शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०८५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: भाद्र अंक:

निर्णय नं. ३०८५    ने.का.प. २०४४ अङ्क ५

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रि.फु.नं. ३३

विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।

 

निवेदक/प्रत्यर्थी: संञ्चालक समिति नेपाल बैंक लिमिटेड तर्फबाट महाप्रबन्धक आनन्दभक्त         राजभण्डारी ।

का.जि.का.न.पं. वडा नं.२६ यटखा बस्ने दुर्गेशमान सिंह ।

विरुद्ध

विपक्षी/रिट निवेदक:जिल्ला ललितपुर ल.पु.न.पं. वडा नं.१ लक्ष्मी सदन चाकुपाट बस्ने बल्लभ शमशेर ज.ब.रा.।

आदेश भएको मिति : २०४४।५।११।५ मा

    कुनै तोकिएको म्याद लागि नियुक्त भएको पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणबस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने ।

(प्रकरण नं. १४)

    तोकिएको म्याद अगावै सञ्चालकको मृत्यु भई रिक्त हुन आएको सञ्चालक पदलाई सञ्चालकको बहाल कायमै रहेको मान्न नमिल्ने ।

(प्रकरण नं. १५)

    रिक्त रहेको पदमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) बमोजिम बाँकी अवधिका लागि त्यसपछि हुने साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएकै देखिँदा सो अधिकार क्षेत्रभित्र रही सञ्चालकमा नियुक्त गरेको नेपाल बैंक लिमिटेड सञ्चालक समितिको निर्णय कानून अनुरुप भए गरेको देखिने।

(प्रकरण नं. १६)

निवेदक, प्रत्यर्थीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली,विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

