शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०८२ - जग्गा दर्ता बिक्री बदर

भाग: २९ साल: २०४४ महिना: भाद्र अंक:

निर्णय नं. ३०८२   ने.का.प. २०४४ अङ्क ५

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४२ सालको दे.पु.ई.नं. ११०

मुद्दा : जग्गा दर्ता बिक्री बदर ।

 

निवेदक/प्रतिवादी: जि.झापा बाहुन डाँगी गा.पं. वार्ड नं.४ बस्ने चन्द्रबहादुर सुवेदी ।

        ऐ.ऐ चन्द्र बहादुर सुवेदी ।

        ऐ.ऐ बस्ने अम्वर बहादुर कार्की ।

        ऐ.ऐ बस्ने लोक बहादुर प्रधान ।

        ऐ.ऐ बस्ने शेर बहादुर बुढाथोकी ।

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. बस्ने दुखीसरी मेचे

फैसला भएको मिति: २०४४।४।२८।५ मा

    संग बसेको अन्य हकवाला नभएको स्थितिमा बाबुको अपुताली छोरीलाई प्राप्त हुने ।

(प्रकरण नं. १८)

निवेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह: सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट किनारा भएको विन्तिपत्रमा लेखिएको जग्गा दर्ता बिक्री बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बकस भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.  विपक्षीहरू उपर कारवाही गरी जग्गा दर्ता बिक्री बदर गरिपाउँ भन्ने दुखीसरी मेचेको श्री ५ महाराजाधिराजका जुनाफमा परेको विन्तिपत्रमा ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई झापा जिल्ला अदालतमा गएको र झापा जिल्ला अदालतबाट दुखीसरी मेचेलाई झिकाई बयान गराउँदा बाजे मन्जन मेचेका दुई छोरा जेठा विपक्षी पागल सिंको बाबु सोमा र कान्छा मेरा बाबु कोन मेचे हुन् । बडा बाबु सोमा बाजेसंग मिल्न नसकी मेरा पिता जन्मनु भन्दा अगाडि नै बेग्लै बसी आएका थिए । बाजे मन्जन २०१३ सालमा सोमा २०११ सालमा र बाबुको देहान्त २०२४ सालमा भएछ । बाबुको देहान्त हुँदा म आमाकै गर्भमा रहेकी रहेछु र मेरो जन्म २०२४ साल माघ महीनामा भएपछि दुई वर्ष जस्तो पछि बाबु २०२६ सालमा आमा गाला मेचेसंग पोइल जानु भएकोले हालसम्म आमाकै साथमा छु । बाबुको मृत्यु पछि बाबुको नामको जग्गा मेरा नाममा दर्ता भएको थिएन । यसै बीच पागल मेचे र शेरबहादुर बुढा क्षेत्री समेत मिली बाबुको जग्गा मेरा नाममा नामसारी दर्ता गराई दिन्छु भनी २०३० साल माघ महीनामा भन्न आएबाट विश्वास गरी मेरो लिफा र बाबुको नाउँको धनीपूर्जा रसीद समेत दिएकोमा विपक्षीहरूले बाहुन डाँगी गा.पं. वार्ड नं. ३ को कि.नं. ४३२, ४६८, ४६९, ४७०, ६५७ को जम्मा ज.वि. ९६ नमालुम कसरी पञ्चायतको समेत सिफारिश गराई भू.सु.का. झापाबाट (साविक पेज न.. ५०७) दर्ता गराए भन्ने हल्ला सुनी बुझ्दा उल्लिखित जग्गाहरू २०३०।१२।१ मा पागल सिंले आफ्नो नाउँमा दर्ता गराउने र शेरबहादुर समेतलाई बिक्री समेत गरी मेरो हक मेट्न खोजेकोले विपक्षीहरूको खिचोला मेटाई मेरो हक कायम गरी भू.प्र.का. को निर्णयले भएको दर्ता र सो पछि भएको बिक्री समेत बदर गरी मेरा नाममा नामसारी दर्ता गरिपाउँ भन्ने समेत दुखीसरी मेचेको बयान रहेछ ।

