निर्णय नं. ३०८४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. ३०८४ ने.का.प. २०४४ अङ्क ५
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४३ सालको रिट फु. नं. ३५
विषय : उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ ।
निवेदक : का.जि.का.न.पं. वडा नं.२० भीमसेन स्थान बस्ने शिवराज श्रेष्ठ ।
ऐ.ऐ बस्ने मोहन राज श्रेष्ठ ।
विरुद्ध
विपक्षी : श्री मालपोत विभाग, बबरमहल, काठमाडौं ।
श्री मालपोत कार्यालय,काठमाडौं ।
श्री मालपोत कार्यालय,काठमाडौं जि.का.को प्रतिनिधि र पंच सदस्य समेत भएको समिति।
का.जि.का.न.पं. वडा नं.१३ टंकेश्वर ताहाचल बस्ने भक्तेन्द्र ध्वज सिलवाल ।
ऐ.ऐ बस्ने भवन कुमारी सिलवाल ।
ऐ.ऐ बस्ने झंकध्वज सिलवाल ।
आदेश भएको मिति: २०४४।५।२३।३ मा
दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गाधनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने ।
(प्रकरण नं. १५)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल
प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री लवदेव भट्ट
उल्लखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरूका बीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. पिता हिरा श्रेष्ठ र जेठा बाबुका छोरा भक्तराज श्रेष्ठ समेतको सगोल दर्ता भएको जग्गाहरू पिता पछि छोरा हामी दुईको एक भाग भक्तराज र प्रयागराज दुई भाइको एक भाग गरी मिति २०२०।६।१५ गते घरसारमा बण्डा भएकोमा बण्डापत्र पास गर्न काठमाडौं जिल्ला अदालतमा फिराद परी अदालतबाट पास हुने ठहरी मिति २०२२।९।२६ मा फैसला भई मालपोत कार्यालय, काठमाडौंमा पास गरी दिन पुर्जी भई गए बमोजिम तारिखमा रहेका थियौं । फैसला र अदालतको पुर्जी बमोजिम बण्डापत्र पास नगरी मिति ०३७।१०।८ मा तारिख टुटाई दिएको छ । रैकर परिणत गराउनु पर्ने जग्गा बण्डापत्र पास भएपछि गर्ने भन्ने कुरा बण्डापत्र नै उल्लेख छ । बण्डापत्र पास नगरी दिएबाट मालपोत कार्यालयमा तारिखमा रहेको अवस्थामा जग्गा रैकर परिणत गरी पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका हजूरमा मिति २०३५।१।१२ मा विन्तिपत्र चढाउँदा आवश्यक कारवाही गर्नु भन्ने हु.प्र. बक्स भई मालपोत विभाग मार्फत मिति २०३५।१०।२।३ मा मालपोत कार्यालय, काठमाडौंमा दाखिल भई कारवाही हुँदा मिति २०३६।४।१० मा दाजु भक्तराज मोही भवनकुमारीका पति कुवेरध्वज तथा भक्तेन्द्रध्वज समेत झिकाई मिति ०३५।८।२ मा कागज समेत गराएको छ । उक्त कारवाहीको सिलसिलामा फिल्डबुकबाट टंकेश्वर ताहाचल गाउँपञ्चायत वडा नं. ८ कि.नं. १२०, १२१, १२२, १२३, १२४ मध्ये कि.नं. १२३ र १२४ मा मोही भक्तेन्द्रध्वज सिलवाल र कि.नं. १२० र १२२ मा मोही झंकध्वज सिलवाल कि.नं. १२१ मा कुवेरध्वज भनी जग्गाधनीमा हामी निवेदकको नाम जनिएको र कैफियतमा हीरा भक्तराजको नाम जनिएको उक्त जग्गा साविक किचनडोल १६१ नं. मा दर्ता भएको खेत रोपनी ३ हालको नापीमा हामी निवेदकहरूको साझा जनिएको भन्ने फिल्डबुक सामेलै छ । जग्गा धनीले रैकरमा परिणत नगराएको हुँदा मेरा नामको कि.नं. १२० र १२२ को क्षेत्रफल ०–११–०, ०–१०–० रैकरमा परिणत गरी पाउँ भनी मिति २०३९।१२।७ मा झंक ध्वज र सोही मितिमा कि.नं. १२३, १२४ को क्षेत्रफल ०–१०–०, १–११–० भक्तेन्द्रध्वज र कि.नं. ११८ मा ०–३–० कि.नं. १२१ मा ०–१०–० भवनकुमारीले मिति २०३९।१२।२४ मा काठमाडौं मालमा निवेदन परेपछि विपक्षीहरूका नाममा रैकरमा परिणत नहोस् भनी मिति २०४१।७।१ मा म शिवराजले कागज गरी दिएको थिएँ ।
३. विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(१) बमोजिम विवरण पेश नगरेको हुँदा हीरा भक्तराजको पिता साविकको फिडोलबाट भिड्ने बण्डापत्रमा किचनडोल लगतमा किचनडोल फिल्डबुकमा पनि किचनडोल देखिन आएकोले मोहीको नाममा रैकरमा परिणत दर्ता हुन समितिमा पेश गर्ने भनी मिति २०४१।११।२४ मा भएको आदेश सिफारिश मुताविक भक्तेन्द्रध्वज समेत ३ जनाका नाममा छुट दर्ता गर्न स्वीकृत दिने गरी भएको निर्णयानुसार गर्नु भनी मालपोत विभागले मालपोत कार्यालय, काठमाडौंलाई पठाएको मिति २०४१।१२।६ को पत्र समेत मिसिल संलग्न हुँदा माग अनुसारको जग्गा विपक्षीहरूका नाममा छुट्टा छुट्टै दर्ता गरी ज.ध.प्र.पूर्जा दिन भनी मालपोत कार्यालयबाट मिति २०४१।१२।१५ मा आदेश भयो ।
४. यसरी बण्डापत्र पास भई हक पक्का नभएसम्म रैकरमा परिणत गर्ने विवरण दाखिल गर्न नसकेको अवस्थामा मोहीले समेत विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ३ को हदम्याद भित्र विवरण पेश गर्नु पर्नेमा नगरेको तथा जग्गावाला मध्ये मोहनराजलाई बुझ्दै नबुझी मोहीहरूको अलग अलग निवेदन परेकोमा एउटै निर्णय गरेको उल्लेखित विपक्षीहरूको गलत काम कारवाहीबाट निवेदकहरूलाई नेपालको संविधानको धारा १०, ११ को संवैधानिक हकमा आघात परेको हुँदा मालपोत कार्यालयले मिति २०४१।११।२४ मा गरेको टिप्पणी आदेश मिति २०४१।१२।१५ को निर्णय आदेश मिति २०४१।११।३० को समितिको सिफारिश मिति २०४१।३।३२ को मालपोत विभागको निर्णय मिति २०४१।१२।५ का निर्णयहरू समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकहरूको निवेदनमा बक्स भएको हुकुम प्रमांगी बमोजिम कारवाही चलेको तर्फ समेत निवेदकहरूलाई समेत झिकाई तारिखमा राखी कारवाही निर्णय गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदकको जिकिर रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगल बेञ्जबाट मिति २०४२।४।९ मा आदेश भएपछि प्राप्त लिखितजवाफको संक्षिप्त प्रतिवाद यस प्रकार छ ।
६. विर्ता उन्मूलन ऐन, २०१६ को संशोधन सहित दफा ७(४) बमोजिम ऐनको म्यादभित्र जग्गा धनीले रैकर परिणत नगराएको हुँदा मोहीको नाममा रैकर परिणत गरी मालपोत ऐन तथा संशोधित नियम अनुसार छुट्टा जग्गा दर्ता गर्न समितिको सिफारिश अनुसार विभागबाट स्वीकृत भई मालपोत कार्यालय काठमाडौंले गरेको निर्णय कानून अनुकूल नै छ । श्रेस्ता कार्यालयले गरेको निर्णयमा चित्त नबुझे स्थानीय प्रशासन ऐन अन्तर्गत पुनरावेदन लाग्ने कानूनी व्यवस्था भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने मालपोत विभाग ।
