निर्णय नं. ३०४९ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ।

निर्णय नं. ३०४९ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको रिट नं. १८४७
विषय : परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ।
निवेदक :जि.मोरङ विराटनगर न.पं. वडा नं. १५ हाल वडा नं. ५ स्थित श्री त्रिदेव इण्डष्ट्रिजका प्रोप्राइटर जिल्ला झापा भद्रपुर न.पं. वडा नं. ९ बस्ने राजकुमार गोयल।
विरुद्ध
विपक्षी : श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर।
श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,मोरङ विराटनगर।
श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,भद्रपुर।
आदेश भएको मिति: २०४३।११।१८।२ मा
औ.व्य.ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ ।
(प्रकरण नं. १८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
उल्लेखित मुद्दाःX
आदेश
न्या.प्रचण्डराज अनिल: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. विपक्षी घरेलु तथा ग्रामीण उद्योग विकास शाखा भद्रपुर झापाबाट विराटनगर न.पं. वडा नं. १५ मा त्रिदेव इण्डष्ट्रिज नामको प्राइभेट फर्मले नरिवलको तेल उत्पादन गर्ने उद्योग दर्ता गरिपाउँ भनी निवेदन दिँदा मिति २०३९।१२।१ को निर्णय अनुसार उद्योग स्थापना गर्न इजाजत प्राप्त गरी औ.व्य. ऐन, २०३८ को दफा १० अन्तर्गत सो अन्तर्गतका उद्योगलाई प्राप्त हुने सुविधा अन्तर्गत उद्योगमा जडान हुने मेशिन नेपाल सरहदमा पैठारी गर्दा भन्सार सुविधा समेत प्राप्त गरेको छु ।
३. यसरी विदेशबाट मेशिनरी आयात गरी मिल जडान गरी सकेपछि औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ङ) बमोजिम विपक्षी घरेलु तथा ग्रा.उद्योग विकास शाखा मोरङमा कच्चा पदार्थ कोरा माल (कोब्रा सुख्खा नरिवल) वार्षिक ६०० मेट्रिक टन लाग्ने उद्योगको क्षमता र सोही बमोजिम इजाजत समेत पाएकोले उक्त कच्चा पदार्थ आयात गर्न आयात इजाजतको सिफारिश पाउँ भनी निवेदन गरेकोमा विपक्षी कार्यालयले २०४०।६।४ मा आयात इजाजत प्रदान गर्न भनी विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागमा सिफारिश साथ पत्र पठाएकोमा सो बमोजिम आयात इजाजत प्राप्त नभएकोले पुनः विपक्षी कार्यालयमा निवेदन गरेकोमा निवेदकको उद्योगलाई कच्चा पदार्थ आयात गर्न इजाजत दिन उचित हुने भनी २०४०।११।२७ मा पत्र पठाएकोमा आजसम्म विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागले उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात इजाजतपत्रको लागि सिफारिश गरी उद्योगलाई दिनु पर्ने सहुलियत दिने कानूनी दायित्व पूरा गरेन ।
४. औ.व्य.ऐन, २०३८ को दफा १०(ख) बमोजिम उद्योग स्थापना गर्न आवश्यक मील उपकरण आयात गर्न विपक्षी निकायले सहुलियत दिई उद्योग स्थापना भएपछि सोही ऐनको दफा १०(ङ) बमोजिम उद्योगको लागि कच्चा पदार्थ आयात गर्न परिवत्र्य विदेशी मुद्राको सटही सुविधा आवश्यकता अनुसार प्रदान गरिनेछ भन्ने बाध्यात्मक कानूनी व्यवस्था छ । म निवेदकले उद्योग दर्ता गर्न निवेदन दिँदा आवश्यक कच्चा पदार्थ सिंगापुर, मलेशिया, श्रीलंका, इण्डोनेशियामा पाइने हुनाले सो देशबाट आयात गर्न सिफारिश गरिदिनु पर्ने कुरा प्रष्ट रुपले उल्लेख गरेको र सो कुरालाई विपक्षीले स्वीकार गरेपछि हाल उद्योग स्थापना भई कच्चा पदार्थ उपलब्ध गराउन बारेको पत्र विपक्षी घरेलु तथा ग्रामीण उद्योग विकास शाखा मोरङले विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागलाई लेखेकोमा आजसम्म सिफारिश नदिने कार्य कानून प्रतिकूल समेत हुँदा, उद्योगको क्षमता बमोजिमको कच्चा पदार्थ आयात गर्न सिफारिश दिनु भन्ने विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वरका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदक राजकुमार गोयलको मिति २०४२।८।१२ को रिटनिवेदन ।
