निर्णय नं. ३०४७ - अंश

निर्णय नं. ३०४७ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.फु.नं. ६६४
मुद्दा : अंश
पुनरावेदक/वादी: ग.अं.जि.का.पो.न.पं. वडा नं. ११ फुलवारी बस्ने बक्कलाटा नन्दप्रसादको अ.बं. ८३ नं. अनुसारको हकवाला संरक्षक प्रेमप्रसाद बास्तोला।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने महादेवी बास्तोला
फैसला भएको मिति: २०४३।१२।८।१ मा
संरक्षक हकवाला भनी देखाएकोले निज नन्दप्रसादले दिनु पर्ने पुनरावेदन अ.बं. ८३ नं. अन्तर्गत दिन नपाउने भनी भन्न उक्त अ.बं. ८३ नम्बरमा भएको व्यवस्थाबाट मिल्ने देखिन नआउने ।
(प्रकरण नं. ९)
बुझ्नु पर्ने सबूद प्रमाण बुझी आफू समक्ष परेको पुनरावेदनबाट मुद्दा हेर्न मिल्ने भएपछि मात्र मुद्दामा ठहर गर्नु पर्ने ।
(प्रकरण नं. ९)
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको विवरण यस प्रकार छन् :– रेवती रमणका तीन भाइ छोरामा जेठा विपक्षीको खसम कूलदिप, माहिला, दण्डपानी र कान्छो म छु । पिता माता र कूलदिप दण्डपाणी आ–आफ्नो कालगतिले परलोक हुनु भएको, विपक्षी भाउजू र म एका संगोलमा बसी आएकोमा निजले सम्पत्ति बेच बिखन समेत गरेको र मलाई खान लाउन नदिएको हुँदा २०४०।१२।१५ का दिन प्रमाण खण्डका साक्षीको रोहवरमा मैले पाउने चल अचल सम्पत्तिको १ भाग माग्दा दिन इन्कार गरेकोले विपक्षीबाट फिराद पर्दाको अघिको दिनलाई मानो छुट्टिएको मिति कायम गरी मेरो विवाह नभएको हुँदा अंश बण्डाको १७ नं. बमोजिम विवाह खर्च परसारी २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत फिराद दावी ।
२. देवर नन्दप्रसाद वक्क लाटो हुँदा मैले नै पालन पोषण गरी आएको हुँ । नजिकको हकवाला समेत मै हुँ । नन्दप्रसाद टाढाको दाजु भाइ हुन । म स्वयं हकवाला छँदा छँदै टाढाको व्यक्तिले हकवाला भनी फिरादमा दावा लिनु न्याय संगत छैन र सगोलको उमेर पुगेको हकवाला भएसम्म अरुले वक्क लाटोको संरक्षक बनी नालेश गर्न मिल्दैन । त्यस्तो नालेश गर्न हक नपुग्ने व्यक्तिले संरक्षक बनी दर्ता गराएको फिराद अ.बं. ८२ नं. र अ.बं. १८० नं. ले खारेज हुने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर पत्र ।
३. वादीले २०४१।६।११ गतेको र प्रतिवादीले २०४१।४।२५ गतेको तारेख गुजारी बसेका रहेछन् ।
४. प्रतिवादी २०४१।४।२५ गते देखि र वादी संरक्षक प्रेमप्रसाद २०४१।६।११ देखि तारेख गुजारी बसेको देखिँदा वादी तारेख मै नरहेको अवस्थामा तायदाती लगायतका अन्य सबूद प्रमाण प्रस्तुत मुद्दामा पेश दाखिल हुन नसक्ने हुँदा अ.बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०४१।९।३० को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
६. पुनरावेदक नन्दप्रसादको संरक्षक समेतले शुरु जिल्ला अदालतमा रोहवरमा रही २०४१।६।११ को तारेख लिई सो तारेख गुजारेको देखिन्छ । आफ्नो सबूद प्रमाण गुजारी पैरवीमा रहन सक्नु पर्ने वादीले सो नसकी तारेख गुजारी बसेबाट शुरु जिल्ला अदालतले वादी दावी खारेज गर्ने गरेको मनासिब छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।७।१४।४ को फैसला ।
७. अंशबण्डाको ३२ नं. मा अंश मुद्दामा वादीले तारेख गुजारे मुद्दा डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्छ भन्ने व्यवस्था भएकोमा प्रस्तुत अंश मुद्दामा वादीले तारेख गुजारी बसेबाट शुरु जिल्ला अदालतले वादी दावी खारेज गरेको मनासिब छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उक्त अंश बण्डाको ३२ नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालतको मिति २०४२।१२।१३।४ को आदेश ।
८. वादी प्रतिवादी दुवैको जिकिर र मिसिल समेत अध्ययन गरी प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब वा बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
