको देखिन नआएकोले उक्त सरजमीन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) को प्रतिकूल भएकोले त्यस्तो सरजमीन मुचुल्कालाई मान्यता दिई भएको शुरु रौतहट जि.अ.को फैसालालाई मान्यता दिई पुनरावेदक प्रतिवादी समेतलाई सजायँ गर्ने गरेको म.क्षे.अ.को फैसलामा उक्त सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) को प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति ०४२।६।२४।५ को आदेश ।

२१.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले सरजमीनलाई समेत आधार लिई मेरो पक्षलाई दोषी ठहर्‍याएको छ । तर उक्त सरजमीन मुचुल्का गर्दा प्रधानपञ्च तथा उपप्रधानपञ्चको रोहवरमा गरिनु पर्ने भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) को विपरीत भएको छ । साथै यसरी सरजमीन गर्दा अभियुक्तलाई रोहवरमा राख्नु पर्ने व्यवस्था अ.बं. १३६ मा भएको अभियुक्तलाई रोहवरमा राखिएको छैन अतः यस्तो सरजमीनलाई प्रमाणमा लगाएको मिलेन सरजमीनका मानिसहरूले यो यस्तो यति नगदी जिन्सी सामान प्रतिवादी राजेन्द्रप्रसाद सिंहले डाँका गरी लगेको भनी भन्न सकेको छैन साथै वारदातमा कुनै दशी वरामद भएको छैन । अर्कोतर्फ जाहेरवाला र सरजमीनका मानिसले डाँकाहरूले नै बालेको टर्चलाइटबाट उनीहरूलाई चिनेको भनेको छन् त्यसरी डाँकाहरूले बालेको टर्चलाइटबाट उनीहरूलाई नै देख्न सक्ने अवस्था नै पर्दैन साथै मेरो पक्ष राजेन्द्रप्रसाद सिंहको साक्षीहरूको बकपत्र समेतको आधारमा मेरो पक्ष निर्दोष देखिँदा देखिँदै कसूरदार ठहर गरेको म.क्षे.अ.को फैसला मिलेको नहुँदा उल्टी भई कसूरमा सफाई पाउनु पर्दछ भन्ने र विपक्षी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) बमोजिम सरजमीन गर्न तथा मौका तहकिकातको लागि सरकारी वकिल स्वयं उपस्थित भई सञ्चालन गर्न सक्ने र सरकारी वकिल उपस्थित नभएमा मात्र प्रधानपञ्च वा उपप्रधानपञ्च उपस्थित हुन पर्ने हुँदा सरकारी वकिल स्वयं उपस्थित भई प्रधानपञ्च वा उपप्रधानपञ्चको अनुपस्थिति भएपनि सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३(२) को विपरीत हुँदैन । ०३७।३।२७ गते मात्र प्रतिवादी राजेन्द्र सिंह पक्राउ परेको र सरजमीन सो भन्दा अगावै मिति ०३७।३।२१ गते भएको हुँदा रोहवरमा राख्न सक्ने अवस्था नै परेन । किटानी जाहेरी भएको राजेन्द्र सिंह डाँका वारदातमा उपस्थित थिएँ भनी वकी लेखिदिएको र सोही व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र समेत गरिदिएको समेतबाट पुनरावेदक समेतले डाँका  वारदात गरेको देखिएको हुँदा कसूरदार ठहर्‍याई गरेको म.क्षे.अ.को फैसलामा कुनै त्रुटि नहुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो । यसमा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

२२.   यसमा पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसको सिलसिलामा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(२) अनुसार सरजमीन गर्दा सम्बन्धित गा.पं. का प्रधानपञ्च अथवा उपप्रधानपञ्च उपस्थित भई गर्नु पर्नेमा निजहरूको अनुपस्थितिमा नै भएको सरजमीन मुचुल्काले मान्यता पाउँदैन भनी गर्नु भएको बहस जिकिरको हकमा उपरोक्त दफा ३(२) को प्रतिबन्धात्मक वाक्यांशको (क) र (ख) लाई हेर्दा सरकारी अभियोक्ता स्वयं उपस्थित रही मौका तहकिकात वा सरजमीन सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यस अवस्थामा प्रधानपञ्च र उपप्रधानपञ्चको उपस्थिति अनिवार्य गराएको वा निजहरूको अनुपस्थितिमा भएको मौका तहकिकात वा सरजमीनले कानूनी मान्यता पाउन नसक्ने भन्ने अवस्था रहेको देखिँदैन । अर्कोतर्फ सरजमीनमा बक्ने व्यक्तिहरूले अदालतमा आई बकपत्र गरेको र यसरी बकपत्र गर्दा यी पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतलाई जिरह गर्ने मौका समेत दिएको देखिँदा सरजमीनको प्रमाणिक महत्व रहँदैन भन्न मिलेन ।