विपक्षी, रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय उपर उक्त निर्णय दोहर्‍याई पाउँ भनी सञ्चालक समिति नेपाल बैंक लिमिटेड तर्फबाट महाप्रबन्धक आनन्द भक्तराज भण्डारीले तथा दुर्गेशमान सिंहको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्र जाहेर हुँदा मौसूफ सरकारबाट उक्त मुद्दा दोहर्‍याई हेरिदिनु भन्ने हुकुमको प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.   नेपाल बैंक लिमिटेड नियमावली, ०३२ को नियम २९ मा निर्वाचित हुने सञ्चालकले आफ्नो नाममा कमसेकम २० शेयर लिएको हुनु पर्दछ भन्ने कानूनी व्यवस्था अनुरुप म नेपाल बैंक लिमिटेडको २० भन्दा बढी शेयरको प्रमाणपत्र प्राप्त व्यक्ति हुँ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) अनुसार सञ्चालकहरूको नियुक्ति साधारण सभाबाट हुने र ऐ ऐनको दफा ५(५) को अनुसार अध्यक्ष लगायत सञ्चालकहरको कार्य अवधि चार वर्षको हुने र अवधि समाप्त भएको सञ्चालक पुनः निर्वाचित वा मनोनीत हुन सक्ने छ, भन्ने कानूनी प्रावधान छ । वाणिज्य बैंक ऐन, २०३१ मा गरिएको परिभाषा अनुरुप नेपाल बैंक लि. वाणिज्य बैंक हो नेपाल बैंक लिमिटेड नियमावली, २०३२ को परिच्छेद १ को नियम २ को उपनियम (३) मा सञ्चालक समिति भन्नाले वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ अन्तर्गत गठित यस बैंकको सञ्चालक समितिलाई जनाउँदछ भनिएको छ र ऐ को परिच्छेद ३ को नियम २१ मा वार्षिक साधारण सभा सञ्चालकहरू रोज्दा गुप्त मतदानद्वारा रोजिने कुरा उल्लेख छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा सञ्चालकको पद रिक्त हुने अवस्था वर्णित छ । त्यो अवस्था ऐनको दफा (८) बमोजिम सञ्चालक रहन अयोग्य भएमा सञ्चालकको पदबाट दिएको राजीनामा स्वीकृति भएमा, मृत्यु भएमा मनासिब माफिकको कारण बिना लगातार तीन पटक भन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित भएमा, श्री ५ को सरकारको वा राष्ट्र बैंकको कर्मचारीको हैसियतमा सञ्चालक भएको व्यक्ति सरकारी पद वा राष्ट्र बैंकको पदमा बहाल नरहेमा, भन्ने छ ती उल्लेखित अवस्थाहरूमा सञ्चालकको पद रिक्त भएको मानिने कुरा निर्विवाद रहेको छ । सञ्चालक श्री सूर्यकृष्ण श्रेष्ठको मृत्यु हुन गएबाट सञ्चालकको पद रिक्त भएको थियो नेपाल बैंक पत्रिका ०४२ भदौ मसान्तको अंक ११ पूर्णाड्ढ १७ को बैंक समाचार शीर्षक रहेको पाना नं. २० मा बधाईभन्ने उप शीर्षकमा नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको रिक्त रहेको सञ्चालक पद एकमा सञ्चालक समितिको निर्णयानुसार डा.दुर्गेशमान सिंह नियुक्त हुनु भएको भन्ने समेत उल्लेख गरिएको रहेछ । कसरी सञ्चालक समितिले नियुक्त गरेको रहेछ भनी बुझ्दा ०४२।५।२० को विपक्षी सञ्चालक समितिको निर्णय अनुसार नियुक्त गरिनु भएको भन्ने बुझियो । निर्णयको नक्कल पाइन्छ की भन्दा गोप्य हुन्छ दिन मिल्दैन भनियो । विपक्षी सञ्चालक समितिले त्यसरी सञ्चालक नियुक्त गर्न सक्ने कानूनी अधिकार भए गरेको नहुँदा सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गराई माग्न आएको छु । शेयर होल्डरको नाताले सञ्चालकमा निर्वाचित हुने अधिकार मलाई पनि छ । सञ्चालक सुर्यकृष्णको मृत्यु भएबाट रिक्त हुन आएको सञ्चालकको पदमा विपक्षी सञ्चालक समितिलाई सञ्चालक नियुक्त गर्न सक्ने अधिकार कानूनले प्रदान गरेको छैन । विपक्षी दुर्गेशमानको नियुक्ति गैरकानूनी छ । यस अवस्थामा सञ्चालक नियुक्त गर्न सक्ने अधिकार साधारण सभालाई मात्र छ जसले निर्वाचनको प्रकृयाद्वारा सञ्चालक नियुक्त गर्दछ । सञ्चालकको पद रिक्त हुने विविध अवस्था मध्ये बहाल टुट्न गएको एक हो भन्ने मृत्युको कारणबाट सञ्चालकको पद रिक्त हुन आएको अवस्था विपक्षी सञ्चालक समिति सञ्चालक नियुक्त गर्न सक्षम नहुँदा विपक्षीलाई सञ्चालक नियुक्त गर्ने गरेको मिति २०४२।५।२० को निर्णय अनाधिकृत गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरी उक्त रिक्त पदमा साधारण सभाद्वारा निर्वाचन गराई पदपूर्ति गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत बल्लभ शमशेर ज.व.रा. को रिट निवेदन ।

३.   विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि  पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४२।६।१५ को आदेश ।

४.   म प्रत्यर्थी नेपाल बैंक लिमिटेडको पहिलेदेखि नै शेयरवाला हुँ । स्व.सूर्यकृष्ण श्रेष्ठको देहावसानको कारण बहाली बहन गर्नु भएको सञ्चालक पदको बहाली टुट्न गएकोले उक्त रिक्त पदमा अब हुने बैंकको साधारण सभाको समर्थनको अधिनमा रही म प्रत्यर्थीलाई बैंकको सञ्चालक समितिले नियुक्त गरिए अनुसार सञ्चालकको हैसियतले काम गर्दै आएको बैंकको सञ्चालक पद वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ को अवस्था सृजना भएको नै अमूक सञ्चालकको बहाल टुट्न जानु भएको परिणाम स्वरुप पद रिक्त हुन्छ । त्यसैले ऐनको दफा ५(६) मा बहाल टुट्न गएमा सो रिक्त पदमा भन्ने वाक्याँश प्रयुक्त भएको हो । पदावधि ४ वर्षको गराइएमा मृत्यु वा दफा ९ का अवस्थाको कुनै कारण ४ वर्षमा पदीय बहाल टुट्न गएको हुन्छ । सो रिक्त पदको बाँकी अवधिको लागि सञ्चालक समितिले पछि हुने साधारण सभाद्वारा समर्थन गराउने गरी सञ्चालक हुन सक्ने व्यक्तिलाई नियुक्त गर्न सक्ने प्रावधान हो । अतः यस्तो स्थितिमा सञ्चालक समितिले मलाई सञ्चालकमा नियुक्त गरेको कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी डा.दुर्गेशमान सिंहको लिखितजवाफ ।