७. का.जि. भीमसेन स्थान १६१ नं. का पोता लगतमा किचनडोल जग्गा रोपनी १½ हीरा भक्तराज श्रेष्ठका नाममा साविक दर्ता भई सर्भेमा नाप नक्शा हुँदा टंकेश्वर वडा नं. ८ कि.नं. १२०, १२१, १२२, १२३, १२४ को मोही भक्तेन्द्रध्वज सिलवाल समेत भएको र ज.ध.मा रिट निवेदक भई सर्भे नापी भएको सो जग्गा रैकरमा परिणत गरिपाउँ भनी ज.ध. र मोहीहरूले माग गरेका र उक्त जग्गा शिवराज समेतको विवरणबाट विर्ता नै देखिएकोमा विर्तावालले विर्ता उन्मूलन ऐन, २०१६ को म्यादभित्र रैकरमा परिणत नगरेमा सो जग्गा कमाउने मोहीका नाममा रैकरमा परिणत गरिने व्यवस्था भएको हुँदा रिट निवेदक समेतले विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(१) बमोजिम विवरण पेश नगरेको हुँदा विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(४) बमोजिम मोहीहरूका नाममा रैकरमा परिणत गरी दर्ता गरिदिने भनी कानून बमोजिम भएको निर्णय उपर परेको रिट निवेदन खारेज गरिपाउँ भन्ने मालपोत कार्यालय र समिति ।
८. विवादको जग्गा नापी हुँदा विपक्षी मध्येका मोहनराज श्रेष्ठलाई भाइ भनी निवेदकका हकमा समेत विपक्षी शिवराज नै उपस्थित भई जग्गा नापी गराएको फिल्डबुकले स्पष्ट गरेको छ । सोही फिल्डबुकको आधारमा रैकरमा परिणत गरिपाउँ भनी हाम्रो निवेदन परेपछि मालपोत कार्यालयमा विपक्षी शिवराजले दावी गरी बयान सरहको निवेदन दिएको देखिन्छ । विवादको कित्तामा यो यति भाइको भएकोले निजलाई नै बुझी पाउँ भन्ने दावी नै थिएन हामी मध्ये पनि भक्तेन्द्रध्वजको निवेदनबारे मिति २०४१।४।१८ मा अलग्ग नै सिफारिश भएको अरु दुई जनाको हकमा मिति २०४१।११।२४ मा एउटै सिफारिश भएको देखिन्छ । विपक्षीले श्री ५ महाराजाधिराज सरकारमा चढाएको विन्तिपत्रमा आवश्यक कारवाहीको लागि भन्ने सम्म हुकुम प्रमांगी बक्स भएको छ । माग बमोजिम विपक्षीले हु.प्र.बकस पाएको छैन । विन्तिपत्रमा कोफिन्डोल भनी लेखेको पोता लगत तथा फिल्डबुकमा समेत किचनडोल भई जग्गाको नाम नै फरक परेको छ सो कुरा विपक्षीले स्वीकार्नु भएकै छ । कोफिल्डोल भन्ने किचनडोल भनी कुनै लगत श्रेस्तामा दरिएको प्रमाण विपक्षीले पेश गर्न सक्नु भएको छैन । विर्ता उन्मूलन नियमावलीको नियम ३ भित्र विवरण नभएको भन्ने हकलाई विपक्षीको म्याद समाप्त भएपछि मोहीको म्याद शुरु हुने र त्यसपछि विपक्षीले विवरण दाखिल गर्नु अघि नै मोहीको निवेदन परेकोले विपक्षीको जिकिर कानूनसंगत छैन । प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने भक्तेन्द्रध्वज सिलवाल, झंकध्वज सिलवाल, भवनकुमारी सिलवाल ।
९. निर्णयार्थ सर्वोच्च अदालत डिभिजन बेञ्ज समक्ष पेश हुँदा यसमा निवेदक मध्ये मोहनराज नबुझी विपक्षीहरूका नाममा जग्गा दर्ता गर्ने गरेको मालपोत कार्यालय, काठमाडौंको निर्णय प्राकृतिक न्याय सिद्धान्त समेतको विपरीत हुँदा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ । निवेदक मोहनराजलाई नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको भन्ने जिकिरको सम्बन्धमा हेर्दा विवादको विर्ता जग्गा निवेदकहरूको संयुक्त दर्ता रहेको भन्ने देखिएको र सो जग्गा नापी हुँदा मोहनराज श्रेष्ठलाई भाइ भनी निजका हकमा समेत शिवराजले नै