९. यसमा यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन दिँदा वक्कलाटा नन्दप्रसादको हकवाला संरक्षक भनी प्रेमप्रसाद बास्तोलाले विना वारिसनामा निवेदन दिई अनुमति प्रदान भई पुनरावेदनमा दर्ता भई पेश हुन आएको देखियो । त्यस्तै शुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन दिँदा पनि निजैले वक्कलाटा नन्दप्रसादको संरक्षक हकवाला भनी देखाई यिनै प्रेमप्रसादले विना वारिसनामा पुनरावेदन गरी सो पुनरावेदनबाट ठहर भएको देखिन आयो । तर शुरु मिसिल हेरिएमा सो मिसिलमा परेको फिरादबाट अ.बं. ८३ नम्बरको आधारमा वक्कलाटा नन्दप्रसादको हकवाला संरक्षक भई दिने पुनरावेदकले फिराद गरेको नभई नन्दप्रसादले नै यिनी पुनरावेदकलाई संरक्षकको रुपमा फिरादमा साक्षी राखी फिराद गरेको देखिन आएकोले अब पुनरावेदन तहमा हकवाला संरक्षकले निज नन्दप्रसादको हकमा विना वारिसनामा पुनरावेदन गर्न नपाउने हो कि भन्नलाई अ.बं. ८३ नं. मा भएको व्यवस्था हेरिएमा सो व्यवस्थामा “पचहत्तर वर्ष नाघेको र सोह्रवर्ष नपुगेका नाबालख वा उमेर पुगेको भए पनि कुनै किसिमको रोगले होस् ठेगाना नभएको वा दुवै आँखा नदेख्ने अन्धाअन्धी वा वक्क लाटा लाटी मानिसहरूको हक पुग्ने जुनसुकै कुरामा पनि नालेश उजूर गर्नु पर्ने भएमा ती मानिसको एकाघर संग बसेको सोह्रवर्ष नाघेका हकदारको रहनेछन् भन्ने निजको संरक्षक हकवालाले सो कारण समेत देखाई हदम्याद भित्र नालिश गर्न पाउने छन् । त्यस्तो नालिश पर्न आएमा कारण परेको हो होइन पहिले त्यसको सबूद बुझी हो रहेछ भने वारीस अख्तियारनामा नभए पनि सो संरक्षक वा हकवालाको नालिशबाट मुद्दा हेर्न हुन्छ” भन्ने भएकोबाट वक्कलाटो लाटीको जुनसुकै कुरामा नालिश उजूर गर्नु पर्ने भएमा संग बसेका उमेर पुगेका हकवाला कोही नभए अरु संरक्षक वा हकवालाले पनि सो कारण देखाई विना वारिस अख्तियारनामा निजको हकमा नालिश उजूर दिन पाउने स्पष्ट गरेको छ । खाली वक्कलाटो लाटीले नालिश उजूर गर्न नसकी संरक्षक वा हकवालाले नालिश उजूर गर्नु पर्ने अवस्था परेको हो होइन बुझ्नु अनिवार्य छ । यसरी जब ऐनले नै वक्कलाटा लाटीको हकमा एकाघरका सगोलका हकवाला नभएमा अरु संरक्षक वा हकवालाले सो व्यहोरा देखाई शुरु नालिश उजूर नै दिन पाउने व्यवस्था गरेको छ भने पहिले शुरुमा नालिश दिँदा वक्कलाटा उमेर पुगेका नन्दप्रसादले फिराद गरे पनि शुरुबाट मुद्दा किनारा भई पुनरावेदन गर्नु पर्ने अवस्था पर्दा निजले कुनै कारण परी पुनरावेदन गर्ने अवस्था पर्दा फिराद गरेको अवस्थामा वक्कलाटा भनेका नन्दप्रसादले नै संरक्षक हकवाला भनी देखाएको यिनी पुनरावेदकले निजको हकमा निज नन्दप्रसादले दिनु पर्ने पुनरावेदन अ.बं. ८३ नं. अन्तर्गत दिन नपाउने भनी भन्न उक्त अ.बं. ८३ नम्बरमा भएको व्यवस्थाबाट मिल्ने देखिन आएन । पश्चिमाञ्चल क्षेत्रीय अदालतमा यसरी पुनरावेदन पर्न आएपछि क्षेत्रीय अदालतले सो अ.बं. ८३ नम्बरमा व्यवस्था भए बमोजिम त्यसरी पुनरावेदकले संरक्षक हकवालाको नाताबाट अ.बं. ८३ नम्बर बमोजिम नन्दप्रसादको हकमा पुनरावेदन गर्नु पर्ने अवस्था पर्न गएको हो होइन त्यसतर्फ जो बुझ्नु पर्ने सबूद प्रमाण बुझी आफू समक्ष परेको त्यस्तो पुनरावेदनबाट मुद्दा हेर्न मिल्ने भएपछि मात्र मुद्दामा ठहर गर्नु पर्नेमा सो तर्फ केही कारवाही ठहर गरेको समेत नदेखिएकोले कानूनको रीत नपुर्याई भएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर हुन्छ । परेको पुनरावेदनमा जो गर्नु पर्ने कारवाही निर्णय समेत गरी कानून बमोजिम गर्नु भनी मिसिल र रिकर्ड मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई पक्ष विपक्ष दुवैलाई तारेख तोकी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा हाजिर हुन पठाई दिनु । नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल चैत्र ८ गते रोज १ शुभम् ।