५.  स्व.सूर्यकृष्ण श्रेष्ठको देहावसानको कारण वहाँको सञ्चालकको बहाल टुट्न गएकोले सो रिक्त पदमा बाँकी अवधिको लागि अब हुने बैंकको साधारण सभाको समर्थनको अधिनमा रही बैंकको वरिष्ठ शेयरवाला डा.दुर्गेशमान सिंहलाई उक्त सञ्चालक पदमा नियुक्त गरिएको हो । यस प्रकारको नियुक्ति वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) र कम्पनी ऐन, २०२१ को दफा ६४(ख) ले अधिकार गराएको छ । गैरकानूनी र अनाधिकार भन्ने रिट निवेदनको भनाई सरासर असत्य हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने नेपाल बैंक सञ्चालक समितिको लिखितजवाफ ।

६.   नेपाल बैंक लिमिटेडको सञ्चालक सुर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त रहन आएको सञ्चालकको पदमा साधारण सभाद्वारा निर्वाचन गराई पदपूर्ति गर्नु पर्नेमा सो नगरी विपक्षी सञ्चालक समिति नेपाल बैंक लिमिटेडले मिति २०४२।५।२० मा उक्त रिक्त पदमा डा.दुर्गेशमान सिंहलाई सञ्चालक नियुक्ति गरेको अनाधिकार त्रुटिपूर्ण हुँदा उक्त नियुक्ति सम्बन्धी निर्णय उत्प्रेषणद्वारा बदर गरी साधारण सभाद्वारा निर्वाचनको प्रकृयाद्वारा पदपूर्ति गर्नु भन्ने परमादेशको आदेश गरिपाउँ भन्ने रिट निवेदकको जिकिर देखिन्छ । स्व.सुर्यकृष्ण श्रेष्ठको मृत्यु भई बहाल टुट्न गएकाले बाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) बमोजिम दुर्गेशमान सिंहलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो भन्ने नेपाल बैंक लिमिटेड सञ्चालक समितिको जवाफ छ । उक्त दफा ५ को उपदफा (६) मा बहाल टुटी रिक्त भएको पदमा बाँकी अवधिका लागि नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएको देखियो । वाणिज्य बैंक ऐन, २०२१ ले बहाल टुट्ने अवस्था उल्लेख भएको पाइँदैन । कम्पनी ऐन, ०२१ को दफा ६६(२) मा बहाल टुट्ने (नरहने) अवस्था वर्णित छन् जसमा मृत्यु परेको पाइएन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा सञ्चालक पद रिक्त हुने अवस्थामा त्यस्तो पदमा ऐ ऐनको दफा ५(२) ले साधारण सभालाई मात्र सञ्चालक नियुक्ति गर्ने अधिकार हुन्छ । दफा ९ मा वर्णित मृत्यु कारण रिक्त हुन आएको सञ्चालकको पदलाई बहाल टुटी रिक्त हुन आएको भन्न मिल्दैन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम मृत्यु भई रिक्त हुन आएको सञ्चालकको पदमा सञ्चालक समितिलाई नियुक्त गर्न पाउने अधिकार ऐनले प्रदान गरेको नदेखिएको र मृत्यु भएको कारणबाट रिक्त हुन आएकोलाई बहाल टुटी पद हुन आएको भन्न नमिल्ने हुँदा प्रत्यर्थी सञ्चालक समितिले प्रत्यर्थी दुर्गेशमानलाई सञ्चालकमा नियुक्ति गर्ने गरेको समितिको मिति २०४२।५।२० को निर्णय अनाधिकृत भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।  रिक्त सञ्चालक पदमा कानून बमोजिम साधारण सभाद्वारा निर्वाचन गराई पदपूर्ति गर्नु भनी प्रत्यर्थी नेपाल बैंक लिमिटेड सञ्चालक समितिका नाममा परमादेशको आदेश समेत जारी गरिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय ।

७.  सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय कानून र न्यायको विपरीत भएकोले मुद्दा दोहोर्‍याई दिनु भन्ने तथा डिभिजन बेञ्जको निर्णयको कार्यान्वयन स्थगित गरिदिनु भन्ने हुकुमको प्रमांगी पाउँ भनी न्यायिक समिति मार्फत प्रत्यर्थी दुर्गेशमान सिंह तथा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तर्फबाट आनन्दभक्त राजभण्डारीको परेको विन्तिपत्र जाहेर हुँदा मौसूफ सरकारबाट उक्त मुद्दा दोहोर्‍याई हेरी अन्तिम टुंगो नलागेसम्म सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णयको कार्यान्वयन स्थगित राखिदिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराज सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४३।५।३० गते लेखी आएको रहेछ ।

८.   निवेदक प्रत्यर्थी नेपाल बैंक लिमिटेड सञ्चालक समितितर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, दुर्गेशमान सिंह तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा नेपाल बैंक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरेले नेपाल बैंक लिमिटेडको सञ्चालक सूर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त रहन आएको पदमा सञ्चालक समितिको मिति २०४२।५।२० को निर्णय बमोजिम डा.दुर्गेशमान सिंहलाई नियुक्त गरेको हो । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) बमोजिम बहाल टुटी रिक्त हुन आएको सञ्चालक पदमा बाँकी अवधिको लागि सञ्चालक समितिले नियुक्त गर्न पाउँछ । केवल त्यसपछि हुने साधारण सभाबाट समर्थन गराउनु पर्नेसम्म हो । पदमा बसेको व्यक्तिको मृत्यु पनि एउटा कारण हो जुन कारणबाट सञ्चालक पद रिक्त हुन आएको हो । बहाल टुट्नुको अर्थ नरहनु हो । यदि सञ्चालकको पदावधि बाँकी रहेको अवधिमा कुनै कारणबाट बहाल टुटी वा रिक्त हुन आएको अवस्थामा सञ्चालक समितिले बाँकी अवधिका लागि नियुक्त गर्न नपाउने प्रश्नै आउँदैन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ र ऐ ऐनको दफा ५(६) को व्यवस्था एक अर्कासंग सम्बन्धित व्यवस्था हुन । सर्वोच्च अदालत डिभिजन बेञ्जले वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम पद रिक्त हुने अवस्था बहाल टुटी रिक्त हुने अवस्था पृथक हुन् । दफा ९ बमोजिम रिक्त हुन आएको सञ्चालकको पदमा साधारण सभालाई मात्र नियुक्ति गर्ने अधिकार छ । मृत्युको कारणबाट रिक्त भएको पदलाई बहाल टुटी रिक्त भएको मान्न मिल्दैन भनी उठाएका तर्कहरू मिलेका छैनन् । जुनसुकै कारणबाट पनि बहाल टुटी रिक्त हुन सक्ने र त्यस्तो बहाल टुटी रिक्त भएको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्ने अधिकार सञ्चालक समितिमा निहित भएकै हुँदा डिभिजन बेञ्जको निर्णय उल्टी भई डा.दुर्गेशमान सिंहलाई नियुक्त गर्ने गरेको मिति २०४२।५।२० को निर्णय कायमै राखिनु पर्छ भन्ने समेत र विपक्षी (रिट निवेदक) तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले कुनै सञ्चालकको मृत्यु भई रिक्त हुन आएको पदमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) ले नियुक्ति गर्ने अधिकार सो साधारण सभालाई मात्र छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) अनुसार बहाल टुटेको अवस्थामा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने अधिकार सञ्चालक समितिलाई हुने हो । मृत्यु भई रिक्त भएकोलाई बहाल टुटी रिक्त भएको मान्न मिल्दैन । बहाल टुट्ने भन्ने कुरा जीवित मानिसको मात्र टुट्छ जुन पछि जोडिन पनि सक्छ । बहाल टुटी रिक्त हुने अवस्था वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ को अवस्था होइन । बहाल टुटी रिक्त हुने अवस्थाहरू कम्पनी ऐन, २०२१ को दफा ६६(२)  मा वर्णित छन् । जसमा मृत्यु पर्दैन । अतः मृत्यु भई रिक्त रहेको सञ्चालकको पदमा डा.दुर्गेशमान सिंहलाई नियुक्त गरेको सञ्चालक समितिको मिति २०४२।५।२० को निर्णय अनाधिकृत भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणद्वारा बदर गरी साधारण सभाबाट पदपूर्ति गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय मिलेकै हुँदा सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

९.   यसमा निर्णयतर्फ हेर्दा नेपाल बैंक लिमिटेडका सञ्चालक सूर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त रहेको सञ्चालक पदमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिको मिति २०४२।५।२० को निर्णयानुसार दुर्गेशमान सिंहलाई नियुक्त गरेको देखिन्छ ।

१०.  बहाल टुटी रिक्त हुन आएको अवस्थामा मात्र त्यसपछि हुने साधारण सभाबाट अनुमोदन गराउने गरी बाँकी अवधिको लागि नियुक्त गर्ने सञ्चालक समितिलाई अधिकार छ । मृत्यु भई रिक्त रहेको पद बहाल टुटी रिक्त भएको नभई वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम रिक्त हुन आएको पद हुँदा त्यस्तो पदमा सञ्चालक नियुक्त गर्ने अधिकार उक्त ऐनको दफा ५(२) बमोजिम साधारण सभालाई मात्र भएकोमा सञ्चालक समितिबाट डा.दुर्गेशमान सिंहलाई सञ्चालक नियुक्त गरेको २०४२।५।२० को निर्णय अनाधिकृत भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने बल्लभ शमशेर ज.ब.रा. को रिट निवेदन परेकोमा सञ्चालकको बहाल टुटी रिक्त हुन आएमा बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्न पाउने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) ले सञ्चालक समितिलाई छ । बहाल टुटी पद रिक्त हुने अवस्था वाणिज्य बैंक ऐनमा व्यवस्था भएको पाइएन । बहाल ट्टने (नरहने) बारेको कम्पनी ऐन, २०२१ को दफा ६६(२) मा मृत्यु परेको पाइएन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम पद रिक्त हुन आएमा सो सञ्चालक पदमा नियुक्त गर्ने अधिकार साधारण सभालाई मात्र छ । बहाल टुटी रिक्त हुने कम्पनी ऐन, २०२१ को दफा ६६(२) बमोजिम एक व्यवस्था र वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम पद रिक्त हुने अर्को व्यवस्था हुँदा वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ बमोजिम मृत्यु भई रिक्त हुन आएको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्न पाउने अधिकार ऐनले सञ्चालक समितिलाई प्रदान गरेको नदेखिँदा डा.दुर्गेशमान सिंहलाई सञ्चालक नियुक्त गरेको नेपाल बैंक लिमिटेड सञ्चालक समितिको मिति २०४२।५।२० को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । साधारण सभाद्वारा निर्वाचन गराई पदपूर्ति गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्‍याई सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४२।१२।२७ मा निर्णय भएको देखिन्छ ।

११.  सञ्चालकको पद रिक्त हुने अवस्था बारेको कानूनी व्यवस्था हेर्दा वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ को देहायमा (क) दफा ८ बमोजिम सञ्चालक रहन अयोग्य भएमा (ख) सञ्चालकको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, (ग) मृत्यु भएमा, (घ) मनासिब माफिकको कारण बिना लगातार तीन पटक भन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित भएमा, (ङ) श्री ५ को सरकारको वा राष्ट्र बैंकको कर्मचारीको हैसियतमा सञ्चालक भएको व्यक्ति सरकारी पद वा राष्ट्र बैंकको पदमा बहाल नरहेमा, भनी ५ अवस्थामा सञ्चालकको पद रिक्त हुन आउने कानूनी व्यवस्था गरेको पाइन्छ ।

१२.  सञ्चालक समिति नेपाल बैंक लिमिटेडको लिखितजवाफ हेर्दा स्व.सूर्यकृष्ण श्रेष्ठको देहावसानको कारणबाट उहाँको सञ्चालकको पदबाट बहाल टुट्न गएकोले सो रिक्त पदमा बाँकी अवधिको लागि वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) बमोजिम  डा.दुर्गेशमान सिंहलाई नियुक्त गरिएको हो भन्ने छ ।

१३.  वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) मा भएको व्यवस्था हेर्दा कुनै कारणवश तोकिएको म्याद अगावै अध्यक्ष वा सञ्चालकको बहाल टुट्न गएमा सो रिक्त पदमा बाँकी अवधिसम्मको लागि सञ्चालक समितिले अर्को अध्यक्ष वा सञ्चालक नियुक्त गर्न सक्नेछ र त्यस्तो नियुक्ति त्यसपछि हुने शेयर होल्डरहरूको साधारण सभाद्वारा समर्थन गराउनु पर्नेछ भन्ने उल्लेख भएको पाइन्छ । यो व्यवस्थाले बैंकको अध्यक्ष वा सञ्चालकको तोकिएको म्याद अगावै बहाल टुट्न गएमा सो रिक्त हुन आएको पदमा बाँकी अवधिको लागि त्यसपछि हुने साधारण सभाबाट समर्थन गराउने गरी अध्यक्ष वा सञ्चालक नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएको देखिन्छ ।

१४.  अब बहाल टुट्नु भनेको के हो ? कस्तो अवस्थामा बहाल टुट्छ वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा वर्णित कारण अवस्थाबाट बहाल टुट्न जान्छ जाँदैन, प्रस्तुत विवादमा वाणिज्य बैंक ऐनको व्यवस्था प्रयाप्त छ, छैन यिनै प्रश्नहरूको सर्वप्रथम निराकरण गर्नु पर्ने अवस्था छ । कुनै पदमा नियुक्त भई सो पदमा कार्यरत रहनु बहाल रहनु हो । त्यस्तो पदमा कार्यरत रहेको व्यक्तिलाई म्याद तोकी नियुक्त गरिएको हुन्छ त्यस्तो तोकिएको म्याद समाप्त भएमा त्यस्तो पदबाट सो व्यक्ति स्वतः हट्न जान्छ जसबाट सो पद रिक्त हुन जान्छ । यो पुरै समयावधि पूरा गरी रिक्त हुन जाने पद रिक्तताको अवस्था हो । जहाँसम्म बहाल टुट्नुको प्रश्न छ कुनै तोकिएको म्याद लागि नियुक्त भएकोले पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणवस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने हुन्छ । बहाल टुट्नुको अर्थ कुनै पदको निम्ति तोकिएको म्यादसम्म बहाल नरही कुनै कारणवश सो भन्दा अगावै सो पदमा नहुनु हो बहाल टुट्न जाने अनेक कारण हुन सक्छन् । प्रस्तुत विवादमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) को बहाल टुट्न गएमा सो रिक्त पदमा भन्ने प्रयुक्त वाक्याँशहरूको व्याख्या गर्दा उक्त उपदफाको शब्दहरूको बनोटलाई विशेष ध्यान दिनु पर्ने हुन्छ । उक्त उपदफा (६) मा प्रयुक्त वाक्याँश हेर्दा शुरुमै कुनै कारणवश तोकिएको म्याद अगावै अध्यक्ष वा सञ्चालकको बहाल टुट्न गएमा सो रिक्त पदमाभन्ने वाक्याँश प्रयुक्त भएको देखिएबाट धेरै कारणबाट सञ्चालकको बहाल टुट्न सक्ने देखिन्छ । उक्त उपदफा (६) को कुनै कारणवश र सो रिक्त पदमा भन्ने शब्दले वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा वर्णित पद रिक्त हुने कारण अवस्थालाई ईंगित गरेको देखिन्छ । सञ्चालकको पदमा नियुक्त भएको व्यक्ति त्यस्तो नियुक्त भएको पदमा तोकिएको म्याद अगावै उक्त दफा ९ मा वर्णित अवस्थाहरू मध्ये कुनै एक अवस्थाहरू परी सो पदमा नरहेमा त्यस्तो पदबाट बहाल टुटी रिक्त हुन जाने देखिन्छ । उक्त दफा ९ मा वर्णित अवस्थाहरू मध्ये मृत्यु भएमा भन्ने एक व्यवस्थाको उल्लेख छ । यदि कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै बीच मै मरेमा त्यस्तो सञ्चालकको पदबाट उस्को बहाली स्वतः हट्न जाने हुन्छ । तोकिएको म्याद अगावै मरी बहालमा नरहेको अवस्थालाई बहाल नटुटेको भन्न मिल्दैन । रिक्तता परिणाम हो । त्यो चाहे जुनसुकै कारणले रिक्त हुन आएको होस् तसर्थ मृत्युको कारणबाट पनि बहाली टुट्न सक्छ जसबाट पद रिक्त हुन्छ जीवित व्यक्तिको मात्र बहाल टुट्छ भन्न मिल्दैन जहाँसम्म वाणिज्य बैंक ऐन प्रस्तुत विवादमा प्रयाप्त छ, छैन भन्ने प्रश्न छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५२ मा यस ऐनमा लेखिए जतिमा यसै ऐन बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ भन्ने व्यवस्था गरेको र प्रस्तुत विषयमा बहाल टुट्ने, रिक्त हुने अवस्थाको सम्बन्धमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा व्यवस्था भइराखेकै हुँदा कम्पनी ऐन, २०२१ को सहारा लिन पर्ने अवस्था देखिन आएन ।

१५.  यस स्थितिमा तोकिएको म्याद अगावै संचालक  सूर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त हुन आएको सञ्चालन पदलाई सञ्चालकको बहाल कायमै रहेको मान्न मिलेन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ को व्यवस्था र दफा ५ को उपदफा (६) को व्यवस्था आपस्तमा परिपूरक व्यवस्था भएको देखिँदा दुवै अवस्थाहरू छुट्टाछुट्टै हुन भन्न पनि मिलेन ।

१६.  अतः नेपाल बैंक लिमिटेडका सञ्चालक सूर्यकृष्ण श्रेष्ठको पदावधि समाप्त नहुँदै मृत्यु भई सो पदमा रहेको निजको बहाल टुटी सञ्चालक पद रिक्त हुन आएको देखिएको छ । सो रिक्त रहेको पदमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) बमोजिम बाँकी अवधिका लागि त्यसपछि हुने साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएकै देखिँदा सो अधिकार क्षेत्रभित्र रही डा.दुर्गेशमान सिंहलाई सञ्चालकमा नियुक्त गरेको नेपाल बैंक लिमिटेड सञ्चालक समितिको मिति २०४२।५।२० को निर्णय कानून अनुरुप भए गरेको देखिँदा रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने अवस्था देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । सञ्चालकको मृत्यु भई रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने भन्दै त्यस्तो रिक्त पदमा सञ्चालक नियुक्त गर्न पाउने अधिकार नेपाल बैंक लिमिटेड सञ्चालक समितिलाई नभएको भनी रिट जारी हुने ठहर्‍याएको सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२७ को निर्णय मिलेको देखिएन । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.महेशरामभक्त माथेमा

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल भाद्र ११ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु