शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०४२ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: असार अंक:

निर्णय नं. ३०४२     ने.का.प. २०४४ अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको फौ.पु.नं. ४३४, ४६५

सम्वत् २०४३ सालको फौ.सा.नं. ६८

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक/प्रतिवादी:कास्की जिल्ला पोखरा न.पं. वडा नं.७ मासवार घर भै हाल पर्सा जिल्ला   कार्यालय कारागार शाखा वीरगंज थुनामा रहेको अग्नी प्रसाद बराल।

      ऐ.ऐ बस्ने हाल कारागार शाखा कास्की थुनामा रहेकी राधिका बराल।

विरुद्ध

विपक्षी/वादी: शिवजी प्रसादको जाहेरीले श्री ५ को सरकार।

फैसला भएको मिति: २०४४।२।२७।२ मा

 

     अभियुक्त राधिका अत्याधिक आवेशमा आएको भनी अभियुक्त अग्नीप्रसादको अदालतको बयानबाट देखिन आएबाट कुटपिट साधारण थियो भन्न सकिने अवस्था  देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य प्रतिकृया मात्र भयो अथवा हुन्छ भन्न सकिन्न, यो एउटा वास्तविक एवं स्वभाविक प्रकृया हो । तसर्थ मर्नेलाई मरणान्त कुटाई भएन भन्ने कुरा मान्न नसकिने ।

(प्रकरण नं. २३)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला: पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेका इन्साफ उपर चित्त नबुझी पु.प्र.अग्नीप्रसाद बरालको पुनरावेदन र पु.प्र.राधिका बरालको पुनरावेदन यस अदालतमा छुट्टा छुट्टै फौजदारी पुनरावेदन डिभिजन डायरीमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको विवरण यस प्रकार छ ।

२.    मिति ०३९।३।३१ गतेका विहान घुम्दै जाँदा फेवाताल वाराही मन्दिर देखि केही माथि अपरिचित एकजना मानिसको लाश देखिएको र नजिक गई हेर्दा घोप्टो परेको शरीरमा चेष्टर सारी लगाएको किनारमा रातो रंगको ब्लाउज र रातो मजेत्रो चप्पल समेत देखिएकोले कानून बमोजिम होस् भन्ने समेत ०३९।३।३१ को प्र.ह.रामबहादुर पौडेलको प्रतिवेदन ।

३.    दाजु अग्नीप्रसाद बरालले मेरी श्रीमती सरस्वती बरालसंग अनुचित सम्बन्ध राखेको देखि २, ४ थप्पड मैले पनि हानेको हुँ भनी भाउजू राधिकाले भनेको र भोलिपल्ट फेवातालमा लाश देखिएकोले निज अग्नीप्रसाद र राधिकाले मारेको यकिन भएकोले ज्या.सं.को महल बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको शिवजीप्रसाद बरालको जाहेरी दर्खास्त ।

४.    अग्नीप्रसाद बरालको ट्याड्ढीमा गई हेर्दा सानो डोरी पश्चिमतिर निस्कने ढोका साइडमा भएको । फलामे छुरी सुत्ने गरेको किनारातिर रहेको । उत्तरपट्टिको लास्ट कवल नजिकै अग्नीप्रसाद सुत्ने गरेको विस्तरा भएको भन्ने समेत व्यहोराको ०३९।३।३१ को बारामदी मुचुल्का ।

५.    फेवातालको वाराही मन्दिर जाने तालमा किनाराबाट ५० फीट फरकमा ५ फुट ४ इन्च गहिराई भएको पानी भित्र मृतक सरस्वतीको लाश रहेको लाशको दक्षिण टाउको उत्तर गोडा भई पानी भित्रै घोप्टो परेको, लाशलाई पाखामा ल्याई हेर्दा चेष्टर रातो कालो पहेलो बुट्टा भएको लगाएको भन्ने समेत व्यहोराको ०३९।३।३१ को लाश प्रकृति मुचुल्का ।

