निर्णय नं. ३०५० - उठाई चलन चलाई पाउँ

निर्णय नं. ३०५० ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.नं. ६९३
मुद्दा : उठाई चलन चलाई पाउँ
पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वार्ड नं. २८ न्ह्योखा टोल बस्ने शारदामान वैद्य
विरुद्ध
प्रत्यर्थी/वादी: ऐ.ऐ.वार्ड नं. २५ मखन गल्ली बस्ने सानुकाजी श्रेष्ठ
फैसला भएको मिति: २०४३।८।२२।१ मा
घरधनीले आफूलाई चाहिएको बखतमा उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएकै देखिँदा वादीले उठाउन पाउने नै देखिन्छ तर घर बनाउनेको ९ नं. अनुसार घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा ३५ दिन अगावै घर पसल छाडि खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु पर्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
प्रत्यर्थी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय
उल्लेखित मुद्दाःX
फैसला
न्या.रुद्रबहादुर सिंहः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. का.जि.का.न.पं. वार्ड नं. २५ मखनटोलको ब्लक नं. ६।६१३ को मेरो हकभोगको घर विपक्षलाई एक सालको बहाल रु. १२,०००।– का दरले पाँच वर्ष सम्मलाई ६ महिनाको पेश्की बहाल रु. ६,०००।– का दरले लिने गरी ०३४।१०।१ देखि २०३९ साल पौष मसान्त तकलाई सो हिसाबले पेश्की बहाल लिने र घर धनीलाई आवश्यक परेमा छाडिदिने मञ्जूरी व्यहोराको कबूलियत गराई बहालमा दिएकोमा मलाई आवश्यक परेकोले निजलाई सूचना गरी फिराद गर्न आएको छु । सो पसलबाट निजलाई उठाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको सानुकाजी श्रेष्ठको ०३९।१२।२२।३ को फिरादपत्र ।
३. मैले करार अनुसार ६।६ महिनाको अग्रिम पेश्की बहाल धरौटी राखी निज वादी उपर नालिश गरेको छु । मैले २८ वडा समितिमा बुझ्न जाँदा कुनै सूचना नपाएको । हालसम्म मैले कानून बमोजिमको कुनै सूचना पाएको छैन । वादीले आफ्नो शारीरिक क्षमताको कारणले गर्दा आफूले पसल राख्न सक्ने स्थिति छैन । अतः वादी दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ०४०।३।२०।२ को शारदामान वैद्यको प्रतिउत्तरपत्र ।
४. २०३४।१२।१ मा कबूलियत गरी घर पसल बहालमा लिए दिएमा विवाद नभएको र कबूलियतमा ५ वर्षपछि धनीलाई चाहिएमा छाडिदिने कबूल प्रतिवादीले गरेको देखिनाले कबूलियतको शर्त अनुसार प्रतिवादीले पसल छाडिदिनु पर्ने र वादीले पसल चलन चलाई पाउने समेत ठहर्छ भन्ने समेतको शुरु का.जि.अ.को ०४०।७।१५ को फैसला ।
५. का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.शारदामान वैद्यको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
६. २०३४।१२।१ को बहाल कबूलियतमा ५ वर्ष अवधि नाघेपछि बजारमा चलेको बहाल बुझाउने र धनीलाई आवश्यक परेमा छाडिदिने शर्त लेखिएको ५ वर्ष अवधि भुक्तान भइसकेपछि वादी प्रतिवादी बीच अर्को शर्त कबूलियत भएको प्रमाण पेश गर्न नसकेको समेतबाट वादीको पसल प्रतिवादीले खाली गरी उठी चलन दिनु पर्ने ठहर्याएको शुरु का.जि.अ.को इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको बा.अं.अ. को ०४०।१२।१ को फैसला ।
७. बा.अं.अ. को फैसलामा घर बनाउनेको महलको ९ नं. समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको शारदामानको निवेदन अनुसार म.क्षे.अ.को मिति ०४१।७।१५ को आदेशले अनुमति प्रदान गरिएको रहेछ ।
८. २०३४।१२।१ को कबूलियतमा पाँच वर्ष सम्म प्रतिसालको रु. १२,०००।– को दरले र त्यसपछि मार्केटमा घटी बढी जो हुन्छ सोही हिसाबले बुझाउने शर्त रहेकोमा अर्को कबूलियत भएको देखिँदैन । सो कबूलियतमा घर धनीलाई आवश्यक भएमा छाडिदिने शर्त रहेकोमा सोही अनुसार घर बनाउनेको ९ नं. बमोजिम जनाउ दिने प्रकृया समेत पुरा भइसकेको देखिँदा प्र.शारदामानले पसल छाडिदिनु पर्ने र वादी सानुकाजीले पसलबाट उठाई चलन पाउने ठहर्याएको शुरुको सदर गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को ०४१।११।२।४ को फैसला ।