५. यसमा विपक्षीहरूबाट लिखितजवाफ झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति २०४२।८।१८ को आदेश ।
६. कच्चा माल विदेश र समुन्द्रपारका देशहरूबाट ल्याउन आयात इजाजतपत्रको लागि सिफारिश दिने वा नदिने भन्ने सम्बन्धमा यस विभागलाई उपलब्ध विदेशी मुद्राको सीमित परिमाण र राष्ट्रिय प्राथमिकताको आवश्यकतामा निर्भर रहन्छ । उद्योगको दर्ताको लागि दिएको निवेदन फाराम स्कीममा उल्लेखित कुरा विपक्षीको मागसम्म हो । तसर्थ दर्खास्त फाराम र स्कीममा उल्लेख गर्दैमा विदेशी मुद्रा दिनु पर्दछ भन्ने यस विभाग बाध्य छैन । परिवत्र्य विदेशी मुद्रा सटही सुविधा दिनु पर्ने विदेश बाहेक अरु जुन देशबाट उपलब्ध हुन्छ सो देशबाट कच्चा माल (कोप्रा) खरीद गरी ल्याई उद्योग चलाउन यस विभागले बन्देज गरेको छैन उद्योगको दर्ता प्रमाणपत्र दिँदा सो प्रमाणपत्रमा सम्पूर्ण कच्चा माल विपक्षी स्वयंले प्रबन्ध गर्नु पर्ने भनी उल्लेख गरिएको छ ।
७. औ.व्य. ऐन, २०३८ को दफा १०(ङ) पनि उद्योग सञ्चालनको लागि कोरा माल (कच्चा माल) को लागि परिवत्र्य विदेशी मुद्राको सटही सुविधा आवश्यकता अनुसार दिइनेछ भन्ने उल्लेख हुँदा दिनै पर्छ भन्ने बाध्यात्मक छैन । आवश्यकता अनुसार भन्नाले प्राप्त सीमित विदेशी मुद्राको परिमाण र राष्ट्रिय प्राथमिकता अनुसार आवश्यकता हेरी कस्तोलाई सुविधा दिने र कस्तोलाई नदिने आवश्यकता अनुसार गर्न सक्ने उक्त दफाको व्यवस्था हो । ऐनको कर्तव्य पूरा गरेन भन्ने विपक्षीको दोषारोपण निरर्थक छ । श्री ५ को सरकार उद्योग मन्त्रालयबाट कोप्रा झिकाउन विदेशी मुद्रा नदिने भनी २०४०।६।१६ मा निर्णय समेत गरेको छ । अतः प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वरको लिखितजवाफ ।
८. उद्योगलाई प्रदान गरिनु पर्ने सुविधाको हकमा जुन जिल्लामा उद्योग स्थापना भएको छ त्यो जिल्लाबाट कारवाही हुनु पर्ने र तेश्रो मुलुकबाट आयात गरिनु पर्ने उद्योगलाई चाहिने कच्चा पदार्थहरूको हकमा घरेलु तथा ग्रामीण उद्योग विभागलाई मात्र अधिकार भएको हुँदा यस कार्यालयबाट केही कारवाही गरिरहन नपर्ने हुँदा यस कार्यालयको नाममा परमादेशको आदेश जारी हुनु नपर्ने भई रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत घरेलु तथा ग्रामीण उद्योग विकास शाखा भद्रपुर झापाको लिखितजवाफ ।
९. आफ्नो तालुक अड्डाले प्रत्यायोजन गरेको अधिकारको परिधि भित्र रही रिट निवेदकबाट कच्चा मालको आयात इजाजतको लागि घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वरको नाममा सिफारिश गरिपाउँ भन्ने निवेदनको आधारमा समयमै घरेलु तथा ग्रा.उ.वि. शाखाले आफूलाई प्राप्त अधिकारको कार्य सम्पादन पूरा गरेको ।
१०. घरेलु तथा ग्रामीण उ.वि. शाखालाई आफ्नो तालुक अड्डाले जति अधिकार प्रत्यायोजन गरेको छ, सोही परिधिभित्र नै रही रिट निवेदकको कच्चा मालको सिफारिश समयमै पूरा भइसकेको छ । कच्चा माल आयात इजाजत दिने वा नदिने भन्ने सम्बन्धमा अधिकार विभागलाई नै निहित रहेको हुँदा यस घरेलु तथा ग्रा.उ.वि. शाखालाई दावी गर्न नमिल्ने हुँदा रिट खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी घरेलु तथा ग्रा.उ.वि. शाखा मोरङ विराटनगरको लिखितजवाफ ।
११. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० बमोजिम सुविधा प्राप्त निवेदकको उद्योगलाई विपक्षी उद्योग विभागले परिवत्र्य विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउन सिफारिश गर्नु पर्ने अनिवार्य कानूनी व्यवस्था प्रतिकूल गरेको कामकारवाही त्रुटिपूर्ण हुँदा निवेदकलाई औ.व्य. ऐन, २०३८ को दफा १०(ङ) बमोजिमको सुविधा सिफारिश गर्नु भनी परमादेशको आदेश जारी हुनु पर्छ भन्ने तथा प्रत्यर्थी कार्यालयतर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले राष्ट्रिय प्राथमिकता अनुसार आवश्यकता हेरी सीमित विदेशी मुद्राको परिमाण अनुरुप उद्योग विभागले सिफारिश गर्ने हुँदा विपक्षी उद्योगलाई माग अनुरुप सिफारिश गर्न बाध्यता छैन । तसर्थ कानून प्रतिकूल काम कारवाही भएको छैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१२. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन भनी निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. यसमा निर्णय हेर्दा रिट निवेदकको नरिवलको तेल उत्पादन गर्ने उद्योग, त्रिदेव इण्डष्ट्रिजलाई कच्चा पदार्थ (कोप्रा, सुख्खा नरिवल) विदेशबाट झिकाउन औ.व्य.ऐन, २०३८ को दफा १०(ङ) को सुविधा प्रदान गराउनु पर्नेमा विपक्षी उद्योग विभागले सो ऐन अनुरुप परिवत्र्य विदेशी मुद्राको सटही सुविधा उपलब्ध गर्न सिफारिश नगरेकोले सो गराइपाउँ भन्ने रिट निवेदकको मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।
१४. प्रत्यर्थी उद्योग विभागको लिखितजवाफमा परिवत्र्य विदेशी मुद्राको सटही सुविधा आवश्यकतानुसार दिइनेछ भन्ने ऐनमा उल्लेख हुँदा दिनै पर्दछ भन्ने बाध्यात्मक छैन भनी जिकिर लिएको पाइन्छ ।
१५. अब प्रस्तुत उद्योगले माग अनुरुपको सुविधा पाउने हो वा होइन भन्ने कानूनी व्यवस्थातर्फ हेर्दा, औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गत रिट निवेदकको उद्योग स्थापना भएको देखिँदा त्यस्तो उद्योगलाई उक्त ऐनको दफा १० अन्तर्गतका सुविधा सहुलियत प्रदान गरिने व्यवस्था भएको छ ।
१६. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ङ) मा “उद्योग सञ्चालनको लागि आवश्यक यन्त्र, उपकरण, औजार, जगेडा, पूर्जा र पार्टपूर्जा (कम्पोनेन्ट) कोरा माल, सहायक कोरा माल तथा रासायनिक पदार्थहरू आयात गर्नको लागि र प्राविधिक परामर्श, प्राविधिक सहायता, सेवा शुल्क, व्यवस्थापन शुल्क, पेटेन्ट दस्तुर, उद्योग प्रवद्र्धन, बजार अध्ययन, बिक्री प्रवद्र्धन आदिको लागि परिवर्त्य विदेशी मुद्राको सटही सुविधा आवश्यकतानुसार प्रदान गरिने छ” भन्ने उल्लेख भएको पाइन्छ । तर प्रस्तुत केशमा न्युनतम परिवत्र्य विदेशी मुद्रा सटही सुविधा प्राप्त गरेको देखिएन ।
१७. स्थानीय घरेलु तथा ग्रामीण उद्योग विकास शाखा मोरङले रिट निवेदकको प्रस्तुत उद्योगलाई परिवत्र्य विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउन सिफारिश गरेकोमा प्रत्यर्थी उद्योग विभागले सो सुविधा उपलब्ध होस् भनी सिफारिश गर्न इन्कार गरेको देखियो र इन्कार गरिएको आधार पनि न्यायोचित देखिएन ।
१८. औ.व्य. ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने, मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ । तसर्थ रिट निवेदकको उद्योग त्रिदेव इण्डष्ट्रिज विराटनगरलाई कच्चामाल आयात गर्ने सुविधा कानून बमोजिम प्रदान गर्न सिफारिश दिनु भनी प्रत्यर्थी श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल फाल्गुण १८ गते रोज २ शुभम् ।