६.    पानीमा डुबी मरेको भन्ने समेत व्यहोराको ग.अं.अस्पतालको लाश जाँचको रिपोर्ट।

७.    लोग्ने अग्नीप्रसादलाई खाना पनि पुर्‍याई देउ र टड्ढी लिपपोत पनि गरिआउ भनी बुहारी सरस्वतीलाई ८ बजे पठाएकोमा १२ बजे सम्म पनि नआएकीले टंकीमा जाँदा श्रीमान र देउरानी करणी गरिहेको देखेकीले रिसले आवेशमा आई सरस्वतीलाई बाबियोको डोरीले बाँधी तिघ्रा चुल्ठो समाई थिची कुटपिट गरेर माथि टंकीमा गएँ । अग्नीप्रसाद अगी नै माथि टंकीमा गइसकेका थिए । माथि टंकीमा चोर आयो भनी पैसाको बाकस लिई फेरी तल्लो टंकीमा आउँदा सरस्वती बराल बेहोस भई मर्ने अवस्थामा देखिएकोले मरी भने परिन्छ भनी लोग्नेले अघिल्लो पट्टि बोकेकोले मैले पछाडि पट्टि बोकी तालमा लगी डुबाई फर्किआएको हो भन्ने समेत २०३९।४।१ को तातिम्बा सहितको प्र.राधिका बरालको जि.प्र.का. कास्कीमा भएको बयान ।

८.    म र बुहारी करणी गर्दाकै अवस्थामा श्रीमती राधिका बरालले देखेपछि माथिल्लो टंकीमा चोर आएको छ भन्ने सुनेपछि म माथिल्लो टंकीमा गएँ श्रीमती राधिकाले करणी गराई भन्ने रीसले टंकीभित्र रहेको बाँसको खम्बामा डोरीले बाँधी कुटपिट गरिछन् र सरस्वती बेहोस भइछन् पछि माथिल्लो टंकीबाट दुवैजना तल्लो टंकीमा आई हामीले फेवातालमा डुबाउन भनी बोकी लाँदा निजले सास फेर्दै थिइन् । टंकीमा मरे हामी पर्छौं भनी फेवातालमा डुबाउन लगेको हो कानूनले जो ठहर्छ भोग्न तयार छु भन्ने समेत व्यहोराको अग्नीप्रसाद बरालले जि.प्र.का. कास्कीमा गरेको तातिम्बा बयान ।

९.    गोविन्दराज, शंकर, हिमाल गिरी, नारायण कछुवा, अग्नी प्रसादकी छोरी भगवती बराल समेतको जि.प्र.का. कास्कीमा कागज भई मिसिल सामेल रहेको छ ।

१०.    अग्नी प्रसादले भाइ बुहारी सरस्वतीलाई करणी गरेको अवस्था श्रीमती राधिकाले देखि रीसको आवेशमा आई सरस्स्वतीलाई बाँधछाँद गरी कुटपिट गरी अग्नीप्रसाद र राधिकाले कर्तव्य गरी मारी फालेको हो भन्ने समेत अरविन्दध्वज कुँवर समेतले गरिदिएको ०३९।४।४ को सरजमीन मुचुल्का ।

११.    संकलित सबूद प्रमाणबाट हाडनाताको कुरा छिपाउन अग्नीप्रसाद र राधिका बरालले सरस्वती बराललाई कर्तव्य गरी मारेको देखिन आएको कुरा प्रष्ट हुन आएकोले निज अग्नीप्रसाद र राधिकालाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ हुन माग दावी लिइएको छ भन्ने प्रहरी प्रतिवेदन माग दावी रहेछ ।