जग्गा नापी गराएको फिल्डबुकबाट देखिनुको अर्थ उक्त जग्गा रैकर परिणतमा मोहीहरूको निवेदन पर्दा मालपोत कार्यालय, काठमाडौंले जग्गावाला शिवराजलाई पत्र लेखी बुझ्दा सबै कित्ता जग्गाको निज शिवराजले नै दावी गरी बयान गरेको तर यो जग्गामध्ये यो यति, भाइ मोहनराजको हँुँदा उसैलाई बुझीपाउँ भन्ने बयानमा नभनेको समेतबाट विवादित जग्गाको सम्बन्धमा सबै काम कारोवार निज शिवराजले नै गरिआएको र मालपोत कार्यालयबाट निजलाई बुझेकै देखिँदा निवेदक मोहनराजलाई नबुझेकोबाट प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्ने जिकिरतर्फ संगत एवं कानूनसंगत समेत देखिएन ।
१०. विवादको विर्ता जग्गालाई रैकरमा परिणत गरिपाउँ भन्ने मोही भक्तेन्द्रध्वज, झंकध्वज र भवनकुमारी समेतले भिन्न भिन्न कित्ताको सम्बन्धमा भिन्न भिन्न मितिमा निवेदन दिएकोमा अलग निर्णय गर्नु पर्नेमा एउटै निर्णय गरेको भन्ने भनाइको हकमा विचार गर्दा माग गरेको विषय एउटै भएकोबाट एकै पटक निर्णय गरिदिएको देखिन्छ । यसबाट दावीको विषयमा कुनै तात्विक असर पर्ने देखिँदैन तसर्थ यो जिकिर पनि मनासिब मान्न सकिएन । विवादको जग्गाको सम्बन्धमा मालपोत कार्यालयबाट कारवाही चलाई निवेदकहरूलाई बीचैमा तारिख टुटाएको भन्ने सम्बन्धमा मालपोत कार्यालयको सम्बन्धित फाइल हेर्दा त्यस प्रकारले निवेदकहरूको तारिख टुटाएको भन्ने नदेखिएकोले जिकिर निराधार देखिन्छ । विवादको जग्गा रैकरमा परिणत गरिपाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको विन्तिपत्रमा आवश्यक कारवाही गरिदिनु भन्ने बक्स भएको हुकुम प्रमांगी समेतलाई अंगाली मालपोत कार्यालयबाट फैसला भएको देखिन्छ । तसर्थ हाम्रो तारिख टुटाई विपक्षीहरूको निवेदन माथि कारवाही तथा निर्णय गरेको भन्ने जिकिर पनि सत्य प्रतित हुँदैन । विवादको विर्ता जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने विपक्षी मोहीहरूको निवेदन मालपोत कार्यालय, काठमाडौंमा परेको र सोही जग्गा रैकरमा परिणत गरिपाउँ भनी श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र चढाएको देखिन्छ । विर्ता जग्गालाई रैकर परिणत गर्ने सम्बन्धमा विद्यमान कानून हेर्दा विर्ता उन्मुलन ऐन, २०१६ को दफा ७(१) मा (ख) श्रेणीको विर्तावालले यो दफा लागू भएको १२० दिनभित्र आफ्नो विर्ता जग्गाको क्षेत्रफल मालपोत वा भूमिकरको अंक जग्गा कमाउने व्यक्तिहरूको नाम र निजहरूले कमाएको जग्गाको क्षेत्रफल उनीहरूले विर्तावाललाई दिनु पर्ने कुत तिरो आदि विवरण खुलाई बुझाउन बाँकी भूमिकर र मालपोत समेत मालपोत कार्यालय वा सो खारिज भएको भए भू.प्र.का. मा दाखिल दर्ता गराउनु पर्ने ऐ को दफा ७(४) मा उपरोक्त बमोजिम विर्तावालले विवरण आदि दाखिल दर्ता नगराएमा सो जग्गा कमाउने मोही भए भूमिकर वा मालपोत असूल गरी निजको नाममा जग्गा दर्ता गरिने छ भन्ने व्यवस्था भएको देखिन्छ । यस प्रकार बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानूनले तोकी दिएको कार्यविधि निज निवेदकहरूले पूरा गरेको छौं भन्न नसकी विवादको रैकर परिणत गरिपाउँ भनी श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र चढाएकोमा आवश्यक कारवाही गरिदिनु भन्ने मालपोत कार्यालयको नाममा हुकुम प्रमांगी बक्स भइआएको र अर्कोतिर विवादको जग्गा कमाउने विपक्षी मोहीहरूले आफूले कमाएको जग्गा रैकरमा परिणत गरी दर्ता गरिपाउँ भन्ने निवेदन दिएको हुँदा उक्त हु.प्र.तथा मोहीहरूको निवेदन समेतमा कारवाही गरी माथि उल्लेखित विद्यमान कानून बमोजिम निवेदक मध्ये कसैले विवादको जग्गाको विवरण पेश गरेको नदेखिएपछि प्रचलित कानूनले तोकेको कार्यविधि पूरा गरी विपक्षी मोहीहरूका नाममा विवादको जग्गा दर्ता गर्ने गरी गरेको निर्णयमा कुनै कानूनको त्रुटि गरेको भनी मान्न मिलेन । तसर्थ प्रचलित कानूनको परिधित्र रही अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको मिति २०४१।१२।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिरहनु परेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । रिट जारी हुने ठहर्याउनु हुने सहयोगी मा.न्या.श्री महेशरामभक्त माथेमाको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(२) बमोजिम फुलबेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय ।
११. प्रस्तुत मुद्दामा विवादको जग्गाहरू कि.नं. १२०, १२१, १२२, १२३ र १२४ मध्ये कि.नं. १२३ र १२४ कि.नं. १२० र १२२ कि.नं. १२१ का जग्गाहरू रैकरमा परिणत गरिपाउँ भनी निवेदकहरू शिवराज श्रेष्ठ र मोहनराज श्रेष्ठले श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चढाएकोमा आवश्यक कारवाही गरिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएकोले मालपोत विभाग मार्फत मिति २०३५।१०।२।३ मा मालपोत कार्यालय काठमाडौंमा दाखिल भई सोही आधारमा मालपोत कार्यालय, काठमाडौंबाट कारवाही भई मिति २०४१।१२।१५ मा एउटै मिसिलमा निर्णय भएको देखिन्छ । निवेदकहरूले विर्ता उन्मूलन ऐन बमोजिम विर्ता जग्गा आफ्नो नाममा रैकरमा परिणत गरिपाउँ भनी निवेदन दिएकोले विवरण पेश गरेको देखिएको छ । अर्को कुरा निवेदकले उक्त विवादित जग्गाको मालपोत धरौट राखेको हुँदा रैकर परिणतको लागि कारवाही गरेको भन्ने पुष्टि भएको छ । मोहीहरूले जग्गाधनी निवेदकहरू छन् भनी स्वीकार गरेको पाइन्छ । अर्को कुरा कि.नं. १२३ र १२४ को जग्गा बारे भक्तेन्द्रध्वज सिलवालले रैकरमा आफ्ना नाममा दर्ता गरिपाउँ भन्ने छुट्टै निवेदन मालपोत कार्यालय, काठमाडौंमा दिएको कि.नं. १२०, १२२ को जग्गा बारे झंकध्वजले रैकरमा आफ्ना नाममा दर्ता गरिपाउँ भनी ऐ मा छुट्टै निवेदन दिएको र त्यसै गरी कि.नं. १२१ का जग्गा बारे कुवेरध्वजले आफ्ना नाममा दर्ता गरिपाउँ भनी छुट्टै निवेदन मालपोत कार्यालय, काठमाडौंमा दिएको देखिन्छ । मालपोत कार्यालय, काठमाडौंबाट भएको मिति २०४१।१२।१५ को निर्णय हेर्दा निर्णयमा रिट निवेदकहरूले परिणत गर्ने बारे श्री ५ को हजूरमा विन्तिपत्र दिई तोक प्रमांगी भएको निवेदन र विपक्षी विभिन्न व्यक्तिहरूले विभिन्न कित्ता जग्गाहरू बारेमा विभिन्न मितिमा निवेदनहरू दिएकोमा छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने आवश्यक देखिन्छ । तर मालपोत कार्यालय, काठमाडौंले त्यस्तो नगरी रिटनिवेदकहरू र विपक्षी मोहीहरूका निवेदनपत्रबाट एउटै मिसिलमा एकै चोटी सामुहिक हिसाबले निर्णय गरेको कानूनको प्रतिकूल हुन गएको छ । त्यसको अतिरिक्त विवादको जग्गाहरू निवेदकहरू शिवराज श्रेष्ठ र मोहनराज श्रेष्ठ दुई जनाको नाममा संयुक्त दर्ता भएकोमा विवाद देखिँदैन । दुई जना दर्तावाल व्यक्तिहरू मध्ये मालपोत कार्यालय, काठमाडौंबाट शिवराज श्रेष्ठलाई मात्र म्याद पठाई झिकाई बुझेको पाइन्छ । अर्को दर्तावाला व्यक्ति मोहनराजको नाममा मालपोत कार्यालय, काठमाडौंबाट म्याद पठाई झिकाएको मिसिलबाट देखिँदैन । यसरी विवादका जग्गाहरू दर्तावाला दुई जनाका नाममा संयुक्त दर्ता भएपछि शिवराजलाई मात्र बुझी अर्को दर्तावाला मोहनराजलाई नबुझी मालपोत कार्यालय, काठमाडौंको मिति २०४१।१२।१५ को निर्णय प्राकृतिक न्याय सिद्धान्तको विरुद्ध हुनुको साथै कानूनको समेत बर्खिलाप हुन गएको प्रष्ट छ । यस्तो स्थितिमा विवादको जग्गाहरूले विपक्षीहरूको नाममा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा दिने भनी मालपोत कार्यालय, काठमाडौंबाट मिति २०४१।१२।१५ मा भएको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । रिट निवेदन खारेज हुने ठहर्याउनु हुने सहयोगी मा.न्या.श्री पृथ्वी बहादुर सिंह ज्यूको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली बमोजिम फुलबेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई मिति २०४३।३।३० मा निर्णय भएको रहेछ ।
१२. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्लले प्रत्यर्थीहरूबाट छुट्टा छुट्टै परेको निवेदन एउटैमा गाभी हाम्रो निवेदनबाट कारवाही नगरी रिट निवेदक मध्ये विर्तावाल जग्गाधनी मोहनराज श्रेष्ठलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत रिट निवेदकहरूका नामको विवादित विर्ता जग्गा प्रत्यर्थी मोहीहरूका नाममा रैकर परिणत दर्ता गर्ने गरेको मालपोत कार्यालय, काठमाडौंको मिति २०४१।१२।१५ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने र प्रत्यर्थी मध्ये भक्तेन्द्रध्वज सिलवाल तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र प्रत्यर्थी भवनकुमारी सिलवाल तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वलदेव भट्टले विर्तावाल रिट निवेदकहरूले ऐनका म्याद भित्र विर्ता जग्गा रैकरमा परिणत नगरेबाट मोहीहरूको निवेदन परी कानून बमोजिम मोहीहरूका नाममा रैकर परिणत गर्ने गरेको मालपोत कार्यालय, काठमाडौंको मिति २०४१।१२।१५ को निर्णय कानून अनुरुप नै हुँदा रिट जारी हुनु पर्ने अवस्था नहुँदा रिट खारेज हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१३. यसमा निर्णयतर्फ हेर्दा विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम ऐनका म्याद भित्र विर्तावाल जग्गा धनीहरूले रैकरमा परिणत नगरेकोले मोहीले परिणत गरी दर्ता गर्न पाउने हुँदा का.जि. टंकेश्वर गा.पं. वडा नं. ८ कि.नं. १२३ को ज.रो. ०–१०–० कि.नं. १२४ को ज.रो. ०–११–०, म मोही भक्तेन्द्रध्वज सिलवालका नाममा ऐ कि.नं. १२० को ज.रो. ०–११–०, कि.नं. १२२ को ज.रो. ०–१०–० म मोही झंकध्वज सिलवालका नाममा ऐ कि.नं. ११८ ज.रो. ०–३–० कि.नं. १२१ ज.रो. ०–१०–० म मोही भवनकुमारी सिलवालका नाममा रैकरमा परिणत गरी दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाउँ भन्ने प्रत्यर्थीहरू भक्तेन्द्रध्वज सिलवाल झंकनाथ सिलवाल र भवनकुमारीको अलग अलग निवेदन प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंमा परेकोमा भक्तेन्द्रध्वजको नाममा रैकरमा परिणत दर्ता हुने गरी समितिबाट मिति ०४१।४।१८ मा र झंकध्वज र भवनकुमारीका नाममा रैकर परिणत गरी दर्ता गर्ने भनी मिति २०४१।११।३० मा समितिबाट सिफारिश भई मालपोत विभागको निर्णय अनुसार निवेदकहरूले माग गरे अनुसारको जग्गा रैकरमा परिणत दर्ता गरिदिन स्वीकृति दिने गरी मिति ०४१।१२।६ को पत्र समेत प्राप्त भएको हुँदा माग बमोजिमको निवेदकहरूकै नाममा छुट्टा छुट्टै रैकर परिणत दर्ता गरिदिने र हालसम्मको नियम बमोजिमको मालपोत असूल गरी साविक एकतर्फी लगत समेतमा जनाउन लगाई जग्गा धनी पूर्जा दिने भनी प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंबाट मिति २०४१।१२।१५ मा निर्णय गरेको देखिन्छ ।
१४. प्रत्यर्थी भक्तेन्द्रध्वज सिलवाल समेतका नाममा रैकरमा परिणत दर्ता गर्ने गरेको विवादित कि.नं. का जग्गाहरू रिट निवेदक शिवराज श्रेष्ठ तथा मोहनराज श्रेष्ठका नाममा जग्गा धनीमा संयुक्त दर्ता भएको देखिन्छ । उक्त कुरा प्रत्यर्थीहरूले आफ्ना नाममा रैकर परिणत दर्ता गरिपाउँ भनी माग गरी मालपोत कार्यालय काठमाडौंमा दिएको निवेदनबाट समेत देखिन्छ ।
१५. त्यसरी दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गा धनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा विवादित जग्गा प्रत्यर्थी मोहीहरूका नाममा रैकर परिणत दर्ता गर्ने निर्णय गर्दा विर्तावाल जग्गाधनी निवेदक मध्येको शिवराज श्रेष्ठलाई मात्र बुझेको देखिन्छ । रिट निवेदक मोहनराज श्रेष्ठलाई बुझी आफ्नो सबुद प्रमाण पेश गर्ने वा भन्ने मौका प्रदान गरेको देखिँदैन । त्यसरी यी रिट निवेदकहरूको संयुक्त दर्ताको जग्गा भएपछि दुवै विर्तावाल जग्गाधनीलाई बुझी आफ्नो कुरा भन्ने मौका प्रदान गरी निर्णय गर्न पर्नेमा निवेदक मध्येको मोहनराज श्रेष्ठलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौका नै नदिई विवादित कि.नं. का जग्गाहरू प्रत्यर्थी मोहीहरूको नाममा रैकर परिणत दर्ता गर्ने गरेको प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंको मिति २०४१।१२।१५ को निर्णय प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
१६. अतः प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंको उक्त मिति २०४१।१२।१५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । मालपोत कार्यालय काठमाडौंको उक्त मिति २०४१।१२।१५ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहराएको सम्म डिभिजन बेञ्जका मा.न्या.श्री महेशरामभक्त माथेमाको राय मनासिब छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल भाद्र २३ गते रोज ३ शुभम् ।