९. म.क्षे.अ.को फैसलामा प्रत्यक्ष कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सारदामान वैद्यको यस अदालतमा पर्न आएको निवेदन ।
१०. मुलुकी ऐन घर बनाउनेको ९ नं. मा घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा पैंतीस दिन अगावै पसल खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु पर्दछ । लेखिएका म्याद अगावै जनाउ नदिई त्यसै उठाउनु हुँदैन भन्ने व्यवस्था भएको छ । प्रस्तुत मुद्दामा वादी सानुकाजी श्रेष्ठले प्र.शारदामानलाई ऐन बमोजिमको सूचना दिएको देखिँदैन अतः म.क्षे.अ.को फैसलामा घर बनाउनेको ९ नं. समेतको त्रुटि भएको हुँदा अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति ०४१।१२।२०।४ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी शारदामान वैद्यको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी वादी सानुकाजी श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले गर्नु भएको बहस समेत सुनियो । यसमा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।
१२. यसमा प्रतिसालको रु. १२,०००।– का दरले ५ वर्ष सम्मलाई र सो पश्चात मार्केटमा घटिबढी जो हुन्छ सोही बमोजिमले बुझाउने र सो घर पसल घर धनीलाई चाहिए आवश्यक परेमा छाडिदिने शर्त मिति ०३४।१२।१ को शर्तनामा कबूलियतमा उल्लेख भएको देखिन्छ । सोही शर्तनामा बमोजिम घर पसल भाडामा लिने दिने भएको देखिन्छ । घर बनाउनेको ८ नं. अनुसार घर पसल बहालमा लिनु दिनु गर्दा म्याद किटी लिखत गरी गराई बस्न दिएकोमा लिखत नै बमोजिम हुन्छ भनी प्रष्ट व्यवस्था भएको पाइन्छ । अतः प्रस्तुत मुद्दामा घर धनीले मिति ०३४।१०।१ देखि ५ वर्षको लागि प्रतिवर्षको रु. १२,०००।– का दरले भाडामा लिए दिएकोमा सो ५ वर्षको समय समाप्त भएपछि मार्केटमा घटी बढी जो हुन्छ सोही बमोजिम बुझाउने भन्ने शर्तनामामा उल्लेख भएको हुँदा अर्को शर्तनामा कबूलियत हुनुपर्ने देखिन्छ । अतः मिति ०३९।१०।१ मा ५ वर्षको म्याद समाप्त भएकोमा सो पछि अर्को शर्तनामा कबूलियत भए गरेको देखिँदैन । घर धनीले आफूलाई चाहिएको बखतमा उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएको देखिँदा वादीले उठाउन पाउने नै देखिन्छ तर घर बनाउनेको ९ नं. अनुसार घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा पैंतीस दिन अगावै घर पसल छाडि खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु पर्दछ भनी प्रष्ट व्यवस्था गरेको हुँदा सो बमोजिमको कानूनी प्रकृया पुरा भएको छ कि छैन भन्ने तर्फ विचार गर्दा का.न.पं. २५ नं. वडा समितिको मिति ०३९।११।१९ को पत्रमा प्रतिवादी शारदामान वैद्यलाई ०३९।११।१७ मा सूचना गरिएको भनी उल्लेख भएको साथै निज वादी सानुकाजीले प्रतिवादी शारदामानको २ वटा वेग्ला बेग्लै ठेगानामा जनाउको लागि २ वटा रजिष्ट्री पत्र समेत पठाएको भनी रसीद समेत पेश गरेको देखिन्छ । तसर्थ वादी सानुकाजी श्रेष्ठले प्रतिवादी शारदामान वैद्यलाई पसलबाट उठाउनको लागि कुनै किसिमको सूचना दिएको नदेखिएकोले घर बनाउनेको ९ नं. को त्रुटि भएको भनी यस अदालतबाट मिति ०४१।१२।७ को अनुमति प्रदान गरिँदा उठाइएको तर्क संग सहमत हुन सकिएन । अतः माथि उल्लेख भए अनुसार घर धनीलाई आवश्यक परेको बखत उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएको र ५ वर्षको समयावधि समाप्त भएपछि अर्को शर्त कबूलियतनामा नभएको र घर बनाउनेको ९ नं. बमोजिम जानकारी सूचना दिएकै देखिँदा प्रतिवादी शारदामान वैद्यले पसल छाडिदिनु पर्ने र वादी सानुकाजीले पसलबाट उठाई चलन पाउने ठहर्याएको शुरुको इन्साफ नै सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा केही परिवर्तन गरिरहनु परेन । म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल मार्ग २२ गते रोज १ शुभम् ।