१२.   माथिल्लो टंकीबाट म तल्लो टंकीमा ०३९।३।३० गते राती १२ बजे जाँदा अग्नीप्रसाद र सरस्वती एउटै विस्तरामा बसेको देखि सरस्वतीलाई नाड्डै जेठाजुसंग एउटै विस्तरामा बस्ने भनी डोरीले हात खम्बामा बाँधे, लोग्ने माथि टंकीमा गए म पनि पछि गएँ । पछि दुवै जना तल्लो टंकीमा आयौं । देउरानीलाई देखिन, लाजले फालहाली मरेकी हुन् । प्रहरीमा मारी फालेको हो भनी भनिन । किन लेखे जान्दिन । मैले सरस्वतीलाई मारेको होइन भन्ने समेत व्यहोराको राधिका बरालले कास्की जि.अ.मा गरेको बयान ।

१३.   ०३१।३।३० गते सरस्वती मलाई खाना लिई आएपछि निजलाई करणी गरिरहेकै अवस्था राधिका चोर आयो भनी आइन् । करणी गरेको पनि देखिन् । म माथिल्लो टंकीमा दौडिएँ पछि राधिका पनि आइन्, राधिका र म फेरी तल्लो टंकीमा गई सुत्यौं बुहारीलाई पछि खोजेनौं । लाजले आफैं डुबी मरेकी हुन् मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत प्र.अग्नीप्रसादले कास्की जि.अ.मा गरेको बयान कागज ।

१४.   जाहेरवाला शिवजीप्रसाद बराल, अग्नीप्रसाद बरालको छोरी भगवती बराल प्रतिवादीका साक्षीहरू र सरजमीनका मानिसहरू समेतको बकपत्र भई मिसिल सामेल रहेछ ।

१५.   प्रतिवादीहरूले प्रहरीमा गरेको बयान निराधार मान्न न्यायोचित देखिएन । प्रतिवादीका साक्षीहरूको बयान तथ्ययुक्त पाइँदैन । प्रतिवादी राधिकाले सरस्वतीलाई कुटपिट गरेको अदालतमा पनि स्वीकार गरेकी र सरजमीनका मानिसले पनि प्रतिवादीहरूको कर्तव्यबाट सरस्वती बरालको मृत्यु भएको भनी बकी लेखिदिएबाट मृतकको मृत्यु यिनै प्रतिवादीहरूको कर्तव्यबाट भएको ठहर्छ भन्ने समेत व्यहोराको शुरु कास्की जिल्ला अदालतको ०४१।१।१४ को फैसला ।

१६.    शुरु अदालतको इन्साफ उपर चित्त नबुझी प्र.राधिका बरालको र प्र.अग्निप्रसाद बरालको प.क्षे.अ.मा पर्न आएको छुट्टा छुट्टै पुनरावेदनपत्र ।

१७.   अग्निप्रसादले प्रहरीमा गरेको कागज निजको आफ्नै स्वहस्ताले लेखिएको छ । जाहेरवाला तथा सरजमीनका अरविन्दध्वज कुँवर, गान्धीराम अधिकारी समेतले अदालतमा आई किटानी साथ राधिका र अग्नि  प्रसादकै कुटपिटबाट सरस्वतीको मृत्यु भएको हो भनी लेखी दिएको समेत प्रमाणबाट प्र.राधिका बराल तथा प्र.अग्निप्रसाद बरालकै कर्तव्यबाट सरस्वतीको मृत्यु भएको देखिन आएकोले निजहरूलाई ज्यानसम्बन्धीको महलको दफा १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरेको शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिब छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने प.क्षे.अ. को ०४२।३।३० को फैसला ।

१८.   प.क्षे.अ.ले गरेको फैसला उपर चित्त नबुझी म्यादै भित्र यस अदालतमा प्र.राधिका बराल र प्र.अग्निप्रसादको परेको पुनरावेदनपत्र ।

१९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्र.अग्निप्रसाद बरालको र प्र.राधिका बरालतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपानेको बहस जिकिर समेत सुनियो ।

