निर्णय नं. ३०७७ - कर्तव्य ज्यान

निर्णय नं. ३०७७ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ३६०
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी: भरत तेलीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि.नवलपरासी रामनगर गा.पं. वा.नं.८ बस्ने जनक नारायण शाह ।
ऐ.ऐ बस्ने सुरेन्द्र विक्रम शाह ।
ऐ.ऐ बस्ने जिव विक्रम शाह ।
ऐ.ऐ बस्ने रेख विक्रम शाह ।
ऐ.ऐ बस्ने देव विक्रम शाह ।
ऐ.ऐ बस्ने बोध नारायण शाह ।
फैसला भएको मिति: २०४३।१०।५।२ मा
एक पटक स.स.अ. तथा प्रहरीको संयुक्त अभियोग पत्र दायर भइसकेपछि पुनः सोही विषयमा उही प्रतिवादीहरू उपर अर्को अभियोग लगाई अभियोग पत्र दायर गर्न पाउने कानूनी व्यवस्था भएको नपाइने ।
(प्रकरण नं. २३)
प्रहरीको संलग्नता नभएको अभियोग पत्रलाई रीतपूर्वकको मान्न नमिल्ने ।
(प्रकरण नं. २३)
पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी
विपक्षी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाः X
फैसला
न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।
२. मिति ०३७।७।३ गते उखु लिन गएको छोरा गोमलप्रसादलाई मतौडी बस्ने ५।६ जनाले कुट्दै लगेको छ भनी श्यामलाल तेली समेतले भनेपछि १५।१६ जना मानिस जाँदा जनक नारायण शाहको घरमा छ भन्ने थाहा पाई गई छोरासंग सोध्दा जनक नारायण शाह समेतले कुटपिट गरे भनेपछि उपचार गराउन जाँदा परासी हेल्थ पोष्टले यहाँ उपचार हुन नसक्ने भनेकोले बुटवल अस्पतालमा लगी भर्ना गरेको छु । निज बोल्न सक्ने भएपछि सबै निजबाटै खुल्न सक्ने हुँदा हाल अदालतमा नालेश गर्न घा जाँच गराउन भएको व्यहोरा जाहेर गरेको भन्ने समेत व्यहोराको भरत तेलीको ०३७।८।४ को दर्खास्त ।
३. गाउँदेखि दक्षिणमा पर्ने उखु खेतमा उखु काट्न गएको छोरा गोमालप्रसादले उक्त समय उखु तोड्न आएका भतौडी गाउँका ५।६ जनालाई उखु तोड्न नदिँदा गाउँबाट अरु ५।६ जना आई छोरालाई कुट्दै भतौडीतर्फ लैजाँदै गरेको बेला अन्दाजी ७ बजेको समयमा चकोस अहिर समेतले घरमा आई भनेपछि जाँदा जनक नारायण शाहको घरमा छोरालाई थुनी राखेको रहेछ र सोद्धा मलाई कुटपिट गरे भनी भनेकाले औषधि उपचार गर्न नवलपरासीमा लाँदा यहाँबाट उपचार हुन नसक्ने भनेपछि बुटवल अस्पतालमा लगी भर्ना गरेकोमा त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि पाल्पा अस्पतालमा लान रिक्सामा राखी गेटमा पुर्याउँदा खेरी नै छोराको मृत्यु भएकोले वचन दिई कुटपिट गर्ने जनक नारायण शाह समेतलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भरत तेलीको ०३७।८।५ को जाहेरी दर्खास्त ।
४. मैले गोपाल तेलीलाई कुटपिट गर्नु पर्ने र मार्नु पर्ने कुनै अवस्था थिएन, रिसइवी समेत छैन, निज मर्नु भन्दा पहिला नै प्यूठान घरमा गएको हुँ । के कसरी निजको मृत्यु भयो, मलाई थाहा छैन भन्ने समेत जीव विक्रम शाहको प्रहरीमा भएको बयान ।