२३.   यसै प्रश्नसंग सम्बन्धित अर्को प्रश्न पनि छ त्यो हो सरजमीन वा मौका तहकिकात गर्दा सो ठाउँमा फेला परेसम्मका अभियुक्तलाई रोहवरमा राख्नु पर्ने भन्ने अ.बं. १३६ नं. को व्यवस्थाको सम्बन्धमा विचार गर्दा मिति ०३७।२।२१ मा सरजमीन मुचुल्का भएको र यो पुनरावेदक प्रतिवादी मिति ०३७।३।२७ मा मात्र पक्राउ परेको देखिँदा निजलाई सरजमीनको रोहवरमा राख्ने अवस्था नै आएन । अर्कोतर्फ यदि उ फेला नपरेका कारणबाट रोहवरमा नरहेको भए सोही किसिमको फेला नपरेको भनी जनाउनु पर्नेमा नजनाएको भन्ने कुराले मात्र सरजमीनको तात्विक प्रमाणिक महत्वमा असर नपर्ने हुँदा प्रत्यर्थीकै आधारमा मात्र सरजमीनलाई कानून विपरीतको मान्न मिलेन, फेला नपरेका अभियुक्तहरूको पनि नाम खुलाउनु पर्नेतर्फ व्यवहारिक र कानूनले बाध्य पनि छैन ।

२४.   सरकारी मुद्दा सम्बन्धी नियम, २०१८ को नियम ३(१) अनुसार बाटोको म्याद बाहेक जाहेरी दर्खास्त परेपछि साधारणतया २४ घण्टाभित्रै जति सक्दो चाँडो सरजमीन गराउनु पर्नेमा सो बमोजिम नभई ढिला गरी भएको छ । अतः यो पनि कानून विपरीत भएको भन्ने तर्कका हकमा साधारणतया भन्ने शब्द यो दफामा परेकोले यो अनिवार्य तथा वाध्यात्मक व्यवस्था होइन तसर्थ त्यसतर्फ पनि विचार गरिरहनु परेन ।

२५.   प्रस्तुत मुद्दाको तथ्यतिर हेर्दा विवादित वारदात भएको हो होइन र भएमा यी पुनरावेदक प्रतिवादीले आरोपित कसूर गरेको हो होइन सो सम्बन्धमा विचार गर्दा प्र.राजेन्द्रप्रसादले नै प्रहरी र अदालतमा समेत वारदात भएकै हो भनी बयान गरेको र सबै अभियुक्तहरूले वारदात होइन भनी नभनेको किटानी जाहेरी र सो जाहेरी बमोजिम नै वारदात भएको हो भनी सरजमीन समेतका मानिसले सरजमीन व्यहोरामा लेखाई दिएको र अदालतमा आई बकपत्र समेत गरेबाट वारदात भएको कुरामा विवाद उठेको नदेखिँदा वारदात घटेकै देखिन आयो ।

२६.   यस वारदातमा डाँकाहरूले बालेको टर्चलाईट र जुनको उज्यालोबाट राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरूलाई चिनेको भनी किटानी जाहेरी दिएको र डाँकाहरूले जाहेरवालालाई कुटपिट गरेको कुरा निजको घाउ जाँच फारामबाट जिउको विभिन्न अंगमा घाउ भएकोबाट पनि पुष्टि हुन्छ । जाहेरीमा लेखिएका प्रतिवादी राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिहरूलाई वारदातमा देखेको भनी सरजमीनमा लेखाई दिएको तथा  सरजमीनका व्यक्तिहरू मध्ये चस्मदिद झागरु राय यादव, राम वृक्ष राय, देवी वैठाधोवी, राम विलास राम विर राय यादव र रामस्वार्थ कापड यादवले अदालतमा आई बकपत्र गर्दा वारदातमा राजेन्द्रप्रसाद सिंहलाई देखें चिनेको र त्यसबखत निजको हातमा बन्दुक समेत थियो भनी किटानी बकपत्र गरी लेखिदिएको देखिन्छ । अर्को तर्फ यी पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसादले प्रहरी समक्ष बयान गर्दा म घरमै छु भनेको तर अदालतमा आई बयान गर्दा चाहीँ म घर बाहिर अन्यत्र गएको थिएँ भनी बयान गरेको छ यसरी निजको बयानबाट परस्पर कुरा बाझिएको देखिँदा विश्वासप्रद भएन । घर बाहिर छु भनेकोमा पनि २।३ कोष टाढा रहेको देखिएको छ त्यति टाढाबाट वारदातमा सरिक हुन नसक्ने भन्न पनि सकिँदैन । अतः माथि उल्लेखित प्रमाण परिवन्दबाट वारदातमा यी पुनरावेदक प्रतिवादी सरिक नै भएको पुष्टि हुन आउँछ । विगोको सम्बन्धमा जाहेरवालाले आफू सुतेको ठाउँ नजिक राखेको भनिएको रु. १६,३४०।मात्र राजेन्द्रप्रसाद सिंह समेतका व्यक्तिले डाँका गरेको ठहर्‍याई गरेको म.क्षे.अ.को इन्साफ मिलेकै हुँदा केही परिवर्तन गरिरहनु परेन पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

पु.प्र.राजेन्द्रप्रसाद सिंह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ सदर भएकोले अ.बं. २०३ नं. बमोजिम दोश्रो तहमा पुनरावेदन गरे वापत हुने थप कैद ३ महिना १९ दिन र थप जरिवाना रु. १,२२२।५३ हुन्छ पु.वे.प्रतिवादी राजेन्द्र सिंह राजपुतबाट असूल उपर गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४३ साल फाल्गुण २६ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु