निर्णय नं. १२६ - बन्धकी जग्गा निखनाई पाउँ
निर्णय नं. १२६ ने.का.प.२०१८
फुलबेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
फुल नं. ४।१३
प्रतिवादी निवेदक : महेन्द्र नाथ
विरुद्ध
वादी विपक्षी : पुतली
मुद्दा : बन्धकी जग्गा निखनाई पाउँ
(१) दर्ता उपर चित्त नबुझेमा जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर गर्नु पर्ने ।
९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसै बखत देखि नै पुतलीको हक टुटी सकेको देखिन आउने
(प्रकरण नं. १२)
वादी पुतलीकै मन्जुरीले महेन्द्रनाथका नाउँमा ९७ सालमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो समेत चलेको । सो दर्ता उपर चित्त नबुझी जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर नगरी ०६ सालमा मात्र वादीको उजुर परेको ।
(प्रकरण नं. ११)
(२) मुद्दा दायर छँदै उही जग्गा राजिनामा गर्नु बेमुनासिब हुने ।
झगडा पर्दा पर्दैका अवस्था अपुतलीबाट दोलराजले राजिनामा गराई लिएको सदर पक्का नठहर्ने ।
(प्रकरण नं. १२)
उजुर परी मुद्दा दायर छँदै पुतलीले बुद्धिकलाको लोग्ने दोलराजलाई यही जग्गा राजिनामा गरेको मुनासिब भन्न नहुने ।
मुद्दा टुंगो नलाग्दैको अवस्थामा पछि सोही जग्गा किनबेच गरेको थैलिकोसम्म नाताले तहतह सकार हुँदै आएको । त्यस्तो सकार गरेको माथि लेखिएका ऐनले सदर मान्न नहुने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : वकिल पूर्णनारायण
विपक्षी तर्फबाट : ल्पीडर पुरेन्द्रकुमार मैनाली
फैसला
१. यसमा बैजनाथका नाउँमा राजबाधा खेतमुरी १०० मध्ये मेरा अंश भागको रानी सटा खेत मुरी ।२५ सोती भन्ने खेत मुरी ।२५ समेत २ कित्ताको खेत मुरी ।५० अन्यायवालालाई ९६।२।२५ मा मो. रु. १०५० मा भोगबन्धकी पास गरी दिएको । सो मोहरू ३००। निज महेन्द्रनाथलाई बुझाई सकेपछि रु. ७५०। बुझी नलिएबाट पाल्पा रजिष्ट्रेशनमा धरौट राखेमा डोरमा गरी दिएका मन्जुरीले मेरो नाउँमा दर्ता भएकोले र दरपीठ भएको समेत हैन बुझ्न मन्जुर छैन भनी कागज गरेकोले पाल्पा रजिष्ट्रेशनले नालेस गर्नु भनी सुनाएबाट नालिस गरेको छु । बाँकी मोहरू ७५० बुझाई जग्गा निखनाई पाउँ भन्ने समेत पुतलीको फिराद ।
२. वादी दावीको बन्धकी जग्गा डोरमा वादीका मन्जुरी बमोजिम मेरा नाउँमा मोहिया दर्ता भई तिरो गरी खाई आएको रजबाधा थैली रु. ३००। वादीले बुझी लिएको हुँदा वादी दावी झुट्टा हो भन्ने समेत प्र. महेन्द्रनाथको प्रतिउत्तर ।
३. तमसुकमा दरपीठ भएको र त्यसको निस्सा समेत नभएकाले थैली रु. १०५०। तिर्नु पर्नेमा थैली भन्दा रु. ३००। घटी भनेको ठहर्छ । वादीले डोरमा हक छोडिदिएको भन्ने नजनिएको । पास समेत नभएको हुँदा वादीकै हक ठहर्छ । बाँकी रु. ३००। वादीले धरौट राखे जग्गा चलन गर्न पाउने ठहर्छ भन्ने समेत पाल्पा अदालतको फैसला ।
४. इन्साफमा चित्त बुझेन भन्ने महेन्द्रनाथको अपील ।
५. थैली घटीबढी तर्फ वादीको अपील नपरेबाट त्यस तर्फ विचार गर्न नपर्ने । जग्गाका हकमा डोरले प्रतिवादीका नाउँमा भौहराई दर्ता गराउनु पर्ने पत्यारलायक अवस्था देखाउन नसकेको र म्याद भित्र उजुर दिई दर्ता बदर गराउन नसकेकोले मन्जुरी बमोजिम प्रतिवदी भोग तिरो गरेको रैकर जग्गा वादीले निखन्न पाउँ भनी झुट्टा उजुर गरेको र शुरुले गल्ती इन्साफ गरेको समेत ठहर्छ भन्ने पाल्पा अपीलको फैसला ।
६. इन्साफमा चित्त बुझेन भनी वादी पुतली मरी मुद्दा सकार गर्ने नरकान्तको अपील परेकोमा इन्साफ पाल्पा अपीलकै मनासिब ठहराई ०९।१२।१२।२ मा प्रधान न्यायालय सिंगल बेञ्चको फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने नरकान्तको निवेदनमा दोहराई हेर्ने ०१५।१।१४।२ को डिभिजन बेञ्चको आदेश ।
८. पाल्पा अदालतबाट पुतलीले जग्गा जितेपछि ऋण कर्जा भइ महेन्द्रनाथलाई बन्धकी दिएको जग्गा समेतको मोल रु. ३१०० पुतलीलाई दिई मेरा लोग्ने दोलराजले ७।२।८ मा राजिनामा लिएको लोग्ने र पुतली मरेकोले नरकान्तले सकार गरी निज पनि मरेकोले धनी म हकवाला हुँदा सो मुद्दा सकार गरी पाउँ भन्ने बुद्धिकलाको निवेदनमा हकवालाका नाउँमा म्याद पठाई पेश गर्नु भन्ने ११।११।४ को डिभिजन बेञ्चको आदेश ।
९. नरकान्तका हकदारका नाउँमा म्याद पठाउँदा १२।२।१५।२ मा टाँसिएको म्यादमा कुनै हकदार हाजिर हुन नआएकोले झगडा परेको जग्गा निवेदक बुद्धिकलाको लोग्ने दोलराजले राजिनामा गराई लिई निज मरेबाट मेरो हक भनी बुद्धिकलाको वा. भिमराजले पेश गरेको लिखितबाट देखिएकाले अ. बं. का २१८ बमोजिम जग्गामा बादीको हक कायम गरी निखन्न पाउने गरी छिनेको पाल्पा अदालतको मनासिब । पाल्पा अपील र प्रधान न्यायालय सिंगल बेञ्चको इन्साफ गल्ती ठहराई १२।११।११।५ मा डिभिजन बेञ्चबाट फैसला भएको । सो इन्साफमा चित्त बुझेन । दोहराई पाउँ भन्ने सूर्यप्रसादले दिएको निवेदनमा रिभ्यू गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्सेको ।
१०. झगडा परेको जग्गा नापजाँच भएको ९६।११।१२ को मुचुल्का नक्कल हेर्दा महेन्द्रनाथका नाउँमा दर्ता गरी पाउँ भन्ने पुतलीले दिएको मन्जुरी बमोजिम मोही महेन्द्रनाथ पाध्या भन्ने जनी दर्ता भई तिरो भरो चली सकेको । ११ बर्ष पछि वादीको नालिस परेको । प्रतिवादीको अपील परी कारवाई भएका बखत ०१७।३।१२ मा वादी पुतली मरी नरकान्तले सकार गरी प्र. न्या. मा अपील गरेको । सिंगल बेञ्चको फैसला भएपछि रिभ्यू परी कारवाई हुँदै रहेका बखत ११।८ नरकान्त मरेको र पुतलीका हक टुटाई लोग्ने दोलराजले लिएको हुँदा सकार गरी पाउँ भनी बुद्धिकलाको हकमा भिमराजको निवेदन बमोजिम मुद्दा सकार गरी डिभिजन बेञ्चबाट फैसला भएको र अपीलमा मुद्दा चल्दै ऐन मिलानको राजिनामा नभएको । पुतली मरेपछि ऐनका म्याद भित्र मुद्दा सकार नगरी नरकान्त मरेपछि मात्र सकार गर्ने नरकान्तको ऐन बमोजिम हकदार यो बुद्धिकला नभएको र राजिनमाको नाताबाट सकार गर्नलाई पनि पुतली मरेको ऐनको म्याद भित्र सकार गर्न नआएकाले समेत निज बुद्धिकलालाई मुद्धा सकार गराउन ऐनले नमिल्ने हुँदा छलफलमा बुद्धिकलालाई झिकाई पेश गर्नु भन्ने ०१४।७।४ को डिभिजन बेञ्चको आदेश ।
११. सरकारबाट रजबन्धकी थैली तिरी दिएको अवस्थामा जग्गा वादिको कब्जामा नरही वादीले लख दिएको महेन्द्रनाथका कब्जामा रहेको देखिएकोले भोगवालाको नाउँमा दर्ता हुने भन्ने कुरा वादीकै लेखाई । रजबन्धकी थैली तिरी रैकरमा रजबन्धकी हुँदाको अवस्थामा पनि वादी पुतलीकै मन्जुरीले महेन्द्रनाथका नाउँमा ९७ साला नम्बरी दर्ता भई निजबाटै भोग तिरो समेत चलेको । सो दर्ता उपर चित्त नबुझी जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर नगरी ०६ सालमा मात्र वादीको उजुर परेको र कुशुमाझीको मुद्दामा दर्ता तिरोवालाकै जग्गा सदर ठहरी फैसला भएको । उजुर परी मुद्दा दायर छँदै पुतलीले बुद्धिकलाको लोग्ने दोलराजलाई यहि जग्गा राजीनामा गरेको मुनासिब भन्न नहुने । यो मुद्दा सकार गर्दा अ. बं. को २१८ नं. ऐनको रीत पूर्वकको हकदारले सकार गरेको नदेखिएको र अ. बं. १११ नं. को रीत पूर्वकको नालिस समेत नपरेको । वादीवाला मरी पहिले परेको मुद्दा टुंगो नलाग्दैका अवस्थामा पछि सोही जग्गा किनबेच गरेको थैलीकोसम्म नाताले तहतह सकार हुँदै आएको । त्यस्तो सकार गरेको माथि लेखिएका ऐनले सदर मान्न नहुने हुँदा इन्साफ पाल्पा अपील र सिंगल बेञ्चको मनासिब छ । १२।११।११ को डिभिजन बेञ्चको इन्साफ गल्ती हुँदा तपसीलमा लेखिएको कलममा तपसीलमै लेखिए बमोजिम हुन्छ । डिभिजन बेञ्चका फैसलासँग यो डिभिजनको राय नमिलेकोले नियम बमोजम यो मुद्दा फुलबेञ्चमा पेश गरी यो फैसला सदर भएपछि तहसीलमा लगत दिने भन्ने समेत २०१५।२।२७।२ को डिभिजन बेञ्चको फैसला ।
१२. यसमा तारिखमा रहेका दुवै थर झगडियाहरू, निवेदक सूर्यप्रसाद तर्फको विद्वान वकिल पूर्णनारायण र विपक्षी बुद्धिकलाको वा. भिमराज तर्फको वकिल प्लीडर पुरेन्द्रकुमार मैनाली समेतको बहस सुनी प्रस्तुत मुद्दा बुझ्दा रजबन्धक जग्गाको थैली तिरी जग्गा दर्ता गर्ने गराउने काम समेतमा पाल्पा माल मार्फत खटी गएको डोरमा पुतलीले जग्गा दर्ता गर्ने बारेमा गरी दिएको ९७।११।२२ को कागजको कच व्यहोरामा लागेको ल्याप्चे पुतलीको सही विशेषज्ञलाई जचाउँदा मिल्छ भनी लेखी दिएको र ९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसैबखत देखिनै पुतलीको हक टुटी सकेको देखिन आउने र झगडा पर्दा पर्दैका अवस्थामा पुतलीबाट दोलराजले राजीनामा गराई लिएको सदर पक्का नठहर्ने हुनाले समेत इन्साफ पछिल्लो ०१५।२।२७।२ को डिभिजन बेञ्चले ठहराएको मनासिब ठहर्छ । दण्ड जरिवाना समेतको लगत सोही बमोजिम गर्नु ।
इति सम्वत् २०१७ साल पौष २० गते रोज ३ शुभम् ।