५. गोमलप्रसाद तेलीलाई बचन दिएको र कुटपिट गरेको होइन, विरामी दाजुको उपचार गर्न गई ०३७।११।२९ मा मात्रघर आएको हुँ भन्ने समेत रेख विक्रम शाहको प्रहरीमा भएको बयान।
६. गोमलप्रसादलाई कुटपिट गरेको थाहा छैन । मिति ०३७।७।२५ मा छोरा जीव विक्रमलाई लिई प्यूठान गएको हुँ भन्ने देव विक्रम शाहको प्रहरीमा भएको बयान ।
७. मिति ०३७।८।२ गते महेशपुर पृथ्वीराम कडेल कहाँ गई भोलिपल्ट ढुटीवारी हुँदै काठमाडौं गई ०३७।११।२९ मा मात्र घर आएको हुँ, गोमलप्रसादलाई कुटपिट गरेको होइन भन्ने समेत बोध नारायण शाहको प्रहरीमा भएको बयान ।
८. घटना घटेको दिन म घरमा छैन, गोमलप्रसादलाई वचन दिई कुटपिट गरेको होइन भन्ने समेत चीरञ्जीवि शाहको प्रहरीमा भएको बयान ।
९. बुझिएसम्मको मौका तहकिकात र मौकाको पोष्ट मार्टम समेतबाट गोमलप्रसाद तेलीको मृत्यु कुटाइबाट भएको भन्ने देखिन आयो । सबुद प्रमाणको अभावमा देवविक्रम, शाह, जीव विक्रम शाह, रेख विक्रम शाह, बोध नारायण शाह, चिरञ्जीवी शाह जना ५ का हकमा मुद्दा चलाउन नमिल्ने भई खोजी भएका बखत उपस्थित गराउने गरी हाजिर जमानीमा छाडिएको र फरार रहने जनक नारायण शाह र सुरेन्द्र शाह जना २ ले मार्ने सम्मको कुनै रिसइवी नभई उखु सम्बन्धमा कुराकानीमा होस नपुर्याई हेलचेक्रयाईबाट कुटपिट गर्दा निज गोमलप्रसाद तेलीको मृत्यु भएको देखिँदा निज जना २ का हकमा ज्यानसम्बन्धीको दफा ६ को देहाय दफा २ अनुसारको कसूर गरेको देखिँदा हाल फरार रहेकोले पक्राउ भएको बखत उपस्थित गराउने भन्ने समेत प्रहरी प्रतिवेदन ।
१०. प.दे.न.स.स.अ. राम समुभ मिश्रले र प्रहरी समेतले प्रतिवादीहरू उपर भवितव्य ठहर्याई सरजमीन समेतको किटानी गरेका प्रतिवादीहरूलाई हाजिर जमानीमा छाडेको न्यायसंगत नहुँदा उक्त प्रतिवादीहरूलाई झिकाई ज्यानसम्बन्धीको दफा (३) अनुसार कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प.दे.न.स.स.अ. प्रेमबहादुर खत्रीको राय ।
११. मिति ०३७।७।१७ मा धुर्कोट नयाँ गाउँमा गई ०३७।८।५ मा मात्र घर आएको हुँ गोमल तेलीलाई कुटपिट गरेको र वचन समेत दिएको होइन भन्ने समेत जनकनारायण शाहको अदालतमा भएको बयान ।
१२. गोमलप्रसादलाई कुटपिट गरेको होइन भन्ने समेत एकै व्यहोराको प्रहरीमा भएको बयान मिलानको सुरेन्द्र विक्रम शाह, जीव विक्रम शाह, देव विक्रम शाह, र चिरन्जीवी शाहले अदालतमा गरेको बयान ।
१३. ०३७।८।२ गते महेशपुर गई बुटवल हुँदै सासू विरामी खबर पाई काठमाडौं समेत गई घर फर्केको हुँ, गोमल तेली कसरी मर्यो थाहा छैन भन्ने समेत बोध नारायण शाहको अदालतमा भएको बयान ।
१४. सरजमीनका मानिस रामहित गुप्ता समेतको बकपत्र भएको ।
१५. जाहेरी दर्खास्त मेरो खुशीसाथ दिएको हो मेरो छोरा गोमल तेलीलाई प्र.जनक नारायण शाह समेतले कुटपिट गरी मारेको हुनाले निजहरूलाई कानून बमोजिम सजायँ गरिपाउँ भन्ने समेत जाहेरवाला भरत तेलीले अदालतमा गरेको बकपत्र ।