२०.   प्रस्तुत कर्तव्य ज्यान मुद्दामा प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।

२१.   यसमा फेवाताल नजिकै एकजना स्वास्नी मानिसको लाश देखिएकोले कानून बमोजिम कारवाही होस भन्ने व्यहोराको प्र.ह.रामबहादुरको मिति ०३९।३।३१ को प्रतिवेदनमा उल्लेख भएको र दाजु अग्निप्रसादले मेरी श्रीमती सरस्वती बरालसंग अनुचित सम्बन्ध राखेको देखी दाजु अग्निप्रसाद र भाउजू राधिकाले नै मेरी श्रीमती सरस्वती बराललाई मारेको यकिन हुन आएको हुँदा सजायँ गरिपाउँ भन्ने व्यहोरा भाइ शिवजीप्रसाद बरालको जाहेरीमा उल्लेख भएको पाइन्छ ।

२२.   अभियुक्त अग्निप्रसाद बरालको मर्ने आफ्नी भाइ बुहारी सरस्वती बरालसंग अनुचित सम्बन्ध भएको भन्ने कुरामा अभियुक्त अग्निप्रसाद प्रहरी र अदालतमा समेत नै सावित भएको र अभियुक्त राधिका बरालले पनि त्यस कुरालाई समर्थन गरी प्रहरी र अदालतमा समेत बयान गरेको पाइन्छ । यस्तै अभियुक्त राधिकाले मर्ने सरस्वतीलाई कुटेको र टंकीको खम्बामा बाँधेको भन्ने कुरा निजले अदालतमै स्वीकार गरेको देखिन्छ ।

२३.   यसरी यतिसम्म स्वीकारेपछि अभियुक्तहरूले करणीको लाजले मर्ने सरस्वती आफैं फेवातालमा गई डुबी मरेकी हुन भन्ने किसिमको झल्का देखाउन खोजेका छन् । यो कुरा पनि असम्भव होइन तर अभियुक्त राधिकाले सरस्वतीलाई बाँधे कुटेको कुराबाट र अभियुक्त राधिका अत्यधिक आवेशमा आएकी भनी अभियुक्त अग्निप्रसादको बयानबाट देखिन आएबाट कुटपिट र बाँदछाँद साधारण थियो भन्न सकिने अवस्था देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य प्रतिक्रिया मात्र भयो अथवा हुन्छ भन्न सकिन्न, यो एउटा वास्तविक एवं स्वाभाविक प्रकृया हो । तसर्थ मर्ने सरस्वतीलाई मरणान्त कुटाई भएन भन्ने मान्न सकिन्न । यस मुद्दामा न्याय निरोपणको लागि प्रत्यक्ष र परिवन्दात्मक प्रमाणहरूलाई समावेश गरी एकै साथ विचार गर्नुपर्ने देखिन्छ । एक अर्काको परस्पर समन्वय हुन सकेन भने प्रमाणको श्रृङ्खला नै टुट्न गई न्यायको मार्ग नै अवरोध हुन जान्छ यस कुरालाई ध्यानमा राखी अब यसपछि के हुन गयो भन्नेतर्फ विचार गर्दा अभियुक्त अग्निप्रसादको वर्ष ८ की छोरी भगवती बरालको प्रहरीमा भएको मिति ०३९।४।५ को बकपत्र (ता.फा.नं. १९) र अदालतमा भएको ०४०।७।१०।५ को बकपत्र (ता.फा.नं. ५८) लाई हेर्नुपर्ने हुन आउँछ । भगवतीले प्रहरीमा बयान गर्दा सरस्वतीलाई खम्बामा बाँधी आमा राधिकाले कुटिन् बाबु अग्नि चुपी लिई बाहिर निस्की गएर एकछिन पछि बाबु अग्नि आयो, सरस्वती कुटेको ठाउँमा लडी सकेको थियो बाबु अग्निप्रसाद र आमा राधिकाले कान्छी आमा सरस्वतीलाई बोकी टंकीबाट पछाडी पट्टिको ढोकाबाट बाहिर निकाली लिई गएको मैले देखेको हुँ भनी बकपत्र गरेको र अदालतमा आई वर्षदिन भन्दापछि बकपत्र गर्दा पनि प्रहरीमा  भएकै बयान बमोजिम बकपत्र गरी त्यसपछिको घटनालाई कान्छी आमाले बाँधेको डोरी आफैंले फुकाई चउरतिर जानु भयो (बकपत्रको स.३ज.) भनी बकपत्र गरेको देखिन्छ । यसबाट निजको बकपत्रमा मूल रुपले कुनै भिन्नता देखिन्न । वर्षदिन पछि अदालतमा बकपत्र हुँदा निजलाई सिकाउने फकाउने काम हुनु अस्वाभाविक होइन । त्यसकारण ०३९।३।३० गते रातको वारदातपछि तत्कालै ०३९।४।५ मा भएको भगवतीको बकपत्रमा जे भनिएको छ त्यो नै सत्य र तथ्य कुरा हो भन्ने कुरामा कुनै विवाद देखिन्न । यो यस मुद्दाको यस्तो प्रमाण छ कि यसलाई प्रत्यक्ष र तर्कसंगत प्रमाण भनी भन्नु पर्दछ । यस किसिमको प्रत्यक्षदर्शी (Eye witness) लाई गौण मानी मान्यता नदिनु प्रमाणको मूल्याड्ढन गर्न इन्कार गर्ने जस्तै हुन गई सिद्धान्ताभासैरपराधावरणं अन्यायः भन्ने दोष लाग्न सक्छ ।