३.  दुखीसरी मेरो काकाको छोरी बहिनी हुन्, जग्गा मेरो र बहिनी दुखीसरीको नाममा नामसारी गर्न भनी शेरबहादुरले मेरो बहिनी र निजकी आमा समेतको ल्याप्चे सही गराई लिएकोमा भू.प्र.का.मा गई निजले नै के के काम गरी सही गर भनी मलाई भन्दा बहिनी र मेरो नाममा नामसारी भएको होला भनी सही गरेकोमा पछि निजले बहिनीको नाममा नामसारी भएन। तिम्रो नाममा ज.वि. ९६ मात्र नामसारी भयो भनेका र ज.वि. ५६ मेरो नाममा पास गराएको छ अरु लोकबहादुरलाई २० समेत गरी पाँचै कित्ता पास गरी सकेको छु भने मैले पास गरिदिएको हैन छैन । जालसाज गरी पास गराएकोमा बिक्री समेत बदर गरी मेरा र दुखीसरीको नाममा दर्ता गरिपाउँ भन्ने समेत पागल सिं मेचेले गरेको बयान ।

४.  मञ्जन मेचेका ३ भाइ छोरा, जेठा सोमा माइला कोन, कान्छा फन रहेछन् सोमाको छोरा पागल सिं र फन मेचेको छोरी वादी भई कोन मेचेको निसन्तान भई अपुताली परेको हुँदा कोन मेचेको नाउँमा रहेको जग्गा पागल सिंले आफ्ना नाममा नामसारी गरी माग्न निवेदन गरी २०३०।१२।१ मा पागल सिंका नाउँमा नामसारी भएको हो दुखीसरीको वारेसनामा मैले लिएको छैन। पागल सिंको नाममा दर्ता भएको जग्गा मध्य पागल सिंबाट मैले रु. १७,८००।मा २०३१।९।२६ मा भू.प्र.का. बाट ज.वि. ५१ राजीनामा गरी लिएको हुँ । लोकबहादुर प्रधानले पनि निजबाट २ विगहा पास गरी लिएको हो जालसाज गरी पारीत गराई लिएको होइन भन्ने समेत शेरबहादुरको बयान ।

५.  पागल सिं मेचेले म र अम्बरबहादुर समेतबाट रु. १०,७३५।मा कि.नं. ४३२ बाट ज.वि. ११९, ०३१।११।८ मा पास गरी दिएकाले मेरा र अम्बरबहादुरका नाउँमा दा.खा. गराई लिएका छौं सो जग्गा पागल मेचेका नाउँमा के व्यहोराबाट आएको हो मलाई थाहा छैन भन्ने समेत चन्द्रबहादुरको बयान ।

६.  विपक्षी पागल सिंबाट कि.नं. ४६८ को ज.वि. २० थैली रु. १०,०००।मा ०३१।९।२६ मा राजीनामामा पास गराई लिएको हुँ भन्ने समेत व्यहोराको लोकबहादुर प्रधानको बयान ।

७.  विपक्षीले म र चन्द्रबहादुर समेतबाट रु. १०,७३५।खाई कि.नं. ४३२ को ज.वि. ११९५ जग्गा पागल सिंबाट राजीनामा पारीत गराई लिएको हो भन्ने समेत व्यहोराको अम्बरबहादुर कार्कीको बयान ।

८.  कोन मेचे र खोने मेचे भन्ने व्यक्ति एकै नभई बेग्ला बेग्लै देखियो । वादीको बाबुको नाम खोन मेचे देखिन आएकोले वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको ०३५।९।२ को फैसला ।

९.  सो फैसला उपर वादी दुखीसरी मेचेको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१०. पागल सिं मेचेले दिएको अंश मुद्दाको नालेश र २०१४ सालको २ नं. रसीदबाटै कोन मेचे अलग अलग व्यक्ति नभई एकै व्यक्ति रहेछन् भन्ने देखिँदा झापा जिल्ला अदालतको फैसला मिलेको देखिन आएन अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।

