निर्णय नं. ३०८१ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३०८१ ने.का.प. २०४४ अङ्क ५
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको रिट पूर्ण इजलास नं. २५
विषय : उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निवेदक/रिटनिवेदक:जिल्ला धनुषा बटेश्वर गा.पं वडा नं.६ को हाल गाउँ पञ्चायत शान्तिपुर वडा नं. १ बस्ने गोदावरी देवी कायस्त ।
विरुद्ध
विपक्षी/प्रत्यर्थी : ऐ.ऐ. बस्ने फौडी ठाकुर बडही ।
श्री भूमि सुधार कार्यालय,धनुषा ।
आदेश भएको मिति: २०४०।४।१४।५ मा
रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न, यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४१।३।१ मा भएको निर्णय दोहर्याई पाउँ भन्ने गोदावरीदेवी कायस्तको हकमा शिवनाथ तिमिल्सीनाले न्यायिक समिति मार्फत चढाएको न्या.स. १४२ र २७६ को विन्तिपत्रहरू तथा सो बारे न्यायिक समितिले चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. संक्षिप्त तथ्य एवं जिकिर : मेरो नाम दर्ताको महोत्तरी गा.पं. वडा नं. १ को साविक कि.नं. ३ को २–१७–१९ को हाल कायम हुन आएको कि.नं. १५४ को २–१–१५ ऐ. कि.नं. १५३ को ०–१६–१८ धूर समेत जम्मा जग्गा २–१८–३ जग्गा मैले सदा सर्वदा देखि आफैंले जोत आवाद गरी भोगी आएको र ऐन लागू भएपछि १ नं. लगत आफ्नै नामबाट अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. समेत पाएकोमा प्रतिरक्षीले मेरो कि.नं. १५३ को पूर्वतर्फबाट ६ कठ्ठा र कि.नं. १५४ को पश्चिमतर्फबाट १० कठ्ठा समेत जम्मा १६ कठ्ठा जग्गामा मोही भई जोति आएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी फिरादपत्र दिइएको र मैले प्रतिरक्षी मोही होइन जग्गा आफैंले कमाई आएको छु भनी प्रतिउत्तरपत्र दिइएकोमा सो मेरो भोगको जग्गामा प्रतिरक्षीलाई मोहियानी प्रमाणपत्र दिने ठहर्याई मिति २०३९।६।२५।२ मा निर्णय भएको छ । मेरो जग्गामा मोही दावी गर्न पाउने प्रतिरक्षीलाई अ.बं. ८२ नं. ले हकदैया नै छैन । जग्गाधनी महलमा पितनाथ उपाध्यायको नाम मात्र उल्लेख भएको हुँदा हुँदै ऐनको दफा २५(१) अन्तर्गत आफैंले जोतेको जग्गा मोहियानी हकको प्रमाणपत्र दिने अधिकारीको निर्णय अ.बं. ३५ नं. बमोजिम बदरभागी छ खास र प्रत्यक्ष प्रमाणपत्र छाडी लाग्नै नसक्ने प्रमाणहरूका आधारमा मोही कायम गरेको हुँदा अ.बं. १८४(क) १८५ र १८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्याँशको त्रुटि हुन गएको हुनाले विपक्षीको निर्णयलाई उत्प्रेषणको आदेश जारी गरी मेरो हक तथा संरक्षण प्रचलन गराई पाउँ भन्ने व्यहोराको रिट निवेदकका जिकिर रहेछ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति २०३९।९।१२ को यस अदालत सिंगल बेञ्जको आदेश रहेछ ।
४. २०३९।६।२५ मा गोदावरी देवीको नाममा दर्ता रहेको उक्त जग्गामा निवेदक फौडी ठाकुरलाई मोहीको प्रमाणपत्र दिने गरी भएको फैसलाबाट जग्गाधनीको कुनै पनि संवैधानिक हक हनन् नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुनुपर्ने भन्ने भूमिसुधार कार्यालय धनुषाको लिखितजवाफ ।
५. प्रत्यर्थी फौडी ठाकुर वहडीले तामिल भएको सूचनाको म्यादमा लिखितजवाफ पेश नगरी गुजारेको रहेछ ।
६. प्रकाशित २ नं. अनुसूचीमा १ बिगहा ५ कठ्ठा र १ बिगहा १० कठ्ठा जग्गा फडडी वहडीको जग्गा देखिएकोले अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।३।१ को निर्णय आदेश ।
७. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत मुद्दा दोहोर्याई पाउँ भनी गोदावरीदेवी कायस्थको हकमा शिवनाथ तिमिल्सीनाले चढाएको विन्तिपत्रमा २ नं. अनुसूचीमा मोही फौडी बडही लेखिएको भए तापनि जग्गाधनी महलमा पितनाथ उपाध्याय भनी लेखिएको देखिँदा गोदावरी देवीको जग्गा मोहियानीमा जोतेको भन्ने अनुसूचीबाट देखिँदैन । सो अनुसूची उपर गोदावरी देवीले उजूर नगरेको भन्न नमिल्नेमा २ नं. अनुसूचीमा दावी विरोध नगरेको भन्ने समेत आधारमा भूमिसुधार कार्यालयले मोही कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिँदा देखिँदै रिट निवेदन खारेज गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको आदेश प्रमाण ऐन, २०३१ को दफा ५४ र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) समेतको त्रुटि हुन गएको भन्ने समेत न्यायिक समितिबाट पर्चा गरी मुद्दा दोहर्याउन जाहेर गरेकोमा सो पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।१।३१ मा लेखी आएको रहेछ ।
८. रिटनिवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले ४ नं. जो.अ.नि. मा रिट निवेदकको नाम ज.ध.मा उल्लेख छैन । २ नं. अनुसूचीको नक्कलमा ज.ध.पितनाथ उल्लेख छ । रिट निवेदकको जग्गामा मोही नै नदेखिएकोलाई मोही कायम गरेको भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिँदा देखिँदै त्यस्तो निर्णयलाई बदर नगरी सो निर्णय कायम रहने गरी रिट निवेदन खारेज गरेको स.अ. डिभिजन बेञ्जको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनु पर्दछ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले प्रकाशित २ नं. अनुसूची समेतको आधारमा अधिकार प्राप्त भूमिसुधार अधिकारीले मोही कायम गरी निर्णय गरेकोमा कुनै त्रुटि छैन । रिट खारेज गरेको स.अ.डिभिजन बेञ्जको आदेश सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
९. प्रस्तुत रिट निवेदनमा सर्वोच्च अदालत डिभिजन बेञ्जको आदेश मिलेको छ, छैन ? र रिट निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले प्रकाशित २ नं. अनुसार विपक्षीको लोग्ने रुपनारायणलालका नामबाट ज.वि. १–५–० को २ नं. फाराम प्रकाशन भएको देखिएको र ४ नं. जो.अ.नि. मोहियानी हकको प्रमाण सरह भएको हुनाले प्र.ले इन्कार गरेपनि २ नं. अनुसूची प्रकाशनमा दावी विरोध परेको नदेखिँदा निवेदकको माग बमोजिम शान्तिपुर गा.पं. वडा नं. १ को कि.नं. १५५ मध्ये पश्चिमतर्फबाट ०–१०–० र ऐ वडा को कि.नं. १५३ मध्ये पूर्वतर्फबाट ०–६–० समेत जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (१) बमोजिम हक प्राप्त मोही देखिँदा मोहियानी हकको स्थायी प्रमाणपत्र पाउने ठहर्छ भनी मिति ०३९।६।२५ मा निर्णय गरेको देखिन्छ । सो निर्णय बदर गरिपाउँ भनी रिट निवेदन परेकोमा सो निर्णयलाई कायम गरी सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०३९।६।२५ मा निर्णय गरेको पाइन्छ ।
११. सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४०।१०।१७ को आदेशानुसार महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई आएको सह-न्यायाधिवक्ताले इजलास समक्ष देखाइएको २ नं. अनुसूचीको प्रतिलिपि हेर्दा क्षेत्रफल १–५–० र १–१०–० जग्गामा मोही महलमा फउडी बडही र क्रमशः पहिलो कित्तामा अरुको भन्ने भई जग्गावालाको महल खाली भएको, दोस्रा कित्तामा जग्गावाला महलमा पितनाथ उपाध्याय भन्ने उल्लेख भएको पाइन्छ । तर रिट निवेदिका वा निजको लोग्ने जग्गावाला भनी उल्लेख भएको देखिँदैन । भूमिसुधार कार्यालयको लिखितजवाफमा २ नं. लगत २०२३।१२।३० मा प्रकाशन हुँदा १–५–० अरुको जग्गा कमाएको भनी उल्लेख भएको रहेछ । २ नं. अनुसूचीमा जग्गाधनी नामको महल खाली छ, भन्ने उल्लेख भएको पाइन्छ । भूमिसुधार कार्यालयले निर्णय गर्दा विपक्षीको लोग्ने रुपनारायणलालका नामबाट १–५–० को २ नं. फाराम प्रकाशन भएको देखिएको भन्ने आधार लिएको छ । तर लिखितजवाफबाट र प्राप्त २ नं. अनुसूचीको प्रतिलिपिबाट निर्णयमा आधार लिए अनुसार रिट निवेदिकाको लोग्ने रुपनारायणलालको नाम उल्लेख भएको देखिँदैन । जग्गावालाको महल खाली रहेको पाइन्छ । यसरी रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न । यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले फौडी वडहीलाई मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने गरी गरेको मिति २०३९।६।२५ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१२. अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाको मिति २०३९।६।२५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ। रिट निवेदन खारेज गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।३।१ को निर्णय मिलेको देखिएन । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.महेशरामभक्त माथेमा
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल साउन १४ गते रोज ५ शुभम् ।