१६. प्रतिवादीहरूका साक्षी बुद्धबहादुर मल्ल समेतको बकपत्र भएको ।
१७. पोष्टमार्टम रिपोर्ट अनुसार गोमलप्रसाद तेलीको मृत्यु कुटपिटबाट भएको देखिने, जाहेरवालाले ०३७।८।४ र ऐ ५ गते दिएको जाहेरी दर्खास्तको कुरा परस्पर नमिली बाझिन गएको र साक्षी सरजमीन समेतका बकाई, लेखाईबाट प्र.मध्ये जीव विक्रम शाह, रेख विक्रम शाह, देव विक्रम शाह, बोध नारायण शाह र चिरन्जीवी शाहले सफाई पाउने ठहर्छ । प्र.जनक नारायण शाह र सुरेन्द्र शाहका पिटाईबाट गोमल तेलीका मृत्यु भएको देखिएकोले निजहरूले ज्यानसम्बन्धीको १४ नं. अनुसार कसूर गरेको ठहर्छ भन्ने समेत ०४०।१।१३ को न.पं.जि.अ.को फैसला ।
१८. उक्त फैसला उपर प.क्षे.अ.मा श्री ५ को सरकारको पुनरावेदन परेको ।
१९. अदालतमा आई बकपत्र गर्ने सरजमीनको मानिसहरूबाट जनक नारायण शाह र सुरेन्द्र विक्रम शाहको उपस्थिति देखाएको, शुरु जाहेरी दुवै व्यक्तिको नाम खुलेको, पोष्टमार्टम रिपोर्टबाट गोमल तेलीको मृत्यु कुटपिटबाट भएको देखिएकोले उखु काटेको कुरामा होश नपुर्याई हेलचेक्राई गरी गोमललाई कुटपिट गरेको ठहर्छ । ज्या.सं. को ६(२) अनुसार निजहरूलाई तजबिजी वर्ष ३ का दरले कैद हुने ठहर्छ । न.पं. जि.अ.को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।
२०. प.क्षे.अ.को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको रहेछ।
२१. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी.ले कुटपिट गर्नेमा जनक नारायण, सुरेन्द्र विक्रम समेत हुन् भनी जाहेरीमा किटानी भएको, मर्नेले मर्नु अघि घाइते अवस्थामा प्र. जनक नारायण र सुरेन्द्रसमेतले कुटपिट गरेको भनी व्यक्त गरेको निजहरूकै कुटाईबाट मृतक गोमल तेलीको मृत्यु भएको सरजमीनका मानिसले लेखाई दिएका देखिएको र उखु भाँच्न लागेको देखि उही कुटपिट नगरी प्रतिवादीहरूले मर्नेलाई आफ्नो घरमा ल्याई कुटपिट गरेको देखिएको हुँदा मार्ने मनसायले योजना बनाई घरमा ल्याई कुटपिट गरेको पुष्टि भएको देखिँदा प्र.जनक नारायण र सुरेन्द्र विक्रमलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ नगरेको इन्साफ न्याय संगत मान्न सकिन्न । उखु काटेकै ठाउँमा गाली लगौज, हप्काई दप्काई गर्दा केही हुन गई ज्यान मर्न गएको भएमात्र ज्यानसम्बन्धीको ८(२) नं. को प्रयोग हुन सक्ने हो। कुनै सबुद प्रमाणको उल्लेखै नगरी अन्य प्रतिवादीहरूलाई सफाई दिएको पनि मिलेको छैन, निजहरूलाई पछिल्लो अभियोग बमोजिम सजायँ नगरी सफाई दिएको समेत त्रुटिपूर्ण छ भनी गर्नु भएको बहस समेत सुनियो ।
२२. अब प.क्षे.अ.को इन्साफ मिलेको छ छैन सो को निर्णय दिनु परेको छ ।
२३. निर्णयतर्फ विचार गर्दा यसमा उल्लेखित प्रतिवादीहरू मध्ये जीव विक्रम शाह, रेख विक्रम शाह, देव विक्रम शाह, वोधनारायण शाह र चिरन्जीवी शाहका विरुद्ध मुद्दा चलाउन प्रमाण नपुगेको भनी मुद्दा नचलाउने र प्र.जनक नारायण शाह र प्र.सुरेन्द्र विक्रम शाहका विरुद्ध गोमलप्रसाद तेलीलाई कुटपिट गर्दा भवितव्य परी मरेको भनी ज्यानसम्बन्धीको ६(२) बमोजिम सजायँ गरिपाउँ भनी प्रथम पटक पदेन स.स.अ.तथा प्रहरीको संयुक्त प्रतिवेदन पेश भएको र पुनः अर्को पदेन स.स.अ.बाट सबै प्रतिवादीहरू उपर मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरिपाउँ भनी छुट्टै अर्को राय पेश गरेको प्रस्तुत मुद्दामा प्र.जनक नारायण शाह र सुरेन्द्र विक्रमलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने र अन्य प्रतिवादीहरूले सफाई पाउने ठहर्याई न.प.जि.अ.बाट फैसला भएकोमा पदेन स.स.अ.को दोस्रो संशोधित रायलाई मान्यता दिन नमिल्ने, जनक नारायण र सुरेन्द्र विक्रमका हकमा प्रहरी प्रतिवेदन दावी भन्दा बढी सजायँ गर्न नमिल्ने हुँदा ज्यानसम्बन्धीको ६(२) बमोजिम २ वर्ष कैदको तजविजी सजायँ हुने र अन्य प्रतिवादीहरूका हकमा सफाई दिने गरेको शुरुको इन्साफ मनासिब ठहर्याई प.क्षे.अ.बाट फैसला भएको देखिन्छ । एकपटक स.स.अ. तथा प्रहरीको संयुक्त अभियोग पत्र दायर भइसकेपछि पुनः सोही विषयमा उही प्रतिवादीहरू उपर अर्को अभियोग लगाई अभियोगपत्र दायर गर्न पाउने कानूनी व्यवस्था भएको पाइँदैन । त्यसमा पनि प्रस्तुत मुद्दाको पछिल्लो अभियोग पत्र सरकारी वकीलका तर्फबाट मात्र दायर भएको देखिएकोले प्रहरीको संलग्नता नभएको त्यस्तो अभियोग पत्रलाई रीत पूर्वकको मान्न मिल्ने देखिँदैन । तसर्थ प्र. जनक नारायण र सुरेन्द्र विक्रम बाहेकका अन्य प्रतिवादीलाई सफाई दिने ठहर्याएको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । अब प्र.जनक नारायण शाह र प्र.सुरेन्द्र विक्रम शाहलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम सजायँ गर्ने गरेको प.क्षे.अ.को इन्साफ ठीक छ छैन त्यसतर्फ विचार गर्दा निजहरू उपर शुरु अभियोग पत्रमा सो बमोजिम सजायँको माग दावी भएको देखिन्छ । शुरु जाहेरीमा प्र.मध्ये यी दुई प्रतिवादीहरूका नाम उल्लेख भएकोलाई सरजमीनका मानिसहरूको वकाईले समर्थन गरेको पाइन्छ । लाश जाँच प्रतिवेदनबाट गोमलप्रसाद तेलीको मृत्यु कुटपिटबाटै भएका कुरा प्रमाणित गरेको छ । उखु तोड्ने कुरामा झगडा हुन गई कुटपिट हुन गएको भन्ने संकलित प्रमाणबाट स्पष्ट भएको छ । त्यसरी उक्त विषयमा झगडा कुटपिट हुँदा होस् नपुर्याई हेलचेक्राइबाट कुटपिट गरेबाट मृतक गोमलको मृत्यु भएको देखिन आएको छ । तसर्थ यस्तो अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) बमोजिम २ वर्ष कैदको तजविजी सजायँ गर्ने गरेको र माग दावी भन्दा बढी सजायँ गर्न नमिल्ने भनी प.क्षे.अ.ले गरेको इन्साफ मिलेकै देखिएकोले सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४३ साल माघ ५ गते रोज २ शुभम् ।