११.  २०१८ सालमा पागल सिं मेचेले अंश मुद्दा दिएकोमा मन्जन मेचेको दुई छोराहरू मध्ये जेठा सोमा मेचे र कान्छा खोन मेचे भनी लेखाई लिएको पाइन्छ । सो मुद्दामा खोन मेचेले प्रतिउत्तर फिराएको पाइन्छ । सो प्रतिउत्तरमा मन्जनको तीन छोराहरू भएको देखिएन, मन्जनका छोराहरूमा सोमा मेचे र खोन मेचे भनी लेखिएको छ । २०३०।१०।५।६ मा दुई मुचुल्काहरू  भएकोमा एउटा मुचुल्कामा खोने मेचे र पागल सिंह हकदार भएको भन्ने र अर्को मुचुल्कामा कोन मेचे मरी पागल सिंको हक हुन आएको भन्ने लेखिएको पाइन्छ कोन मेचे र खोने मेचेमा तात्विक भिन्नता रहेको भन्न सकिएन अंश मुद्दाको छिनुवा मिसिल समेतको आधारबाट खोने मेचे र कोन मेचे एकै व्यक्ति कायम हुन्छ । खोने मेचे र पागल सिंको बीचमा अंश बण्डा भएको नदेखिँदा निजको हक लाग्ने नै हुँदा पागल सिंले बिक्री गरेको जग्गा मध्ये आधी दुखीसरी मेचेको हक ठहर्ने हुँदा आधी बिक्री बदर भई दुखीसरीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२. उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने दुखीसरी मेचेको पुनरावेदनमा पागल सिं र खोन मेचेको अंशबण्डाको झगडा पर्दा अड्डाबाट डिसमिस गराएबाट दुखीसरीले बाबुको भाग पाउनेमा आधा दिलाइएको पू.क्षे.अ.को फैसलामा अपुतालीको २ नं. को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालतको आदेश ।

१३. निर्णयार्थ पेश हुँदा कोन मेचेको एकमात्र छोरी दुखीसरी मेचे भएको देखिँदा अपुतालीको २ नं. बमोजिम कोन मेचेको सम्पत्ति पुरै वादी दुखीसरी मेचेले पाउने व्यवस्था भएकोमा उक्त कानूनी व्यवस्थाको विपरीत पूर्वाञ्चल क्षेत्रीय अदालतले आधी बिक्री बदर भई दुखिसरीको नाममा दर्ता हुने ठहर्‍याई गरेको फैसला नमिलेको हुँदा बदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।

१४. निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले ७ नं. फाँटवारी समेतबाट कोन मेचे र खोन मेचे अलग अलग व्यक्ति रहेछन भन्ने देखिरहेको छ । मुद्दा परिसकेपछि गा.पं. ले कोन मेचे र खोन मेचे एकै व्यक्ति हुन भनी गरेको सरजमीनले मान्यता पाउन सक्दैन । तसर्थ बिक्री दर्ता बदर हुने ठहर्‍याएको संयुक्त इजलासको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले कोन र खोन एकै व्यक्ति ठहर्‍याई आधा जग्गाको बिक्री बदर हुने ठहर्‍याएको पू.क्षे.अ.को इन्साफ उपर विपक्षीले चित्त बुझाई बसेको हुँदा अब त्यस प्रश्नमा विचार हुन सक्दैन । पागल सिंले खोन मेचे उपर दिएको अंश मुद्दा डिसमिस गराई बसेबाट पागल सिं सगोलमा रहेको भन्न नमिल्दा अपुतालीको २ नं. बमोजिम प्रष्ट छ । संयुक्त इजलासको इन्साफ मिलेको हुँदा सो सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१५. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मन्जन मेचेका सोमा मेचे, कोन मेचे र खोन मेचे गरी तीन छोरा भएकोमा सोमा मेचेको छोरा पागल सिंह र खन मेचेको छोरी वादी भएको र कोन मेचे निसन्तान भई मरेबाट निजको नाउँ दर्ताको सम्पत्ति पागल सिंहले आफ्नो नाममा दर्ता गरी बिक्री गरेकोमा सो दर्ता बिक्री बदर गरेको सर्वोच्च अदालतको निर्णय मिलेको छैन भन्ने जिकिर निवेदक प्रतिवादीहरूले लिएको देखिन्छ ।

१६. सो सन्दर्भमा हेर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा कोन मेचे र खोन मेचेमा तात्विक भिन्नता नरहेको तथा पागल सिंहले २०१८।४।२१ मा दिएको अंश मुद्दाको मिसिल समेतको आधारबाट कोन मेचे र खोन मेचे एकै व्यक्ति कायम हुन्छ । अंश मुद्दाबाट खोन मेचे र पागल सिंहका बीच अंशबण्डा भएको नदेखिँदा पागल सिंहले शेरबहदुरलाई बिक्री गरिदिएको जग्गामध्ये आधी दुखीसरी मेचेको हक ठहर्ने हुँदा आधी बिक्री बदर भई वादी दुखीसरीका नाममा दर्ता हुने ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतको उक्त निर्णय उपर प्रतिवादीहरूले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा निवेदन दिएको भए तापनि अनुमति प्राप्त हुन नसकेकोबाट कोन मेचे र खोन मेचे एकै व्यक्ति कायम गरेको तथा आधा जग्गा बिक्री बदर गरी दुखीसरीका नाउँमा दर्ता हुने ठहर्‍याएको निर्णयलाई अन्यथा गर्न सकिने स्थिति देखिएन ।

१७. अब सर्वोच्च अदालत संयुक्त इजलासबाट पागल सिंहले दर्ता गरी निवेदक प्रतिवादी चन्द्रबहादुर, लोकबहादुर, अम्बरबहादुर र शेरबहादुरलाई बिक्री गरेको सम्पूर्ण जग्गाको बिक्री बदर गरी दुखीसरी मेचेका नाममा दर्ता हुने ठहर्‍याएको इन्साफ मिले नमिलको के छ भन्ने तर्फ वादी दुखीसरी मेचेको बाबु कोन मेचेको २०२४ सालमा मृत्यु भएको कुरामा कुनै विवाद देखिँदैन । मुलुकी ऐन अपुतालीको तत्काल प्रचलित २ नं. को व्यवस्था हेर्दा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी, छोरा, छोराका छोरा वा संगबसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउँदिन भन्ने व्यवस्था देखिन्छ । पागल सिंहले वादीका बाबु खोन मेचे उपर २०१८।८।२१ मा दिएको अंश मुद्दा २०१९।६।४।५ मा डिसमिस भएको मिसिल संलग्न अंश मुद्दाको मिसिलबाट देखिन्छ । यसबाट विपक्षी पागल सिंहलाई संग बसेको हकवाला मान्न सकिने स्थिति देखिएन । फिराद गर्दाको अवस्थामा वादी ९ वर्षकी नाबालिका देखिएकी छन् ।

१८. अपुतालीको तत्काल प्रचलित २ नं. को व्यवस्थाले नै संग बसेको अन्य हकवाला नभएको स्थितिमा बाबुको अपुताली छोरीलाई प्राप्त हुने गरेबाट नै कोन मेचेको सम्पूर्ण सम्पत्तिको अपुताली वादी दुखिसरीलाई प्राप्त हुने नै भयो । अतः उपर्युक्त कारणहरूबाट कोन मेचेको सम्पूर्ण सम्पत्तिमा वादी दुखीसरीको हक हुने भएकोले विवादित जग्गामा हकै नपुग्ने विपक्षी पागल सिंले गरेको बिक्री व्यवहार सदर रहन नसक्ने हुँदा विवादित जग्गाको दर्ता बिक्री बदर गरी सम्पूर्ण जग्गा वादी दुखीसरीका नाउँमा दर्ता हुने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मनासिब ठहर्छ । कोर्टफी रहेकोले केही गरिरहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या.हिरण्येश्वरमान प्रधान

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल श्रावण २८ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु