निर्णय नं. ३०७३ - लिखत बदर ।

निर्णय नं. ३०७३ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४१ सालको दे.पु.नं. ६०३
मुद्दा : लिखत बदर ।
पुनरावेदक/प्रतिवादी: जिल्ला प्यूठान सारी गा.पं. वार्ड नं. ५ तल्लासारी बस्ने सावित्री जैशीनी ।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने मित्रा देवी अधिकारी ।
फैसला भएको मिति: २०४३।७।२७।५ मा
विशेषज्ञबाट सहिछाप जाँच गराइएकोमा पनि अन्तर साक्षी पुनारामको नाउँमा लागेको ल्याप्चेको जात विवाद रहित पुनारामले २०३१।११।१०।७ मा दिएको राजीनामा ७ नं. फारामको महलमा लागेको पुनरामको ल्याप्चे सहिछापको जातै नमिलेको भनी विशेषज्ञ अदालतमा आई बकपत्र गर्दा समेत स्पष्ट भनेबाट सो ल्याप्चे पुनारामको भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छन् ।
२. पति पुनाराम छँदै दाङ साहिपुरमा जग्गा लिई प्यूठान सारी र दाङमा २ पाही गरी आएकोमा पहाडको जग्गा हामी दुई दम्पत्ति र दाङको जग्गा छोरा भेषराजको भागमा गराई ०३१ सालमा छुट्टिई बेगल बसेका, पति पुनारामको ०३७ सालमा परलोक भएपछि मेरो भाग एकलौटी हकभोग भई आएको जिल्ला प्यूठान तल्लासारी गाउँको तिरो रु. ४।५० को आठविशे भन्ने खेत मुरी ।१० को कित्ता १, तिरो रु. ५।९९ को खेत मुरी विरेवाङ भन्ने ३।५।३ को कित्ता । तिरो रु. ३०।२ लागेको खेत मुरी १६।५।३ को कित्ता १ तिरो १।२। मध्ये ।३ को विरेवाङ भन्ने पाखो खरेन कित्ता समेत जम्मा कित्ता जग्गा हकै नपुग्ने भेषराजले दिने सावित्रीले लिने गरेकोेमा जालसाजतर्फ छुट्टै नालेश गर्ने हुँदा बिक्री बदरतर्फ नालेश गरेको छु, विपक्षीहरूले उक्त जालसाज गरी लिनु दिनु गरेको मिति ०३६।१०।१५ को रजिष्ट्रेशन बदर गरिपाउँ भन्ने फिराद दावी ।
३. लेनदेन व्यवहारको १० नं. को म्याद नाघिसकेपछि ऐ को ४० नं. को २ वर्ष भित्रको हदम्याद कायम गरी नालेश दर्ता हुन नसक्ने गलत ऐनको प्रयोग गरी झुठ्ठा दावी गरेकोले दावी खारेज गरिपाउँ भन्ने समेतको प्र.सावित्री जैशेनीको प्रतिउत्तर ।
४. प्र.भेषराजले २०३८।१२।११ मा तामेल भएको इतलायनामाको म्याद गुजारी प्रतिउत्तर नै नफिराई बसेको ।
५. प्र.भेषराजले प्र.सावित्रीलाई गरिदिएको राजीनामामा पुनाराम समेत साक्षी बसेको देखिन्छ । यदि पुनारामको हकभोगको जग्गामा बिक्री गर्न सहमत नभएको भए साक्षी नबस्नु पर्ने साथै उक्त राजीनामामा भएको पुनारामको सहिछाप कीर्ते हो भनी सो कुरा वादीबाट प्रमाणित हुन पर्नेमा सो भएको समेत नदेखिएकाले वादी दावी पुग्न सक्तैन भन्ने समेत शुरु प्यूठान जिल्ला अदालतको मिति ०३९।३।२८ को फैसला ।
६. दाङको जग्गा अंश लिई भेषराज छुट्टि भिन्न भई बसेको २०३१।८।१६ को कागज पेश भइसकेको कीर्ते जालसाजी गरी लिनु दिनु गरेमा छुट्टै नालेश गरेको, अ.बं. ७८, १३३ नं. मा व्यवस्था भए अनुसार कानूनी सहुलियत नपाएको प्रमाण ऐन अनुसार प्रमाणमा लिनु हुने २०३१।११।१९ मा धनी बिनु अधिकारी ऋणी पुनाराम भएको राजीनामा ल्याप्चे सहिछाप भएकोले भेषराज दिने सावित्रा लिने गरेको ०३६।१०।१५ को राजीनामाको किनारामा पुनाराम भन्ने जालसाजबाट लेखिएको सहिछाप जाँच गरी जग्गा मेरो हक कायम गरी शुरु प्यूठान जिल्ला अदालतको मिति २०३९।३।२८ को फैसला बदर गरिपाउँ भन्ने समेत पुनरावेदक, वादी मित्रा देवी अधिकारीले म.क्षे.अदालतमा गरेको पुनरावेदन जिकिर ।
७. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी शुरु प्यूठान जिल्ला अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ, सो तर्फ विचार गर्दा यसमा आजैका मितिमा यिनै वादी प्रतिवादीको बीच वि.फौ.पु.नं. ५७।२१७ को जालसाज मुद्दामा मिति ०३६।१०।१५ को राजीनामाको लिखत जालसाज ठहरी यसै अदालतको डिभिजन बेञ्जबाट फैसला भएकोले सो लिखत बदर हुने ठहर्छ यस्तो लिखत बदर हुने ठहरेको लिखतलाई बदर हुन सक्दैन भनी प्यूठान जिल्ला अदालतले गरेको इन्साफ उल्टी हुन्छ भन्ने क्षेत्रीय अदालतको फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनका यसमा यिनै पक्ष विपक्षी भएको जालसाजी मुद्दामा जालसाज ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा कानूनी त्रुटि देखिँदा आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति दिएकोले जालसाजी ठहर्याएको नाताबाट लिखत बदर हुने ठहर्याएको म.प.क्षे.अ.को निर्णयमा अ.बं. १८४(क) को त्रुटि भएको र उक्त त्रुटि सार्वजनिक महत्वको समेत भएको हुँदा पुनरावेदन अनुमति यस अदालतको डिभिजन बेञ्जबाट ०४१।७।१५ मा भएको ओदश।
९. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक, प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विपक्षी, वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवालीको बहस जिकिर समेत सुनियो । प्रस्तुत विवादमा मुख्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिन पर्ने हुन आयो ।
१०. यसमा आजैका मितिमा डि.फौ.पु.नं. ५३१ को जालसाज मुद्दामा भेषराजले राजीनामा दिँदा आफ्नो बाबु पुनरामलाई अन्तर साक्षी राखेकोबाट दाताले कानून बमोजिम राजीनामा गरी दिएको हो कि भन्नलाई पनि वादीले आफ्नो फिरादमा नै आफ्नो लोग्नेको हकको जग्गा बिक्री गर्दा अन्तर साक्षीमा बाबु पुनरामको नाउँ लेखाई अरु नै व्यक्तिबाट सहिछाप गराई जालसाज गरी बिक्री गरेको भनी दावी लिएकोमा प्रतिवादीले इन्कार गर्न नसकेको र विशेषज्ञबाट सहिछाप जाँच गराई सकेकोमा पनि अन्तर साक्षी पुनारामको नाउँमा लागेको ल्याप्चेको जात विवाद रहित पुनारामले २०३१।११।१०।७ मा दिएको राजीनामा ७ नं. फारामको महलमा लागेको पुनारामको ल्याप्चे सहिछापको जातै नमिलेको भनी विशेषज्ञ अदालतमा आई बकपत्र गर्दा समेत स्पष्ट भनेबाट सो ल्याप्चे पुनारामको भन्न नमिली दावी बमोजिम बाबु पुनारामको हकको जग्गा आफ्नो अंश भाग परेको भनी देखाई दावी बमोजिम जालसाज गरी लिए दिएको देखिन आएकोले म.प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने ठहरी यसै अदालत डिभिजन बेञ्जबाट फैसला भएकोले सो लिखत सम्बन्धमा बदर हुने गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ समेत मिलेकै देखिँदा पुनरावेदकको जिकिर पुग्न सक्दैन । कोर्ट फी राखी पुनरावेदन परेको देखिँदा कसैलाई केही गरिरहनु परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४३ साल कार्तिक २७ गते रोज ५ शुभम् ।