२४.   ततिम्बा बयानमा प्रहरीमा भएको सावितीमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले आधार लिई सजायँ गर्‍यो कानून विपरीत भयो भन्ने तर्कका हकमा विचार गर्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतले त्यही एक मात्र आधार लिएको देखिन्न अन्य आधारहरू पनि छन् । त्यसकारण यस तर्क र यस तर्कको समर्थनमा देखाइएको पु.प्र.कमला विश्वकर्मा विरुद्ध श्री ५ को सरकार भएको जातक मार्‍यो भन्ने मुद्दाको (ने.का.प. २०४२ पृ. १७६ नि.नं. २२७२) नजीर प्रस्तुत मुद्दामा लागु हुने देखिँदैन ।

२५.   अभियुक्तहरूको प्रहरीको ततिम्बा बयानलाई अलग्गै राखी हेर्दा पनि माथि उल्लेखित भगवतीको बकपत्र, जाहेरवाला तथा सरजमीनका अरविन्दध्वज कुँवर गान्धीराम अधिकारीको बकपत्र समेतलाई आधार लिई मर्ने सरस्वती अभियुक्त राधिकाको कुटपिटबाट बेहोस भएपछि धुकधुकी बाँकी छँदै अभियुक्तहरूका वर्ष १० की (अदालतमा बकपत्र गर्ने) छोरी भगवती वरालको बकपत्र बमोजिम राधिका बराल र अग्निप्रसादले सरस्वतीलाई बोकी लगी फेवातालमा फाली दिएबाट निज सरस्वती बराल डुबी मरेको लक्षण देखा पर्नु स्वाभाविक हो भनी तर्कयुक्त विवेचना गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा कुनै त्रुटि देखिँदैन । यसरी प्र.राधिका बराल र अग्निप्रसाद बरालको कर्तव्यबाट सरस्वतीको मृत्यु भएको देखिन आएकोले निज अभियुक्तहरू राधिका बराल र अग्निप्रसाद बराललाई ज्यान सं. को १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरु कास्की जिल्ला अदालतको इन्साफलाई सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । साधकको लगत समेत कट्टी गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् ०४४ साल ज्येष्ठ २७ गते रोज ४ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु